अखिल क्रान्तिकारीका महासचिव, सचिव र कोषाध्यक्षद्वारा पार्टी महासचिव नसच्चिए विद्रोहको झन्डा बोक्ने चेतावनी

प्रकाश शाहीको गुटगत र फुटवादी मानसिकताप्रति गम्भीर ध्यानाकर्षण

अखिल क्रान्तिकारीका महासचिव, सचिव र कोषाध्यक्षद्वारा पार्टी महासचिव नसच्चिए विद्रोहको झन्डा बोक्ने चेतावनी

काठमाडौँ : नेकपाको जनवर्गीय सङ्गठन अखिल क्रान्तिकारीका महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्ष रूपा बुढामगरले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी महासचिव विप्लवले सहिदहरूको सपना, पार्टी/आन्दोलन र क्रान्तिभन्दा ठूलो ठानेर दलाल संसदीय व्यवस्थाको स्थानीय निर्वाचनमा पार्टी निर्णयविपरीत लहसिएर पार्टी फुटाउन उद्यत हुँदै पार्टीका सचिवालय सदस्यद्वय धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीमाथि गरेको कथित जिम्मेवारी मुक्तको अन्यायपूर्ण र पूर्वाग्रही कारबाहीले सङ्गठन स्तब्ध भएको बताएका छन् । तीनैजना पदाधिकारीले सङ्गठनको केन्द्रीय समितिका तर्फबाट संयुक्त रूपमा बिहीबार जारी गरेको विज्ञप्तिमा पार्टी नेतृत्वको क्रान्तिकारी रूपान्तरणसहित पार्टी र आन्दोलन एकताबद्ध बनाउने पवित्र उद्देश्य अझै जारी रहेको तर पार्टी नेतृत्व रूपान्तरण भएर निर्मम र गम्भीर आत्मसमीक्षा गर्न तयार भएन भने निराशा र धोकाधडीबीचबाट फेरि पनि चुनौती मोल्दै क्रान्तिको झन्डा बोकेर सङ्घर्षको नयाँ प्रक्रियामा अगाडि बढ्ने गरी तयार रहन सम्पूर्ण नेता–कार्यकर्ता, शुभचिन्तक र समर्थक विद्यार्थीमा हार्दिक आह्वान गरिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रो महान् तथा लाखौँ विद्यार्थीहरूको प्रिय सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) शिक्षाको समग्र आमूल रूपान्तरण, राष्ट्रियता, जनजीविका र जनतन्त्रका सवालमा निरन्तर हाम्रा सहिदहरूले देखाएको मार्ग पछ्याउँदै अगाडि बढिरहेको सर्वविदित्तै छ । विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएका निषेधात्मक अभिधूतवाद, आत्मसुरक्षावाद, आत्मसमपर्णवाद, नवसंशोधनवाद र दक्षिणपन्थी अवसरवादले आन्दोलनलाई जहिले पनि धोकाधडी र घात हुँदै आएको कुराबारे हामी सबै जानकार नै छौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘सहिदहरूको सपना, पार्टी/आन्दोलन र क्रान्तिभन्दा ठूलो ठानेर दलाल संसदीय व्यवस्थाको स्थानीय निर्वाचनमा पार्टी निर्णयविपरीत लहसिएर पार्टी फुटाउन उद्यत भई महासचिव क. विप्लवद्वारा पार्टीका सचिवालय सदस्यद्वय क. धर्मेन्द्र बास्तोला र क. हेमन्तप्रकाश ओलीमाथि गरिएको कथित जिम्मेवारी मुक्तको अन्यायपूर्ण र पूर्वाग्रही कारबाहीले हामी स्तब्ध भएका छौँ । उक्त कदम फिर्ता लिई सैद्धान्तिक, वैचारिक र राजनीतिक बहसका लागि तयार भई पार्टी एकताबद्ध बनाउने प्रक्रिया अगाडि बढाउन पार्टी नेतृत्वलाई आग्रह गर्दछौँ । यसै विषयलाई समर्थन गर्दै हाम्रो सङ्गठनका अध्यक्ष क. प्रकाश शाहीद्वारा गुटगत र फुटबादी मानसिकताबाट सम्बन्धित कमिटीमा सल्लाह नै नगरी निकालिएको प्रेस विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘नेतृत्वको क्रान्तिकारी रूपान्तरणसहित पार्टी र आन्दोलन एकताबद्ध बनाउने हाम्रो पवित्र उद्देश्य अझै जारी रहनेछ । पार्टी नेतृत्व रूपान्तरण भएर निर्मम र गम्भीर आत्मसमीक्षा गर्न तयार भएन भने निराशा र धोकाधडीबीचबाट फेरि पनि चुनौती मोल्दै क्रान्तिको झन्डा बोकेर सङ्घर्षको नयाँ प्रक्रियामा अगाडि बढ्ने गरी तयार रहन हाम्रो सङ्गठन सम्पूर्ण नेता–कार्यकर्ता कमरेडहरू, शुभचिन्तक र समर्थक विद्यार्थी मित्रहरूमा हार्दिक आह्वान र अपिल गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :