हजारौँ कार्यकर्ता, पत्रकार र जनसमुदायबीच नेकपा (बहुमत) को घोषणा

विप्लव समूह दक्षिणपन्थी अवसरवादमा पतन : संयोजक कञ्चन

हजारौँ कार्यकर्ता, पत्रकार र जनसमुदायबीच नेकपा (बहुमत) को घोषणा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले हजारौँ पार्टी कार्यकर्ता, पत्रकार र जनसमुदायबीच नेत्रविक्रम चन्दलाई कारबाही गरी पार्टी पुनर्गठन गरेको सार्वजनिक गरेको छ । आज काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरको मेगा हलमा हजारौँ पार्टी कार्यकर्ता, पत्रकार र शुभचिन्तकहरूबीच नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नेत्रविक्रम चन्द, खड्गबहादुर विश्वकर्मालगायत एउटा सानो समूहले पार्टीलाई संसद्‌वादी बनाउँदै प्रतिक्रियावादी सत्ताको चुनावमा सामेल गराएर दलाल पुँजीवादमा पतन गराउने षड्यन्त्र गरेकाले उनीहरूलाई कारबाही गरी पार्टी पुनर्गठन गरिएको बताए । पत्रकारहरूको प्रश्नको जबाफ दिँदै नेकपा (बहुमत) का संयोजक कञ्चनले आफूले नेतृत्व गरेको पार्टीमा विचार र सिद्धान्तको समेत बहुमत रहेको प्रस्ट पारे । कथित स्थानीय तहको चुनावपछि चन्दहरूले पश्चातापबोध गरे भने पनि उनीहरू संसद्‌वादी बनिसकेको तथ्य इतिहासमा दर्ता भइसकेको उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा नवौँ महाधिवेशन आयोजक समितिका ८१ मध्ये अधिकांश सदस्य, सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे’, नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लगायत पार्टी नेता, कार्यकर्ता, शुभचिन्तक र समर्थकहरू सहभागी थिए । कार्यक्रमको सञ्चालन नेकपा (बहुमत) का नेता सुदर्शनले गरेका थिए । उनले चन्द नेतृत्वको पार्टी पुनर्गठन गरेर क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्नाका कारणहरू प्रस्तुत गरेका थिए ।

नेकपा (बहुमत) ले पत्रकार सम्मेलनमा वितरण गरेको प्रेस विज्ञप्तिमा संसदीय व्यवस्थाको स्थानीय चुनाव प्रयोग गर्ने प्रस्ताव तत्कालीन महासचिव विप्लवको नाङ्गिने बिन्दु भए पनि उनको वैचारिक तथा राजनीतिक विचलनका सङ्केतहरू आठौँ महाधिवेशनदेखि नै देखिन थालेको उल्लेख छ । विज्ञप्तिमा विप्लवले कणिकाहरूदेखि ब्रह्माण्डसम्म लागू हुने भौतिकवादी द्वन्द्ववादको नियम ‘विपरीतहरूको एकत्व’ लाई पार्टीभित्र लागू गर्न नचाहेको, पार्टीभित्र विकास हुने दुई लाइन सङ्घर्षलाई हटाएर अन्तरसङ्घर्ष मात्र भनेको, पार्टीभित्र आलोचना तथा आत्मालोचनाको पद्धतिलाई हटाएको, समाजवादीहरू संसद्मा पुगेर संसदीय व्यवस्थालाई निलेपछि वैज्ञानिक समाजवाद शान्तिपूर्ण तरिकाले ल्याउन सकिन्छ भनी दस्ताबेजीकरण गरेको, एकीकृत जनक्रान्तिलाई मनचिन्ते झोली बनाउँदै यसको ठोस विश्लेषण नगरेको, निजी स्वामित्व र सामूहिक स्वामित्वको आर्थिक समायोजन गर्ने समन्वयवादी नीति लिएकोलगायत सैद्धान्तिक गल्तीहरू स्पष्ट रूपमा देखिएको उल्लेख छ ।

त्यसैगरी विज्ञप्तिमा पार्टीभित्र निरन्तर चल्ने मात्रात्मक सङ्घर्ष संसदीय चुनाव उपयोगको नीतिमा आएर गुणात्मक विस्फोट भएको र यहाँ आइपुग्दा विप्लव प्रवृत्ति दार्शनिक रूपले सारसङ्ग्रहवाद, राजनीतिक रूपले संसदीय संशोधनवाद, सङ्गठनात्मक रूपले निषेधात्मक अधिभूतवाद तथा विसर्जनवाद, सङ्घर्षका दृष्टिले आत्मसुरक्षावाद र आर्थिक दृष्टिले जुझारु अर्थवादका रूपमा देखापरेको उल्लेख छ । विज्ञप्तिमा उग्रवामपन्थी अवसरवादले उग्र दक्षिणपन्थी अवसरवादमा छलाङ मारको कारणले गर्दा आफूहरूका अगाडि क्रान्तिकारी सिद्धान्तमा आधारित क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्नुको विकल्प नरहेपछि चन्दहरूलाई कारबाही गरी पार्टी पुनर्गठन गरिएको उल्लेख छ ।

नेकपा (बहुमत) का संयोजक कञ्चनद्वारा जारी विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :

पार्टीका पत्रकार मित्रहरूमार्फत आमजनसमुदाय !
न्यानो अभिवादन !

हामी सबै भुक्तभोगी छौँ– नेपाली कम्युनिस्ट आन्दोलनमा संसदीय संशोधनवादी रोगले वैज्ञानिक समाजवादी क्रान्तिमा भयङ्कर क्षति पुर्याएको छ । पछिल्लो जनआशाको बत्ती बनेको नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिवमा पनि त्यही रोग सङ्क्रमण भयो । आठौँ केन्द्रीय समितिको १२ औँ कपिलवस्तु बैठकमा उनले दलाल संसदीय व्यवस्थाअन्तर्गत ‘स्थानीय चुनावलाई प्रयोग गर्ने’ राजनीतिक प्रस्ताव पेस गरे । त्यसका विरुद्ध उक्त बैठकमा अत्यधिक केन्द्रीय सदस्यहरूले प्रस्तावको विपक्षमा आफ्नो मत प्रकट गरे । उक्त मतमा उनीहरूले तत्कालीन नेकपाका नेता विप्लव संसदीय संशोधनवादी दलदलमा धस्सिने सम्भावना बढेकाले त्यसबाट उद्धार गर्न पार्टीलाई ‘दलाल संसदीय राज्यसत्ताको निर्वाचन आयोगमा दर्ता गरी चुनावमा भाग नलिने, यस व्यवस्थाको भण्डाफोर गर्ने र देशभक्त तथा जनपक्षीय उम्मेदवार पहिचान भएमा तिनलाई समर्थन गर्न सकिने’ विचार प्रकट गरे । त्यसमा उनी मञ्जुर भएपछि विचारहरूले निर्णयात्मक रूप लिए । त्यो निर्णय भएको चार दिनपछि नै १८ चैत, २०७८ को प्रशिक्षणमा नेता विप्लवबाटै निर्णय उल्लङ्घन गरियो । केही दिनपछि उनकै निर्देशनमा तत्कालीन प्रवक्ता प्रकाण्ड निर्वाचन सार्नका लागि हारगुहार गर्दै निर्वाचन आयोग पुगे र चुनावमा भाग लिने मात्र होइन, बरु मोर्चा कसेर भाग लिने हो भनी कुर्लिए । १२ औँ बैठकपूर्व नै षड्यन्त्रअनुसार निर्वाचन आयोगबाट स्वतन्त्र उम्मेदवारहरूका लागि देशैभरि एउटै चिह्न लिने व्यवस्था भएबमोजिम उनीहरूले केन्द्रीय सदस्यहरूसहित स्थानीय चुनावमा भाग लिएका छन् । संसदीय व्यवस्थाअन्तर्गत हुने कुनै पनि तहको निर्वाचन आज संसदीय व्यवस्थाकै सेवा गर्ने साधन बनिसकेकाले साम्यवादी पार्टीको वैज्ञानिक समाजवाद प्राप्तिका लागि उपयोगी बन्न सक्ने दिन गइसकेका छन् । संसारभरि र नेपालमा साम्यवादी दलहरू संसदीय व्यवस्थामा पुगिसकेपछि बत्तीका पुतली साबित भएका छन् । त्यसकारण संसद्‌वादी चुनाव कार्यनीति मात्र होइन, बरु रणनीतिक महत्वको कार्यनीति बनेको छ । स्टालिनले भनेझैँ ‘यसमा भाग लिनु भनेको नजानिँदो ढङ्गले प्रतिक्रियावादी संसद्लाई सेवा गर्नु, जनसमुदायको क्रान्तिकारी भावनालाई कमजोर पार्नु, जनताको क्रान्तिकारी चेतनालाई धमिलो बनाउनु, कुनै पनि क्रान्तिकारी सङ्गठन निर्माण गर्न असमर्थ हुनु र सामाजिक जीवनको विकासका विरुद्ध जानु हो ।’

संसदीय व्यवस्थाको स्थानीय चुनाव प्रयोग गर्ने प्रस्ताव तत्कालीन महासचिव विप्लवको नाङ्गिने बिन्दु भए पनि उनको वैचारिक तथा राजनीतिक विचलनका सङ्केतहरू आठौँ महाधिवेशनदेखि नै देखिन थालेका थिए । मूलतः कणिकाहरूदेखि ब्रह्माण्डसम्म लागू हुने भौतिकवादी द्वन्द्ववादको नियम ‘विपरीतहरूको एकत्व’ लाई पार्टीभित्र लागू गर्न नचाहनु, पार्टीभित्र विकास हुने दुई लाइन सङ्घर्षलाई हटाएर अन्तरसङ्घर्ष मात्र भन्नु, पार्टीभित्र आलोचना तथा आत्मालोचनाको पद्धतिलाई हटाउनु, समाजवादीहरू संसद्‌मा पुगेर संसदीय व्यवस्थालाई निलेपछि वैज्ञानिक समाजवाद शान्तिपूर्ण तरिकाले ल्याउन सकिन्छ भनी दस्ताबेजीकरण गर्नु, एकीकृत जनक्रान्तिलाई मनचिन्ते झोली बनाउनु र यसको ठोस विश्लेषण नगर्नु, निजी स्वामित्व र सामूहिक स्वामित्वको आर्थिक समायोजन गर्ने समन्वयवादी नीति लिनुजस्ता सैद्धान्तिक गल्तीहरू स्पष्ट रूपमा देखिँदै आएका थिए । पार्टीभित्र निरन्तर चल्ने मात्रात्मक सङ्घर्ष संसदीय चुनाव उपयोगको नीतिमा आएर गुणात्मक विस्फोट भयो । यहाँ आइपुग्दा विप्लव प्रवृत्ति दार्शनिक रूपले सारसङ्ग्रहवाद, राजनीतिक रूपले संसदीय संशोधनवाद, सङ्गठनात्मक रूपले निषेधात्मक अधिभूतवाद तथा विसर्जनवाद, सङ्घर्षका दृष्टिले आत्मसुरक्षावाद र आर्थिक दृष्टिले जुझारु अर्थवादका रूपमा देखापर्यो । आखिर उग्रवामपन्थी अवसरवादले उग्र दक्षिणपन्थी अवसरवादमा छलाङ मार्यो । यही कारणले गर्दा हाम्रो अगाडि क्रान्तिकारी सिद्धान्तमा आधारित क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने चुनौती खडा भयो । हामीले यी चुनौतीको सामना गर्यौँ ।

उपर्युक्त कार्यभार पूरा गर्ने प्रक्रियामा यही वैशाख २१ देखि २३ सम्म नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेला सम्पन्न भएको छ । केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष कमरेड असारेको अध्यक्षता र उक्त सल्लाहकार समितिका सचिव कमरेड पवनको उद्घोषणमा विशेष राष्ट्रिय भेला अन्तर्राष्ट्रिय गीतबाट उद्घाटन भयो । सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका परिवारसँग काँधमा काँध मिलाएर सहिदहरूका सपना पूरा गर्ने, बेपत्ता योद्धाहरूप्रति सम्मान प्रकट गर्दै उनीहरूका परिवारहरूसँग हातमा हात मिलाएर बेपत्ताहरूको अवस्था प्रकाशमा ल्याउने र उनीहरूका सपना पूरा गर्ने, घाइते, अपाङ्ग योद्धाहरूलाई सम्मान गर्दै उनीहरूका परिवारसँग सहानुभूतिका साथ घाइते–अपाङ्ग योद्धाहरूको उपचार गर्न राज्यसँग माग गर्ने र उनीहरूका अधुरा सपना पूरा गर्ने, राजबन्दी कमरेडहरूको त्याग–तपस्यालाई सम्मान गर्दै उनीहरूका परिवारसँग सहानुभूतिका साथ राजबन्दीहरूको शीघ्र रिहाइ र झूट्टा मुद्दा खारेजीका लागि सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । तीन सयभन्दा बढी प्रतिनिधि र ५० भन्दा बढी स्वयम्सेवकको उपस्थितिमा उक्त भेलालाई राष्ट्रिय भेला आयोजक समितिका सदस्य सुदर्शनले स्वागत अभिवादन गर्नुभएको थियो । उद्घाटन सत्र सकिएपछि विशेष राष्ट्रिय भेला आयोजक समितिका संयोजक कञ्चनद्वारा ‘वैज्ञानिक समाजवादको बाटोमा अघि बढौँ !, संसदीय संशोधनवादका विरुद्ध सङ्घर्ष गरौँ !’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यसमा प्रतिनिधिहरूलाई १५ समूहमा विभाजन गरी जनवादी वातावरणमा बहस गरिएको थियो । आयोजक समितिका सदस्यहरू र प्रतिनिधिहरूको समूहबाट चुनिएका प्रतिनिधिहरूको बहसपछि राजनीतिक प्रतिवेदन एकमतले पारित गरिएको छ जसअनुसार, नेपाली शोषित–उत्पीडित श्रमजीवी जनताको अग्रदस्ताको नाम नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रहेको छ । यसको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हुनेछ । यसको कार्यक्रम, कार्यदिशा र कार्यनीति क्रमशः वैज्ञानिक समाजवाद (जनवादी कार्यभारसहितको समाजवादी क्रान्ति), एकीकृत जनयुद्ध र स्वाधीन संयुक्त सरकार हुनेछ । यसको कार्यनीतिक कार्यक्रम–राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, समृद्धि र स्वाधीनता हुनेछ ।

विशेष राष्ट्रिय भेलाले क्रान्तिकारी कम्युनिस्टहरूबीच आपसी संवाद, संयुक्त कार्यक्रम, संयुक्त मोर्चा निर्माण, पार्टी एकताका लागि पहलकदमी लिई बृहत् कम्युनिस्ट एकता गर्न निर्देशन गरेको छ । त्यसपछि विशेष राष्ट्रिय भेलाको अध्यक्षमण्डलको निर्देशनबमोजिम आयोजक समितिका सदस्य क. सुदर्शनले राखेको ८१ सदस्यीय नवौँ महाधिवेशन आयोजक समितिको प्रस्ताव एकमतले पारित गरेको छ । तुरुन्तै उक्त समितिको बैठकले क. कञ्चनलाई संयोजक चयन गरेको छ ।

विशेष राष्ट्रिय भेलाले पारित गरेका केही समसामयिक प्रस्तावहरू यसप्रकार रहेका छन् :

१) हामी नेपाल सरकारलाई तीनबुँदे सहमतिअनुसार बर्सौंदेखि बन्दी जीवन बिताइरहनुभएका सम्पूर्ण राजबन्दीहरूको बिनासर्त शीघ्र रिहाइ र झूट्टा मुद्दाहरूको खारेजी गर्न जोडदार माग गर्दछौँ ।
२) हाम्रो पार्टी आमजनतालाई संसदीय व्यवस्थाको भ्रममा नपर्न विशेष आह्वान गर्दछ ।
३) बढ्दो महँगी, कालोबजारी, व्यापक भ्रष्टाचार र बेरोजगारी नियन्त्रण गर्न राष्ट्रिय भेला राज्यलाई विशेष माग गर्दछ ।
४) नेपाललाई नाङ्गो नवऔपनिवेशिक अवस्थामा पुर्याउने अमेरिकी परियोजना एमसीसी खारेज गर्नका लागि विशेष राष्ट्रिय भेला आमजनतालाई सङ्घर्षका लागि विशेष आह्वान गर्दछ ।
५) उत्तर एट्लान्टिक सन्धि सङ्गठननामक साम्राज्यवादी सैन्य गठबन्धनलाई देखाएर रुससँग युद्ध गर्न उक्साई हतियार व्यापार गर्ने अमेरिकी साम्राज्यवादको यो भेला घोर भत्र्सना गर्दछ । रुसी साम्राज्यवादले स्वतन्त्र देश युक्रेनका जनतामाथि नरसंहारकारी युद्ध चलाएकोमा भत्र्सना गर्दै युक्रेनलाई सिकार बनाइएको युद्ध पूर्ण रूपले बन्द गर्न जोडदार माग गर्दछ र यसप्रकारको दबाब दिन विश्वका न्यायप्रेमी जनतालाई आह्वान गर्दछ । यसका साथै नेपाल सरकारले युक्रेन युद्धमा असंलग्न परराष्ट्र नीति तोडेकोमा उक्त युद्धमा अमेरिकालाई दिएको समर्थन फिर्ता लिन जोडदार माग गर्दछ ।
६) यो विशेष राष्ट्रिय भेला संसारका मालेमावादी कम्युनिस्टहरूको क्रान्तिकारी सङ्घर्षमा ऐक्यबद्धता प्रकट गर्दछ ।
७) यो विशेष राष्ट्रिय भेला सहिद, बेपत्ता योद्धा, घाइते–अपाङ्ग र राजबन्दीहरूप्रति सम्मान प्रकट गर्दै सहिदहरूको सपना साकार पार्ने दृढता प्रकट गर्दछ, बेपत्ताहरूको खोजी गरी वास्तविकता पत्ता लगाउन सङ्घर्षरत रहने प्रतिबद्धता गर्दछ । घाइते–अपाङ्ग योद्धाहरूको उपचारका लागि सङ्घर्षरत रहने र उनीहरूका सपना साकार पार्ने दृढता व्यक्त गर्दछ र बन्दीहरूको रिहाइका लागि पहल र सङ्घर्ष गर्ने दृढता व्यक्त गर्दछ ।

हामीले जनतामाथि फेरि पनि धोका नहोस् भन्नका लागि जनतासामु विशेष राष्ट्रिय भेलामा निम्न प्रतिबद्धता गरेका छौँ :

१) हामी मार्क्सवाद–लेनिनवाद–माओवाद पुरानो भयो भन्दै नयाँका नाममा ‘जनताको बहुदलीय जनवाद’, ‘एक्काईसौँ शताब्दीमा जनवादको विकास’, ‘एकीकृत जनक्रान्ति’, ‘शान्तिपूर्ण सङ्क्रमण’, ‘युरो कम्युनिज्म’ का नाममा पुरानै संसदीय पुँजीवादी व्यवस्थामा फर्कने संसदीय संशोधनबादका विरुद्ध दृढतापूर्वक लड्दै मालेमावादको रक्षा, प्रयोग र विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
२) समाजमा शोषक र शोषित वर्ग नयाँ–नयाँ रूपमा रहिरहेको तथ्यलाई स्वीकार गर्दै वर्गसङ्घर्ष अपरिहार्य रहेको हुनाले शोषित वर्गले प्रतिरोध सङ्घर्ष बेहोर्नुपर्ने र त्यो प्रतिरोध सङ्घर्षलाई शोषित वर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीले जनताको जनवादी अधिनायकत्वसम्म लैजाने प्रतिबद्धता गर्दछ ।
३) बारम्बार कम्युुनिस्ट पार्टीकै नेतृत्वमा पैदा हुने विचलनलाई रोक्न कम्युनिस्ट पार्टीको हरेक सदस्यले आफू बसेको पार्टी समिति र आफ्नो परिवारलाई समाजवादको एकाइका रूपमा विकास गर्दै लग्नुपर्दछ । यसका साथै समाजवाद आएपछि मात्र होइन, बरु आजैदेखि सांस्कृतिक क्रान्तिलाई लागू गर्दै जाने नीति अँगाल्ने प्रतिबद्धता गर्दछ ।
४) हामी जनतासँग कुनै पनि हालतमा अन्धराष्ट्रवादी हुने होइन, बरु सर्वहारा अन्तर्राष्ट्रियतावादी हुने प्रतिबद्धता गर्दछौँ ।


५) हामी सहिदहरूको सपना साकार पार्न, बेपत्ताहरूको अवस्था स्पष्ट पार्र्न, घाइते–अपाङ्ग योद्धाहरूका अधुरा सपना पूरा गर्न र राजबन्दीहरूको रिहाइका लागि सङ्घर्ष गर्न प्रतिबद्धता प्रकट गर्दछौँ ।
६) ‘जनताबाट लिएर जनतालाई दिने’, ‘तथ्यबाट सत्यको खोजी गर्ने’, ‘अनुसन्धान नगरी नबोल्ने’, ‘जनतासँग माछा र पानीको सम्बन्ध कायम गर्ने’ माओवादी नीतिमा पार्टी प्रतिबद्ध रहेको छ ।
७) न्यूनतम कार्यक्रम तथा राजनीतिक कार्यदिशा वैज्ञानिक समाजवाद एवम् एकीकृत जनयुद्ध र तात्कालिक राजनीतिक कार्यनीति स्वाधीन संयुक्त सरकार, राजनीतिक स्थिरता र सामाजिक रूपान्तरणप्रति दृढ हुँदै यसको उद्देश्य पूरा नहुँदासम्म लागिरहन पार्टी प्रतिबद्धता व्यक्त गर्दछ ।
८) पार्टीलाई कुनै पनि विचलनबाट रोक्न सामूहिक नेतृत्वको सामूहिक निर्णयप्रणाली र व्यक्तिगत उत्तरदायित्वको मालेमावदी सङ्गठनात्मक मान्यतामा प्रतिबद्ध रहन्छ ।

पत्रकार मित्रहरूमार्फत आदरणीय जनसमुदाय !

हाम्रो विशेष राष्ट्रिय भेलाले इतिहासका निर्माता जनताप्रति सम्पूर्ण रूपले समर्पित भएर वैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्यमा निरन्तर अघि बढ्ने निर्णय गरेको छ भने यो बाटोको व्यवधानका रूपमा आउने सबैखाले अवसरवाद, संशोधनवाद र साम्राज्यवादका विरुद्ध निरन्तर क्रान्ति गर्ने सङ्कल्प गरेको छ । प्रेस विज्ञप्तिको पूरापाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :