जागै बस साथी जागै बस, हुरीअघि सन्नाटामा मार्च हुन सक्छ बिहानै…

किन काँप्छन् बारम्बार नायक–महानायकहरूका मुटु ?

जागै बस साथी जागै बस, हुरीअघि सन्नाटामा मार्च हुन सक्छ बिहानै…

समय समीक्षा 

यतिबेला नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवको ११ वर्षअघि स्वर र सङ्गीतबद्ध भएको गीत ‘जागै बस साथी जागै बस’ को अत्यन्त धेरै सम्झना र आवश्यकता भइरहेको छ । जब राजनीतिक जीवनमा विपत्तिहरू आइलाग्छन्, जब क्रान्तिमा सङ्कट मडारिन लाग्छ, जब पार्टीनेतृत्व विचार, आदर्श र व्यवहारबाट लर्खराउन थाल्छ र आन्दोलनमा दुस्मनहरू हाबी हुन थाल्छन्, त्यतिबेला महासचिवको यो गीत धेरै सान्दर्भिक हुन्छ किनकि कुनै पनि बेला दुस्मनले क्रान्तिकारी शक्तिमाथि धावा बोल्न थाल्छन् र क्रान्तिकारी शक्ति जागै बस्नुपर्ने हुन्छ । यतिबेला फेरि महासचिवले क्रान्तिकारी आन्दोलनका पक्षमा लेखेको यो गीतको सान्दर्भिकता अझै बढेको छ । महासचिवले त्यतिबेला क्रान्तिका पक्षमा लेखेको गीतको पूर्ण अंश यस्तो छ :

जागै बस साथी जागै बस
हुरीअघि सन्नाटामा
मार्च हुन सक्छ बिहानै
क्रान्ति पूरा गर्नलाई

वर्गवैरी धोकेबाज हुन्छन्
घात गर्न सक्छन् रातारात
दिनदहाडै आतङ्क मच्चाई
पार्न सक्छन् बरबाद

भीषण हुन्छ भोलिको रण
पार गर्नु छ कसैगरी
क्रान्तिकारी रातो झन्डालाई
फहराउनुछ जसैगरी

यति बेला नेपालको कम्युनिस्ट आन्दोलन अत्यन्त गम्भीर मोडमा छ । क्रान्तिकारी रातो झन्डा फहराउनु र त्यसलाई जोगाउनु आवश्यक छ । एकातिर मुलुकको राष्ट्रियता, जनतन्त्र र जनजीविका सङ्कटमा छ भने अर्कोतिर राजनीतिक आन्दोलन पनि सङ्कटमा छ । क्रान्तिकारी आन्दोलन सञ्चालन गरिरहेको पार्टी नेकपाको केन्द्रीय समितिले प्रतिक्रियावादी दलाल संसदीय व्यवस्थाले गराउने चुनावमा सहभागी नहुने निर्णय गरे पनि एकखाले मानिसहरू पदीय मर्यादासमेत ध्यानमा नराखी चुनावमा हाम्फालिरहेका छन् अर्थात् उनीहरूका लागि वैज्ञानिक समाजवाद यही व्यवस्था बनेको छ । यो जनतामाथिको घात र धोका हो र क्रान्तिप्रतिको गद्दारी पनि ।

कवि अलेक्सान्द्र इसाएभिच सोल्झेनित्सिनले यस्तो अवस्थालाई अत्यन्त मार्मिक ढङ्गले अभिव्यक्त गरेका छन् । उनी भन्छन् :

हामीलाई थाहा छ, तिनीहरू ढाँट्दैछन्
तिनीहरूलाई पनि थाहा छ, तिनीहरू ढाँट्दैछन्
तिनीहरूलाई थाहा छ, तिनले ढाँटिरहेको हामीलाई थाहा छ
हामीलाई थाहा छ, तिनीहरूले ढाँटिरहेको हामीलाई थाहा छ भन्ने तिनीहरूलाई थाहा छ
तर पनि तिनीहरू अझै ढाँटी नै रहेका छन् ।

हो, दलाल संसद्वादको उपयोगबाट समाजवाद आउँदैन भन्ने सबैलाई थाहा छ । अझ माक्र्सवादी र क्रान्तिकारी कम्युनिस्ट हौँ भन्नेहरूलाई त थाहा नहुने कुरै भएन किनकि निरन्तर सात दशकदेखि नेपालका क्रान्तिकारीहरू यसैप्रकारका प्रतिक्रियावादी व्यवस्थाका विरुद्ध लडिरहेका छन् । हिजो एमालेले कम्युनिस्टकै ब्यानरमा बहुदलीय जनवादका नाउँमा सबैलाई ढाँट्यो । त्यसपछि फेरि प्रचण्डहरूले पनि एक्काईसौँ शताब्दीको जनवादलगायत विभिन्न बहानामा जनतालाई ढाँटे र क्रान्तिप्रति, सर्वहारा श्रमिक जनतामाथि अर्को गद्दारी गरे । अब कसैले यही संसद्वादी व्यवस्थालाई उपयोग गरेर समाजवाद ल्याउँछौँ वा यहीँभित्रैबाट समाजवाद आउँछ भन्छ भने फेरि पनि उसले हामीलाई बेबकुफ बनाउने प्रयत्न गरिरहेको छ । यसरी खुलेआम ढाँट्दा पनि हामी सधैँ ढाँटिइरहने ? आफैँलाई बारम्बार ढाँट्ने ?

महासचिव कमरेड विप्लवले पछिल्लो एक बैठकमा आफू चौतर्फी घेराबन्दीमा परेको, एमसीसी र एनसेलविरुद्धको आन्दोलनका कारण ज्यान नै जोखिममा रहेको, पार्टीभित्रको अन्तरसङ्घर्षको समय पारेर आफूमाथि हमलासम्म हुनसक्ने वा गोन्जालो बनाइनसक्ने सूचना आएको भन्दै अलि चिन्तामिश्रित स्वरमा नयाँ, चुनाव उपयोगको कार्यनीति स्वीकार गर्न प्रस्ताव गरेका थिए । साम्राज्यवादी आक्रमणको धम्की खाने नेकपाका महासचिव विप्लव पहिलो व्यक्ति होइनन् । यसअघि प्रचण्डले पनि बारम्बार यसैगरी आफूमाथि आक्रमणको खतरा रहेको बताउने गरेका थिए । यो सत्य हो वा बनावटी हो, नेताहरू क्रान्तिकारी कार्यदिशा र कार्यक्रमबाट पछि हट्नुप¥यो भने साम्राज्यवादलाई कारण देखाउने गरेका छन् । माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ, होचि मिन्ह, चे, फिडेल क्यास्त्रो, किम इल सुङदेखि किम जोङ उन र सी जिन पिङसम्मलाई साम्राज्यवादी धम्की नभएको होइन । नेतहरूको मस्तिष्कमा विचार र मुटुमा रातो रगत होउन्जेल यस किसिमका धम्कीले कुनै अर्थ राख्दैनन् तर जब विचार कमजोर हुँदै जान्छ अनि प्रतिक्रियावादी शक्तिहरूका धम्कीले हाम्रा नायक र महानायकहरूको नौनाडी गल्दै जाने र मुटु काँप्ने गरेको छ । किन बारम्बार नेपाली जनताका महानायकहरूमा भक्ति थापा, अमरसिंह, भीमसेन र कृष्ण सेनहरूको भन्दा कायर लेन्डुपहरूको रगत बगिरहेको छ ? परिस्थिति नै यस्तै बनेको यो वा कृत्रिम कुरा हो ? साँच्चै हो भने नेपाल र नेपाली कहिल्यै पनि वैरीहरुबाट पराजित भएका छैनन् । बनाएको छ भने नेपालीलाई आफैँभित्रको मनोरोगले पराजित बनएको छ ।
कवि ढुण्डीराज अधिकारी नेपालीको वीरताको बखान गर्दै लेख्छन् :

साम्राज्यवादको खुनी हमला सहन सक्दिनँ
कायर बनी चुप लागेर रहन सक्दिनँ
इँटको जबाफ ढुङ्गाले दिन्छु हिँड्दिनँ भागेर
जिउनु छैन थरथर काँप्दै ज्यानको भिक मागेर
बाँचुन्जेलसम्म देशको रक्षा पाले भै गर्नेछु
वीरको छोरो वीरको नाती बहादुर भै मर्नेछु
सक्दिनँ हेर्न सगरमाथा दनदनी बलेको
हेरिरहन्नँ देशको सिमाना दिनदिनै सरेको
पुर्खाले रगतपसिना बगाई आर्जेको देश मेरो
हुन म दिन्नँ कहिले पनि नेपाललाई अँधेरो
आमाको छाती दलालले टेक्दा कसरी नजागौँ
नेपाल आमाले गुहार माग्दा कसरी म भागौँ
संसार थर्काउने नेपाली वीर हो भनेर चिनिन्छ
मेरो देशमाथि कुदृष्टि लाउनेको रगत पिइन्छ
नेपाललाई कमजोर नठान ए साम्राज्यवादी हो
लड्नु र भिड्नु साधारण खेल हो नेपाली जातिको
जन्मिँदै कला साथमा ल्यायौँ खुकुरी चलाउन
बालक कालमै अभ्यास गर्यौँ बारुद खेलाउन
मृत्युलाई जित्ने कला छ हाम्रो यमराज डराउँछ
हाम्रो गर्जनले दुष्ट–दुस्मनको मूल सातो हराउँछ
हामीले तयार गरेको बाटो निरन्तर हिँड्नेछौँ
तगारो हाल्न कोही आएमा अवश्य भिड्नेछौँ
लक्ष्य टाकुरो टेकेरै छोड्छौँ बीचमा अड्किन्नौँ
शिखर नचुमी बहादुर पाइला पछाडि फर्कन्नौँ
नाङ्लो ठटाएर तर्सिन्न हात्ती निरन्तर लम्किन्छ
हाम्रो लम्काइमा बाधा पुर्याए खुकुरी चम्किन्छ
हाम्रो वेगलाई रोक्न नखोज रोकेर रोकिन्न
ज्वालामुखी भै पड्किन सक्छौँ छेकेर छेकिन्न

महान् दार्शनिक कार्ल माक्र्सले माक्र्सवाद कार्यान्वयनका लागि निरन्तर वर्गसङ्घर्षमा लामबद्ध भइरहनुपर्ने बताएका छन् । कम्युनिस्ट आन्दोलनका महान् अग्रज लेनिन र माओले पनि वर्गसङ्घर्ष नै समाजवाद– साम्यवाद प्राप्तिको एक मात्र र अचुक हतियार भएको बताएका छन् । यहाँ तीन महान् अग्रजका महान् उक्तिहरूलाई प्रस्तुत गर्ने अनुमति चाहन्छु :
‘हामी मजदुरहरूलाई भन्छौँ, विद्यमान स्थितिलाई परिवर्तन गर्ने मात्र होइन, आफैँलाई राजनीतिक सत्ता सञ्चालनयोग्य बनाउनसमेत तपाईंंहरू

१५, २० र ५० वर्षका गृहयुद्ध एवम् अन्तर्राष्ट्रिय युद्धका बीचबाट गुज्रनुपर्ने हुन्छ ।’
— कार्ल माक्र्स

‘गृहयुद्धबिना आजसम्म इतिहासमा कुनै पनि महान् क्रान्ति सम्पन्न हुनसकेको छैन र त्यसबिना पुँजीवादबाट समाजवादमा सङ्क्रमण कुनै पनि गम्भीर माक्र्सवादीले सोच्न सक्दैन ।’
— भीआई लेनिन

हरेक कम्युनिस्टले यो सत्यलाई आत्मसाथ गर्नैपर्छ, राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ । हाम्रो सिद्धान्त हो पार्टीले बन्दुक चलाउँछ र कुनै हालतमा बन्दुकले पार्टी चलाउन दिइनेछैन ।’
– माओ त्सेतुङ

यी महान् उक्तिहरूले वर्गसङ्घर्ष सम्झौता, पलायन र सहमति–सम्झौतामा होइन, निरन्तर क्रान्तिको माध्यमबाट मात्र अघि बढ्न सम्भव छ । सङ्घर्षको माध्यमबाट मात्र मालेमावाद लागू हुनसक्छ । नेकपामाथि प्रतिबन्ध लगाइएपछि १२ जनाको बलिदान भइसकेको छ भने सयौँ नेता–कार्यकर्ता जेलको चिसो छिँडीमा कष्टपूर्ण जीवन व्यतित गरिरहेका छन् । नेता–कार्यकर्ताको टाउकोमा हजारौँ झूट्टा मुद्दाहरू चलिरहेको र क्रान्तिबाट संसद्वादमा ओरालो लाग्न गरिएको कथित तीनबुँदे सहमतिसमेत कार्यान्वयन नभइरहेको समयमा पार्टीका कतिपय नेताहरूमा यस्तो संसद्वादी चुनावमा जान मरिहत्ते गर्ने चिन्तन कहाँबाट आयो होला ? प्रश्न गम्भीर छ । चुनावकै विषयमा माक्र्सवादी युवा कवि बीपी विद्रोही ‘चुनाव होइन, व्यवस्थाविरुद्ध लडौँ’ शीर्षक कवितामा भन्छन् ः

वडामा लड्ने कि पालिकामा
लडाइँ यसमा नलडौँ
यो सत्तासँग
राइफलले लड्ने कि मिसाइलले लड्ने
लडाइँ यसमा गरौँ
पहिलो निशाना
माफियालाई लगाउने कि तस्करलाई
बहस यता गरौँ
जनमुक्ति सेनाको पहिलो रोलकल
माइतीघरबाट गर्ने कि थबाङबाट
छलफल यता गरौँ
जनसरकारको प्रमुख को बन्ने
जनसेनाको कमान्डर को बन्ने
कम्ब्याट कुन प्रयोग गर्ने
छलफल यता गरौँ
पहिलो सहिद तपाईं हुने कि म ?
पुरानो व्यवस्थाको चिहान कहाँनेर खन्ने
जलाउने कि गाड्ने
समाजवादको पहिलो झन्डा कहाँ फहराउने
समाजवादको पहिलो बिहान कुन गीत गाउने
छलफल यसमा गरौँ
साम्राज्यवादलाई केले हान्ने
पुँजीवादलाई केले ठोक्ने
टाउकोमा हान्ने कि
छातीमा बजाउने
छलफल यता गरौँ
लडौँ कमरेड लडौँ
पहिला सिङ्गो व्यवस्थाका विरुद्ध लडौँ
मेयर र उपमेयरको चुनाव
फुर्सदमा लडौँला !

हो, यो बेला दलाल पुँजीवादलाई बलियो बनाउने चुनाव होइन, क्रान्तिमार्गमा अघि बढ्ने अब्बल क्रान्तिकारी चयन गर्ने बेला हो । क्रान्तिको लालझन्डा झुक्न लागेको समयमा लालझन्डा कसले बोक्ने भन्ने विषयमा चुनाव हुनु जरुरी छ ।

नेपालको कम्युनिस्ट आन्दोलन विभिन्न चरण, मोड, घुम्ती र अनुभवहरू सँगाल्दै सङ्घर्षपूर्ण बाटोबाट यहाँसम्म आइपुगेको छ । २००६ सालमा स्थापित कम्युनिस्ट पार्टीले आफ्ना गौरवशाली ७३ वर्ष पार गरिसकेको छ । नेकपाका नेताहरूले नै लेखेर संश्लेषण गरेका छन् ः नेपालको कम्युनिस्ट आन्दोलनमा २००८, २०१२, २०१५, २०१९, २०२५, २०२८, २०२९, २०३१, २०३५, २०३८, २०४०, २०४२, २०४८, २०५१, २०५४, २०६१, २०६५, २०६९ र २०७१ सालहरू भीषण दुई लाइन सङ्घर्षका उत्कर्ष वर्षहरू हुन् । नेपालको कम्युनिस्ट आन्दोलनमा आएको टुटफुट र विभाजन तथा नेतृत्व परिवर्तनका वर्षहरू थिए ती । यी अन्तरसङ्घर्ष र दुई लाइन सङ्घर्षहरूले पार्टीमा टुटफुट मात्र भएन, यसले सही र गलत विचारहरूलाई पनि सतहमा ल्याइदिएको छ । २००८ सालमा पार्टीमा आएको सुधारवाद, २०१२ सालमा देखापरेको राजावादी लाइन, २०१५ सालमा देखापरेको संसदीय लाइन, २०१७ सालपछि देखापरेको खु्रस्चोभी लाइन, संविधानसभाको अमूर्त र अस्पष्ट लाइन (२०१९), पुष्पलालको काङ्ग्रेससँगको मोर्चामा पञ्चायत फाल्ने लाइन (२०२५), झापालीहरूको वर्गसङ्घर्षको लाइन (२०२८), मोहनविक्रमको देशभक्त र जनतान्त्रिक शक्तिहरूको सरकार (२०३१), (२०३८), सत्ता जनतालाई हस्तान्तरणको लाइन (२०४१), निर्मल लामाको विद्रोह र चुनावमा भाग लिने लाइन र मोहनविक्रमको चुनाव बहिष्कारको लाइन, प्रचण्डको जनयुद्धको लाइन (२०४८), मदन भण्डारीको बहुदलीय जनवादको लाइन (२०४८), जनयुद्धभित्र प्रचण्डको जनयुद्ध र जनविद्रोहको फ्युजनको लाइन (२०५४), बाबुरामको लोकतान्त्रिक गणतन्त्रको लाइन (२०६०), शान्तिप्रक्रियापछि पछिल्लो चरणमा प्रचण्डको संविधानसभाको लाइन, विद्रोहको लाइन, समाजवादको लाइन, बाबुरामको शान्ति र संविधानको लाइन, किरणको जनयुद्धको जगमा जनविद्रोह मुख्यतः विद्रोहको लाइन, विप्लवको एकीकृत जनक्रान्तिको लाइन । कठोर वर्गसङ्घर्षकै बीचमा हामी अत्यन्त गम्भीर मोडमा आइपुगेका छौँ फेरि । नेकपाको एउटा समूह चुनावमा होमिएको छ भने ठूलो पङ्क्ति क्रान्तिप्रति प्रतिबद्ध छ । संसद्वादी व्यवस्थाभित्र प्रवेश गरेर समाजवाद स्थापना गर्ने कुरा क्रान्तिबाट विचलित हुने कुरा हो । स्रष्टाहरूले यस किसिमका अवसरवादी कार्यनीतिहरूलाई सिर्जनाका माध्यमबाट धज्जी उडाएका छन् । क्रान्तिरीहरूले फेरि एकपटक अवसरवादबाट बच्दै र पलायनका योजनाहरूलाई परास्त गर्दै क्रान्तिमार्गमा अघि बढ्नुआवश्यक छ । यस अंकको समय समीक्षमा कवि पाशको ‘सबभन्दा खतरनाक’ र कवि बर्तोल्त ब्रेख्तको ‘मायाकोब्स्कीको समाधिमा’ शीर्षकका अत्यन्त चर्चित र समसामयिक कालजयी कवितांश प्रस्तुत गर्दै बिदा हुने अनुमति माग्छु ः

‘कपटी स्वरमा
सत्य हुँदाहुँदै पनि दबेर बस्नु— नराम्रो त हो
जूनकीरीको रोशनीमा पढ्नु— नराम्रो त हो
मुठी कसेर समय गुजार्नु— नराम्रो त हो
तर सबभन्दा खतरनाक होइन
सबभन्दा खतरनाक हुन्छ
मुर्दा शान्तिले भरिनु
कुनै छट्पटीबिना चुपचाप सहनु
घरबाट काममा निस्कनु
र कामबाट घरमा फर्कनु
सबभन्दा खतरनाक हुन्छ
हाम्रा सपनाहरूको मृत्यु हुनु ।’
– पाश

‘हामीले सार्कहरूलाई छकायौँ
हामीले बाघहरूलाई हरायौँ
हामीलाई जसले खायो
त्यो उडुस थियो ।’
– बर्तोल्त ब्रेख्त

(रातो खबर साप्ताहिक, वर्ष : ७, अङ्क : ४०, पूर्णाङ्क : ३१०, १४ वैशाख, २०७९ बाट साभार)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :