सिद्धान्त र व्यवहार

सिद्धान्त र व्यवहार

‘क्रान्तिकारी सिद्धान्तबिना कुनै क्रान्तिकारी आन्दोलन हुन सक्दैन । अग्रदूतको भूमिका त्यस्तो पार्टीले मात्र खेल्न सक्छ जुन सबभन्दा समुन्नत सिद्धान्तबाट निर्देशित रहन्छ ।’
                                           – लेनिन, सङ्कलित रचनाहरू, भाग ५, पृष्ठ ३७९–७०
विश्व–जनताको मुक्तिसङ्घर्षको इतिहासमा यस्ता कैयौँ दृष्टान्तहरू छन् जसमा सबैभन्दा समुन्नत सिद्धान्तबाट निर्देशित सङ्गठनको अभावले गर्दा जनताका मुक्ति आन्दोलनहरू आफ्नो उद्देश्य, लक्ष्य प्राप्त गर्न असफल भएका छन् । आजको समयमा माक्र्स, एङ्गेल्सबाट वैज्ञानिक भौतिकवादी दृष्टिकोणको प्रतिपादित गरेको सिद्धान्त सामाजिक जीवनका लागि सिद्धान्तको महत्व अझ बढेको छ । सिद्धान्त भनेको सर्वहारा वर्गको क्रान्तिकारी सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद–एकीकृत जनक्रान्तिको कार्यदिशा हो । व्यवहार भनेको ठोस क्रान्तिकारी व्यवहार, वर्गसङ्घर्ष, उत्पादनका निम्ति सङ्घर्ष र वैज्ञानिक प्रयोगबाट महत्वपूर्ण क्रान्तिकारी आन्दोलन हो । सिद्धान्तलाई व्यवहारसँग जोड्नुको अर्थ मालेमावाद र एकीकृत जनक्रान्तिको अडानमा दृष्टिकोण र विधिलाई प्रयोग र क्रान्ति निर्माणको प्रक्रियामा आइपर्ने व्यावहारिक समस्याहरूलाई अध्ययन तथा समाधान गर्नु हो । सिद्धान्त र व्यवहारलाई अलग गराइयो भने हामीले अन्धकारमा तीर हानेको जस्तो हुन्छ । नेपाल कम्युनिस्ट पार्टीको ऐतिहासिक अनुभवले के देखाउँछ भने सिद्धान्त र व्यवहारलाई जोडेर एकीकृत जनक्रान्तिको कार्यदिशाअनुसार अगाडि बढेर पार्टीले विकास गरेको छ र क्रान्तिकारी उद्देश्य सधैँ विजयी बन्दै आएको छ । त्यसकारण हामी भन्छौँ, नेपाली क्रान्तिको विजय भनेको मालेमावाद र एकीकृत जनक्रान्तिको सिद्धान्त नेपाली क्रान्तिको व्यवहारसँग भएको मेलको असाधारण विजय हो । पहिलो सिद्धान्त र व्यवहारलाई मिलाउने मालेमावादी र एकीकृत जनक्रान्तिको दृष्टिकोण नै हो । यो दृष्टिकोणका आधारमा हामीले परिस्थितिको व्यवस्थित र विस्तृत अध्ययन तथा अनुसन्धान गर्न र क्रान्तिकारी उत्साहलाई व्यावहारिकतासँग मिलाउन माक्र्सवाद–लेनिनवाद–माओवाद र एकीकृत जनक्रान्तिको सिद्धान्त, विधि र व्यवहार प्रयोग गर्छौं ।
एउटा कम्युनिस्ट पार्टीका लागि पार्टीको सर्वहारा वर्गचरित्रको रक्षा गर्न आवश्यक पर्ने महत्वपूर्ण कुरा उसको सर्वहारा वर्गीय सिद्धान्त जागरणलाई शक्तिशाली गराउनु हो । हामीले के बुझ्नुपर्छ भने माक्र्सवाद–लेनिनवाद–माओवाद र एकीकृत जनक्रान्तिमा राजनीतिक पार्टी निर्माण गर्ने कुरा हरेक पार्टी सदस्यको कार्यभार हुन आउँछ । पार्टी एउटा जीवित वस्तुजस्तै हो र यसका सदस्यहरू जीवित वस्तुका कोषहरूजस्तै हुन् । प्रत्येक पार्टी सदस्यहरूमा जति धेरै उत्साह हुन्छ त्यति नै उसले उदाहरणीय भूमिका पूरा गर्न सक्छ र त्यति नै राम्रोसँग पार्टीको सर्वहारावर्गीय चरित्रको रक्षा हुनेछ । सर्वहारावर्गीय पार्टी स्पिरिटलाई बलियो बनाउन, एउटा कम्युनिस्टले माक्र्सवादी अडान, दृष्टिकोण र विधिलाई मेहनत साथ अध्ययन गर्न र आत्मसाथ गर्न कोसिस गर्नुपर्छ । उसले सिद्धान्त र व्यवहारलाई जोड्ने र सही कार्यदिशालाई गलत कार्यदिशाबाट छुट्ट्याउने र सच्चा माक्र्सवादलाई नक्कली माक्र्सवादबाट अलग गर्ने क्षमताको वृद्धि गर्न सक्नु पर्दछ । एकीकृत जनक्रान्तिको सिद्धान्तलाई दिमागमा राख्नु पर्दछ र उसले अरुको गलत कार्यदिशा र प्रकृतिहरूका विरुद्ध निर्मम सङ्घर्ष गर्न आँट पनि गर्नुपर्दछ । यसो गर्नका निमित्त उसले एकीकृत जनक्रान्तिको कार्यदिशालाई व्यवहारमा सक्रियतापूर्वक हामफाल्नुपर्छ । पार्टीको वैचारिक स्तरलाई भेटाउन आफ्नो विश्वदृष्टिकोण बदल्न अथक मेहनत गर्नुपर्छ र वैज्ञानिक समाजवादको दृढ योद्धा बन्न आफूलाई प्रशिक्षित गर्नुपर्छ । हामीले एकीकृत जनक्रान्तिको कार्यदिशालाई वैज्ञानिक समाजवादी दिशाका विरुद्ध खडा हुने र क्रान्तिलाई खतरा पैदा गर्ने गलत सिद्धान्त तथा व्यवहारहरूका विरुद्ध सङ्घर्ष गर्नुपर्दछ । पार्टीको आधारभूत कार्यदिशा निरन्तर प्रयोग गर्न के आवश्यक छ भने सिद्धान्तले व्यवहारको नेतृत्व गरोस् । अर्को शब्दमा एकातिर पार्टीको आधारभूत कार्यदिशा र अर्कोतिर मूर्त काम र मूर्त उपायहरूका बीचको सम्बन्धलाई सही तरिकाले परिचालन गर्नुपर्छ । सिद्धान्तलाई व्यवहारसँग जोड्न जनतासँग घनिष्ट सम्बन्ध राख्नुपर्छ । हाम्रो व्यवहार जनतालाई एकताबद्ध गर्ने र दुस्मनलाई पराजित गर्ने हुनुपर्छ । नेपाल कम्युनिस्ट पार्टीका प्रत्येक सदस्यले वैज्ञानिक समाजवादी क्रान्ति र निर्माणको उद्देश्यमा अझ महत्वपूर्ण विजयहरू हासिल गर्नका निमित्त पार्टीको उत्कृष्ट व्यवहार र कार्यशैलीलाई समर्थन गर्नुपर्दछ र लागू गर्नुपर्दछ । कम्युनिस्ट पार्टीका सदस्यहरूले सिद्धान्तलाई व्यवहारमा लागू गरेर देखाउनुपर्छ ।
व्यवहारमा एकपक्षीय ढङ्गबाट बल दिनेहरू जसलाई हामी लट्ठक व्यवहारवादी भन्न सक्छौँ, सिद्धान्तप्रति एक प्रकारको शत्रुताको स्थिति अपनाउँछन् र आफ्नो व्यावहरिक क्रियाकलापलाई सिद्धान्तबाट मुक्त ठान्छन् । व्यावहारिक क्रियाकलापमा लाग्दा प्रत्येक एक न एक सैद्धान्तिक दृष्टिकोणबाट निर्देशित रहेको हुन्छ । त्यसरी नै सैद्धान्तिक कार्यमा लाग्दा प्रत्येक व्यक्तिले व्यावहारिक पक्षतर्फ, ठीक वा बेठीक ढङ्गले ध्यान दिएको हुन्छ र उक्त कार्यको व्यावहारिक उद्देश्य राम्रो होस् वा नराम्रो रहेको हुन्छ । यसरी उसको सैद्धान्तिक क्रियाकलापमा व्यवहार पक्ष रहेको हुन्छ । यसमा एकलाई अर्कोबाट छुट्ट्याउन सकिँदैन । सिद्धान्त र व्यवहारबीचको सम्बन्ध स्वस्थ हुनुपर्छ । यी दुई पक्षहरू एक साथ रहन्छन्, अन्तरसम्बन्धित र अन्तरनिर्भर छन् र एकतामा बाँधिएर रहन्छन् । तर खास अवस्थामा व्यवहारले सिद्धान्तको स्थान र सिद्धान्तले व्यवहारको स्थान लिन्छन् अर्थात् सिद्धान्त प्रमुख पक्ष रहन्छ र त्यसको प्रमुख तथा निर्णयात्मक भूमिका निर्वाह गर्छ । माक्र्सवाद–लेनिनवाद–माओवाद र एकीकृत जनक्रान्तिको सिद्धान्त संसारलाई बुझ्न र बदल्नका लागि एउटा अपरिहार्य साधन हो । यस सिद्धान्तले संसारलाई बुझ्ने र बदल्ने काममा नभइनहुने सहायता साथै शोषण तथा थिचोमिचोका विरुद्ध मानव मुक्तिका लागि सफलतापूर्वक सङ्घर्ष गर्ने क्षमता प्रदान गर्छ । एउटा इतिहाससिद्ध साथ के रहेको छ भने जुन सङ्गठन क्रान्तिकारी सिद्धान्तलाई आफ्नो मार्गदर्शकका रूपमा अपनाउन र प्रयोग गर्न असमर्थ रहन्छ, जुन सङ्गठन व्यावहारिक आन्दोलनबाट अलग रहन्छ, त्यसले क्रान्तिकारी उथलपुथल ल्याउने महान् जनसङ्घर्षलाई पूर्ण विजयसम्म नेतृत्व कदापि गर्न सक्दैन । जीवनका सबै कुराहरूलाई राम्ररी र ठीक ढङ्गबाट बुझ्नका लागि जीवनलाई सारा जटिलता र सम्पूर्णतामा बुझ्नका लागि वैज्ञानिक सिद्धान्तको पनि खाँचो छ । जब सिद्धान्तले जनताको व्यावहारिक सङ्घर्षलाई र व्यवहारले सिद्धान्तलाई भेट्टाउँछ तब नेपालका श्रमजीवी जनताको मुक्तिले आफूलाई सिद्ध गर्न थाल्नेछन् । सिद्धान्त जतिसुकै क्रान्तिकारी, सही वा सुसङ्गत भए पनि आखिर त्यो जनताको व्यावहारिक सङ्घर्षबाट प्राप्त अनुभवको निचोड मात्र हो । सिद्धान्तको प्रयोग गर्ने सम्बन्धमा यान्त्रिक प्रयोग गर्नु भनेको बिल्कुल काँचोपन हो । विश्वका अन्य देशमा लागू गरिएका सिद्धान्तलाई हाम्रो देशमा यान्त्रिक ढङ्गबाट लागू गर्नु वा गर्न खोज्नु सरासर मूर्खता हो । आजको युगको सबभन्दा समुन्नत सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद पनि कुनै परिपूर्ण तथा अपरिवर्तित चीज होइनन् । यो एउटा गतिशील विज्ञान हो । सिद्धान्तले जनताको क्रान्तिकारी व्यवहारद्वारा मात्र आफूलाई सिद्ध गर्न सक्छ भने व्यवहारले सिद्धान्तको मद्दतबाट मात्र आफ्नो उद्देश्य प्राप्त गर्न सक्छ । महान् रुसी अक्टोबर क्रान्ति र चिनियाँ जनवादी क्रान्ति वास्तवमा क्रान्तिकारी सिद्धान्त र जनताको मुक्ति सङ्घर्षबीचको मेलका ज्वलन्त दृष्टान्त हुन् । सिद्धान्तले व्यवहारलाई भेट्टाउनु जति आवश्यक छ त्यत्तिकै व्यवहारले सिद्धान्तलाई भेट्टाउन पनि आवश्यक छ । क. माओले भन्नुभएको छ, ‘क्रान्तिकारी सिद्धान्त तथा इतिहासको ज्ञान र व्यावहारिक आन्दोलनलाई गहिरो ज्ञान नहोउन्जेल कुनै राजनीतिक दलले पनि महान् क्रान्तिकारी आन्दोलनलाई विजयतर्फ लैजान सम्भव छैन ।’ –माओ उद्धृत उक्तिहरू, पृ १०४ । क्रान्तिकारी पार्टीको निर्माणका सम्बन्धमा हामीले माओको उक्त भनाइलाई अर्थात् सिद्धान्त, इतिहास र व्यावहारिक आन्दोलनको गहिरो ज्ञानसँग सम्बन्धित कुरालाई राम्रोसँग पकड्न जरुरी छ । हामी जसलाई साँचो अर्थमा क्रान्तिकारी आन्दोलन भन्छौँ त्यो वास्तवमा जनसङ्घर्ष र क्रान्तिकारी सिद्धान्तको मेल हो । श्रमिक जनताको जनसङ्घर्ष मुटु हो भने क्रान्तिकारी सिद्धान्त त्यसको मस्तिष्क हो । सिद्धान्त तब मात्र सजीव र सानदार रूपमा देखापर्न थाल्छ जब यसलाई जीवनसित, सजीव व्यवहारसित सही ढङ्गले गाँसिन्छ । जब यसलाई व्यावहारिक सङ्घर्षका समस्याहरूको अध्ययन, विश्लेषण र समाधानमा उचित रूपले प्रयोग गरिन्छ र जब यसलाई जनताको व्यावहारिक क्रान्तिकारी क्रियाकलाप ठीक ढङ्गबाट प्रयोग गरिन्छ ।
सिद्धान्तको कुरा गर्न जति सजिलो र मीठो पनि हुन्छ तर यसलाई कार्यान्वयन गर्नु भने धेरै जटिल कुरा हो । कुनै पनि योजना सफल गर्न कार्यान्वयन पक्षको गतिले निर्धारण गर्छ । योजनालाई सार्थकता प्रदान गर्नाका निम्ति कार्यान्वयन पक्ष पहिलो सर्त बनेर आउँछ । हो, हाम्रो एकीकृत जनक्रान्तिमा पनि हाम्रो विजय भन्ने कुरा हाम्रो पार्टी पंक्ति तयारी र गतिले निर्धारण गर्ने कुरा हो । हाम्रो पार्टीले अगाडि सारेको दर्शन, राजनीति, आर्थिक र सांगाठनिक कुराहरूलाई मूलतः हामीले कार्यान्वयनको सवालमा छिटो तयारी गर्न र वैज्ञानिक ढङ्गले गति प्रदान गर्न सक्नु पर्दछ । आज कम्युनिस्ट आन्दोलन किन पूर्ण रूपमा सफल हुन सकिरहेको छैन भने कार्यशैली र जीवन व्यवहारकै कारण नै हो । त्यसकारण क्रान्ति पूरा गर्नका निम्ति योजनाहरू तत्कालको समयमा मेल खाने हुनु पर्दछ ।
सिद्धान्त हाम्रो जीवनको अभिन अङ्ग पनि हो । सिद्धान्तबिना व्यवहार अधुरो हुन्छ भने सिद्धान्त र व्यवहारको उचित समायोजन गर्न नसक्दा सिद्धान्त लङ्गडो बन्न पुग्छ । त्यसैले सिद्धान्तलाई सधैँ मानिसको जीवनव्यवहारमै ल्याउने प्रयत्न गर्नु आवश्यक हुन्छ । माक्र्सवादी सिद्धान्त मानव मुक्ति र मानव स्वतन्त्रता प्रदान गर्ने सिद्धान्त हो । यसको विकसित रूप भनेको अहिलेको २१ औँ शताब्दीको अन्तरविरोधको हल गर्ने नेकपाको ८ औँ महाधिवेशनद्वारा पारित एकीकृत जनक्रान्तिको सिद्धान्त हो । यही एकीकृत जनक्रान्तिका मूलभूत सिद्धान्त नेपालको अहिलेको विकसित अन्तरविरोधको निकास दिने सिद्धान्त पनि हो । यो सिद्धान्त अक्षरशः पालाना गरेर नेपालमा एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनु आवश्यक छ । जीवन जिउने कलामा मानिसले जस्तो सिद्धान्त अँगालेको हुन्छ त्यसअनुरूप नै उसले व्यवहार गर्ने गर्दछ । तर आज हामी के देख्दैछौँ भने कतिपय कम्युनिस्ट पार्टीका सदस्यमा सिद्धान्त एकातिर र व्यवहार अर्कोतिर देखिन्छ । सिद्धान्तका ठूलठूला कुरा गर्ने तर व्यवहारमा सिन्को पनि नभाँच्ने प्रवृत्ति देखिन्छ । अन्ततः तिनै मान्छे माथिमाथि, नेताको वरिपरि देखिन्छन् । त्यसले पार्टी र आन्दोलनलाई घाटा त हुन्छ नै सँगसँगै अन्य संसद्वादी कम्युनिस्ट पार्टीभन्दा फरक पनि हुँदैन । सिद्धान्तलाई व्यवहारमा कार्यान्वन नगरीकन माथिमाथि कताबाट सफल भइन्छ भन्ने सोचाइ राख्नु राम्रो कुरा होइन । नेपालमा कम्युनिस्ट आन्दोलन असफल हुनुको मूल कारण नै सिद्धान्त र जीवन व्यवहार, पार्टी जीवनमा मेल नखानुकै कारण आजसम्म नेपाली जनताले धोका पाइरहेका छन् । आज कम्युनिस्ट भनाउँदाहरू सिद्धान्त कम्युनिस्टको बोकेर व्यवहारमा दलाल पुँजीपतिको पक्षपोषण गरेर नेपाली जनतालाई ठगिरहेका छन् । नेपाली जनताको कम्युनिस्ट सिद्धान्तप्रति एकदम मोह देखिन्छ तर नेपालका केही संसदीय व्यवस्था मान्ने कम्युनिस्ट भनाउँदाहरूले यो मतलाई दुरुपयोग गरिरहेका छन् र आज व्यावहारिक रूपमै कम्युनिस्टहरू भनेका गलत रहेछन् भन्ने सन्देश दिन खोजिरहेका छन् । यो भ्रम नेपाली जनताबाट नेपाल कम्युनिस्ट पार्टीले तोड्नु आवश्यक छ । कुनै पनि सिद्धान्त भनेको अग्रगमनको बाटो तथा तयारीको एउटा प्रारूप पनि हो । त्यसअनुरूप त्यसलाई पूर्णता प्रदान गर्नका निमित्त जनताको जीवनव्यवहारमा प्रमाणित गर्न हामी कम्युनिस्ट पार्टीका सदस्यहरू हाम्रो एकीकृत जनक्रान्तको अभिभारा पूरा गर्नका लागि पनि निकै कठिन मेहनत, परिश्रम, अनुशासन जस्तोसुकै कठिन बाटोमा अगाडि बढ्ने आँटसहित व्यावहारिक रूपमै हामीले नेपाली जनताका लागि क्रान्ति पूरा गरेर देखाउनु आवश्यक छ । यो एकीकृत जनक्रान्ति अगाडि बढेपछि १२ जना कमरेडहरू सहिद भएका छन् । अब ती कमरेडहरूको सपना पूरा गर्ने अभिभारा हाम्रो काँधमा छ । सचेत कम्युनिस्ट पार्टीका सदस्य र देश, राष्ट्रप्रति माया भएका मान्छेहरूप्रति यो अभिभारा थपिएको छ । त्यसैले हामी सिद्धान्तलाई व्यावहारिक रूपमै अगाडि बढाई नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन चाहन्छाँै । हामी खबरदारी पनि गर्छौं– कसैले हाम्रा ती महान् सहिदहरूले देखेका सपना, महान् सिद्धान्त र व्यवहारप्रति धोका नहोस्, तोडमोड नगरियोस् । हाम्रा सहिदहरूको आदर्शबाट कसैलाई विचलित हुने छूट छैन । हामी यो प्रतिज्ञा पनि गर्छौं– हामी सहिदको सपना पूरा गरेरै छाड्नेछौँ र नेपालमा वैज्ञानिक समाजवादी झन्डा फहराएरै छाड्नेछौँ ।
त्यसैले सिद्धान्त र व्यवहारलाई जोड्न, सिद्धान्तलाई उचो राख्न हामीले तथ्यबाट सत्य खोज्ने वैज्ञानिक दृष्टिकोणलाई ग्रहण गर्नु पर्दछ । भौतिक अस्तित्वमा रहने वस्तुहरू सबै तथ्य हुन् र सत्यले तिनीहरूको आन्तरिक सम्बन्धलाई बुझाउँछ । हरेक काममा तथ्यबाट सत्य खोज्ने वैज्ञानिक दृष्टिकोण प्रदर्शन गर्नु भनेको माक्र्सवाद–लेनिनवाद–माओवाद र एकीकृत जनक्रान्तिको विचाराधाराको निर्देशनमा वस्तुको विकास निर्धारण गर्ने नियमलाई अध्ययन र आत्मसाथ गर्नुपर्छ । यसको अर्थ पार्टीको राजनीतिक कार्यदिशा, नीति र सिद्धान्त साथै माथिल्लो समितिबाट आउने निर्देशनलाई गाउँ, नगर वा पार्टीको सेलको वास्तविक स्थितिसँग जोड्नु हो । ती सबै विषयमा छलफल गर्नु र मसिनो गरी कार्यान्वयन गर्नु, आत्मपरकता र वस्तुपरकताका बीचमा मेल गराउन प्रत्यन गर्नु, हाम्रो उद्देश्यलाई सही ठाउँमा पु¥याउन सिद्धान्त र व्यवहारलाई जोड्नु र अपेक्षित परिणाम प्राप्त गर्नु हो । सिद्धान्त र व्यवहारलाई जोड्न तथा सिद्धान्तलाई उचाइमा राख्न हामीले सामाजिक परिस्थितिको अध्ययन र अनुसन्धान गर्नु पर्दछ । अध्ययन र अनुसन्धान भनेको माक्र्सवाद–लेनिनवाद–माओवाद र एकीकृत जनक्रान्तिको वैज्ञानिक विधि पनि हो । केही पुराना र पाका कमरेडमा कम्युनिस्ट पार्टीको सिद्धान्त र व्यवहार जोड्ने हाम्रो कार्यशैलीमा कसरी अगाडि बढाउने भन्ने विषयमा अझै कतिपय प्रश्न देखिन्छन् । अझ धेरै नयाँ पार्टी सदस्यहरूलाई कसरी सिक्ने, बनाउने र अगाडि बढाउने भन्ने प्रश्न छ । यसलाई हल गरेर हामीले पार्टीको सिद्धान्त र व्यवहारलाई पुस्तौँपुस्तासम्म लैजानु पर्दछ । यो पार्टीको सुदृढीकरणका निम्ति निकै महत्वपूर्ण पनि हुन्छ । हामीले क्रान्तिकारी व्यवहारमा आफ्नो विकास गर्न प्रयत्न गर्नुपर्दछ । हाम्रो आत्मविकास र प्रयत्न पूर्णतया जनताका लागि र क्रान्तिकारी व्यवहारका लागि रहन्छ । माक्र्सवादी–लेनिनवादी–माओवादी र एकीकृत जनक्रान्तिको सर्वव्यापी सत्यलाई क्रान्तिको ठोस व्यवहारमा यथार्थ रूपमा प्रयोग गर्नु पर्दछ । निश्चय नै हामीले सिद्धान्तको अध्ययन गर्नुपर्दछ तर सिकेको कुरा व्यवहारमा लागू गनुपर्दछ ।
‘कम्युनिस्टले पार्टी र पार्टीको नेतृत्वमा रहँदा मात्र कम्युनिस्ट भएको अनुभूति गर्ने, कम्युनिस्ट पार्टी र समितिमा हुँदा मात्र कम्युनिस्ट आचार, व्यवहार, मूल्य र मान्यताको बोध गर्ने पार्टी र समितिमा नहुनेबित्तिकै युगान्तकारी जिम्मेवारीलाई लत्याएर पुरानै समाज, संस्कृति र व्यवहारको अनुसरण गर्न पुग्ने समस्याहरूलाई हल गर्न यो नीति र विचारले मद्दत पु¥याउनेछ ।’
                      –आठौँ महाधिवेशनद्वारा पारित राजनीतिक दस्ताबेज पृष्ठ ४४–४५

सही सिद्धान्त र व्यवहार मिलेको खण्डमा पार्टीमा एकता, सङ्गठन र सङ्घर्षमा हाम्रो तागत रहन्छ । नयाँ नेपाल र वैज्ञानिक समाजवादी जीवनपद्धतिको निर्माणका लागि एकीकृत जनक्रान्तिको लालझन्डाको नेतृत्वमा नयाँ सङ्ग्रामहरूतर्फ अघि बढ्नु पर्दछ । हामीले मुक्तिको बाटो, सम्मानको बाटो, जीवनको बाटोमा हुने व्यवहार र सिद्धान्तमा जोड दिन आवश्यक छ । हाम्रो सिद्धान्त र व्यवहार सधैँ थिचाहा र शोषकहरूतर्फ आफ्नो सङ्गीन सोझ्याउनु र आफ्ना सङ्घर्षरत जनताका पक्षमा लिनुपर्दछ । सिद्धान्तलाई आवश्यकताअनुसार ती कार्यभारहरू कसरी पूरा गर्नुपर्ने हो, त्यस सम्बधमा व्यावहारिक प्रदर्शनद्वारा प्रशिक्षण पनि दिनुपर्दछ । साथै पार्टी समिति र सदस्यहरूलाई गलत व्यवहारबाट बच्न सकून् भन्ने चेतावनी पनि दिनुपर्दछ जसले उनीहरू त्यस्ता व्यवहार र क्रियाकलापबाट बच्न सकून् । महासचिव विप्लवले भन्नुभएजस्तै ‘सिद्धान्तहरू व्यावहारिक प्रयोगको स्तरबाट दिशानिर्देश गर्ने तहमा बदलिन्छन् ।’
                                    –एकीकृत जनक्रान्ति, एकीकृत जनक्रान्तिको कार्यदिशा, पृष्ठ २५

एकीकृत जनक्रान्तिको सिद्धान्तलाई हामीले व्यवहारमै पाइलापाइलामा पूरा गर्न अठोट गर्नुपर्दछ । नेपाल कम्युनिस्ट पार्टीले सधैँ के कोसिस गर्नुपर्दछ भने प्रत्येक पार्टी सदस्यहरूले सही सिद्धान्त र व्यवहारमा सही अर्थमा सक्रिय सदस्यहरू रहून्, सम्पूर्ण पार्टी कार्यकर्ताले यथासम्भव आफ्नो पूरै शक्ति र समय पार्टीलाई दिऊन् र यस किसिमको कार्यमा आफ्नो सर्वोत्तम शक्ति व्यावहारिक रूपमा समर्पण गरून् । जब पार्टी जीवनमा सिद्धान्तअनुसार व्यवहारमा हँुदैन तब कम्युनिस्ट पार्टीभित्र पनि वर्ग जन्मन खोज्छ । त्यसलाई नेतृत्वले सचेततापूर्वक निर्मूल पार्दै अगाडि बढ्न आवश्यक हुन्छ । आज केही आत्मसमर्पणवादी र विसर्जनवादीहरूले क्रान्तिकारी पार्टीको सिद्धान्त र व्यवहार, क्रान्तिविरुद्ध छरिरहेको भ्रम र प्रचारलाई पनि हामीले गम्भीरतापूर्वक लिनुपर्छ । कुनै पनि स्थितिमा जनतासँग एकीकृत जनक्रान्तिको सिद्धान्त र व्यवहारबीचमा नङ र मासुको जस्तो एकता बनाउनु पर्दछ । सिद्धान्त र व्यवहारको सही तालमेल गरी कम्युनिस्ट दृष्टिकोण निर्माण गर्दै एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद ल्याउन सबै श्रमिक वर्ग र कम्युनिस्ट सदस्यहरूले कडा मेहनत गर्नु आवश्यक छ । सिद्धान्तमा कहिलेकहीँ व्यवहारवादी समस्याहरू आउन सक्छन् । पार्टीले आन्दोलनमा यस्ता समस्याहरूलाई सफा गर्दै लैजानुपर्दछ ।

आज नेपाल कम्युनिस्ट पार्टीमाथि सिद्धान्त र व्यवहारको उचित तालमेलकै कारण नेपाली जनतामा विशेष खालको आशाको केन्द्रबिन्दु, भरोसा र विश्वास उत्पन्न हुन पुगेको छ । एकीकृत जनक्रान्तिको सिद्धान्तवरिपरि क्रान्तिकारी पङ्क्तिको केन्द्रीकरण अगाडि बढेको छ । आमश्रमिक समुदाय, घाइते योद्धा तथा बेपत्ता परिवार र सहिद परिवारको हौसला, उत्पे्ररणा, विश्वास र आशाको केन्द्र बनेको छ । नेपाल कम्युनिस्ट पार्टीमाथि दलाल संसदीय पार्टीहरू र साम्राज्यवादी पुँजीपतिहरूले फैलाएका भ्रमहरू चिर्दै एकीकृत जनक्रान्ति दृढतापूर्वक अगाडि बढिरहेको छ । हामीले अझ कठिन मेहनत गरेर एकीकृत जनक्रान्तिलाई सैद्धान्तिक र व्यावहारिक रूपमै वैज्ञानिक ढङ्गले लागू गर्दै अझ राम्रो पार्टीपङ्क्ति, अझ राम्रो जनस्वयम्सेवक, नीति र योजना बनाउँदै एकीकृत जनक्रान्ति सफलतामा पुग्न हरदम कोसिस गर्दै अगाडि बढ्नुपर्छ । हामीले नेपाललाई एउटा सार्वभौम, स्वतन्त्र, आत्मनिर्भर र स्वाधीन राष्ट्र निर्माणका लागि एकीकृत जनक्रान्ति पूरा गरिछाड्ने दृढसङ्कल्प, प्रतिज्ञा र अठोटसहित एकीकृत जनक्रान्तिमा होमिनुपर्छ । एकीकृत जनक्रान्तिको विजय र सफलता सुनिश्चित छ । नेपाली जनताको जित सुनिश्चित छ । एकीकृत जनक्रान्ति जिन्दावाद ! वैज्ञानिक समाजवाद जिन्दावाद !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :