केन्द्रीय प्रकाशन विभाग र रातो खबर निरन्तर क्रान्तिका पक्षमा !

सम्पादकीय टिप्पणी

नेकपासँग रहेको केन्द्रीय प्रकाशन तथा प्रचार विभाग र पार्टीको मुखपत्रका रूपमा सञ्चालन हुँदै आएको रातो खबर प्रकाशन गृह नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट बन्ने कुरा स्वाभाविक र क्रान्तिको आवश्यकता हो । केन्द्रीय प्रकाशन तथा प्रचार विभाग हिजो नेकपा क्रान्तिकारी शक्ति हुँदा पनि पार्टीकै विभाग थियो र आज पुनर्गठित नेकपा (बहुमत) क्रान्तिकारी शक्तिका रूपमा अघि बढेपछि पनि यो पुनर्गठित क्रान्तिकारी पार्टी र जनताकै सम्पत्ति हो । सहिदको रगत, त्याग, बलिदान र शौर्यबाट निर्मित सङ्गठन जनताकै शक्ति हुने विषयमा कुनै सन्देह छैन ।

प्रचण्ड–बाबुरामको संसद्वादमा पतन र मोहन वैद्य ‘किरण’ समूहसँग विद्रोहपछि निर्मित नेकपा केन्द्रीय प्रकाशन तथा प्रचार विभागले विभिन्न प्रकाशन तथा प्रचारका माध्यमबाट क्रान्तिको सेवा गरेको विषय अब कसैले पनि मेट्न सक्तैन । यसले पुरानो सत्ताले प्रतिबन्ध लगाउँदा होस् वा आर्थिक अभावका कारण प्रकाशनमा सङ्कट उत्पन्न हुँदा होस्, कठिनाइहरुसँग जुध्दै नेपाल कम्युनिस्ट पार्टीको वैचारिक–राजनीतिक सञ्चार मोर्चाका रूपमा विगत आठ वर्षदेखि निरन्तर देश, जनता, श्रमिक–सर्वहारा, उपेक्षित–उत्पीडित वर्गको सेवा गर्ने आफ्नो दायित्व पूर्ण रूपले निर्वाह गर्दै आफूलाई अग्रमोर्चामा उभ्याउँदै आएको छ । उत्पीडित वर्ग, आवाजविहीन र श्रमिकहरूको प्रतिनिधि आवाज भएकैले दलाल पुँजीवादी राज्यसत्ताले यस विभाग र विशेषतः रातो खबर प्रकाशन गृहका प्रकाशनलाई बारम्बार दमन गर्दै आएको छ तर पनि यो प्रकाशनले राज्य र सबैखाले प्रतिक्रियावादी तत्वहरूका विरुद्ध निरन्तर सङ्घर्षमा अब्बल रूपमा खडा गरेको छ । श्रमिक वर्गका लागि यो खुसी र गर्वको कुरा हो ।

दलाल पुँजीवादी राज्यव्यवस्थामा श्रमिक वर्गका पक्षमा निरन्तर साप्ताहिक पत्रिका, मासिक पत्रिका, अनलाइन, यूट्युब च्यानल र वैचारिक, राजनीतिक, साहित्यिक–सांस्कृतिक प्रकाशनहरू गरेर संसारभरका न्यायप्रेमी पाठक, दर्शकहरूसामु पस्किनु पक्कै पनि असहज र चुनौतीपूर्ण कार्य हो तर पनि हामीले अनेक व्यवधान र अभावहरू सहँदै यो प्रतिकूलतालाई अनुकूलतामा बदल्दै आएका छौँ । क्रान्तिकारी आन्दोलनभित्र स्वार्थ लिएर घुसेका तत्वहरू र पार्टीभित्रकै एउटा अनुदारवादी खेमाले सधैँ रातो खबरलाई ‘सौता’ को व्यवहार गर्दै खेदिरह्यो तर पनि हामीले वर्गसमाजमा वर्गसङ्घर्ष प्रधान हो भनेर आन्तरिक असहयोग र चुनौतीहरूको सामना गरिरह्यौँ । पार्टीमा रहेका केही खलपात्रहरूले रातो खबर प्रकाशनलाई असहयोग गर्दै समानान्तर गतिविधि, असहयोग र षड्यन्त्र गर्दा पनि हामीले त्यसको सामना गर्यौँ । पार्टी बैठकका हरेक निर्णयहरूमा रातो खबरको भूमिकाको उच्च प्रशंसा र चर्चा भयो । त्यसले हामीलाई अभावमा पनि निरन्तर क्रान्तिमार्गमा हिँडिरहन प्रेरित गरिरह्यो । रातो खबर मालेमावादी क्रान्तिकारी विचारले ओतप्रोत सञ्चारगृह भएकाले यसमा लुकीछिपीबाहेक मूर्त रूपमा कसैको व्यक्तिगत स्वार्थ हाबी हुन पाएन । देश, श्रमिक जनता, पार्टी र निरन्तर क्रान्तिलाई केन्द्र भागमा राखेर अघि बढेकाले नै पार्टी नेतृत्वले बारम्बार यसलाई क्रान्तिकालीन स्क्रा, लेनिन नेतृत्वको प्राब्दा वा जनयुद्धकालीन जनादेश/जनदिशाको उपाधि दिइरह्यो । यसको केन्द्रमा मालेमावादी विचार थियो । पार्टी कमरेडहरूले सङ्घर्षको मैदानमा निर्वाह गरेको अब्बलता थियो । समग्र वर्गसङ्घर्ष र विशेषतः महान् जनयुद्ध र एकीकृत जनक्रान्तिका नाममा अघि बढेको सङ्घर्षमा बलिदान गर्ने महान् योद्धाहरूको विचार र रगत थियो । जेल, हिरासतमा सडाइएका क्रान्तिकारी योद्धाहरूको कठोर सङ्घर्षले हामीलाई प्रतिकूल अवस्थामा पनि निरन्तर जोखिम मोलेर काम गरिरहने ऊर्जा दिएको थियो ।

पार्टीको मूल नेतृत्व क्रान्तिमैदानबाट क्रमशः ओरोलो लाग्दै देखावटी रूपमा तीनबुँदे र अन्तर्यमा क्रान्तिमार्गबाट पलायन, आत्मसमर्पण र सम्झौताको बाटोमा हिँड्न थालेपछि हामीले महान् सहिद, बेपत्ता योद्धा, तिनका महान् सपनाहरू अझ गहिरोसँग सम्झियौँ, मनन गर्यौँ । पार्टी नेतृत्वको एक पक्षले पलायनवादी र सम्झौतावादी बनेर सहिदको रगतको अपमान गरेको बोध भयो । त्यसपछि हामीले नेतृत्वलाई खबरदारी गर्दै नेतृत्वकै विचार पस्किएर उनीहरूलाई आफ्नो अतीत सम्झाउने प्रयत्न गर्यौँ । विशेषगरी कपिलवस्तु शिवगढीमा पार्टी केन्द्रीय समितिको बाह्रौँ बैठक बसिरहँदा रातो खबरले आफ्नो जीवनकै सबैभन्दा प्रतिकूल समय व्यतित गर्नुपर्यो । रातो खबर र ईरातोखबरमा प्रकाशित सम्पादकीयको विषयलाई लिएर पार्टीका कतिपय नेताले प्रकाशनका सहकर्मी/सहयोद्धालाई धम्कीसमेत दिने र सम्पादकीय कू गर्ने धृष्टतासम्म गरे । ती दुर्दिनहरू शाहीकालीन सङ्कटकाल र ओली–दाहाल सरकारले पार्टीमाथि लगाएको प्रतिबन्धको समयभन्दा बढी आतङ्कपूर्ण थिए । तैपनि पार्टी नेतृत्व सच्चिने आशामा हामीले ती कष्टपूर्ण पलहरू पार गर्यौँ ।

यसबीचमा हाम्रो राजनीतिक र प्रकाशनको जीवनमा पनि एउटा अत्यन्त महत्वपूर्ण समय आयो । विभाग र रातो खबरको स्थापना भनौँ वा जन्म नै सबैखाले प्रतिक्रियावाद, अवसरवाद, पलायनवाद, संशोधनवाद, कायरता र सम्झौतावादका विरुद्ध सङ्घर्षको मोर्चाका रूपमा भएको थियो । यतिबेला फेरि हामीले आस्था राख्ने मालेमालाई आत्मसात गरिरहेको पार्टी नेकपाभित्र सङ्घर्ष वा पलायन दुई धार देखापरे । प्रकारान्तरले दलाल पुँजीवादी संसद्वादलाई स्वीकार गरेर यही व्यवस्थाले गराएको चुनावका माध्यमबाट आत्मसमर्पण गर्ने कि महान् सहिद, बेपत्ता–घाइते–अपाङ्ग योद्धाका महान् त्याग, बलिदानलाई सम्मान गर्दै क्रान्तिकारी बाटो अवलम्बन गर्दै विद्रोहको झन्डा उठाउने ? स्क्रा, प्राब्दा र जनादेश÷जनदिशाको गौरवशाली इतिहास समात्नका लागि र आफ्नो सङ्घर्षपूर्ण विरासत जोगाउन हामीले सम्झौता, सहमति र पलायनको बाटो रोज्न सकेनौँ । हामीले सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्ग र श्रमिक जनतासँगै दुःखको बाटो हिँड्ने र नेपाललाई वैज्ञानिक समाजवादसम्म पुर्याउने क्रान्तिकारी झन्डा समात्ने निर्णयमा पुग्याैँ । सञ्चारमाध्यम पनि प्रकारान्तरले राजनीति, कला–साहित्य र अर्थतन्त्रको एउटा माध्यम हो र हामीले श्रमिक वर्गका पक्षमा सञ्चार सिर्जनाका माध्यमबाट राजनीति नै गरेका हौँ । त्यसैले हामी हाम्रो गौरवपूर्ण इतिहास मेट्न सक्तैनौँ । यसमा कसैको पनि चित्तदुखाइ वा आवेग प्रकट हुन आवश्यक छैन । युद्धमा दुस्मनका विरुद्ध एकसाथ लडेका योद्धाहरू पार्टी विभाजनको बाध्यकारी अवस्थामा मन खिन्न बनाएर आआफ्नो विचार, रुचि, स्वभाव मिल्ने पक्षसँग लागेझैँ हामी यतिबेला अवसरवाद, सम्झौतावाद र पलायनका पक्षमा होइन, निरन्तर क्रान्ति र वैज्ञानिक समाजवादका पक्षमा छौँ ।

पछिल्लो समयमा नेकपाका तत्कालीन महासचिव विप्लवले आकस्मिक रूपमा एक बिनाछापे वक्तव्य जारी गर्दै नेकपाका केन्द्रीय सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई ‘छाडा, अराजक, बितण्डा मच्चाउने, उक्साहटमा परेका, अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधि गर्ने, अलग केन्द्र बनाउनेलगायत गम्भीर आरोप लगाउँदै दुवैजनालाई ‘अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको’ सार्वजनिक गरेको विषय हाम्रा लागि अमान्य बन्यो । हामी लामो समयदेखि विप्लवदेखि प्रकाण्ड, कञ्चन, सुदर्शनलगायत नेतासँग पनि सहकार्य गर्दै आएका छौँ । हामी हाम्रा नेताहरूलाई राम्ररी चिन्छौँ । हामीले पार्टीको पछिल्लो अन्तरसङ्घर्षलाई नजिकैबाट अध्ययन गर्यौँ । पार्टीको केन्द्रीय प्रकाशन हुनुको नाताले नेकपाभित्रको वैचारिक बहसलाई रातो खबर प्रकाशन गृहले नजिकबाट, सूक्ष्म रूपमा नियाल्नु र ऐनमौकामा आफ्नो मत प्रकट गर्नु हाम्रो अधिकार र कर्तव्य पनि थियो । सबै नेता–कार्यकर्ताले पार्टी केन्द्रीय समितिको निर्णय पालना गर्नुपर्छ भन्ने विषयमा हामी पनि दृढ थियौँ तर हाम्रो पवित्र इच्छामाथि संसद्वादी संसद्वाले भुत्भुते खन्याइदियो । संसद्वाद हामीलाई कदापि स्वीकार्य छैन । पलायन र सम्झौता हामीलाई ग्राह्य छैन । पार्टीको कुनै पनि नेतृत्वलाई आत्मसुरक्षावादी र मनोगतवादी हुने छूट थिएन र भएन पनि । सहिदको रगतको अपमान गर्ने छूट कसैलाई छैन । क्रान्तिबाट भाग्ने छूट कसैलाई छैन । यति हुँदाहुँदै पनि एउटा समूह क्रान्तिको नाउँ जप्दाजप्दै दलाल संसद्वादको मतियार बन्नतिर लाग्यो । हामीले तत्कालीन पार्टी महासचिवले केन्द्रीय समितिका दुईजना सचिवालय सदस्यमाथि लगाएका झूट्टा, आधारहीन र भ्रमपूर्ण आरोप फिर्ता लिई आत्मालोचना गर्नुपर्छ र पार्टीलाई क्रान्तिकारी दिशामा अघि बढाउनुपर्छ भन्ने प्रस्ताव राख्यौँ । त्यसको कुनै सुनुवाइ भएन । तत्कालीन पार्टी महासचिवको आत्मसुरक्षावाद चैत २८ गतेको बैठकमै अभिव्यक्त भइसकेको थियो । त्यसैले पार्टीजीवन तहसनहस पार्ने र कम्युनिस्ट आन्दोलनमाथि भुत्भुते खन्याउने विध्वंसकारी प्रवृत्ति अन्त्य गर्दै क्रान्तिकारी आन्दोलन अघि बढाउन विद्रोह गर्नु हाम्रो आवश्यकता बन्यो । पार्टी केन्द्रीय प्रकाशन तथा प्रचार विभागका साथै रातो खबर प्रकाशन गृह महान् सहिदले निर्माण गरेको क्रान्तिकारी बाटो पछ्याइरहने दृढता व्यक्त गर्नु हाम्रो कर्तव्य हो । क्रान्तिकारी आन्दोलनबाट दलाल संसद्वादी संशोधनवादपरस्तहरूले सहिदको रगतबाट निर्मित रातो खबरमा आँखा लगाउँछन् भने तिनले जनतालाई महान् सहिदहरू सकुशल फिर्ता गर्नुपर्छ र सहिदको बलिदानमा केन्द्रित सम्पत्ति क्रान्तिकारी आन्दोलन र जनतामा समर्पित गर्नुपर्छ । अन्यथा इतिहासले कसैलाई पनि माफी दिनेछैन ।

अशोक सुवेदी
सम्पादक
केन्द्रीय प्रकाशन तथा प्रचार विभाग

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :