विप्लव–प्रकाण्डको पलायनका विरुद्ध गर्जिए एकीकृत जनक्रान्तिका सहिद परिवारहरू

दलाली र अवसरवादका विरुद्ध क्रान्तिको झन्डा उठाउन आह्वान

विप्लव–प्रकाण्डको पलायनका विरुद्ध गर्जिए एकीकृत जनक्रान्तिका सहिद परिवारहरू

काठमाडौँ : एकीकृत जनक्रान्तिका महान् सहिदका परिवारहरूले विप्लव–प्रकाण्डले रोजेको पलायन र आत्मसमर्पणका विरुद्ध आक्रोशित बन्दै सहिदका सपना पूरा गर्न क्रान्तिमार्गमा अविच्छिन्न लामबद्ध हुने प्रण गरेका छन् । महान् जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारले यसअघि नै कायरता र पलायनको बाटोका विरुद्ध क्रान्तिमार्गमा लामबद्ध हुन आह्वान गरिसकेका छन् । एकीकृत जनक्रान्तिका महान् सहिद कृष्णप्रसाद भण्डारी ‘निरन्तर’ की जीवनसँगिनी पुनमाया डङ्गोल भण्डारी, सहिद प्रज्वल शाहीका बहिनीहरू मनीषा र कलशा शाही, सहिद गोकुल रानामगर ‘महान’ की जीवनसँगिनी मालती रानामगर, सहिद विभुराम विक ‘दीपेन्द्र’ की जीवनसँगिनी बिना सुवर्णकार, सहिद रामकमार श्रेष्ठकी आमा मीनामाया श्रेष्ठ र सहिद गोकुल रानामगर ‘महान’ को दाई सुरेन्द्र रानाले संयुक्त वक्तव्य जारी गर्दै आफूहरू विप्लव–प्रकाण्ड गुटको पलायनवादी, अवसरवादी, संशोधनवादी र चुनावपरस्त लाइनमा नभएर क्रान्तिकारी लाइनमा रहेको प्रस्ट पारेका हुन् । उनीहरूले विप्लव–प्रकाण्ड नसच्चिए क्रान्तिको झन्डा बोक्न क्रान्तिकारी नेता–कार्यकर्तालाई आह्वान पनि गरेका छन् ।

सहिद परिवारद्वारा बिहीबार जारी वक्तव्यमा भनिएको छ, ‘नेपालको क्रान्तिकारी आन्दोलन भीषण क्रान्ति र प्रतिक्रान्तिका उतारचढावका बीचबाट अगाडि बढिरहेको छ । महान् जनयुद्धको १० बर्से ऐतिहासिक आन्दोलन सफलता उन्मुख हुँदै गर्दा लाखौँ जनता, हजारौँ सहिद, बेपत्ता र योद्धाहरूको सपनाको चिरहरण गर्दै प्रचण्डले सिङ्गो माओवादी आन्दोलनलाई संसदीय फोहोरी खेलमा लगेर विघटन गरे । माओवादी आन्दोलनमा देखिएका विचलन र विसर्जनबाट विद्रोह गर्दै किरणसम्म आइपुग्दा विचार, राजनीतिक उच्चतासहित गरेको विद्रोह गतिहीन भएको भन्ने निष्कर्षसहित एकीकृत जनक्रान्तिको कार्यदिशा निर्माण गर्दै दलाल संसदीय व्यवस्थाविरुद्ध वैज्ञानिक समाजवादको सपना बोकेर विप्लवको नेतृत्वमा नेकपा गठन भयो । वर्तमानको व्यवस्था, संविधान, नियम, कानुनविरुद्ध नयाँ व्यवस्थाको परिकल्पना गरेको नेकपा र नयाँ सपना बोकेर एकीकृत जनक्रान्तिको यात्रामा होमिएका हजारौँ जनता, नेता–कार्यकर्ताहरूको सपनामाथि बुधबार नेकपाका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिले कुठाराघात मात्रै होइन, गम्भीर प्रकारको धोका भएको छ । फेरि पनि हामी एकीकृत जनक्रान्तिका सहिद परिवार विप्लव–प्रकाण्डलाई सच्चिन, पार्टी केन्द्रीय समितिले गरेको निर्णयबाट नभाग्न र पार्टी विघटनको वक्तव्य फिर्ता लिन महासचिव विप्लवलाई अपिल गर्दछौँ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘पार्टीमा देखिएका समस्याहरूलाई छलफल र बहसबाट भागेर पार्टीको महासचिवले पार्टी विघटनको घोषणा गर्नु आपत्तिजनक मात्रै नभई आफ्नो लक्ष्य, विचार र आन्दोलनबाट भागेको पुष्टि भएको छ । एकीकृत जनक्रान्ति विशाल जनता, सयौँ–हजारौँ नेता–कार्यकर्ता तथा १२ जना हाम्रा प्रियजनको रगतले लत्पतिएको अतुलनीय देन, मेहनत र पसिनाको सङ्गम हो नेकपा । सिङ्गो पार्टीलाई मुठीभर मान्छेको अधीनमा राखेर क्रान्ति अगाडि बढ्न सक्दैन, न त हामीले खोजेको वैज्ञानिक समाजवाद स्थापना नै हुनसक्छ । अन्यथा नेकपाभित्र विप्लव–प्रकाण्ड गुटमा देखिएको गम्भीर प्रकृतिको वैचारिक विचलन धोका मात्रै नभई हामी सहिद परिवारको दृष्टिमा अक्षम्य अपराध हो भन्ने पुष्टि हुन पुगेको छ । यो प्रक्रियामा हामीले हाम्रा परिवारका १२ प्रियजन गुमायौँ । परिवारको सपनालाई समाज र देश बदल्ने उच्च चाहना राखेर एकीकृत जनक्रान्तिको मैदानमा होमिएका हाम्रा प्रियजन सपनाको बाटोमा केही पाइला नटेक्दै सामान्य सङ्घर्षमा गुमाउनु पर्दाको पीडालाई शब्दमा व्यक्त गर्न सकिँदैन । सुन्दर सपना बोकेका कलिला अनुहारहरू क्षणभरमै काठमाडौँका गल्लीबाट क्षतविक्षत शरीर र मासुका टुक्राहरू बलुटेर पशुपति आर्यघाट पुग्दै गर्दा टुक्रा परेका लाससँग हामीले प्रतिबद्धता गरेका थियौँ– हामी पार्टीको यो बाटोमा साथ दिनेछौँ । हामीले हाम्रो पार्टीलाई अभिभावक ठान्यौँ । घटनाबारे थुप्रै शङ्का, प्रमाण, बिमति पार्टीभित्र राख्यौँ । सामान्य बन्दको कार्यक्रममा बमको प्रयोग के थियो ? वा बमबारे केही पनि नजानेका मानिसलाई बम किन भिराइयो ? वा नेताका आफन्त किन प्रयोग हुँदैनन् यस्ता कार्यक्रममा ? यस्ता प्रश्न उठाउँदै गर्दा देश र राष्ट्रका लागि बलिदान भयो भन्ने विचारको उच्चताले जितिरह्यो ।’

वक्तव्यको अन्त्यमा भनिएको छ, ‘तर ३ बुँदे सहमतिपछि नेकपामा देखिएको परिवर्तनले शङ्काहरू थुप्रै जन्मिए । अन्ततः विप्लवको यही संसदीय फोहोरी खेलमा गएर नेकपा विघटन गर्ने चुनावी प्रस्तावले सबै कुरा सडकमा ल्याइदियो । अतः अब विप्लव र प्रकाण्ड नसच्चिने हो भने धोका, बेइमानी, गद्दारी र राजनीतिक अपराधलाई हामी सहिद परिवारले काँध थाप्न नसक्ने कुरा स्पष्ट पार्न चाहन्छौँ र १२ जनाको हत्या केका लागि थियोे ? विप्लव–प्रकाण्डलाई जबाफ दिन अपिल गर्दछौँ । विचारबाट स्खलित भएका नेताहरूको आरोप–प्रत्यारोपले हामीलाई निकै दुःखी बनाएको छ । अब हामीले आशा गरेका विप्लव–प्रकाण्ड रहेनन् । हामी सहिद परिवारहरू क्रान्तिको झन्डा उठाउन नेकपाका क्रान्तिकारी नेता–कार्यकर्ताहरूलाई अपिल गर्दछौँ । हाम्रा प्रियजनको सपना सडकमा नसुकाउन हामी हातेमालो अवश्य गर्नेछौँ । साथै हामी सहिद परिवार, सहिदका सपना, जनता र नेकपाका समर्थक–शुभचिन्तकमाथि जुन अपराध भएको छ, यसको सम्पूर्ण हिसाब–किताब गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ ।’

स्मरणीय छ, नेकपाको बाह्रौँ केन्द्रीय समितिको बैठकको निर्णय लत्याउँदै विप्लव–प्रकाण्डले विभिन्न स्थानमा पार्टीका नाउँमा नेता–कार्यकर्तालाई यही दलाल पुँजीवादी संसदीय व्यवस्थाको चुनावमा उठाएपछि पार्टीभित्र क्रान्तिकारी र आत्मसमर्पणवादी लाइनबीच तीव्र वैचारिक सङ्घर्ष चुलिएको समयमा विप्लवले आत्मसमर्पणवादी लाइनको समर्थन गर्दै क्रान्तिकारी विचारका नेताहरू धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई कथित निष्कासन गरेको विज्ञप्ति जारी गरेका थिए । सहिद परिवारहरूको वक्तव्य विप्लवको उक्त पलायन र कायरतावादी हर्कतपछि सार्वजनिक भएको हो ।  विज्ञप्तिको पूरापाठ…..

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :