वैज्ञानिक समाजवाद निर्माणका सर्तहरू

वैज्ञानिक समाजवाद निर्माणका सर्तहरू

हाम्रो पार्टीले नेपालमा दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थाापना गर्नका लागि सम्पूर्ण देशभक्त, वामपन्थी, सच्चा लोकतन्त्र पक्षधर शक्तिहरूसहित आम सर्वहारा—श्रमिक जनतालाई आह्वान गरिरहेको छ । उक्त महान् उद्देश्य पूरा गर्नका लागि सर्वहारा—श्रमिक वर्गको मुक्तिको दर्शनका रूपमा स्थापित मालेमावादी विचारको मार्गनिर्देशनमा एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा विकाससहित विगत ८ वर्षयता यसको कार्यान्वयन प्रक्रिया पनि अगाडि बढिरहेको छ । विश्वमा समाजवादी क्रान्तिका विभिन्न मोडेलहरू रहेका छन् । तीमध्ये रुसी तथा चिनियाँ मोडेलहरू विश्वव्यापी महत्वका रहे पनि ती कार्यदिशाको हुबहु प्रयोग आजको सन्दर्भमा असम्भव रहन गएको छ । विश्व–समाजवादी क्रान्तिका मूलतः यी दुवै मोडेलका सार्वभौमिक पक्षहरूमा नेपालको विशिष्ट पक्षलाई समावेशसहित नयाँ मोडेलको कार्यदिशाको संश्लेषण गर्नुपरेको हो । क्रान्तिकारी एवम् बलियो कम्युनिस्ट पार्टी निर्माण र आम मुक्तिकामी सर्वहारा—श्रमिक जनतालाई एकीकृत गर्नु यो कार्यदिशाको मूल अन्तर्वस्तु रहेको छ । यसो हेर्दा यी प्रश्नहरू आमरूपमा प्रयोग भएको जस्तो देखिए पनि त्यसको सार अन्तर्वस्तुमा कैयौँ भिन्नताहरू रहेका छन् जुन आजको विश्व र नेपालको वस्तुगत धरातलमा टेकेर निर्माण गरिएको छ । पार्टी कार्यदिशाको निर्माणका सन्दर्भमा पार्टीले वर्गसङ्घर्ष, उत्पादन सङ्घर्ष र वैज्ञानिक प्रयोगको माओवादी मान्यतालाई गहिरो गरी आत्मसात र प्रयोगलाई जीवन्त बनाउने कोसिस गरिरहेको छ ।
यो कुरा सर्वविदितै छ, विगत उन्नाईसौ शताब्दीको दोस्रो दशकदेखि सत्तरीको दशकसम्म आइपुग्दा वैचारिक र भौतिक रूपले पँुजीवादका विरुद्ध हाबी भएको समाजवादी सत्ता प्रतिक्रान्तिमा बदलिन पुगेको छ । यो तितो तर वास्तविक यथार्थलाई आजका क्रान्तिकारीहरूले महत्वपूर्ण शिक्षाका रूपमा ग्रहण गर्नुपर्दछ । इतिहासबाट सिकेर पनि वैज्ञानिक समाजवादी सत्तालाई प्रतिक्रान्तिबाट बचाउने विचार र विधिको विकास गर्न नसक्नु सर्वहारा—श्रमिक वर्गप्रतिको गम्भीर धोकाशिवाय केही हुन सक्दैन । यो ऐतिहासिक तथ्यसहित भाबी दिनमा वैज्ञानिक समाजवादको स्थापना, रक्षा र विकासका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीले निम्नआधारभूत सैद्धान्तिक र नीतिगत विषयहरूमा गम्भीरतापूर्वक ध्यान केन्द्रित गर्नु आवश्यक छ ः
पहिलो— विचार/राजनीति
सर्वहारा—श्रमिक वर्गको राज्यसत्ताको स्थापना, रक्षा र विकासको पहिलो सर्त वैज्ञानिक र वस्तुवादी विचार÷राजनीति हो जसलई हामीले मालेमावादी सिद्धान्तद्वारा निर्देशित विचार/राजनीतिका रूपमा आत्मसात गर्दै आएका छौँ । यसले मात्र वैज्ञानिक समाजवादको स्थापना, निर्माण र रक्षा गर्न सक्छ । मालेमावादी सिद्धान्तले समाजमा रहेका वर्गहरू, उनीहरुका बीच विद्यमान अन्तर्विरोधहरू तथा त्यसको समाधानका लागि सही बाटो देखाउने गर्छ । सबैखाले अन्याय, अत्याचार तथा राज्यसताद्वारा विभिन्न जनवर्गका विरुद्ध गरिने उत्पीडन एवम् दमनका विरुद्ध सङ्घर्षका लागि सर्वहारा श्रमिक जनताहरूलाई सङ्गठित गर्ने, सङ्घर्ष गर्ने र वैज्ञानिक समाजवाद निर्माणका लागि अगाडि बढ्ने बाटो देखाउँछ । राष्ट्रिय स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्र तथा विभिन्न जनवर्गको हकहितको ग्यारेन्टीसहितको स्वतन्त्रता मालेमावादी विचार/राजनीतिका राष्ट्रिय अन्तर्वस्तुहरू हुन् भने सर्वहारा अन्तर्राष्ट्रियतावाद, बल प्रयोगको सिद्धान्त, वर्गीय अधिनायकत्वका प्रश्नहरू यसका अन्तर्राष्ट्रिय अन्तर्वस्तुहरू हुन् । यिनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विचार÷राजनीतिका अन्तर्वस्तुहरूका कारण यो विद्यमान साम्राज्यवाद तथा दलाल पुँजीवादको तुलनामा हजारौँ गुणा उत्कृष्ट रहेको छ । यसप्रकारको वैज्ञानिक विचार/राजनीतिको आत्मसातीकरण र निरन्तर विकासद्वारा मात्र वैज्ञानिक समाजवादको स्थापना, निर्माण र रक्षा सम्भव छ ।
दोस्रो— क्रान्तिका तीन साधनको निर्माण र सशक्तीकरण
वैज्ञानिक समाजवादको स्थापनाका लागि सञ्चालन गरिने सङ्घर्षमा पनि र त्यसको निर्माण र रक्षाका लागि पनि क्रान्तिका तीन साधनहरूको निर्माण र सशक्तीकरण एउटा महत्वपूर्ण विषय हो । त्यसमा पहिलो पार्टीको सवाल आउँछ । त्यसप्रकारको कम्युनिस्ट पार्टी मालेमावादमा आधारित कम्युनिस्ट पार्टी जसले सर्वहारा—श्रमिक जनताको मुक्ति र परिवर्तनका लागि सङ्घर्षको नेतृत्व गर्न सकोस् । आजको युगमा मालेमाको खोज, अध्ययन—अनुसन्धान र प्रयोगसहित निरन्तर विचारको विकास गर्ने हैसियत राख्नसक्ने कम्युनिस्ट पार्टीको निर्माण निर्णायक र महत्वपूर्ण विषय हो जसले आफ्नो जीवन सदा हराभरा र क्रान्तिकारीकरण गरिरहेको होस् । आज हाम्रो पार्टीले त्यस दिशामा आफूलाई अगाडि बढाइरहेको छ । दोस्रो—सेना निर्माण— आज विश्वमा एकाध देशबाहेक सबै देशहरूले आफ्नो देशको रक्षाका लागि भनेर सेना निर्माणसहित ठूलो धनराशि खर्च गरिरहेका छन् । रूपमा देशको सीमा सुरक्षाको हवाला दिए पनि सेना मूलतः देशभित्रकै अन्तद्र्वन्द्वको व्यवस्थापनमा केन्द्रित भएको छ र मूलतः आफ्नै सत्ताको रक्षा गर्न मात्र केन्द्रित भएको तथ्य छर्लङ्क रहेको छ । विज्ञान, प्रविधि तथा सूचना—सञ्चारको विकासले अबको सुरक्षाप्रणाली कस्तो बनाउने भन्ने प्रश्न पनि आजको दुनियाँमा उठिरहेको छ । आजको तथ्य के रहेको छ भने विश्वका अति विकसित केही देशहरू जो साम्राज्यवादमा पुगेका छन् उनीहरूले चाहँदा विश्वका अधिकांश मुलुकहरूलाई सजिलै नियन्त्रणमा लिन सक्छन् । साम्राज्यवादको अल्पविकसित देशहरूलाई उपनिवेश वनाउने नयाँ विचार, शक्ति राष्ट्रहरूको बहुध्रुव तथा आपसी अन्तर्विरोध तथा कैयौँ अन्तर्राष्ट्रिय सन्धिहरूले यो अवस्था सजिलो भने छैन । तैपनि तथ्यहरूले के बताइरहेका छन् भने साम्राज्यवादको गहिरिँदै गएको सङ्कटका कारण युद्धको सम्भावना पनि बढिरहेको छ । जे भए पनि हामीले आमसर्वहारा—श्रमिक जनहरूको मुक्ति तथा देशको रक्षाका लागि एउटा बलियो जनताको राष्ट्रिय सेना निर्माण गर्नै पर्दछ । पेसेवर सेना मात्र होइन, बरु लाखौँ–करोडौँ जनतालाई सैन्यीकृत गरेर मात्र वैज्ञानिक समाजवादको स्थापना, निर्माण र रक्षा गर्न सम्भव छ ।
तेस्रो— संयुक्त मोर्चा वैज्ञानिक समाजवादी सत्ता प्राप्तिको सङ्घर्षमा विभिन्न राजनीतिक दलहरू, विभिन्न सङ्घ—सङ्गठनहरूलगायत विभिन्न सरोकारवाला पक्षहरूसँग संयुक्त मोर्चा निर्माण गर्नु पर्दछ भने सत्ताको सञ्चालनमा पनि नयाँ उचाइमा सैद्धान्तिक र व्यावहारिक अवधारणाको विकास र प्रयोग जरुरी छ ।
तेस्रो— कडा परिश्राम र सरल प्रशासन
हाम्रो पार्टीको कार्यप्रणाली सरल प्रशासन तथा कडा परिश्रममा आधारित छ । बलियो अर्थसम्बन्धको निर्माण, आत्मनिर्भर अर्थतन्त्रसहितको समृद्ध राष्ट्र तथा स्वस्थ नागरिक निर्माणका लागि हामीले प्रारम्भिक रूपमा यो कार्यप्रणाली अवलम्बन गर्दै आएका छौँ । यसका लागि हाम्रो पार्टीमा आबद्ध सबै नेता तथा कार्यकर्ताहरूले दैनिक भौतिक तथा मानसिक श्रममा भाग लिनुपर्छ । आज दुनियाँका अति विकसित चीन, अमेरिका, जापान, कोरिया, बेलायतलगायत राष्ट्र त्यतिकै त्यहाँ पुगेका होइनन्, बरु उनीहरूले भौतिक र मानसिक रूपले कडा परिश्रम गरेका छन् । कम्युनिस्ट पार्टीले भौतिक र मानसिक श्रम गर्ने कुरालाई जहिले पनि सम्मान र आत्मसात गर्नुपर्छ । समाजमा केही मानिसहरू श्रमलाई बेवास्ता र श्रमिकलाई घृणा गर्दछन् । त्यसप्रकारको गलत प्रवृत्तिले हामीलाई आर्थिक दृष्टिले परनिर्भर र स्वास्थ्यका दृष्टिले रोगको केन्द्र बन्नुशिवाय केही दिन सक्दैन । हाम्रो प्रशासनिक तरिकालाई सरल बनाउँदै श्रमको महत्वलाई आजैबाट बुझौँ, सहभागी बनौँ र देश तथा जनतालाई आत्मनिर्भर र समृद्ध बनाउनका लागि लागिपरौँ । वैज्ञानिक समाजवादको स्थापना, रक्षा र विकासका लागि यो निकै जरुरी महत्वको विषय रहन गएको छ ।
चौथो— बलियो अर्थतन्त्र
वैज्ञानिक समाजवादको स्थापना, निर्माण र रक्षाका लागि बलियो अर्थतन्त्रको आवश्यकता पर्दछ । यसको अभावमा वैज्ञानिक समाजवादको स्थापना, रक्षा र विकासको कल्पना पनि गर्न सकिँदैन । आज हाम्रो देशमा चलिरहेको दलाल संसदीय व्यवस्था पूर्णतः वैदेशिक ऋण, सहयोग र रेमिट्यान्समा आधारित रहेको छ । त्यसैले यो राज्यसत्ता दलाल प्रवृत्तिमा आधारित छ । अझ टिठलाग्दो कुरा त के छ भने दलाल संसदीय राज्यसत्ताका सञ्चालकहरू नै देशको अर्थतन्त्रका आधारहरू भत्काउने काम गर्दछन् । निजीकरणका नाममा विगतमा हाम्रा पचासौँ उद्योगहरू कौडीको भाउमा बेचिएका छन् । यसले हामो राष्ट्रिय अर्थतन्त्रलाई धराशायी पार्ने र पूर्णतः वैदेशिक ऋण र सहयोगमा रहन बाध्य पारेको छ । आज विज्ञानप्रविधिको विकास र त्यसको सही प्रयोग तथा मानवीय श्रमका कारण कैयौँ पुँजीवादी मुलुकहरूले उद्योग र कृषिका क्षेत्रमा गुणात्मक विकास गरेका छन् । कृषिका क्षेत्रमा इजरायलले गरिरहेको नमुना, खाडी राष्ट्रका कैयौँ मुलुकहरूले गरिरहेको कृषि क्षेत्रको प्रगति हेर्दा हाम्रो मुलुकले अर्थतन्त्रमा द्रुत गतिमा विकास गर्ने क्षमता राख्छ । हामीसँग भएका पर्याप्त साधन—स्रोतहरू जस्तो कि— जल, जमिन, जडीबुटी, खनिजजन्य, पर्यटन तथा मानवीय श्रमको सही रूपमा सदुपयोग गर्दा हामीले बलियो र आत्मनिर्भर अर्थतन्त्रको विकासमा गुणात्मक फड्को मार्न सक्नेछौँ ।
पाँचौँ— कूटनीतिक सम्बन्ध
यो स्वाभाविक कुरा हो– हरेक देशहरूका पारस्परिक सम्बन्धहरू राजनीतिक तथा कूटनीतिक सम्बन्धमा आधारित रहेका हुन्छन् जुन आफ्नो देशको व्यवस्थाअनुकूल राजनीतिक उद्देश्यद्वारा निर्देशित गरिएको हुन्छ । पुँजीवादी सत्ता सञ्चालकहरू आफ्नो सत्ताको रक्षा र सुदृढीकरण तथा श्रमिक वर्गमाथि उत्पीडन र लुटखसोटका लागि कूटनीतिक सम्बन्ध कायम गर्दछन् । यसको अन्तर्वस्तुमा बलिया राष्ट्रहरूले कमजोर राष्ट्रमाथि तथा शोषक वर्गले श्रमिक वर्गमाथि थिचोमिचो गर्ने रहेको हुन्छ तर समाजवादी राज्यसत्तामा एक देश र अर्को देशबीचको सम्बन्ध आपसी भातृत्व र पारस्परिक सेवा र लाभमा आधारित रहेको हुन्छ । यसले देश र जनताको सेवालाई केन्द्रभागमा राखेर आफ्ना कूटनीतिक सम्बन्धहरूलाई अगाडि बढाइरहेका हुन्छन् । त्यसका साथै साम्राज्यवादी उत्पीडनका विरुद्ध सङ्घर्ष गर्ने, शोषक तथा श्रमचोर वर्गका विरुद्ध श्रमिक वर्गका बीचमा एकता र वैज्ञानिक समाजवादको विश्वव्यापी लहर सिर्जना गर्नुका साथै वैज्ञानिक समाजवादको स्थापना, निर्माण र रक्षाका लागि एक अपरिहार्य आवश्यकता हो ।
माथि हामीले वैज्ञानिक समाजवादको स्थापना, निर्माण र रक्षाका सन्दर्भमा सङ्क्षिप्त चर्चा ग¥यौँ । यो कुन अर्थमा भने आजको युगमा दुनियाँको कुनै पनि देशमा वैज्ञानिक समाजवादी राज्यसत्ता रहेको छैन । विचार, राजनीति र कार्यक्रममा पुँजीवादको तुलनामा कैयौँ गुणा श्रेयष्कर भए पनि आज वैज्ञानिक समाजवाद भौतिक रूपले पुँजीवादसँग पराजित हुन पुगेको छ । यसलाई हामीले अस्थायी र सापेक्षित हारका रूपमा परिभाषित गरेका छौँ किनकि वैज्ञानिक समाजवादी राज्यसत्ता सर्वहारा—श्रमिक वर्गको नेतृत्वमा निर्माण हुने सत्ता हो जुन वर्गलाई मालेमावादले उदीयमान वर्गका रूपमा मान्दछ र यसको विजय सुनिश्चित छ भन्ने मान्यतालाई आत्मसात गर्दछ । सैद्धान्तिक रूपले यो ऐतिहासिक तथ्यमा सहमत हुने हामी कम्युनिस्टहरू आजैदेखि वैज्ञानिक समाजवादको स्थापना, निर्माण र रक्षाका लागि गर्नसक्ने योगदानका लागि तयार बनौँ । नेपाली कम्युनिस्ट आन्दोलनमा नकारात्मक विरासतका रूपमा देखापरिरहेको केवल शास्त्रलाई मात्र आधार मान्ने र समाजवादलाई सुदूरभविष्यको विषय बनाउने गलत रुझानबाट मुक्त हँुदै शास्त्र र जीवन–व्यवहारलाई जोड्न सक्ने आदर्श स्थापित गराँै जसले समाजवादी आन्दोलनलाई हराभरा र जीवन्त बनाउँदै सिङ्गो मानव समाजलाई दुनियाँले देख्ने गरी बदल्न सकोस् ।

 

प्रतिक्रिया दिनुहोस्