नयाँनयाँ ठगहरू चयन गर्ने मौसम

संसद्‌वादी दलहरूको गठबन्धन सरकारले कथित ‘स्थानीय तह’ को निर्वाचन घोषणा गरेपछि संसद्‌वादी दलहरू र तिनका कार्यकर्ताको मुखमा पानी रसाएको छ । निर्जन जङ्गलमा पशुपक्षीको आगमनपछि जुकाहरू सग्बगाउँदै शरीरभर ओइरिएजस्तो संसद्‌वादीहरू झूट्टा आश्वासनका पुलिन्दा बोकेर जनताको शरीरमा सग्बगाउन थालेका छन् । संसद्‌वादका वाहक र मतियारहरू जनताको जीवनमा कायापलट गरिदिने झूट्टा सपनाहरू बाँडिरहेका छन् । घरघरमा धारा, घरसम्म पुने सडक, परिवारका सदस्यहरूलाई जागिर, बालबालिकालाई सुलभ शिक्षा, महँगी र कालोबजारीको अन्त्य, भ्रष्टाचारमा शून्य सहनशीलता…मानौँ संसद्‌वादीहरूले दिएका नाराहरू सुन्दा समाजवाद ल्याउने काम संसद्‌वादीहरूबाटै होला भन्ने भ्रम पनि पर्छ । हुँदाहुँदा उनीहरूले सुखी नेपाली र समृद्ध नेपालको उडन्ते नारा पनि दिएका छन् । कतिपयले अहिले व्यवस्था बदलिएको र अवस्था बदल्नका लागि आफूले जित्नुपर्ने दाबी पनि गरिरहेका छन् । यी सबै हावादारी र उडन्ते आश्वासनहरू हुन् । संसदीय व्यवस्थाले श्रमिक जनताको जीवनमा कायापलट ल्याउने भए आजसम्म धेरै लामो समयसम्म संसदीय व्यवस्थाहरूले शासन गरे तर देश र जनताको जीवनमा कुनै पनि कायापलट भएन । उल्टै मुलुक बेरोजगार युवाहरू जन्माउने कारखानाजस्तो बन्यो । अभाव र भोकमरीका कारण आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको छ । विदेशमा रोजगार गर्न गएका कयौँ युवा दैनिक लासका रूपमा बाकसमा प्याक भएर एअरपोर्टमा आउँछन् । दैनिक चेलीहरू बलात्कृत भएका छन् र मारिएका छन् । राष्ट्रघातको मात्रा दैनिक बढिरहेको छ । राष्ट्रघाती एमसीसी पारित गर्ने संसद्‌वादी नयाँ लेन्डुपहरू देशको रक्षा गर्ने बकबास गर्दै गाउँ पसेका छन् । हत्याराहरू नै साधु बनेर जनताको गाउँबस्तीमा पसेको यो दूषित वातावरणमा जनताका अघिल्तिर एउटा गम्भीर चुनौती थपिएको छ– चोर, राष्ट्रघाती, ठग र डाँकाहरूमध्ये कसलाई रोज्ने ? बलात्कारी र हत्यारामध्ये कुनलाई चुन्ने ? देशद्रोही र चेलीबेचुवामध्ये कसलाई छान्ने ? अब पाँच वर्ष अर्को कुन ठगबाट ठगिने ? कुन लुटेरालाई देश बेच्ने लाइसेन्स दिने ? कुन दलाललाई युवा बेचेर कमिसन खाने वैधता प्रदान गर्ने ?

जनताका लागि यो व्यवस्थामा चित्त बुझाउने ठाउँ कहीँ छैन । महँगी बढेको बढ्यै छ । राष्ट्रियता जताततै सङ्कटमा परेको छ । लिपुलेक, लिम्पियाधुरा, कालापानीमा साम्राज्यवाद परेड खेलिरहेको छ । एमसीसीका नाउँमा युद्ध बोकेर साम्राज्यवाद संसद्‌बाट वैधानिक रूपमै देशको घोडा चढिरहेको छ । जनताले मत दिएर, नेता बनाएर पठाएका दलालहरू हाम्रो रगतपसिनामा होली खेल्दै संसद्‌बाट देश बेच्ने निर्णय गरिरहेका छन् र यता निर्दोष जनतामा आएर फेरि सत्तामा जाने, देश र जनताको सेवा गर्ने झूट्टा वाचा र आश्वासनहरू दिइरहेका छन् । संसद्‌वादी ठगहरू आकाशमा चिल देखाएर भुइँका चल्लाहरू टिपेर कुदाउँदैछन् । महान् सहिदहरूका आफन्तहरू, बेपत्ता योद्धाका परिवारजनहरू, घाइते र अपाङ्ग योद्धाहरू संसद्‌वादी दलहरूको चाला देखेर आक्रोशित छन् । दलाल व्यवस्थाभित्रकै दलाल पात्रहरू रोज्नका लागि विवश जनताका लागि विद्रोहको राम्रो विकल्प छ– जनक्रान्ति । नेकपाले जनक्रान्तिको नेतृत्व गरिरहेको छ र दलाल पुँजीवादको चिहानमा वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्घोष गरिरहेको छ ।

दलाल पुँजीवादी सरकारले यी बेथिति, अन्याय र भ्रष्टाचारका विरुद्ध आन्दोलनमा लागेको नेकपामाथि दुई वर्षसम्म प्रतिबन्ध लगायो, न्याय माग्दै विद्रोहमा उत्रिएका योद्धाहरूको हत्या गर्यो । हजारौँ योद्धाहरूलाई जेल हाल्यो । झूट्टा मुद्दा लगायो । अझै पनि कयौँका घरमा पक्राउपुर्जी टाँसेर र गिरफ्तार गरेर नेकपालाई संसदीय व्यवस्था स्वीकार गरेर चुनावमा आत्मसमर्पण नगर्ने हो भने नतिजा ठीक हुनेछैन भनी तर्साइरहेको छ, धम्क्याइरहेको छ । देश मात्र नभएर संसारभर क्रान्तिकारी र देशभक्त शक्तिको छवि बनाइसकेको नेकपालाई तर्साएर दलाल संसद्‌वादी सत्ता सबैलाई आफूजस्तै बनाउने दुष्प्रयत्न गरिरहेको छ । नेकपाका महासचिव विप्लव दलाल पुँजीवादको अन्त्य सुनिश्चित रहेको र क्रान्तिको विजय अपरिहार्य रहेको उद्घोषसहित राजनीतिक वैचारिक प्रशिक्षणमा व्यस्त छन् । नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभागको प्रशिक्षणमा पनि महासचिव विप्लवले आफू अन्तिम समयसम्म क्रान्ति र परिवर्तनका पक्षमा लागिरहने, सहिद बन्न पछि नपर्ने तर दलाल पुँजीवादसामु नझुक्ने सन्देश प्रवाह गरे । यो सन्देशले दुस्मनसामु पुच्छर लुकाएर भाग्ने प्रचण्ड–बाबुराम र एउटा क्रान्ति सञ्चालन गरिरहेको क्रान्तिकारी पार्टीको नेताका बीच रहेको गहिरो भिन्नतालाई प्रस्ट पार्छ । क्रान्तिकारीहरू बरु खरानी बन्न तयार हुन्छन् तर दुस्मनसामु झुक्दैनन् । दुस्मनहरूले विभिन्न जाल, झेल र षड्यन्त्र गरेर क्रान्तिकारी शक्ति र नेतृत्वलाई भ्रम पार्ने, फुटाउने, झुकाउने, फकाउने, थर्काउने, गलाउने र आत्मसमर्पण गराउने अनेक प्रपञ्च रच्छन् तर क्रान्तिकारी नेतृत्व दुस्मनका यस किसिमका हरेक प्रपञ्च र षड्यन्त्रबाट सदैव चनाखो रहनुपर्छ ।

देश र जनतालाई षड्यन्त्र र धोका दिँदै दलाल पुँजीवादीहरूलाई चुनावको रौनक आएको छ । दसैँ आएजस्तै भएको छ उनीहरूलाई । जनता ताउबाट भङु्ग्रोमा पर्ने अर्को खराब समय आएको छ । फेरि अर्को कुन ठगबाट ठगिने ? जनताका बीच विविध नाउँ र अनुहारका ठगहरू छिरेका छन् । नेकपाको केन्द्रीय समितिले पार्टी चुनावमा नजाने निर्णय गरिसकेको छ । नेकपाले एमसीसीविरोधी स्वतन्त्र, देशभक्तहरूलाई सघाउन भने सकिने निर्णय पनि बैठकबाटै गरिसकेको छ । तर पार्टीको यस्तो निर्णयकै बीच कतै एमालेसँग र कतै गठबन्धनसँग तालमेल भएका पार्टी निर्णयविरोधी अपशकूनपूर्ण सन्देशहरू प्रवाह गराइएका छन् र पार्टी निर्णयहरू सार्वजनिक गराएर क्रान्तिविरोधीहरूलाई फाइदा पुर्याइएका दूषित खबरहरू सार्वजनिक भएका छन् । क्रान्तिकारी पार्टीको जीवनमा यो सुखद सन्देश होइन । एकातिर पार्टी महासचिव पार्टी केन्द्रीय समितिका निर्णयहरू अक्षरशः पालना हुनुपर्छ भनेर प्रशिक्षण दिइरहेको अवस्था छ तर अर्कातिर मनोमानी निर्णय र गतिविधि भएका खराब सन्देशहरू प्रवाह गराएर दुस्मन शक्तिले क्रान्तिकारी धारमा खिया लगाउने अर्को गोयबल्स प्रचार थालेको देखिन्छ । नेपाल कम्युनिस्ट पार्टीको १२ औँ पूर्ण बैठकले प्रतिक्रियावादी संसदीय व्यवस्थाले गराउने चुनावमा जाने प्रयोजनले पार्टी दर्ता नगर्ने जुन किसिमको निर्णय गरेको छ, त्यो नै क्रान्तिकारी आन्दोलन जोगाउने एक मात्र र अन्तिम विकल्प हो । देशभक्तहरूको मत राष्ट्रघाती–जनघातीहरूका पक्षमा पर्नु नहुने विषय देशभक्तहरूका लागि अहं विषय हो । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :