जनपक्षीय पत्रकारिता र हाम्रो दायित्व

जनपक्षीय पत्रकारिता र हाम्रो दायित्व

भूमिका
सामान्यतया पत्रकारिता सूचनाहरूको सङ्कलन, समाचारको निर्माण र सूचनाको सम्प्रेषण गर्ने काम हो । पत्रकारिताले आवाज नहुनेहरूलाई पनि आवाज निकाल्न प्रोत्साहन गर्ने माध्यम भएकाले यसलाई आवाजविहीनहरूको आवाज पनि भनिन्छ । नागरिकका समस्याहरूलाई उठान गर्ने, राज्यका सबै निकायको क्रियाकलापमा तिखो नजर लगाउने र कमजोरीहरू उजागर गर्ने माध्यम नै पत्रकारिता हो । हरेक ठाउँका खराबीहरू रोक्ने, खबरदारी गर्ने, नागरिकलाई बलियो बनाउने र राज्यशक्तिको मनपरी रोक्ने काम यसले गर्छ ।
समाजमा रहेका वर्गहरूको प्रतिनिधित्व पत्रकारितामा पनि स्वाभाविक रूपमा पर्ने गर्छ । पत्रकारिताले समाज परिवर्तनका लागि शक्तिशाली अस्त्रको काम गर्दछ । त्यसैले पत्रकारिता हमेसा प्रतिक्रियावादीहरूको तारो बनेको हुन्छ । कैयौँ समयमा सेन्सर हुने गर्छ, प्रतिबन्धित हुने गर्छ र पत्रकारहरूको हत्यासमेत हुने गर्छ ।
पत्रकार भनेका राष्ट्रका रक्षक पनि हुनुपर्छ । सेनाले देशका लागि युद्धकला जानेको हुन्छ । त्यस्तै पत्रकार पनि देशको हित र रक्षाका लागि आवाज बुलन्द गर्ने सिपाही हो । अझ त्यसमा पनि जनपक्षीय पत्रकारिता देश र जनता केन्द्रित हुनुपर्छ । खास अर्थमा आवाजविहीनहरूको आवाज बन्नु नै जनपक्षीय पत्रकारिता हो । देश र जनताको न्याय, मुक्ति र स्वतन्त्रताका लागि समाजमा हुने अग्रगामी/परिवर्तनकारी आन्दोलनलाई उचाइमा पु¥याउन र जनताको नयाँ व्यवस्था निर्माण गर्ने राजनीतिक भूमिकासमेत जनपक्षीय पत्रकारिताले निर्वाह गर्नुपर्छ । त्यसैले अग्रज पत्रकार तथा कम्युनिस्ट आन्दोलनका महान् नेता लेनिनले भनेका छन्, ‘जनपक्षीय पत्रकारहरू प्रचारकर्ता, आन्दोलनकर्ता र सङ्गठनकर्ताको भूमिका खेल्नु पर्दछ ।’
जनपत्रकारहरूले देश र जनताको राष्ट्रिय स्वाधीनता, जनतन्त्र, जनजीविकाका विषयलाई समेट्दै भ्रष्टाचार, अनियमितता, अन्यायविरुद्ध खबरदारी गर्नुपर्छ । पत्रकारिताले संसारका करोडौँ जनताको मस्तिष्क बदल्न सक्छ । जनपत्रकारले राष्ट्रप्रति इमानदार र समाजप्रति उत्तरदायी भएर लेख्नुपर्छ । प्रतिक्रियावादीहरूले फैलाएका अफवाहहरूलाई चिर्दै जनतालाई सही सूचना दिन जनपक्षीय पत्रकारहरूले भूमिका निर्वाह गर्नुपर्छ ।
जनपक्षीय पत्रकारिता
जनतालाई सही सूचना, विचार, दृष्टिकोणसहितको मार्गनिर्देशन गर्नका लागि जनपक्षीय पत्रकारहरूको विकास भएको छ । नेपालमा पत्रकारिताको विकास राजनीतिक आन्दोलनको विकाससँगै भएको छ । राणाविरोधी आन्दोलन, पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनसम्म आइपुग्दा जनपक्षीय पत्रकारिताको धार देखिन थालेको हो । २०४६ को जनआन्दोलनबाट प्राप्त सीमित वाक् तथा प्रकाशन स्वतन्त्रताले नेपालमा पत्रकारिता जगत्को मात्रात्मक विकासमा ठूलो सहयोग ग¥यो । यसै समयमा विभिन्न राजनीतिक विचारधारात्मकसँग सम्बन्धित पत्रिकाहरू प्रकाशित भए । पत्रकारिता पनि राजनीतिक आन्दोलनको अभिन्न अङ्ग भएकाले यसको राजनीतिक दृष्टिमा पनि त्यसैअनुरूपको बदलाव आउँदै गएको छ । यही क्रममा नै जनतालाई सही सूचना, विचार र दृष्टिकोणसहितको मार्गनिर्देशन गर्नका लागि जनपक्षीय मिडियाको विकास भएको हो । जनपक्षीय प्रकाशनका रूपमा योजना र जनादेश साप्ताहिक पत्रिकाको पनि सुरुआत भयो । त्यसपछि नेपालको राजनीतिक इतिहासमा एउटा अभूतपूर्व परिघटनाका रूपमा रहेको महान् जनयुद्धको सुरुआतसँगै जनपक्षीय पत्रकारिताको इतिहासले नयाँ फड्को मा¥यो । खासगरी २०५५ पछाडि दुर्गम गाउँका खबरहरूले पनि सञ्चारमाध्यममा प्रमुखताका साथ स्थान पाउन थाले । जनपक्षीय संवाददाताहरू टाढाटाढा गएर जोखिमहरू उठाउँदै समाचारहरू सङ्कलन गर्ने चरणको सुरुआत भयो । यस अवधिमा जनपक्षीय पत्रिकाका रूपमा जनआह्वान, दिशाबोध, जनदिशालगायत पत्रिका प्रकाशन भए । मोफसलबाट पनि जनपक्षीय विभिन्न पत्रिकाहरू प्रकाशित हुन थाले । सोही समयमा पुरानो राज्यसत्ता पत्रकारिता क्षेत्रसँग आक्रामक रूपमा प्रस्तुत भयो । पटकपटक जनपक्षीय पत्रिकाहरूको प्रकाशन र वितरणमा सरकारले नियन्त्रण गर्न खोज्यो । कयौँ पत्रकारहरूलाई गिरफ्तार ग¥यो, बेपत्ता पा¥यो । नेपाली जनपक्षीय पत्रकारिता भूमिगत रूपमा मुलुकभित्र र बाहिर प्रवाहित हुन थाल्यो । जनयुद्धकालीन समय अझ सङ्कटकालका बेला तत्कालीन राज्यसत्ताले जनपक्षीय पत्रकार कृष्ण सेन ‘इच्छुक’ लाई पटकपटक गिरफ्तार गर्दै यातना दिइदिई हिरासतभित्रै हत्या ग¥यो । अन्य कयौँ पत्रकारहरूलाई गिरफ्तार ग¥यो, बेपत्ता बनायो ।
जनपक्षीय पत्रकारहरू सङ्गठित रूपमा देखापरेको वा विकास भएको जनयुद्धकै बीचमा २०६० सालमा हो  । सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारहरूलाई सङ्गठित गर्ने, उनीहरूको हक, हित र अधिकारका लागि आवाज उठाउने र देश र जनताको मुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई सङ्गठित गर्ने उद्देश्यले ०६१ माघ १५ गते क्रान्तिकारी पत्रकार सङ्घ, नेपाल स्थापना गरियो । स्थापनापछि जनयुद्धकै एक सशक्त मोर्चाको भूमिका निर्वाह गर्दै जनताको आन्दोलनविरुद्ध तत्कालीन प्रतिक्रियावादी सरकारले फैलाएका अफवाहहरूलाई चिर्दै जनतालाई सही सूचना दिन जनपक्षीय पत्रकारिताले ठूलो मद्दत ग¥यो ।
२०६२/६३ को जनआन्दोलनपछि नेपालको राजनीति केही फेरबदल भयो । त्यसपछि २०६३ फागुन २९ र ३० गते क्रान्तिकारी पत्रकार सङ्घ, नेपालको काठमाडौँमा प्रथम राष्ट्रि«य सम्मेलन सम्पन्न भयो । २०६७ फागुन १७ गते दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन ग¥यो ।
जनयुद्धको नेतृत्वले १२ बुँदे सहमति, विस्तृत शान्तिसम्झौताका नाममा जनयुद्धका उपलब्धिहरू समाप्त पारेपछि पार्टीमा चरम दुई लाइन सङ्घर्ष देखाप¥यो । जनयुद्धका अन्य उपलब्धि गुमेझैँ, तितरबितर भएझैँ जनपक्षीय मिडियाहरू, मिडियाकर्मीहरू पनि तितरबितर भए ।
०६९ असार ८ गते मातृपार्टीमा विभाजन आएसँगै क्रान्तिकारी पत्रकार महासङ्घ गठन भयो । उक्त सङ्गठनले पनि गति लिन सकेन । २०७१ मङ्सिर ८ गते पार्टीमा फेरि विभाजन भयो । पार्टीमा विभाजन भएसँगै क्रान्तिकारी पत्रकार महासङ्घ पनि विभाजित भयो र २०७१ चैत १३ गते काठमाडौँमा भेला गरेर क्रान्तिकारी पत्रकार सङ्गठन, नेपाल गठन गरियो ।
उक्त सङ्गठनको २०७२ असोज ९ र १० गते मकवानपुरको हेटौँडामा दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यसको अढाइ वर्षपछि २०७५ वैशाख १५, १६ र १७ गते काठमाडौँमा उक्त सङ्गठनको तेस्रो राष्ट्रिय सम्मेलन भयो ।
नेपाल कम्युनिस्ट पार्टी राज्यद्वारा प्रतिबन्धित थियो । देशभर सरकारले राजनीतिक आस्थाका आधारमा नागरिक र पत्रकारलाई गिरफ्तार गर्ने गतिविधि गर्दै गर्दा पत्रकार सङ्गठन देशव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा अन्तरक्रियामा लाग्यो । राज्यको प्रतिबन्धको परबाह नगरी निरन्तर रूपमा जनपत्रकारहरू कलम चलाइरहे । सरकारले विभिन्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी विधेयक ल्याएर पत्रकारलाई अङ्कुश लगाउने कार्य गर्दै गर्दा त्यसको विरोधमा सिङ्गो पत्रकारहरू आन्दोलित भए । केन्द्र सरकार पछाडि फर्केजस्तो ग¥यो तर पछि प्रदेश सरकारहरूले कानुन बनाउने नाममा पत्रकारलाई अङ्कुश लगाउने प्रेस स्वतन्त्रताविरोधी कानुनहरू ल्याएका छन् ।
समयक्रमसँगै २०७५ फाल्गुन १४ गते क्रान्तिकारी पत्रकार सङ्गठन, नेपाल  नाम परिवर्तन गरी सङ्गठनको नाम `जनपत्रकार सङ्गठन नेपाल´ स्थापना गरियो । अहिले जनपत्रकार सङ्गठन नेपालको नामबाट देशभर आफ्ना क्रियाकलाप भइरहेका छन् । यो सङ्गठन चौथो राष्ट्रिय सम्मेलनको सँघारमा पनि रहेको छ । जनपत्रकार सङ्गठन नेपाललाई यतिबेला देशभर स्थापित गर्न आवश्यक छ ।
हाम्रो दायित्व
यतिबेला जनपक्षीय पत्रकारितालाई नयाँ उचाइमा पु¥याउने र स्थापित गर्ने हाम्रो दायित्व बनेको छ । जनपत्रकारिता समाज परिवर्तन गर्ने र समाजको भविष्य निर्धारण गर्ने शक्तिशाली वैचारिक हतियार हो । मिडियाका विविध पक्षहरूलाई धेरैभन्दा धेरै उपयोग गरेर जनताको राज्यव्यवस्था स्थापना गर्ने अभियानलाई सफलतामा पु¥याउनु जनपत्रकार र जनपक्षीय मिडियाको दायित्व हो । मिडियालाई अर्थोपार्जनको माध्यम बनाउने वा सङ्गठनलाई भँजाएर व्यक्तिगत स्वार्थपूर्तिमा लाग्ने मिडिया ट्रेनलाई खारेज गर्दै आमजनताको हितलाई केन्द्रमा राखी नेपाली जनताको राष्ट्रिय स्वाधीनता, जनजीविका र जनतन्त्र विषयसँग सम्बन्धित पार्टीको विचार, नेतृत्व र गतिविधिलाई आमजनतामा पु¥याउनु जनपक्षीय पत्रकारहरूको दायित्व हो ।
नेपालको विद्यमान दलाल संसदीय पुँजीवादी व्यवस्थाको कारण जनतामा भएका अन्याय, अत्याचार, दमन, शोषण, भ्रष्टाचार, कालोबजारी, महँगी, राष्ट्रघात र जनघातविरुद्ध सशक्त आवाज बुलन्द गर्दै नेपाली श्रमजीवी वर्गको राज्यसत्ता वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि सूचना–सञ्चारका क्षेत्रमा जनपक्षीय पत्रकारितामार्फत महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । दलाल पुँजीवादी संसदीय व्यवस्थाविरुद्ध एकीकृत जनक्रान्तिका पक्षमा मिसाइल बन्न सक्नु विचार, दृष्टिकोण, नीति, सिद्धान्तलाई प्राथमिकतामा राखेर जनपक्षीय मिडिया स्थापित गर्नु आवश्यक छ । जनपत्रकारहरूले आफूलाई जनपक्षीय मिडियाका रूपमा स्थापित गर्नुपर्नेछ ।
पहिलो कुरा पार्टीको नीति र सिद्धान्तलाई दह्रो गरी पकड्नुपर्छ । पार्टीको नीति र सिद्धान्तलाई व्यवहारमा गहिरो गरी लागू गर्ने र पार्टीको कार्यदिशा, कार्यनीतिहरूलाई व्यापक प्रचारप्रचार गर्नु नै जनपत्रकारहरूको दायित्व हो । जनपत्रकारहरू अरू पत्रकारभन्दा दोब्बर बढी गतिशील र तीक्ष्ण हुनुपर्छ किनकी जनपक्षीय पत्रकारिताले समाज परिवर्तनका लागि निर्देशित गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :