संसद्‌वादी संशोधनवादसँग ऐतिहासिक विद्रोह

संसद्‌वादी संशोधनवादसँग ऐतिहासिक विद्रोह

राजनीतिक जीवनमा कहिलेकहीँ आन्तरिक विद्रोह पनि ऐतिहासिक महत्वका हुने गर्छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा वर्गसङ्घर्षसँगै कतिपय सन्दर्भमा अन्तरसङ्घर्षहरू पनि ऐतिहासिक महत्वका हुने गरेका छन् । उदाहरणका लागि कम्युनिस्ट आन्दोलनका प्रथम गद्दार घोषित मनमोहन अधिकारी प्रवृत्तिका विरुद्धको विद्रोह, गद्दार केशरजङ्ग रायमाझी प्रवृत्तिविरुद्धको विद्रोह, आत्मसमर्पणवादी माले समूहसँगको विद्रोह, मध्यमपन्थी अवसरवादी एमबी–लामा समूहहरूसँगका विद्रोहहरू, साठीको दशकको उत्तराद्र्धमा आत्मसमर्पणवादी प्रचण्ड–बाबुरामको गद्दारीविरुद्धको विद्रोह, सत्तरीको दशकको आरम्भमै वैद्य समूहको छद्म संशोधनवाद–अकर्मण्यतावादविरुद्धको विद्रोह र यो दशकको उत्तराद्र्ध अर्थात् कथित एकीकृत जनक्रान्तिका प्रवर्तक, संसद्‌वादी संशोधनवादका पछिल्ला खलनायक नेत्रविक्रम चन्द–खड्गबहादुर विक समूहमाथिको कारबाही, विद्रोह र नेकपा (बहुमत) को निर्माण यी नेपाली कम्युनिस्ट आन्दोलनका ऐतिहासिक र दीर्घकालीन महत्वका विद्रोहहरू हुन् । पुनर्गठित नेकपा (बहुमत) ले मार्क्सवाद–लेनिनवाद–माओवाद पुरानो भयो भन्दै नयाँका नाममा ‘जनताको बहुदलीय जनवाद’, ‘एक्काईसौँ शताब्दीमा जनवादको विकास’, ‘एकीकृत जनक्रान्ति’, ‘शान्तिपूर्ण सङ्क्रमण’, ‘युरो कम्युनिज्म’ का नाममा पुरानै संसदीय पुँजीवादी व्यवस्थामा फर्कने संसदीय संशोधनवादका विरुद्ध दृढतापूर्वक लड्दै मालेमावादको रक्षा, प्रयोग र विकास गर्ने प्रतिबद्धता व्यक्त गरेर आफ्नो ऐतिहासिक विद्रोह र जिम्मेवारीबोध प्रकट गरेको छ । यो सलामयोग्य कार्य हो । सबैखाले प्रतिक्रियावाद, अवसरवाद, सुधारवाद, संशोधनवाद र संसद्‌वादका विरुद्ध विद्रोह गर्ने हिम्मत गर्ने र क्रान्तिकारी आन्दोलनको खाका प्रस्तुत गर्ने योद्धाहरू बधाईका पात्र छन् । यो ऐतिहासिक विद्रोहले फेरि एकपटक संसद्‌वादी संशोधनवादले प्रतिक्रियावादी संसद्‌वादी रछ्यानमा फ्याल्नै लागेको मालेमावादको झन्डाको रक्षा गरेको छ । यसलाई वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुर्याउने ऐतिहासिक जिम्मेवारी र दायित्व पनि अब नेकपा (बहुमत) कै काँधमा आइपुगेको छ । यो ऐतिहासिक र महत्वपूर्ण कार्यभार हो । यसले नेपालको वर्गसङ्घर्षको इतिहासमा दिइएका सबैखाले धोकाधडीका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै वैज्ञानिक समाजवाद– साम्यवाद स्थापना गर्ने दायित्व निर्वाह गर्नुपर्नेछ । यो युुगीन महत्वको अवसर त हुँदै हो, यसका लागि केही चुनौतीहरू पनि छन् । समाजवादी क्रान्ति अर्थात् वैज्ञानिक समाजवाद र एकीकृत जनयुद्धले यी चुनौतीहरूको सामना गर्दै आफ्नो ऐतिहासिक कार्यभार पूरा गर्नेछन् र यसका लागि सबैले महान् सर्वहारा सांस्कृतिक क्रान्तिको मर्म र भावनालाई आत्मसात गर्दै र पुनः रूपान्तरित हुँदै आआफ्नो ठाउँबाट ऐतिहासिक भूमिका निर्वाह गर्नुपर्नेछ ।

नेकपा (बहुमत) ले समाजमा शोषक र शोषित वर्ग नयाँ–नयाँ रूपमा रहिरहेको तथ्यलाई स्वीकार गर्दै वर्गसङ्घर्ष अपरिहार्य रहेको हुनाले शोषित वर्गले प्रतिरोध सङ्घर्ष बेहोर्नुपर्ने र त्यो प्रतिरोध सङ्घर्षलाई शोषित वर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीले जनताको जनवादी अधिनायकत्वसम्म लैजाने प्रतिबद्धता व्यक्त गरेर यी चुनौतीको सामना गर्ने र आफ्नो दायित्व र कर्तव्य पूरा गर्ने प्रतिबद्धताका साथ आमजनता र विशेषगरी सर्वहारा श्रमिक वर्गसामु आफूमाथि आएको जिम्मेवारीबोध गरेको छ ।

नेकपा (बहुमत) ले बारम्बार कम्युुनिस्ट पार्टीकै नेतृत्वमा पैदा हुने विचलन रोक्न कम्युनिस्ट पार्टीको हरेक सदस्यले आफू बसेको पार्टी समिति र आफ्नो परिवारलाई समाजवादको एकाइका रूपमा विकास गर्दै लग्नुपर्ने, समाजवाद आएपछि मात्र नभएर आजै र अहिल्यैदेखि सांस्कृतिक क्रान्तिलाई लागू गर्दै जाने नीति अँगाल्ने प्रतिबद्धता व्यक्त गरेर विगतमा भएका सीमाहरू पार गर्ने र विप्लव समूहमा रहेका खराब विरासत खारेज गर्ने घोषणा पनि गरेको छ । नेकपा (बहुमत) ले मालेमावादी सिद्धान्त र विचारलाई सङ्गठन–शक्तिमा रूपान्तरण गर्दै राष्ट्रियताको रक्षा, जनतन्त्र र जनजीविकाको सुनिश्चितताप्रति केन्द्रित गर्नुपर्छ । समग्र वर्गसङ्घर्षका महान् सहिदहरूको सपना साकार पार्ने दृढता, बेपत्ता योद्धाहरू, घाइते–अपाङ्ग योद्धाहरूका अधुरा सपना पूरा गर्ने प्रतिबद्धता र वैज्ञानिक समाजवाद स्थापनाका क्रममा दुस्मन सत्ताले जेल र हिरासतमा बन्दी बनाएका राजबन्दीहरूको मुक्तिका लागि गरिने निरन्तर सङ्घर्षले नै पार्टीलाई सफलतामा पुर्याउनेछ । ‘जनताबाट लिएर जनतालाई दिने’, ‘तथ्यबाट सत्यको खोजी गर्ने’, ‘अनुसन्धान नगरी नबोल्ने’, ‘जनतासँग माछा र पानीको सम्बन्ध कायम गर्ने’ माओवादी नीतिमा प्रतिबद्ध रहेको घोषणा गरेर नेकपा (बहुमत) ले यी कार्यभारका लागि आफू हरदम तयार रहेको घोषणा पनि गरेको छ ।

नेकपा (बहुमत) ले संसद्‌वादी संशोधनवादसँगको विद्रोह र पार्टी पुनर्गठनपछि न्यूनतम कार्यक्रम तथा राजनीतिक कार्यदिशाका रूपमा वैज्ञानिक समाजवाद एवम् एकीकृत जनयुद्ध र तात्कालिक राजनीतिक कार्यनीतिका रूपमा स्वाधीन संयुक्त सरकार, राजनीतिक स्थिरता र सामाजिक रूपान्तरणप्रति दृढ हुँदै यसको उद्देश्य पूरा नहुँदासम्म लागिरहने, पार्टीलाई कुनै पनि विचलनबाट रोक्न सामूहिक नेतृत्वको सामूहिक निर्णयप्रणाली र व्यक्तिगत उत्तरदायित्वको मालेमावादी सङ्गठनात्मक मान्यतामा प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गरेर सर्वहारा–श्रमिक वर्गप्रति क्रान्ति र विजयको सुनिश्चितता प्रस्तुत गरेको छ ।

नेत्रविक्रम चन्दमण्डलीले दलाल संसद्‌वादी व्यवस्थामा डुबाउनै लागेको महान् सहिदहरूको रगतले रञ्जित रातो झन्डा क्रान्तिकारी विद्रोहले जोगाएको छ । यो झन्डालाई झुक्न दिनु हुँदैन, वैज्ञानिक समाजवाद– साम्यवाद स्थापना गरेर सफलतामा पुर्याउनुपर्छ । विशेष सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :