राजनीतिक इमानदारी देखाऊ उम्मेदवारी फिर्ता लेऊ

राजनीतिक इमानदारी देखाऊ उम्मेदवारी फिर्ता लेऊ

जीवनमा नैतिकता र इमानदारीको ठूलो महत्व छ । सामाजिक जीवनका सबै क्षेत्रमा इमानदारी, नैतिकता र विश्वासको महत्वपूर्ण स्थान हुन्छ । अन्य क्षेत्रमा झैँ राजनीतिमा पनि इमानदारी हुन्छ, नैतिकता हुन्छ । विशुद्ध सामाजिक भावना र जिम्मेवारीले ओतप्रोत भएकाले पनि मानिसले राजनीतिक क्षेत्रमा बढी इमानदारी, नैतिकता र विश्वासको माग र अपेक्षा गर्छ । एउटा व्यापारीले मूल्य लिएर सामान बिक्री गर्नुभन्दा धेरै नै बढी जिम्मेवार छ आफ्नो समग्र समय, विवेक, बुद्धि, श्रम र लगानी लगाएर सामाजिक भावना र जिम्मेवारीबोधसहित गरिने राजनीति । मानवसमाज जति सभ्य र विकसित बन्छ, उति नै इमानदार बन्छ । इमानदार बन्नु भनेको आफ्नो वचन, निर्णय, अधिकार र कर्तव्यप्रति जबाफदेही बन्नु पनि हो । इमानदारी, नैतिकता र विश्वसनीयता नभएको क्षेत्र अस्तव्यस्त, लथालिङ्ग, भताभुङ्ग र अराजक हुन्छ । एउटा इमानदारी, एउटा नैतिकता र एउटा विश्वास वा प्रतिबद्धता वेश्यालयजस्तो अश्लील, अमानवीय र घृणित स्थानमा पनि हुन्छ भनिन्छ, झन् राजनीतिमा त यसको अपेक्षा बढी नै हुने भयो । कतिपय सन्दर्भमा राजनीतिक क्षेत्रका पात्र र दलहरूले राजनीतिक इमानदारीमा ध्यान नदिँदा वा अधैर्य-मनोमानी गर्दा मानिसहरूले भन्ने मौका पाएका छन्– राजनीति फोहोरी खेल हो । सबै नीतिको मूल नीति राजनीति नै फोहोरी, धमिलो र दुर्गन्धित बने-बनाइएपछि त्यसअन्तर्गतका सबै नीति, नियम, कानुन, व्यवहार–आचरणहरू पनि दूषित हुने नै भए । प्रतिक्रियावादी र बुर्जुवा शक्तिहरूले आममानिसलाई राजनीतिबाट विमुख बनाउन राजनीति र प्रेममा जे पनि सम्भव वा छूट हुन्छ भनेर झुक्याउने वा अनैतिकताको पाठ पढाउने गरेका छन् । अझ कतिपयले त राजनीतिलाई शौचालयसमेत भन्ने धृष्टता गरेका छन् । राजनीतिक पार्टी र तिनका नेतृत्वले आफ्नै निर्णय, विचार उल्लङ्घन गरेर सस्तो रमिता वा उटाङ देखाउँदा राजनीतिप्रति वितृष्णा जगाएर सत्ताको तर मार्न पल्किएकाहरूले फाइदा लिने गरेका छन् । त्यसैले विशुद्ध सामाजिक सेवाभाव र आमूल परिवर्तनको जिम्मेवारी बोकेको राजनीतिक क्षेत्रका अगुवाहरू यी बदनामीबाट बच्न आफ्नो निर्णय र अनुशासनप्रति गम्भीर रूपले इमानदार हुनुपर्छ । आफ्नै निर्णय उल्लङ्घन गरेर मनोमानी गर्ने छूट कसैलाई हुँदैन । अनुशासन उल्लङ्घन गर्नेहरू कारबाहीका भागीदार हुन्छन् । अन्यथा समाजमा अराजकता मच्चिन्छ । क्रान्तिकारी आन्दोलनहरू र अझ कम्युनिस्ट आन्दोलनमा त इमानदारी र अनुशासनको धेरै नै ठूलो महत्व छ । यही जिम्मेवारीबोध, विश्वास र अनुशासनले समाजमा ठूल्ठूला सङ्घर्ष, युद्ध र क्रान्तिहरू सफल हुने गरेका छन् । नेतृत्व बेइमान, गैरजिम्मेवार भइदियो भने सबैतिर भतभुङ्ग र लथालिङ्ग हुन्छ । आफ्नै निर्णय उल्लङ्घन गरेर र इमानदारी भुलेर अराजकता मच्चाउनु विखण्डन र विभाजन ल्याउनु हो । यो बेइमान र अनैतिक कार्य हो ।
नेपाल कम्युनिस्ट पार्टीको आठौँ केन्द्रीय समितिको बाह्रौँ पूर्ण बैठकले गरेका विभिन्न निर्णयमध्ये दलाल पुँजीवादी सत्ताले आफ्नो दीर्घायुका लागि घोषणा गरेको आसन्न स्थानीय निर्वाचनमा पार्टी दर्ता गरेर भाग नलिने निर्णय अत्यन्त महत्वपूर्ण निर्णय हो । नेकपाको बैठकले पार्टीका कुनै पनि नेता पार्टी हैसियतमा निर्वाचनमा नजाने, एमसीसीविरोधी देशभक्त शक्ति, पात्रहरू उठेमा सहयोग गर्न सकिने निर्णय गरेको थियो । दलाल पुँजीवादी व्यवस्था र त्यही व्यवस्थामा रमाइरहेका पुँजीवादका पिछलग्गुहरूले नेकपाजस्तो क्रान्तिकारी विरासत र जिम्मेवारी बोकेको इमानदार पार्टी र यस पार्टीका इमानदार कार्यकर्तालाई पनि सत्ता, पद र पैसाको प्रलोभन देखाउँदै चुनावमा भाग लिन र अन्यथा दमन गर्ने त्रास पनि देखाएका हुन सक्छन् । यिनै प्रलोभन, त्रासलगायत कारण कतिपय व्यक्ति पार्टी निर्णयविरुद्ध आफैँले गरेको निर्णय लत्याउँदै, आफैँले बोलेको आवाजको गुन्जन नहराउँदै तीन हात माथि उफ्रिएर चुनावी प्रक्रियामा सामेल भएका छन् । कतिसम्म लाजमर्दो अवस्था देखिएको छ भने कयौँ पात्रहरू आफ्नो पदीय हैसियत र मर्यादासमेत भुलेर दलाल पुँजीवादी सत्ताका कनिष्ठ निकायमा चुनाव लड्न मनोनयन दर्ता गराउन पुगेका छन् । यी घटना र दृश्यहरूले रूपचन्द्र बिष्टको ‘भ्रष्टाचार गर्ने मौका नपाएर इमानदार देखिएका भातेहरू’ वाणीको स्मरण गराउँछ । यी पात्रहरूलाई २०७० र २०७४ सालका कथित संविधानसभा र संसदीय निर्वाचनहरू पनि किन बहिष्कार गरिएको थियो होला भन्ने भान वा पश्चाताप परिरहेको हुन सक्छ । यो विडम्बनापूर्ण अवस्था हो । यति कमजोर मानसिकता र निर्णयक्षमताका मानिसहरूले कसरी पुरानो राज्यसत्ता बदलेर जनतालाई नयाँ, वैज्ञानिक राज्यसत्ता दिन सक्छन् ! एउटा कुहिएको आलुले सिङ्गै बोराका आलु बिगारिदिन्छ भन्ने सत्य यी पदलोलुप, अराजक र संसद्वादपरस्त चिन्तन बोकेकाहरूले देखाएका छन् । उनीहरूले पार्टीको गौरवशाली इतिहास, निर्णय र इमानदारी कायम राख्दै आफूले गरेको मनोनयनबाट नाम फिर्ता लिनुपर्छ । नेकपाको सचिवालयले नाउँ फिर्ता लिन गरेको आह्वानलाई इमानदारीपूर्वक स्वीकार गरी राजनीतिक संस्कार देखाउनुपर्छ । अर्ती र उपदेश अरूलाई दिनका लागि मात्र होइनन्, आफ्ना लागि पनि हुन् । पार्टी केन्द्रीय समितिको निर्णय उल्लङ्घन गर्ने अधिकार कसैलाई पनि छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :