घुमिफिरी पहिलोपल्ट रुम्जाटार

घुमिफिरी पहिलोपल्ट रुम्जाटार

खोज्दै धुकधुकीमा जनक्रान्तिका नयाँ कसला
बटुल्दै बटुकामा हिजो ‘मिस फायर’ भएका
र प्रयोगमा आएर कतै अल्झिरहेका गोलीहरू
उभाउँदै पोल्टामा बमबारुदको धुवाँ
टिप्दै पाखापखेरामा छरिएका छर्राहरू पेटारोमा
उधिन्दै/खोतल्दै क्रान्तिकारी योद्धाका चिहानहरू
पार्दै जोडजाड कमरेडहरूका हाडखोर
र बनाउँदै आकृति
दुत्कार्दै क्रान्तिका भगौडा नायकहरूलाई
खोज्दै, स्थापित गर्दै नवनायकहरू
बेर्दै स्वागतको न्यानो अँगालोमा
क्रान्तिका अविश्रान्त सिपाहीहरूलाई,
आइपुग्यौँ घुम्दैफिर्दै रुम्जाटार
चुम्यौँ पहिलोपल्ट रुम्जाटार…

रुम्जाटार पुगेर बिदा हुनुअघि कार्यक्रमस्थलमा बस्दै गर्दा मेरो मनमा आएको विचार र भावनाको छाल र तरङ्गको एक झोक्का थियो यो । हामी उभिइरहेका थियौँ चैत ३ मा तर थिएन कतै त्यसको गौरवशाली इतिहासप्रति गर्व, न त चर्चा नै थियो २ दिनपछि आइरहेको सांस्कृतिक प्रतिरोध दिवसको । तीन दशकअघिको यही साता काभ्रे अनेकोटमा सारङ्गी, गितार र मादल बजाउँदै जनता जगाउन बस्तीमा पसेको निहुँ बनाएर जिउँदै निहत्था जलाइएका सांस्कृतिक सहिदहरूप्रति कुनै पीडा र आवेग पनि थिएन । त्यस्तै न त थियो सामन्ती सत्ताका रक्षकहरूविरुद्ध लड्दालड्दै १७ वर्षअघि यहीँ बलिदान गरेका २७–२७ जना महान् सहिदहरूप्रति श्रद्धा र श्रद्धाञ्जली नै । यो नहुनु पनि स्वाभाविक नै थियो किनकि सांस्कृतिक क्रान्तिका नायकहरू नै आफ्नै इतिहासप्रति गर्व होइन, पश्चाताप गर्दै धमाधम भैँसीपूजा गर्दै थिए र ‘धर्मनाश’ गरेको प्रायश्चितमा घरघरमा लगाउँदै थिए रुद्री, एकाहा र सप्ताह । यसरी चारैतिर प्रतिक्रान्तिको दूषित हावा मडारिइरहेको मौसममा हामीले तय गरेका थियौँ ओखलढुङ्गाको ऐतिहासिक स्थल रुम्जाटारको साहित्यिक यात्रा । यो थियो २०७४ साल चैत २ गतेको दिन र भेला भएका थियौँ देशका विभिन्न भूगोलमा जन्मिएका, विभिन्न उमेर, पेसा, स्वभाव, रुचि र विचारसमूहका स्रष्टा र साहित्यिक पत्रकारहरू । अनि केही थान सरकारी कर्मचारीहरू पनि ।

आज रुम्जाटार यात्राको १६ महिनापछि हामीले रुम्जाटार यात्रा गर्दाका तामाकोसी, सुनकोसी, दूधकोसी र लिखुहरूमा अर्बौं घ्याम्पा पानी मात्र बगेको छैन, यही भूमिमा कयौँको बलिदान पनि थपिइरहेको छ र बगेको छ क्रान्तिकारीहरूको रगत पनि । कतिपय सूक्ष्म स्मृतिहरू विस्मृतिको गर्तमा बिलाइसकेका छन् र नयाँनयाँ अनुभूति र अनुभवहरू सल्बलाइरहेका छन् । ठीक यतिबेलै आएको छ प्रस्ताव रुम्जाटार यात्राको स्मृतिलाई उतार्नुपर्यो शब्दगुच्छाहरूमा भनेर आयोजकहरूबाट र म थालिरहेछु कनिकुथी विस्मृतिको गर्तमा पुरिइसकेका स्मृतिका पानाहरू पल्टाउन ।

सन्दर्भ–सङ्केत

कोदोको पिठो, सिस्नोको तिहुन, निर्गुणको दाउन
धर्म र कर्म गुरुङले गर्यो छक् पर्यो बाहुन !
सन्त ज्ञान दिलदास
तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल वक्षस्थलमा
यो कविको शैशवकाल बित्यो
हाँस्यो, खेल्यो वन–कुञ्ज घुम्यो
मेरो प्यारो ओखलढुङ्गा !

तामाकोसी त्यो सुनकोसी
त्यो गिरी फोरी बहने रोसी
मेरो हृदयको तिम्रो चित्र
पारिरहन्छ हरदम पवित्र
मेरो प्यारो ओखलढुङ्गा !

भाग्य लहरमा लहरी–लहरी
पुगेँ म यस मरुस्थलमा कसरी
तर खेद छैन तिम्रो आकृति
लेखिएको छ यो हृदयभरि !
मेरो प्यारो ओखलढुङ्गा !
सिद्धिचरण श्रेष्ठ

पूर्वको ओखलढुङ्गालाई चिनाउने केही काव्यात्मक पङ्क्ति हुन् यी । यसभन्दा अझ बढी त नेकपाका संस्थापक महासचिव पुष्पलाल र प्रथम विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठलाई रामेछापको भँगेरीमा जन्माएर भक्तलाल श्रेष्ठ र तुलसीदेवी श्रेष्ठले विसं १९८१ पछि केही वर्ष कर्मथलो बनाएको र पुष्पलाल–गङ्गालाल केही समय धुलीमाटी गर्दै खाइखेली गरेको स्थान पनि हो ओखलढुङ्गा । मेरो आफ्नै जन्मजिल्ला रामेछापको छिमेकी जिल्ला पनि हो ओखलढुङ्गा । पञ्चायती निरङ्कुश शासन मैमत्त हुँदा रामेश, रायन, पारिजात, निनु, मञ्जुल र अरिमहरूले राजनीतिक÷वैचारिक रूपमा असङ्गठित नै भए पनि ‘राल्फा’ को नाउँबाट सत्ताविद्रोही सांस्कृतिक आवाज गुञ्जायमान पारेको जिल्ला पनि हो यो । राजनीतिक रूपमा राणाशासन, पञ्चायती शासन, संसदीय व्यवस्था, शाहीकाल र त्यसपछि स्थापित दलाल संसदीय व्यवस्था यी सबै काल र चरणहरूमा परिवर्तनका पक्षमा ओखलढुङ्गा जिल्लाले अग्रणी स्थान ओगटेको छ । जनयुद्धकालका चर्चित दुई घटना रुम्जाटार मोर्चा र उज्जन प्रकरण अर्थात् ‘बालकृष्ण ढुङ्गेल’ प्रकरणले पनि यस जिल्लालाई चर्चामा ल्याइरहे । यद्यपि यी दुवै घटना माओवादी राजनीतिक आन्दोलनको जीवनमा खिल बनेर बसेका छन् । यो संस्मरणात्मक लेख यसै जिल्लाको रुम्जाटारमा २०७४ साल चैत २ देखि ४ गतेसम्म गरिएको साहित्यिक यात्राका गतिविधि र त्यसको सेरोफेरो–सदर्भसँग सम्बन्धित छ ।

यात्रा–पृष्ठाधार

यात्रा मेरो जीवन र शिक्षाको अभिन्न अङ्ग बनिसकेको छ । वस्तुले चेतनाको विकास गर्छ भनेझैँ सुनेको भन्दा देखेको कुरा बढी विश्वसनीय र प्रभावकारी पनि हुन्छ/हुँदो रहेछ । त्यसैले म आफूसँग सम्बन्धित ज्ञानवद्र्धक र शिक्षाप्रद यात्राहरूमा हम्मेसी छुट्न रुचाउँदिनँ । यात्रा गर्नुअघि विषय, पात्र र स्थानप्रति मेरो विशेष चासो हुने गर्छ । यी तीनै विषयले ध्यानाकर्षित गरे भने मलाई कसैले पनि यात्राबाट विमुख गर्न सक्तैन भन्ने मेरो जिद्दी छ । यो मैले आफ्नै अनुभूतिका आधारमा भनेको हुँ । पछिल्लो समयमा यात्रालाई नियात्रा बनाउनेमा मेरो रुचि बढेको छ । यात्रा गर्ने, खानपिन र होहल्लामा रमाउने र अन्तिममा हात लाग्यो शून्य हुने अवस्थाबाट बचेर त्यसलाई सार्थक र प्रभावकारी बनाउनुपर्नेमा मेरो दाबी रहँदै आएको छ । तर कतिपय अवस्थामा अर्को पक्ष हाबी हुँदा उद्देश्य प्रभावित नहुने गरेको भने होइन ।

पञ्चायतकालको अन्तिमअन्तिमतिर भान्दाइ अच्युत आचार्यसँग चरौँदी खोलैखोलाको लामो बाटो हुँदै धादिङको स्यादुलको यात्रा गरेपछि मलाई आन्तरिक यात्राप्रति अलि बढी नै रुचि जाग्न थालेको हो । यात्रा गर्नुअघि सामान्य लागे पनि फर्किंदासम्म त्यसले एउटा भव्य कथा निर्माण गर्यो । त्यसपछि म यात्रा गर्नुअघि केही कुरामा घोत्लिन थालेँ । नभन्दै त्यसपछिका प्रायः मेरा यात्रा नियात्रा बन्ने गरेका छन् । कतिपय विषय, पात्र र स्थानका कारणले र कतिपय मेरो आफ्नै क्रियाशीलताका कारणले पनि । जे होस् म र यात्रा पर्यायवाचीजस्तै छौँ भनेर दाबी र गर्व दुवै गर्छु । म आफूलाई यात्रा मन पर्ने हुनाले अरूलाई पनि मेरो जन्मजिल्लामा साहित्यिक–सांस्कृतिक–वैचारिक यात्रा गराउँदै आएको छु विगत डेढ दशकदेखि । मेरो जन्मजिल्लाबाहिरका झन्डै चार सय स्रष्टाले रामछोप, भँगेरी, सानीमदौ सिर्जनानगर, कठजोरलगायत स्थान भ्रमण गरिसकेका छन् यस अवधिमा । त्यसैले प्रायः यात्राहरूमा म आयोजक बन्ने गरेको छु र कतिपय यात्राहरूमा अतिथि । जे होस् दुवै काममा यात्राको आनन्द आउँछ, एउटामा अलि बढी कर्तव्यबोध र आयोजक हुनुको नाताले जिम्मेवारीबोधले किच्छ, अर्कोमा अलि स्वतन्त्र हुन पाइन्छ ।

यात्राकै कुरा गर्दा पञ्चायतकालमा भूमिगत जीवन जिउने अभ्यास गर्ने क्रममा सिन्धुलीदेखि काठमाडौँसम्म जङ्गलैजङ्गल यात्रा गरेको र गोदावरी जङ्गलमा गुराँसका फूल खाएर दिन र रातहरू बिताएको सम्झिन्छु । पञ्चायत सकिनासाथ मसालको जवस सम्मेलन र रक्तिम सांस्कृतिक परिवारको कार्यक्रम लिएर दिल्ली पुगेको र जनयुद्ध उत्कर्षमा पुग्दै गरेको समय शाहीकालमा शासकहरूको आँखा छलेर भूमिगत रूपमै भारतका सिक्किम, दार्जिलिङ, सिलिगुडीलगायत क्षेत्रमा यता र उताका सरकारी गुप्तचर र प्रहरीका आँखाहरू छलेर गरेको यात्रा सम्झिँदा कहिलेकहीँ आङै जिरिङ्ग हुन्छ । त्यसैले मैले यात्राबाट जति अनुभव लिएको छु, अध्ययनबाट त्यसभन्दा कमै लिएको छु कि भन्ने पनि लाग्छ । सायद यात्रा, भ्रमण मेरो शिक्षा पनि हो र कमजोरी पनि । यही बुझेर हुनुपर्छ साथीहरू भन्ने गर्छन्– कति गर्छस् हँ यात्रा ? म भन्छु– जीवन नै उद्देश्यमा पुग्ने सङ्घर्षपूर्ण यात्रा हो । जीवन रहुन्जेल र सकुन्जेल गरिरहन्छु । कुनै समय यस्तैमा मृत्युचिन्तन गरिरहेका साथीहरूलाई भनेको थिएँ– म कि युद्धमा मारिन्छु कि त यात्रामा ।

यो सुनेर कतिपय साथीहरू छक्क पनि पर्छन् र कतिपय उदेक पनि मान्छन् । म आफैँलाई थाहा छ यसो भन्नु भनेको ‘कालगति’ ले अर्थात् बूढो भएर, थलिएर, अरूका लागि बोझ भएर मर्दिनँ भन्नु हो । अशक्त शरीर र मस्तिष्क लिएर बोझ थप्दै निरर्थक जीवन एक पल पनि बाँच्नु हुँदैन भन्ने मेरो मत छ । समाजवादी मुलुक जनगणतन्त्र कोरिया (उत्तरकोरिया), रुस, चीनलगायत देशको भ्रमण गर्न मैले जग्गा नै बेचेको कुरा सुनेपछि कयौँ साथीले मेरो उद्घोष सही भनेर कुरा गरेको सुनेको छु । त्यसैले जस्तो पायो त्यस्तो होइन, सार्थक यात्रा अर्थात् नियात्राका लागि मेरो मन सधैँ तयार रहन्छ ।

विषयसङ्केत

‘अशोकजी, सन्चै हुनुहुन्छ ?’, चिरपरिचित ओखलढुङ्गे कवि एवम् साहित्यिक पत्रकार चेतनाथ धमलाको फोनले सङ्ग्रहालय निर्माणमा एकोहोरिइरहेको मेरो मन बिथोलियो ।

विशेष काम नपरी सितिमिति फोन गर्ने मान्छे होइनन् चेतनाथ । पक्कै जरुरी काम पर्यो होला भन्ठानेँ र सीधै विषयमा प्रवेश गर्न चाहेँ ।

‘भन्न त अलि पहिला पनि भनेको हुँ तर तपाईं कता हुनुहुन्छ ? ओखलढुङ्गामा नेपाल साहित्यिक पत्रकार सङ्घले साहित्यिक पत्रकारितासम्बन्धी गोष्ठी र साहित्यिक कार्यक्रम गर्दैछ । जाऊँ भनेर निम्ता गर्नलाई…’, कुनै औपचारिकताबिनै चेतनाथले विषय राखे ।
म नजाँदा के हुन्छ ?– मैले अलिअलि जिस्क्याएँ पनि धमलाजीलाई ।
तपाईं अलि फरक ‘स्वाद’ र विचारको हुनुहुन्छ नि, त्यसै भएर– उनले पनि दुरुस्तै भने ।

केही दिनअघि पनि उनले निम्ता गरेका थिए तर कामको व्यस्तताका कारण मैले असहमति जनाएको थिएँ, भाउखोजेर होइन, व्यस्त भएकाले । गोष्ठीको विषय सोधेँ । यात्राका यात्रीहरूको नाम सोधेँ । केही खलपात्रहरू पनि छन् कि भन्नेमा मेरो चासो थियो । उनले त्यस्ता पात्रहरू यात्रामा नरहेको जानकारी गराए । प्रमुख अतिथि निनु चापागाईं, नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष, मेरा आफ्नै जिल्लाबासी साहित्यकार नगेन्द्रराज शर्मा, साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष एवम् जिल्लाबासी रोचक घिमिरे, साहित्यिक पत्रकारिताबारे अन्तरक्रिया, कवितावाचन र साहित्यिक कार्यक्रम… यी विषयले मन लोभ्यायो तर जन्मथलो र काठमाडौँतिरका केही कामलाई तीन दिन थाती राख्नुपर्ने अवस्था आयो ।

अन्तिमपटक चेतनाथजीलाई घुक्र्याउने प्रयास गरेँ, ‘कार्यक्रम राम्रो हुँदाहुँदै पनि आउन सकिनँ भने क्षमा गर्नुहोला है, हित–जून युद्ध–कला सङ्ग्रहालयको अन्तिम तयारीमा छु । यो मेरो स्वप्न आयोजना हो आफ्नै रगतपसिनामा निर्माण हुने । यही चैत २५ गते सङ्ग्रहालय उद्घाटन गर्नुछ । त्यसै कामका लागि काठमाडौँ र रामेछाप दौडधूपमा छु…।’
अहिले कहाँ हुनुहुन्छ त ?– उनले फेरि खिरिल्याए ।
म यतिबेला जन्मस्थलमा– मैले जबाफ दिएँ ।
उसो भए कुनै पनि हालतमा आउनुपर्छ । हामी तपाईंलाई खुर्कोटमा पर्खिरहन्छौँ– उनले जोड गरे ।

कार्यक्रमको गरिमा, जन्मजिल्लालाई लिखुले छुट्ट्याए पनि सिमाना जोडिएको जिल्लाको पहिलो यात्रा र उनको हुट्हुटीले उनलाई निराश पार्न सकिनँ । थोरै द्विविधा मात्र राखेर भनेँ– कुनै ठूलो समस्याले दुःख दिएन भने अवश्य आउनेछु ।

कार्यक्रम आयोजना गर्न कति गाह्रो हुन्छ, त्यो मलाई थाहा छ । यो डेढ दशकमा चार सय अतिथि स्रष्टालाई मेरो जन्मघरमा पुर्याउन मैले करिब चार हजारजनासँग स्वीकृति लिएको छु । एउटै यात्राका लागि दुई–तीन सयजनालाई कम्तीमा पाँचपटकका दरले फोन गर्नुपर्छ । अन्तिममा यात्रा तय हुने बेलामा तय हुने सङ्ख्या भनेको त्यही तीसदेखि पैँतीसजना हो । यात्रा सुरु हुने दिन बिहान वा यात्रा सुरु गर्ने पाँच मिनेटअघि फोन स्विचअफ गर्नेहरूको सङ्ख्या पनि दर्जन नाघ्छ । त्यसैले म आयोजकमध्येका पनि अगुवाहरूको संवेदशीलता बुझ्छु ।

धमलाजीलाई मैले अलि बढी नै सताएँ कि भन्ने पनि लाग्यो तर यो समय नै त्यस्तै सङ्गीन थियो । त्यसैले उनले पनि बुझे भन्नेमा विश्वस्त हुन्छु म ।
त्यसपछि उनले ढुक्क भएझैँ गरेर फोन राखे ।
यो थियो २०७४ साल फागुन अन्तिमअन्तिमतिरको कुरा ।

ओखलढुङ्गा भन्नासाथ मेरो मनमा आउने अरू पनि केही चित्र–बिम्बहरू छन्– पात्र, घटना र स्थान सम्बन्धमा । म जन्मिएको रामेछापको पूर्वतिरको जिल्ला ओखलढुङ्गाका अधिकांश सिमानाको सीमाखोला लिखुखोला हो । त्यही खोला तरेर मेरा ६ भाइ जिजुहरूमध्ये एक भाइ बाँकीमेरी हुँदै शिल्खुबेसी पुगेका थिए ।

ओखलढुङ्गा जिल्लाकै नाम राख्ने क्षमताको ऐतिहासिक ओखल र त्यसको इतिहासका बारेमा पनि मेरो मनमा थुप्रै जिज्ञासाहरू थिए । लेती, गाम्नाङ, कुवापानी क्षेत्र र पोकली झरनासँग त मेरो गाउँको अर्थात् मेरा बन्धुबान्धवको बिहेबारी नै छ भन्दा पनि हुन्छ । गाउँमा ठूलाबा र काकाका छोराहरूले लेती र गाम्नाङका केही चेलीहरूलाई बेहुली बनाएर भाउजूका रूपमा भित्र्याएका छन् । टाढाको बिहे, आफू बालकै हुनाले बिहेमा जन्ती जान नपाएको घिडघिडो पनि छ । त्यसैले बाल्यावस्थादेखि नै ओखलढुङ्गा मेरो मस्तिष्कमा गाढा सपना भएर बसेको छ ।
व्यवस्थासँगका केही कुरा

यो र यस किसिमका व्यवस्थासँग पञ्चायतकालदेखि नै असहमति छ मेरो । त्यसैले मैले २०४३ सालदेखि व्यवस्थाविरोधी गतिविधिमा संलग्न भएर भूमिगत जीवन रोजेँ । २०४६ सालको आन्दोलन असफलता र सम्झौतामा टुङ्ग्याइएपछि तत्कालीन नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा अर्को विद्रोह सुरु भयो– २०५२ साल फागुन १ गतेदेखि । सुरुमा नैतिक समर्थन र २०५४ सालदेखि नैतिक–भौतिक दुवै समर्थन गर्दै पूर्णकालीन नै भएर पत्रकारिता, सङ्गठन हुँदै माओवादी आन्दोलनमा लागियो । कसैका लागि प्रजातन्त्र देखिने त्यो व्यवस्थासँग पनि मत मिल्ने कुरो भएन । फेरि पञ्चायतकालमा जस्तै भूमिगत जीवन रोज्नुप¥यो । त्यसैले प्रतिक्रियावादी/यथास्थितिवादी कुनै पनि किसिमका सरकार र सरकारी कार्यक्रमहरूमा मेरो रुचि र सहभागिता रहँदैन । मत पनि मिल्दैन । आजीवन विद्रोही स्वभावका कारण राजा–काङ्ग्रेस सरकारले २०५५ सालमा बेपत्ता बनाउँदा पनि झुकिएन र संयोगले बाँचियो भने नाफाको जीवन सक्रिय होउन्जेल देश, जनता र वर्गको सेवामा लगाउनुपर्छ भन्ने हृदयैदेखि छ । झन् २०७० सालको ‘संविधानसभा २’ को सशक्त बहिष्कार र २०७४ सालको ‘स्थानीय तह’ को चुनावको खारेजीपछि त सत्ताको आँखी हुने नै भइयो । आफूलाई सरकार र त्यहाँ रहेका मानिस, उनीहरूको क्रियाकलाप मन नपर्ने, सरकार र सरकारी मान्छेलाई आफू मन नपरिने भएपछि सङ्गत हुने कुरा पनि भएन । जे हुन्छ, मैदानमै हुन्छ भन्यो, आफ्नो बाटो हिँड्यो ।

‘हामीलाई खोजिरहेका सरकारी मान्छेहरू त छैनन् नि चेतनाथजी’, मैले आयोजक संस्थाका उपमहासचिव रहेका धमलाजीलाई २ पटक दोहोर्याएको थिएँ । उनले ढुक्क हुन आग्रह गर्दै आश्वस्त पारेका थिए । मेरो सङ्केत जनयुद्धलाई सामाजिक फासिवाद र फासिवादी आतङ्क भन्दै जनयुद्धकालमा सत्ताको ‘प्यारो’ भएका र जनयुद्धको शान्तिपूर्ण बाटोमा विघटन भएपछि रातारात ‘क्रान्तिकारी’ बनिटोपलेर सरकारी पद हत्याइरहेका चरम अवसरवादी पात्र÷प्रवृत्तिहरूप्रति पनि लक्षित थियो । प्रकारान्तरले यो प्रवृत्तिसँग चेतनाथ आफू पनि लडिरहेकै थिए । त्यसैले उनले मेरो सङ्केत नबुझ्ने कुरा भएन ।

चैत ३ को सन्दर्भ

आयोजकले सचेततापूर्वक नभए पनि कार्यक्रमका लागि राम्रै दिन रोजेका रहेछन् चैत ३ गते । यात्रा चैत २ गते सुरु हुने भए पनि ओखलढुङ्गा पुगेर खास औपचारिक कार्यक्रमचाहिँ ३ गते हुँदै थियो । नभन्दै आइपुग्यो यात्रा सुरु गर्ने दिन चैत २ । नेपालको साहित्यिक इतिहासमा २०४६ सालदेखि चैत ३ को विशेष महत्व छ । पञ्चायती व्यवस्थाविरुद्ध प्रगतिशील स्रष्टाहरूले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै तत्कालीन ‘राजकीय प्रज्ञा प्रतिष्ठान’ को प्राङ्गणमा धर्ना बस्न खोज्दा जनयुद्ध चलिरहेको समयमा ज्ञानेन्द्र शाहले ‘राष्ट्रकवि’ बनाएका माधव घिमिरे उपकुलपति थिए क्यारे । उनले आफ्ना आराध्यदेव राजा र राजतन्त्रविरुद्धको आन्दोलनमा ‘अराष्ट्रिय तत्व’ कहलिएका कम्युनिस्ट र विद्रोही काङ्ग्रेसको आन्दोलनलाई साथ दिने विद्रोहका लागि प्राङ्गण उपलब्ध गराउन नसक्ने भन्दै राज्यशक्तिकै दुरूपयोग गरेपछि स्रष्टाहरू त्रिचन्द्र क्याम्पसस्थित घण्टाघरलाई विद्रोहको थलो बनाउन बाध्य भएका थिए र त्यहीँबाटै विद्रोही स्रष्टाहरूलाई कायरतापूर्वक गिरफ्तार गरेको थियो पञ्चायती सरकारले । झडप भएको थियो– विचार र सिर्जनाका पक्षधर स्रष्टा र बन्दुक/लाठीधारी पञ्चायती सुरक्षाकर्मीका बीच । कयौँ स्रष्टाहरूले हिरासतको चिसो छिँडी कुर्नुपरेको थियो विद्रोह बोल्दा । अझ त्योभन्दा डरलाग्दो गरी २०६२ साल चैत ३ गते पुरानो बानेश्वरमा शाहीशासनका विरुद्ध ‘सिर्जना चैत्र ३’ मनाउँदै गरेका निहत्था स्रष्टाहरूलाई शाहीसत्ताका रक्षकहरूले गोली प्रहार गरेका थिए । हो, त्यही चैत ३ गते जुरेको थियो पूर्वको ऐतिहासिक जिल्ला ओखलढुङ्गामा साहित्यिक पत्रकारिताबारे बहस गर्ने र सिर्जना सुन्ने/सुनाउने अवसर । यसै सन्दर्भले पनि लोभ्याएको थियो मलाई । मलाई थाहा थियो यो यात्रामा मसँग ठ्याक्कै विचार मिल्ने वा म आबद्ध राजनीतिक/सांस्कृतिक विचारका मानिस कोही पनि हुने छैनन् तर पनि विषय, स्थान र पात्रले असाध्यै लोभ्याएको थियो मलाई ओखलढुङ्गा जान । कहिल्यै परिस्थितिको दास नबन्ने, बन्न नखोज्ने भएकैले ठाउँठाउँमै झडप पर्छ मेरो । चित्त नबुझेको कुरा भनिहाल्नुपर्ने, बहसमा उत्रिएर छिनोफानो गरिहाल्नुपर्ने, चुनौतीको सामना गरिहाल्नुपर्ने, सम्झौता र सम्झौतावादमा कत्ति विश्वास नगर्ने । यही स्वभावका कारण कतिपय ठाउँमा दुःख, हैरानी, लाञ्छनासमेत भोगेको छु । २०६५ सालतिर प्रगतिवादी कविता–लेखनसम्बन्धमा अखिल नेपाल लेखक सङ्घले दोलखाको जिरीमा आयोजना गरेको तीनदिने गोष्ठी–भेलामा केही मै हूँ भन्ने कवि र विश्लेषकका क्षमता धुजाधुजा पारेदेखि कतिपय पात्रहरूअलि झस्किन्छन् मदेखि ।तैपनि स्वभाव भन्ने कुरो बदल्न नसकिने रहेछ र बदल्नु पनि नपरोस् । कवि हितप्रसाद उपाध्यायले गुनगुनाएका श्लोकहरू सम्झिन्छु– बरु पटक्क भाँच्यूँला, म निहुरिउँला उसै किन ? लागेपछि लाग्यो–लाग्यो । गर्छु भनेपछि गर्छु–गर्छु । हुन्न भनेपछि हुन्न–हुन्न ।

यात्रा आरम्भ

जति दिनको होस्, यात्रा गर्ने र यात्रामा रमाउने भनेपछि घर, परिवार, काम, थातथलो सबै भुल्नुपर्ने हुन्छ । टाढाको यात्रा त होइन, तर पनि तीन दिन भनेको लामै समय हो काममा व्यस्त भएको बखत ।

ओखलढुङ्गा जाने दिन बिहानै जन्मथलो सिर्जनानगरबाट मन्थली आएर बस चढेँ र खुर्कोट पुगेर ओर्लिएँ । काठमाडौँबाट स्रष्टाहरू आइपुग्न केही समय लाग्ने थाहा पाएपछि समयको सदुपयोग गर्दै कमरेड ऋषि देवकोटा ‘आजाद’ को जन्मघर र उनले निर्माण गरेको पोखरी तथा स्तम्भ भ्रमण गरेर समय कटाएँ ।

यही खुर्कोट हो जसले आजादजस्ता विद्रोही योद्धाहरू जन्माएको थियो । तीसको दशकको मध्यमै जनयुद्धका लागि सिन्धुली, रामेछाप र दोलखा तयार छन् भनेर पार्टी केन्द्रमा हतियार–कार्यदिशा माग्ने कमरेड ऋषि देवकोटा ‘आजाद’ जन्मिएको र जनयुद्धका कयाैँ योद्धाहरू जन्माएको ठाउँ हो खुर्कोट । यहीँभन्दा अलि माथि दक्षिणतिर त छ ऐतिहासिक सिन्धुलीगढी जहाँ जनयुद्ध आरम्भ भएकै रात योद्धाहरूले प्रहरीचौकी कब्जा गरेका थिए । त्यही ऐतिहासिक सिन्धुलीगढी हो त्यो जहाँ राष्ट्रवादी नेपालीहरूले अङ्ग्रेजविरुद्धको लडाइँमा ऐतिहासिक वीरता प्रदर्शन गर्दै विजय प्राप्त गरेका थिए । त्यही ऐतिहासिकताको स्मरण गर्दै र प्रतिक्रियावाद–संशोधनवादविरुद्ध अर्को विद्रोह आह्वान गर्दै २०६५ साल फागुन १ गतेमाक्र्सवादी साहित्य प्रतिष्ठानको नेतृत्व गर्दै ऐतिहासिक सिन्धुलीगढी किल्लाबाट सिर्जनात्मक विद्रोह उद्घोष गरेको पनि एक दशक बितिसकेको थियो । त्यही उद्घोषले जन्माएको थियो संशोधनवादविरुद्ध नयाँ आन्दोलन । आफैँले नेतृत्व गरेको अभियानमा सहभागी थिए सीपी गजुरेल, अनिल शर्मा विरही, डा. ऋषिराज बराल, पूर्ण विराम, डा. नन्दीश अधिकारी, गङ्गा श्रेष्ठ, विश्वम्भर लामिछाने, प्रोल्लास सिन्धुलीय, प्रतापराज वन्त, जीवेन्द्र शाही नीलगगन, प्रसिद्धा शर्मा, विमला अधिकारीलगायत करिब एक सयजना स्रष्टा र झन्डै पाँच सय स्थानीय बासिन्दा । ठूलै महोत्सव बनेको थियो सिन्धुलीगढीमा त्यतिबेला साहित्यको । माउलाई चिलले टिपेपछि बेसहारा भएका चल्लाहरूको जस्तै स्थिति बन्यो त्यसपछि माओवादी आन्दोलनमा । जनयुद्धका नाइकेहरूलाई साम्राज्यवादी चिलले टिपेपछि तितरबितर भएका योद्धाहरू एकत्रित हुन लागेको बेला थियो त्यो र त्यही क्रममा सांस्कृतिक अभियानको नेतृत्व गरेको थियो माक्र्सवादी साहित्य प्रतिष्ठानले ।

समय, परिस्थिति र विचार कति वेगवान् र बलवान् रहेछन् ! करोडौँ सर्वहाराहरूको आशाको केन्द्र बनेको माओवादी युद्ध रातारात समाप्त पारिदिएका थिए केही खलपात्रहरूले आत्मरक्षाको भूत जागेपछि । कहाँ गए सहिदका सपना ? कहाँ पुगेबेपत्ता योद्धा र घाइतेहरूका चाहना र योगदान ! दुष्टहरूले सबै खरानी पारिदिए र चिल्लीबिल्ली पारिदिए । तिनै चिल्लीबिल्ली भएका सपनाहरूथिग्र्याउने र नयाँ शक्तिशाली विद्रोह आरम्भ गर्ने महान् अभियान बनेको थियो त्यो यात्रा । हो, लडाइँमा पराजित भए पनि त्यस्तै केही सपनाहरूले अन्तिम समयमा लालसलाम, जनयुद्ध जारी छ, जनक्रान्ति जारी छ भन्दै बलिदान गरेको ऐतिहासिक थलो पनि हो ओखलढुङ्गाको रुम्जाटार । कहिलेकहीँ पराजयबाट पनि पाठ सिक्न सकिन्छ । त्यही पराजयको पाठशालाको समेत अध्ययन गर्ने स्थल बन्दै थियो मेरा लागि रुम्जाटार यात्रा ।

यिनै कुराहरूस्मरण गर्दै र स्रष्टाहरूलाई पर्खंदै झन्डै डेढ घन्टा समय बितेको पत्तै भएन खुर्कोटमा । स्रष्टाहरूको आगमनपछि थाहा भयो– खाना खाने बिन्दु पनि त्यही खुर्कोट नै तय गरिएको रहेछ । पूर्वपरिचितहरूसँग रमाउँदै र अपरिचितहरूसँग परिचय साट्दै खाना खायौँ र गाडीमै आराम गर्ने निर्णय गर्दै गाडी चढ्यौँ । आधाभन्दा धेरै बाटो यात्रा गर्न बाँकी नै थियो र बाँकी नै थियो घुमिफिरी पहिलोपल्ट रुम्जाटारको भूमि स्पर्श गर्न । यात्रुहरू थिए निनु चापागाईं, रोचक घिमिरे, नगेन्द्रराज शर्मा, श्रीओम श्रेष्ठ रोदन, ज्ञानुवाकर पौडेल, जयदेव भट्टराई, नारदमणि गौतम, तुल्सीहरि कोइराला, लक्ष्मी उप्रेती, लक्ष्मी भट्टराई, गोविन्द चौलागाईं, ईश्वरी ओझा, झविन्द्र भुसाल, युवराज नयाँघरे, रामप्रसाद पन्त, कला अनुरागी, पदम राई, विष्णु भण्डारी, माधवप्रसाद पोखरेल गोज्याङ्ग्रे, होमशङ्कर बास्तोला, नवराज पुडासैनी ज्योत्स्ना, अर्जुन तामाङ, केदार बास्कोटा थाक्ले, लक्ष्मी रुम्बा, सुकन पुडासैनी मित्रअनि सिन्धुलीबाटै यात्रा तय गर्दै हुनुहुँदो रहेछ कवि प्रसिद्धा शर्माले । गाडी चढ्ने बेलामा पो थाहा भयो । अघि नै थाहा भएको भए खुर्कोटमै उहाँ एकातिर र म अर्कोतिर साथीहरूको प्रतीक्षा गर्दै समय कटाउनुपर्ने त थिएन भन्ने लाग्यो ।

यात्राको गति

बाटामा अनुभूतिहरू साटासाट गर्ने, जीवनको परिभाषा गर्ने र एकएकवटा सिर्जना पस्केर परिचित हुने वातावरण बनाएका थिए ओखलढुङ्गे स्रष्टा केदार बास्कोटा थाक्लेले । उनी मेरा पूर्वपरिचित पनि हुन् । बीच बाटोमा चढेकाले मेरो सिट पनि पछाडि नै परेको थियो । अगाडिबाटै अनुभूति र सिर्जना राख्ने क्रम सुरु भयो । कतिपयले राखे । कतिपय लजाए र कतिपय त ‘ठूला’ पनि पल्टिए । यात्रालाई रोचक, स्मरणीय र ज्ञानवद्र्धक बनाउनुपर्छ भन्ने मेरोपनि मान्यता छ । मेरो पालोमा मैले गाउँगाउँबाट उठ…गीतका केही हरफ गुनगुनाउँदै तीसको दशकको आरम्भसम्म उत्कर्षमा रहेको राल्फा आन्दोलनका रामेश, रायन, अरिम, मञ्जुल, पारिजात र निनु राल्फाहरूलाई सम्झिने प्रयास गरेको थिएँ । चैतको पहिलो साता अर्थात् सांस्कृतिक प्रतिरोध दिवसको साता भएकाले इच्छुक, अनेकोट र सांस्कृतिक प्रतिरोधको स्मरण पनि गरेको थिएँ । तर हाँसको बथानमा बकुल्लाझैँ मैले पस्किएको गाउँगाउँबाट उठ गीत र अनेकोटप्रतिरोध दिवसको सन्दर्भको उति वास्ता वा उचित सम्मान भएनझैँ लाग्यो मलाई । होस् पनि किन ? जहाँ त्यत्रो त्याग, शौर्य र बलिदानको सम्मान छैन, हिजोका नायकहरू नै इच्छुक, चुनु र दिलमायाहरूका कविता, गीत र बलिदान भुलेर राजभक्त माधव घिमिरेका कविताबाट सन्तुष्टि लिइरहेछन् । प्रतिक्रान्ति मौलाउँदै गएको यस्तो दूषित मौसममा एउटा चेतनामूलक गीतप्रति रुचिभन्दा वितृष्णा जाग्नु वा खिसीट्युरीको विषय बन्नु कुनै अनौठो थिएन ।यात्रामा जनयुद्धप्रति प्रतिबद्ध र समर्पित कोही थिएनन् भन्दा पनि हुन्छ । जनगणतन्त्र कोरिया (उत्तरकोरिया) को दोस्रोपटकको यात्रामा अन्तर्राष्ट्रिय समुदायसामु यही जागरण गीत गाउँगाउँबाट उठ…प्रस्तुत गर्ने मेरो ढिपी र दुनियाँले यो गीत र नृत्य मनपराएपछि असन्तुष्ट भएको एउटा गिरोह नेपाल फर्किएपछि शङ्कास्पद सञ्चारमाध्यमहरूको दुरूपयोग गर्दै मेराविरुद्ध खनिएको थियो । मैले कोरियामा जस्तै ओखलढुङ्गा यात्रा गर्दा गाडीमै पनि भनेँ– म एक्लै भए पनि यो र यस्ता गीत गाइरहन्छु । फेरि एक दिन देश र जनताको गीत गाउने र सहिदबनेर पनि वर्गमुक्ति गर्नेहरूको सुन्दर लाम लाग्नेछ…। मलाई यसो भन्ने हिम्मत २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा सत्ताबाट जिउँदै जलाइएका च्याङ्बा लामालगायत सातजना निहत्था कलाकारले गरेको प्रतिरोधले पनि दिएको थियो । इच्छुक, चुनु, दिलमाया, शिव, शारदा, रक्तिम, लोकरोशन, मस्तलगायत डेढ सयभन्दा बढी सांस्कृतिक सहिद र झन्डै नौ हजार सहिदको रगतले दिएको थियो ।

खुर्कोटभन्दा पूर्व अर्थात् खुर्कोट–घुर्मी–ओखलढुङ्गा सडकको यात्रा मेरा लागि पहिलो यात्रा थियो । तर बाटामा पर्ने स्थानका नामहरू भने पहिलेदेखि नै सुनिएका र हृदयभित्र गढेकाथिए । हामी सिन्धुली कटेर उदयपुर छुँदै ओखलढुङ्गाको यात्रा गरिरहेका थियौँ अर्थात् सुनकोसी किनारैकिनार, सुनकोसीलाई बायाँपट्टि, रामेछापतिर पारेर पश्चिमबाट पूर्वतिर कुदिरहेका थियौँ । हामी हिँडिरहेकोभूगोल महाभारतपर्वतमालाको उत्तरी काछ थियो, केही रसिलो, केही हराभरा ।

हामी यात्रा गरिरहेको सिन्धुलीकोभूगोललाई सिन्धुलीगढी, सुनकोसीलगायत स्थान र सम्पदाका नामले पनि चिनिन्छ भने सहिद आजाद, विशाल, कुमार, महेन्द्र श्रेष्ठ, चित्रनारायण श्रेष्ठ, सम्झना दाहालहरूको जिल्लाका रूपमा पनि चिनिन्छ । पूरै दक्षिण पर्केको सुनकोसीउत्तरतिरको भूगोल भने रामेछापको हो, तीन लालको जिल्ला । तीन लाल (कृष्णलाल–गङ्गालाल–पुष्पलाल) देखि तीफदिले रगत बगाएको बेथान, २१ जनाले सामूहिक बलिदान गरेको दोरम्बा, जनयुद्धमा सत्ताको पागलपनका कारण निर्दोष मानिसहरूको सामूहिक हत्यास्थलबनेका सालु, चुचरे गज्र्याङ अनि शिवलाल, चन्द्रलाल र हितप्रसाद उपाध्यायहरूले स्थानीय सामन्तहरूसँग सम्झौताहीन सङ्घर्ष गरेको विद्रोहको किल्ला खाँदबारी भएको जिल्ला । दक्षिणतिर फर्किएको चट्टानी भूगोल भएकाले तुलनात्मक रूपमा पूर्वका जिल्लाहरूमा रामेछाप अलि रुखो र सुक्खा जिल्ला नै हो । यो जिल्लाले विगतमा इमानदार राजनीतिक नेतृत्व प्राप्त गर्न नसक्दा गौरवशाली इतिहास भएर पनि ओझेलमा पर्यो । विकास भएन । तलतल तामाकोसी र सुनकोसीको पानी त्यसै खेर गइरहेको छ । त्यसकै माथिका जमिनहरू सुक्खा छन्, पटपटी फुटेका छन् र मानिस पानी पिउन नपाएर काकाकुल बनिरहेका छन् । विगतमा यस्तै जिल्लालाई नेताहरूले सुगम र विकसित घोषणा गरेर सत्ताको चाकडी गरे । जसरी रामेछापका सामन्तहरूले सानीमदौका किसानहरूको रगतपसिनाबाट निर्मित इतिहास खाइदिए, त्यसैगरी त्रिवेणी खुर्कोटमा पुगेपछिसुनकोसीले तामाकोसीको गौरवशाली इतिहास निलिदियो । उस्तैउस्तै इतिहास, आकार, पृष्ठभूमि र वर्तमान भएका तामाकोसी र सुनकोसी एकै ठाउँमा मिसिएर बगेपछि त्यसको नाउँ सुनकोसी रहनु तामाकोसीको इतिहास मात्र होइन, वर्तमान र भविष्यमाथि पनि सरासर अन्याय थियो । हामी यो अन्याय निरीह भएर सहँदै वा बुझपचाउँदै अघि बढिरहेका थियौँ । कसैले पनि किन अब तामकोसीको अस्तित्व सकियो भनेर बुझ्न र सोध्न आवश्यक पनि ठानेन । सायद इतिहास विजेताहरूको मात्र बन्छ भन्नेमा सबै मस्तराम थिए । कसरी विजेता बनाइन्छ भन्ने कुरामा कसैले मस्तिष्क मन्थन गरेको देखिएन ।

हामी हैबार बेसी हुँदै अघि बढ्यौँहैबार, सँुगुरे, बितिजोर, ठ्याक, ट्याउँ, निहुरे, साखर, चाल्नेलगायत ससाना खोला र खहरेहरूले हामीलाई स्वागत, सत्कार र बिदाइ गरिरहे । सुँगुरेखोलाको सुँगुरे जलविद्याुत् आयोजना पनि निकट भएरै पछि बस्यो । सिन्धुली र उदयपुरको सिमाना रहेको बादुरा खोला पुग्नुअघि सुम्नामबेसीको वल्लो भाग देखियो । हो, यही ठाउँमा हो हाम्रा पुर्खाले पाँच सय वर्षअघि गोरखा धावातान्द्राङबाट पूर्व लाग्दा तत्कालीन मल्ल राजाहरूलाई ताम्रपत्र गराएरमन्थली आएपछि केही बिर्ता पाएको । यो बिर्ता पनि केही टाठाबाठाहरूले खाइदिएका रहेछन् तर ठाउँकोनाउँ भने सम्झनामै छ । यता हामी सिन्धुली छोडेर उदयपुर छुँलाछुँला जस्तो गर्दैछौँ, उत्तरतिर लिखुले रामेछाप र ओखलढुङ्गालाई जोडिरहेको छ । लिखु पनि तामाकोसीको इतिहास निल्ने सुनकोसीमै आएर आफूलाई समाप्त पार्दैछ । यिनै तामाकोसी, सुनकोसी, भोटेकोसी, दूधकोशी, अरूण, बरुण र तमोर मिलेपछि केही पूर्व पुगेर बन्छ सप्तकोसी । सप्तकोसी कुनै एउटा कोसी मात्र नभएर समूह भएकाले यो केही समानतामूलक नाउँ हो भन्ने मलाई लाग्छ । सम्पदाका नाउँ राख्दा पनि शासकहरूको खास रुचि वा स्वार्थ गाँसिएको देखिन्छ ।

कोसी वा नदीहरू सभ्यताका मुहान हुन् । जहाँ पानी हुन्छ त्यहाँ बस्ती बस्छ । हामीले भर्खरै छाडेर आएको खुर्कोट पारिपट्टिको रामेछापको पुछारमा रहेको सेलेघाटको थुम्कोमा कुनै दिन माझीको राजधानी थियो । राजधानी रहेको दरबारको भग्नावशेषका रूपमा पुराना इँटका पर्खालहरू अझै साक्षीका रूपमा छन् । सुनकोसीले तामाकोसी, लिखुलगायत सभ्यताको अस्तित्व समाप्त पारिदिएझैँ कालान्तरमा अन्य जातिका शासकहरूले माझी समुदायको शासन समाप्त पारिदिए । हाम्रै आँखा अघिल्तिरको घटना हो, मन्थलीका घिमिरे जिम्मल, मुखिया र भँगेरीका सामन्तहरूले सानीमदौका सुवेदी किसानहरूसँगै तामाकोसीकिनारका माझीहरूको इतिहास पनि समाप्त पारिदिएका थिए । यो तामाकोसी र सुनकोसी सभ्यताको आरम्भमा माझीहरूनै यहाँका आदिवासीहरू थिए । तर अहिले यहाँ माझीहरूको सभ्यता त परै जाओस्, इतिहास र वर्तमानको भग्नावशेष भेट्न पनि मुस्किल होलाजस्तो भइसकेको छ ।

पारि उत्तरपट्टि रामेछाप र हामी यात्रा गरिरहेको महाभारतको काछ सुनकोसीकिनारबाट सिन्धुलीलाई बिदा गरेपछि हामी घुर्मी प्रवेश गर्यौँ । यहीँबाट सुरु हुन्छ ओखलढुङ्गा जाने सिद्धिचरण राजमार्ग । मानेभञ्ज्याङतिर उक्लिँदै गर्दाअलि माथि पुगेपछि थाक्लेको थाप्लोमाथिबाट बाटो छुट्टियो– पूर्व गए जयरामघाटमा सुनकोसी र दूधकोशीको सङ्गम भेटिने । अलि माथिल्लो बाटो जाँदा खोटाङ दिक्तेल ।ओखलढुङ्गाको भूमि छोएपछि स्थानीय स्रष्टाहरूले यता र उता देखाउँदै भने–यो थाक्ले केदार बास्कोटा थाक्लेको गाउँ, यो केतुके चेतनाथ धमलाको जन्मथलो, उता छहरेतुलसीहरिको, कुइभीरहोमशङ्करको, रुम्जाटार सीतारामको, टोक्सेलनारदको जन्मस्थल । जन्मस्थल भनेपछि हुरुक्कै हुन मान्छे हुँ म पनि । मेरो जन्मस्थल, अग्रज र पुर्खाहरूप्रतिको मोह वा प्रेमका कारण कतिपय मानिस क्षेत्रीयतावादी, जन्मथलोवादी, जिल्लावादी, पितृवादीसम्म भन्न भ्याउँछन् । म त गर्वसाथ भन्छु– जन्मथलो र जन्म दिने अग्रजहरूप्रति कृतघ्न हुनेहरूलाई शिर उठाएर हेर्ने अधिकार छैन । तत्तत् ठाउँमा पुगेपछि मैले सहयात्रीहरूको अनुहारको भाव पढेँ– कारणवश आफ्नो जन्मथलोमा बस्न नपाएकाहरू, नबसेकाहरूआफ्नो जन्मथलोमा आइपुग्दाको भाव उस्तै हुन्छ कि केही बदलिन्छ ? म आफू हरेकपल्ट, कहिले त सातामा दुईपटकसम्म जन्मथलो पुग्दा पनि आफूलाई नयाँ र जन्मथलोलाई अझ नयाँ पाउँछु । मेरो भाव र ऊर्जा पटकैपिच्छे बदलिइरहन्छ, बढिरहन्छ जन्मथलोमा पुग्दा । मैले ओखलढुङ्गाको यात्रा तय गर्नुको एउटा कारण सिद्धिचरण श्रेष्ठको जन्मथलोप्रिय, मातृभूमिप्रिय ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता पनि हो । नारायणगोपाल र रामेशका भिन्नाभिन्नै आवाजमा यो कविताबाट निर्मित गीतको ओज कविताभन्दा पनि बढेको पाउँछु म ।

घुमिफिरी पहिलोपल्ट रुम्जाटार चुम्दा

पश्चिम आकाशमा पुगेर घामले दिनसँग बिदा माग्दै गर्दा हामी लगलगे हुँदै सिद्धिचरण नगरपालिकामा रहेको सदरमुकाम रमाइलो डाँडा पुग्यौँ र हल्का चियाबिस्कुट चपाएर पेटलाई शान्त गरायौँ । सदरमुकामबाट छुट्टिने रहेछन् उत्तरी जिल्ला जाने बाटो र रुम्जाटार झर्ने बाटो । रात पर्न थालिसकेको थियो । हामी अँध्यारोमा गुलेली हानेजस्तै भूगोलको परिकल्पना गर्दै कच्ची बाटो गन्द्र्याङगुन्द्रुङ गर्दै झर्यौँझन्डै ११ किलोमिटर ओरालो । स्थानीय सीताराम थिए हाम्रा पथप्रदर्शक । उनैले परिचित गराए अँध्यारोमा पनि रुम्जाटार पुग्नुअघिका स्थानहरूलाई । केही देखिए पो ! ए, हो, हो भन्दै औपचारिकता पूरा गर्दै हामी रुम्जाटार चुम्ने ध्याउन्नमा लाग्यौँ । नभन्दै आइपुग्यो रुम्जाटार । बिहानैदेखि यतिबेलासम्म अर्थात् झन्डै २२५ किलोमिटरको यात्रा तय गरिसकेको गाडीले हामीलाई रुम्जाटार सिटी सेन्टरको ढोकैसम्म पुर्याइदियो । सेन्टरका सञ्चालक अहमद मन्सुरले स्वागत गर्नासाथसीतारामले अभियात्रीहरूलाई खादा रमाला लगाइदिए । दिनभर उनी हामीसँगै थिए, साँझ स्थानीय सहआयोजक बनेर स्वागत गरे । केही छिनमै हामी दुई दिनका लागि सोही सेन्टरका पाहुना बनिहाल्यौँ । स्रष्टाहरूका बीचको रमाइलो नै यही हो । सिर्जना र सहकार्य ।

ओखलढुङ्गा सदरमुकाम हुँदै बेलुका रुम्जाटार पुग्नासाथ हामीलाई त्यहाँको वातावरणले लोभ्याइसकेको थियो । बिहानै हामीले रुम्जाटारको स्वरूपलाई पैदलै नियाल्यौँ । बिहानको अनौपचारिक कार्यक्रम नै थियो रुम्जाटारको अवलोकन भ्रमण किनकि ११ बजेबाट मात्र सुरु हुन्थ्यो साहित्यिक पत्रकारितासम्बन्धी छलफल र कविगोष्ठी । रुम्जाटारको पूर्वतिर सिस्नेखोला थियो भने पश्चिमतिर ठोट्नेखोला थियो । दुई खोलको बीचमा उठेको तप्क्याने टार रहेछ रुम्जाटार । बिहान मात्र देखिएको थियो यसको सकल स्वरूप । मलाई रनजोर खोलामाथि खारखोला र कोकाहा खोलाका बीचमा रहेको खाँदबारी र सानीमदौ–सिर्जनानगरको भूगोलजस्तैजस्तै लाग्यो रुम्जाटारको बनोट । उचाइ मात्र रुम्जाटारको बढी । अरू उस्तैउस्तै । बिहानभर हामीले रुम्जाटार भ्रमण गर्यौँ । अनुभूतिहरू छताछुल्ल भए । भौतिक रूपमा हेर्दा कोदोको राम्रो उत्पादन हुने रुम्जाटारबासीहरूको सहर र राजधानी पलायनका कारण परम्परागत पोसाकमा सजिएकी सुन्दर बिधुवी युवतीजस्तो लाग्यो मलाई । सरदर साढे तीन सय गुरुङ समुदाय रहेको यस बस्तीका परम्परागत शैलीको झल्को दिन हरेक घरका ढोकामा भोटेताला झुन्ड्याइएको थियो । कम्तीमा सदरमुकाम र पाएसम्म बेलायत यहाँका ‘लाहुरे’ हरूको गन्तव्य रहेछ । ब्रिटिस क्याम्प नै स्थापना गरेर युवाहरूलाई छाती नापेर उता सप्लाई गरिरहेको रहेछ रुम्जाटारले । रुम्जाटारजस्तै वैधव्य बोकेर दैनिक बचेखुचेका चिचिला नानीबाबुहरूका छाती नापिरहेको थिक्यो भर्तीक्याम्प, तिनै चिचिलाहरू युवा बनुन्जेलका लागि कुरिरहेको थियो भर्तीक्याम्प । साँच्चै भनूँ भने रुम्जाटार युवा गुरुङहरू उत्पादन र सप्लाई गर्ने फ्याक्ट्री नै रहेछ । यतिबेला गुरुङहरूको उत्पादन कम भएकाले रित्ता घर र खाली क्याम्प रुँघेर बसेको रहेछ रुम्जाटार । घरघरमा ताला, बारीहरू बाँझै, घर कुरुवासमेत नपाइने अवस्थाको रुम्जाटार अब आफ्ना सन्ततिहरूमा पनि नियमित होइन, घुमिफिरी जीवनमा कहिलेकहीँ आइपुग्ने थलो बन्दै रहेछ ।

प्रभातकालीन भ्रमणकै क्रममा थप प्रस्ट भयो, जन्मथलो इलाम भएर पनि विसं. १८०८ तिर ओखलढुङ्गामा बसेर चिन्तन र साधना गर्ने निर्गुण भक्तिधारा र जोसमनी सन्त परम्पराका नायक सन्त ज्ञानदिलदासको कर्मभूमि, जनयुद्धका नायक प्रचण्डको प्रधानमन्त्री पद खाइदिने रुक्माङ्गद कटुवालदेखि लोकगायिका मेलवादेवीसम्मको जन्मथलो, चर्चित कविता ‘मेरो प्यारो ओखलढुङ्गा’ का रचनाकार सिद्धिचरण श्रेष्ठदेखि ज्ञानेन्द्रका प्रशंसक भएर पनि वर्तमान‘लोकतान्त्रिक गणतन्त्र’ का राष्ट्रगीतका रचनाकार व्याकुल माइलासम्म ओखलढुङ्गाकै हुन् । अझ उदेकलाग्दो कुरा त सिद्धिचरणको सालिक बेवारिस भएर बसिरहेको ओखलढुङ्गामा सत्तापूजकहरूले व्याकुल माइलाको पनि जिउँदैमा सालिक बनाउने तयारी गरिरहेका छन् रे भन्ने सुनियो ! गोष्ठीमा त मैले अलि सीधासिधी भन्नुपर्यो– राणा शासनको बेला क्रान्तिबिना शान्ति आउँदैन भन्ने चर्चित क्रान्तिकारी कविता लेखेर जेल परेका सिद्धिचरण श्रेष्ठ कालान्तरमा राजतन्त्रका विरुद्ध लड्न नसकेर सम्झौता गरे । यता अर्का राजभक्तलाई हामीले राष्ट्रिय गीतका रचनाकाकार भनेर स्वीकार्नुपर्ने र जिउँदैमा उनको सालिक हेर्नुपर्ने बाध्यता आइलागेको छ ।उनको गीतलाई राष्ट्रिय गीत चयन गरिएपछि अखिल नेपाल जनसांस्कृतिक महासङ्घको ब्यानरमै हामीले बहिष्कार आन्दोलन नै सञ्चालन गरेका थियौँ । ज्ञानेन्द्र शाहलाई महान् भन्दै उनले सम्पादन गरेको गीतको पुस्तक नै प्रमाणका रूपमा प्रस्तुत गरेका थियौँ । यस्ताअनौठा संयोगहरू प्नि रहेछन् ओखलढुङ्गामा । मेरो भनाइपछि कतिपयले जिब्रो काढेको देखियो । क्रान्तिबिना शान्ति आउँदैन भन्ने कवि जन्मिएको जिल्लामा आएर पनि सत्य बोल्न डराउने ? मैले हाकाहाकी भनेँ ।

प्रभाती यात्राकै क्रममा एउटा ऐतिहासिक संयोग मिल्यो । प्रगतिशील सौन्दर्यचिन्तक निनु चापागाईं र म सँगसँगै यात्रा गरिरहेका थियौँ । उनले अलि माथि ठूटो मात्र रहेको वरचौतारीमा पुग्ने बेलामा चौतारीतिर औँल्याउँदै मसँग भने, ‘अशोकजी म तपाईंलाई एउटा पुरानु कुरा सम्झाउँछु । म निनु राल्फा हुँदा हाम्रो राल्फा समूहले २०२८ सालको एक साँझ यही वरको चौतारीमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो । सामन्तहरूले हामीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए । हाम्रो समूहले त्यसको प्रतिरोध गरेको थियो ।’

निनुजी (मभन्दा अग्रज भए पनि म निनु चापागाईंलाई पहिलेदेखि नै निनुजी भन्छु र उहाँ पनि सहर्ष स्वीकार गर्नुहुन्छ) लाई मैले भनेँ, ‘यो कुरा यही बेलामा सार्वजनिक गरौँ र केही तस्बिर खिचाऊँ । यो ऐतिहासिक सन्दर्भले स्रष्टाहरूलाई एउटा खुराक दिन सक्छ ।’

उनी त्यति इच्छुक थिएनन् तर मैले उनलाई अलि कर लगाएँ । के सोचे कुन्नि, उनले स्वीकृति दिए । नभन्दै मैले वरचौतारीमा पुगेर राल्फाको इतिहास कोट्ट्याउँदै रामेश, रायन, मञ्जुल, अरिम, पारिजातसँगै राल्फा अभियानका एक नायक निनु राल्फा हामीसँगै रहेको, यही स्थानमा २७ वर्षअघि ऐतिहासिक सांस्कृतिक कार्यक्रम र सामन्तविरुद्ध विद्रोहसमेत भएकाले त्यस विद्रोहका एक अगुवा पात्र निनुसँग तस्बिर खिचाऔँ भनेर आह्वान गरेँ । त्यसपछि निनु चापागाईंलाई निनु राल्फा सम्झिएर तस्बिर खिचाउनेहरूको होड नै चल्यो ।

प्रभाती यात्राकै क्रममा हामी पुग्यौँ रुम्जाटार एयरपोर्टमा । यो एयरपोर्ट माओवादी जनयुद्धकालीन जीवनको एक नकारात्मक बिम्ब र शिक्षा बनेर बसेको इतिहास छ । भूगोलका बारेमा राम्रोसँग परिचित हुन नसक्दा रुम्जाटार मोर्चामा माओवादीले नराम्रो धक्का खाएको हो । २०५९ साल कात्तिक १० गते रुम्जाटार विमानस्थलमा रहेको तत्कालीन शाहीसेनाको क्याम्पमाथि माओवादी जनसेनाले आक्रमण गर्दा जनमुक्ति सेनाका २७ जना योद्धाको बलिदान भएको थियो भने क्याप्टेनसहित २ शाही सैनिक मारिएका थिए । एयरपोर्ट सुरक्षाका लागि बसेको नेपाल प्रहरीका सई रामकुमार श्रेष्ठले हाम्रो समूहलाई एयरपोर्ट घुमाइदिए । उनले पनि रुम्जाटार मोर्चाको नामले स्थापित उक्त लडाइँका बारेमा केही सुनेका रहेछन् । हामीले त्यहाँको भूगोल पनि हेर्यौँ । एयरपोर्टको पूर्वतिर पूरै भीर रहेछ । राती भएको लडाइँमा माओवादी जनमुक्ति सेनाका कयौँ योद्धालाई शाहीसेनाले पूर्वतिरको त्यही भीरमा लगेर लडाएको रहेछ । त्यो भयानक त्रासदीको १७ वर्षपछि त्यही ठाउँमा पुगेर हामी लडाइँको रातको परिकल्पना गरिरहेका थियौँ । हुनत आज जनयुद्धका नायकहरूले नै जनयुद्धलाई आईएनजीओकरण गराइसकेका छन् । त्यत्रो महान् युद्धलाई न्यूनीकरण र भ्रष्टीकरण गरेर ‘माओवादी द्वन्द्व’ मान्दै प्रचण्ड–बाबुरामहरूले जनमुक्ति सेनाका योद्धाहरूलाई ‘लडाकु’ मा सीमित गराएर विघटित र आत्मसमर्पण गराइदिए । रुम्जाटार मोर्चामा वीरगति प्राप्त गर्ने जनमुक्ति सेनाका योद्धाहरूलाई मैले निर्धक्क लालसलाम गरेँ र के प्रतिबद्धता व्यक्त गरेँ भने केही कायरहरूले दुस्मनको पाउमा लगेर इतिहास समाप्त पार्ने दुष्प्रयत्न गरे पनि धुलोमा फ्याँकिएको क्रान्तिको झन्डा उठाएर नेपालबाट क्रान्तिको अर्को ज्वालामुखी उम्लिरहेको छ र त्यो लाभाका रूपमा देखिइरहेको छ ।

उत्कर्षमा औपचारिक कार्यक्रम

खासमा औपचारिक कार्यक्रम त यतिबेलासम्म सुरु भएकै छैन । प्रभात यात्राबाट रुम्जाटार अवलोकन गरी ११ बजेतिर निवास र हल भएको ठाउँमा फर्किएपछि खाना खाइयो । अलि ढिलै फर्किएकाले आयोजकहरूलाई कार्यक्रमको अलि चाप परेजस्तो देखिन्थ्यो । हुनत म पनि नेपाल साहित्यिक पत्रकार सङ्घको केन्द्रीय सदस्य हुँ तर पनि विभिन्न विचार र प्रवृत्तिका केही मानिसले संस्थालाई बपौतीजस्तै ठानेकाले संस्थागत सहभागिताभन्दा ठूलो मेरो केही रुचि र दखल छैन भन्दा पनि हुन्छ ।

आतिथ्य ग्रहणपछि सुरु भयो औपचारिक कार्यक्रम । नेपाल साहित्यिक पत्रकार संघ आयोजक रहे पनि प्रायोजक रहेछ प्रेस काउन्सिल नेपाल र तारतम्य मिलाएको रहेछ काउन्सिभित्रकै साहित्यिक विभागले । त्यसको जिम्म रहेछ मित्र चेतनाथलाई । वास्तवमा मैले यो कुरा रुम्जाटार पुगेर औपचारिक कार्यक्रम सुरु भएपछि ब्यानर देखेर मात्र थाहा पाएँ । सरकारी ब्यानर गाँसिएको देख्दा मेरो अरूचि र असहमति रहन्छ भनेर होला, चेतनाथजीले यो रहस्य नखोलेका होलान् तर उनको सदासय र संवेदनशीलतालाई म बुझ्छु । मञ्च र अग्रपङ्क्तिमा नेपाल साहित्यिक पत्रकार संघका पदाधिकारीसँगै आसन ग्रहण गरे प्रेस काउन्सिल नेपालका झविन्द्र भुसाल, गोविन्द चौलागाईं, ईश्वरी ओझा, रामप्रसाद पोखरेल र कुशल अर्यालहरूले पनि ।

साहित्यिक पत्रकारिताको अवस्था’ शीर्षकमा गोरखापत्रका कर्मचारी नारद गौतमले प्रस्तुत गरे कार्यपत्र । त्यसमा थियो ओखलढुङ्गाको साहित्यिक इतिहास । मलाई त लागेको थियो ओखलढुङ्गा आएर नेपालको समग्र साहित्यिक पत्रकारिताको अवस्थाकै बारेमा जानकार हुन पाइने भयो तर रहेछ ओखलढुङ्गाको मात्रै साहित्यको अवस्था र अझै उनले स्नातकोत्तर तहमा लेखेको शोधग्रन्थ पो रहेछ । आयोजकहरूले कस्तो मिलाएका रहेछन् भने कार्यपत्र (मेरो भाषामा शोधपत्र) प्रस्तुत गर्ने पनि सरकारी कर्मचारी नारद गौतम र टिप्पणी गर्नेहरू पनि श्रीओम श्रेष्ठ रोदन, तुल्सीहरि कोइरालालगायत सरकारी कर्मचारी र सरकारी पत्रकार मात्रै । समीक्षात्मक टिप्पणी नआउने हो कि भन्ने मेरो चिन्ता सही ठहरियो ।

शोधपत्र ओखलढुङ्गाको साहित्य, साहित्यकार र पत्रकारिताको इतिहास रहेछ, साहित्यिक पत्रकारिताको होइन । विषय, ब्यानर, प्रस्तोता र टिप्पणीकारका विषयमा मेरो मतभिन्नता रह्यो । शोधलेखकले आफ्नो विषयमाराम्रै मेहनत गरेका हुन् तर कार्यक्रमका विषयमा भने राम्ररी तालमेल खाएको देखिएन । सुझाव दिनेहरूले राम्रै दिए । टिप्पणीकारहरूले पनि योजनाअनुसारकै गुणग्राही टिप्पणी गरे ।

सुझाव दिँदै सीताराम गुरुङले कुइभीर स्मारिका, ११ वटा काव्य लेख्ने सिंहराज गुरुङ, बबकुनी गुरुङका सिर्जना, डीबी राईको खोजी उपन्यास, लीला गुरुङको कवितासङ्ग्रह, अस्वीकृत विचारका कवितारामका कृति, साहित्यिक अभियानहरू छुटेको बताए । टिप्पणीकारले शोधपत्रमा उल्लिखित विष्णुचरण, भद्रा घलेहरूको जन्मथलोका बारेमा जिज्ञासा उठाएका थिए । तर ओखलढुङ्गाको साहित्यिक पत्रकारिताको इतिहास, वर्तमान र भविष्य के हो भन्नेबारेमा न शोधपत्रमै उल्लेख थियो, न टिप्पणीकारहरू नै त्यसमा प्रवेश गर्न रुचि देखाए, न त सुझावकर्ताहरूले नै । केही सुझावदाताले शोधपत्र अध्ययन गर्न नदिइएको, अनलाइन र इपत्रकारिताको अध्ययन छुटेकोलगायत विषय पनि राखेका थिए तर वर्गसत्तामा साहित्य र पत्रकारिताको वर्गस्वरूप र ओखलढुङ्गाको साहित्य र साहित्यिक पत्रकारितामा वर्गपक्षधरताको कुरै नउठेकाले शोधपत्र अुरो रहेको अलि तीखो टिप्पणी पेस गरेँ । म टिप्पण्ीकार वक्ता थिइनँ, सुझावदाता टिप्पणीकार थिएँ । शोधपत्रमा ओखलढुङ्गाको साहित्य र साहित्यिक पत्रकारिताको चरणगत, विधगत, वैचारिक पक्षधरतागत, कथित ‘वाम’ र सही वाम अर्थात् क्रान्तिकारी स्रष्टा, सिर्जना र पत्रकारिता, क्रान्तिकारी इतिहास भएर पनि जीवनको उत्तराद्र्धमा वैचारिक स्खलन भएका पात्ररुको सही मूल्यांकन हुनुपर्नेलगायत विषय उठान गरेँ । सायद मेरो टिप्पणी र सुझाव आयोजक, प्रायोजक, शोधलेखक र टिप्पणीकर्ताहरूको अपेक्षाप्रतिकूल बनिरहेको थियो । मञ्चासीनहरूको मुहार र भावको अध्ययन गर्दा त्यस्तै लाग्थ्यो ।

वक्ताहरू थिए प्रेस काउन्सिलका पत्रकार गोविन्द चौलागाईं, काउन्सिल कर्मचारी ईश्वरीप्रसाद ओझा, सिद्धिचरण नगरपालिकाकी उपमेयर इच्छाकुमारी गुरुङ, ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तहरू ।सिर्जना र स्रष्टाप्रति श्रद्धालु र पत्रकारिताप्रति तीक्ष्ण दृष्टिकोण राख्ने व्यक्ति रहेछन् प्रमुख जिल्ला अधिकारी पन्त । जोसिलो कवितन वाचन गरे र हलको वाहवाही पनि खाए । उनले भनेका थिए, संविधान जारी भएको दुई वर्षभित्रै र स्थानीय चुनाव भएको वर्ष दनिभित्रै जनताबाट सरकार, व्यवस्था र नेताहरूको कार्यशैलीप्रति नै निराशा, असन्तुष्टि र आक्रोश व्यक्त हुन सुरु भइसकेको छ ।यो राम्रो सङ्केत होइन । स्रष्टा र पत्रकारहरूले यसप्रति संवेदनशील बन्नुपर्छ । एउटा सरकारी प्रतिनिधिले यसो भनेर मुलुकमा ठूलै विद्रोहको सङ्केत गरेका थिए तर यथास्थितिवादी सत्ताका पूजक मस्तरामहरूले त्यो कुरालाई त्यति गम्भीर रूपमा लिएको देखिएन । अर्थात् सत्ताको भाटगिरीले उनीहरूको आलोचनात्मक चेतना भुत्ते बनाइसकेको बुझ्न कुनै गाह्रो थिएन ।

वनिताकी सम्पादक लक्ष्मी उप्रेतीले समाचारमूलक पत्रकारिता र साहित्यप्रधान पत्रकारिता दुवै पत्रकारिताका क्षेत्र भए पनि राज्यले दिने सुविधा फरकफरक भएको गुनासो पोखिन् भने आयोजक संस्थाका उपमहासचिव चेतनाथ धमलाले शोधपत्र दुई सय पाँच वर्षको ओखलढुङ्गाको इतिहास भएको दाबी गरे । शोधपत्रमा टिप्पणी गर्दै प्रमुख अतिथि रोचक घिमिरेले दिनेशहरिको जन्म सर्लाहीको हरिऔनमा भएकाले मिलाउनुपर्ने, ध्रुवहरिको जन्म ओखलढुङ्गामै भएको, शोधपत्रका १९ र २४ पृष्ठ दुरुस्तै दोहोरिएको, कलेवर र आकार बढाउन मात्रै जेसुकै तथ्य राखिएको देखिएको टिप्पणी गरे । पहिलो सत्रमा मेरो सुझाव र टिप्पणी केही बेरपछि राख्ने अनुमति चाहन्छु ।

दोस्रो सत्र सुरु भयो नगेन्द्रराज शर्माको अध्यक्षता, निनु चापागाईंको प्रमुख आतिथ्य र रोचक घिमिरे, चेतनाथ धमला, गोविन्द चौलागाईं, ईश्वरी ओझा, सीताराम गुरुङलगायतको आतिथ्यमा । सीतारामले शुभकामना दिँदै र स्वागत गर्दै एउटा कविता लेख्नु थियो शीर्षकमा एउटा कविता पनि वाचन गरे । अतिथिका तर्फबाट अशोक सुवेदी, विष्णु भण्डारी, कला अनुरागी, ज्ञानुवाकर पौडेल, रामप्रसाद पन्त, केदार बास्कोटा थाक्ले, लक्ष्मी रुम्बा, नवराज पुडासैनी ज्योत्स्ना, होमशङ्कर बास्तोला, प्रसिद्धा शर्मा, माधवप्रसाद पोखरेल, कुशल अर्याल, अर्जुन तामाङ, जयदेव भट्टराई, सुमन पुडासैनी मित्र, पदम राई, लक्ष्मी भट्टराई, त्रिपुरा पौडेल, युवराज नयाँघरे, चेतनाथ धमला, तुल्सीहरि कोइराला, रोचक घिमिरेले क्रमैसँग विभिन्न स्वाद, विचार र बान्कीका कविता र केहीले गजल/मुक्तक प्रस्तुत गरे । मैले ‘दिलमायाहरू’ कविता वाचन गरेँ ।
बेथान वीरता दिवस सन्दर्भमा २०६९ सालमा लेखिएको मेरो कविता यस्तो थियो :

दिलमायाहरू
दिलमाया !
गाढा नीला आँखा
लमतन्न बिच्छ्याएर
दुस्मनक्याम्पमा विस्फोटित
हाम्रो आस्थाकी सगरमाथा तिमी !
उर्लंदो यौवन र रूपलाई
फ्युजन गराएर मालेमामा
दुस्मन इलाकामा बारुदको फ्युज जोड्दै गरेकी
धर्तीको असमानता नामेट पार्न
भर्भराउँदो रक्तभेल बगाउँदै गरेकी
हाम्रो निष्ठाकी अविचल चन्द्रमा !

‘निष्पट्ट अन्धकार भगाउन
आफैँ मशाल बन्नुपर्छ
दुष्टता र निचता अन्त्य गर्न
आफैँ नमुना बन्नुपर्छ
सल्काउनुपर्छ आफ्नै टाउकोमा
आगोका लप्काहरू’
गर्दै कासन दुस्मन क्याम्पका भग्नावशेषहरूमाथि
बलेर आफैँ चम्किरहेकी
लालभूमिकी चमचमाउँदी सितारा !

उठ न उठ एकफेर
ए ! बेथानकी सन्तान !
ए ! लालभूमिकी जूनमाया !
तिम्रो चिरनिद्राको १७ शिशिरपछि
हातमा लिएर तिम्रो प्रतिमूर्ति
गरिरहेछु ऐलान–
जगाऊ न जगाऊ एकफेर
तिमीसँगै विस्फोटित लालहरूलाई पनि
लामो यात्राकी विश्वासिली पथप्रदर्शक !
तिम्रो महायात्रापछिको यो अवधि
तिमीसँग बिछोडपछिको यो पल
तिम्रो रक्ततर्पणपछिको यो तप्त समय
आशा–निराशा–आशा बन्दै
तय गरिरहेछ अर्को लामो यात्रा ।

आऊ न आऊ प्यारी कमान्डर
गरिदेऊ न नेतृत्व एकफेर नयाँ यात्राको
गोलमटोल मस्तिष्कहरूलाई
गतिहीन मुटुका धड्कनहरूलाई
लक्पकाउन लागेका तिघ्राहरूलाई
गरिदेऊ न जोडजोडले कासन एकफेर
यात्रा नटुङ्गिँदै बास बस्न हतारिएका
सार्यौ र गौँथलीहरूलाई,
औँल्याइदेऊ न एकफेर
कर्मी माहुरी र दुष्ट अरिङ्गालहरूलाई ।

त्याग, शौर्य र बलिदानकी प्रतिमूर्ति
मध्यरातकी जूनकीरी
श्मसानकी दुन्दुभी !
ए, लालधरतीकी लालपुत्री !
ए, नवीन आयुधकी वीराङ्गना !!
देखाइदेऊ न सही बाटो
यात्रामा रुमल्लिरहेका पथिकहरूलाई
पर्गेलिदेऊ न गन्तव्य
आगो ओकल्न तयार अग्निबीजहरूलाई ।

नौलो युगकी संवाहक तिमी
गर न फेरि ललकार दुष्टहरूलाई
रातो समयकी लालतारा तिमी दिलमाया !
लालभूमिकी लालपुत्री तिमी जूनमाया !!!

स्थानीय बालस्रष्टा कृतिका गुरुङ, कृष्णकुमारी गजमेर, अञ्जु भुजेल, दुर्गालक्ष्मी गुरुङ, प्रतिष्ठा दाहाल, उदयराज न्यौपाने, बीएम मायालु, निर्विकार गुरुङ, दुर्गा सुब्बा सानु कोविद, विकास राई, रोहितकुमार गुरुङ, अशोक दाहाल, निकिता दाहाललगायतले पनि आआफ्ना सिर्जना वाचन गरे । बालस्रष्टाका सिर्जनामा मैले धेरै उकुसमुकुस पाएँ । यी स्रष्टाले निरन्तर सिर्जना वाचन गर्ने र प्रकाशन गर्ने ठाउँ पाउने हो भने रुम्जाटार पनि केही वर्षमै सिर्जनानगर बन्छ भन्नेमा म ढुक्क भएँ । किनकि मेरो जन्मथलो सिर्जनानगर बन्नुअघि, सानीमदौ छँदै एउटा घरबाट पनि कुनै बालबालिकाको कविता प्रस्तुत हुँदैनथ्यो । जब २०६३–६४ बाट हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठनले पुरस्कार राशिसहित हरेक वर्षको चैत २४, २५ र २६ गते साहित्य सम्मेलन गर्न थाल्यो, हरेक घरबाट बाल, वयस्क र वृद्ध/अग्रजहरूले समेत सिर्जनागर्न र वाचन गर्न थाले । स्रष्टाहरूको गाउँका रूपमा परिचित हुँदै गएपछि सानीमदौलाई हित–जून स्मृति भवनमा आयोजित भेलाले सिर्जनानगर नामकरण गर्यो । आज हरेक घरमा स्रष्टा छन् र बालबालिकाले पनि निर्धक्क उत्कृष्ट सिर्जना गर्दै वाचन गर्छन् । सिर्जनानगर र सिर्जना स्थापित छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रगतिशील सौन्दर्यचिन्तक निनु चापागाईंले छलफल र बहसका रूपमा केही महत्वपूर्ण विषय उठाए । उनले बालबालिकाका सिर्जनालाई पञ्चायती राष्ट्रवादी भाव र विचारका रहेको किटान गरे । ओखलढुङ्गासँग आफ्नो साइनो–सम्बन्धसमेत राख्दै निनुले भने, मेरी आमा ओखलढुङ्गाकी चेली हुनुहुन्थ्यो । रामेशहरूसँग राल्फा बनेर हिँड्दाका स्थानले मलाई विगतमा पुर्याइदियो ।’

उनले भने, मित्र डीआर पोखरेल यहीँका थिए । ओखलढुङ्गामै सबैभन्दा धेरै पुस्तक लेख्ने घटराज भट्टराई थिए । यसै जिल्लाका होमनाथ दाहाल मेरा सहपाठी थिए । मैले यसै जिल्लामा कर्मथलो बनाएका पितृसत्ताविरोधी, छुवाछूतविरुद्ध लेख्ने सन्त ज्ञान दिलदासका पक्षमा र नारीका विरुद्ध, पुरेतवादका पक्षधर, जातिवादका पक्षपाती तनहुँका भनुभक्तका विचारका विरुद्ध लेखेर गाली पनि खाएको छु तर गर्व छ । मैले चिनेका यो जिल्लाका व्यक्तिहरू रायन, रामेश, कविताराम र प्रेमनारायण प्रेमी पनि हुन् ।’ कविता सस्तो विधा होइन भन्दै उनले समाज परिवर्तन साहित्यको उद्देश्य भएकाले कविता, सिर्जना र छलफल–गोष्ठीहरू पनि त्यसैप्रति लक्षित र केन्द्रित हुनुपर्नेबताए । कार्यक्रमका अध्यक्ष नगेन्द्रराज शर्माले लेख्नुअघि अध्ययन गर्नुपर्ने बताए । कसका कविताको स्तर कस्तो छ भनेर यस्ता सार्वजनिक कार्यक्रममा नामै तोकेर भन्न गाह्रो हुने उनको टिप्पणी थियो । कार्यक्रमको उत्तराद्र्धमा मैले रुम्जाटारमा पुस्तकालय खोल्न सुझाव दिँदै आफूँसग रहेका, आफूले लेखेका र सम्पादन गरेका केही माक्र्सवादी पुस्तक स्थानीय सहआयोजकलाई हस्तान्तरण गरेँ ।

कार्यक्रम सकिएपछि खानपिन भयो । भोलिपल्ट बिहानै हामी रुम्जाटार सिटिसेन्टर छाडेर रमाइलोडाँडास्थित सदरमुकामतर्फ लाग्यौँ । सिद्धिचरण नगरपालिकाले स्रष्टाहरूको अभिनन्दन गर्ने कार्यक्रम बनाएको थियो । सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठ, उपप्रमुखलगायत प्रतिनिधिले स्रष्टाहरूलाई भव्य स्वागत गर्दै खानपान गराए । स्थानीय प्रतिनिधिहरूको स्रष्टा र सिर्जनाप्रतिको आशक्ति उल्लेख्य लाग्यो ।ऐतिहासिक ओखल हेरियो । ओलको इतिहास सुनियो । सिद्धिचरण श्रेष्ठको अलपत्र र बेवारिसजस्तो लाग्ने सालिकको अवलोकन गरियो । तस्बिर खिचाइयो । त्यहीँनजिकै रहेका जनकलाकार रामेश र रायनका घरहरूको अवलोकन गरियो । त्यसपछि हामी २ दिनअघि आएकै बाटो काठमाडौँ फर्कियौँ ।
औपचारिक रूपमा कार्यक्रम त सकियो तर मेरो मनको खुल्दुली भने सकिएन ।

फर्किंदा गाडीमा दर्शन, विचार, राजनीति र सिर्जनाका बारेमा रुम्जाटार जाँदाको दिनमा भन्दा अझ उचाइ र गहिराइमा बहस भयो । रुम्जाटार कार्यक्रम र सिद्धिचरण नगरपालिकाको परिचयात्मक कार्यक्रममा सरकार, व्यवस्था, सरकारी स्रष्टा र कर्मचारीप्रति म अलि कडा रूपमा प्रस्तुत भएकै हुँ किनकि यो सत्ताप्रति मेरो असहमति छ र वैज्ञानिक समाजवाद प्राप्तिका लागि अर्को विद्रोह अर्थात् एकीकृत जनक्रान्तिको यात्रामा लामबद्ध छु । मेरा पूर्वपरिचित स्रष्टा मित्रश्रीओम श्रेष्ठ ‘रोदन’ ले एकीकृत जनक्रान्तिबारे विनम्रतापूर्वक केही जिज्ञासा, केही रोष र केही आक्रोशपूर्ण प्रश्नहरू राखे । उनको प्रश्नको जबाफ फर्काउन भ्याउँदानभ्याउँदै अर्को स्रष्टाको प्रश्नको झटारो आइसकेको हुन्थ्यो । महाभारतकालीन युद्धका एक पात्र अभिमन्युझैँ भएर म वैचारिक युद्धमा सामेल भएको थिएँ । तर मैले उनले जस्तो व्यूह तोड्न नसक्ने अवस्था आएन । उनीहरूको अन्तिम प्रश्नको सार थियो– एकीकृत जनक्रान्ति के हो ?नेपालमा अब एकीकृत जनक्रान्ति कहिले सफल हुन्छ ? फेरि जनता र देशलाई यसरी नै धोका हुँदैन भन्ने ग्यारेन्टी के छ ?

करिब तीन घन्टाको ‘शास्त्रार्थ’ पछि मैले यात्राका सबै स्रष्टाहरूलाई आश्वस्त पारेँ– यो श्रमिक जनता र दलाल, सामाजिक फासिवादी र ऐँजेरु पुँजीवादी व्यवस्थाबीचको लडाइँ हो । उत्पीडित मुलुक र साम्राज्यवादी/उत्तरसाम्राज्यवादी मुलुकको शासनसत्ताका बीचको लडाइँ हो । यसमा नेपालमै भएको ऐतिहासिक जनयुद्धका साथै संसारमा भएका सबै वर्गसङ्घर्षहरूको अनुभव, पद्धति, प्रविधिका साथै केही नयाँ प्राविधिक पाटा र पक्षहरूको पनि प्रयोग हुन्छ/भइरहेको छ । राष्ट्रघाती, भ्रष्ट र दलालहरू छाडेर तपाईं देशभक्त, निम्न र मध्यमवर्गीय स्रष्टाहरू जुन दिन एकीकृत जनक्रान्तिमा घोषित रूपमा लामबद्ध हुनुहुन्छ, त्यो दिन म तपाईंहरूलाई जनक्रान्ति कहिले सफल हुन्छ भनेर ठोकुवा गर्न सक्छु तर यही प्रतिक्रान्तिकारी, अविश्वासी, धोकेबाज, दलाल र गद्दार सत्ताको रक्षकबनेर जबसम्म निम्न र मध्यमवर्ग पनि क्रान्तिप्रति प्रश्न र शङ्का गरिरहन्छ तबसम्म क्रान्ति पूरा हुँदैन । जारी रहन्छ । वैज्ञानिक समाजवाद स्थापना हुनका लागि समाजवादी व्यवस्थाका उपभोक्ता र सञ्चालकहरू अहिलेदेखि नै क्रान्तिमा लामबद्ध र समर्पित हुनुपर्छ । दुःख अरूले गरोस्, क्रान्ति अरूले गरिदेओस्, बलिदान र क्षति अरूको होओस् । आफूले कुनै पनि जोखिम मोल्न नपरोस् र तयार भएको फसल मात्र उठाउन र खान पाऊँ भन्ने न्यून स्तरको अवसरवादी चेतनाको जालो नच्यातिएसम्म क्रान्ति सफल हुँदैन । समय लाग्छ । क्रान्तिका लागि नेपाली श्रमिक/सर्वहारा वर्ग तयार छ र समर्पित भएर लागिरहेकै छ तर दलाल र श्रमिक वर्गका बीचको जालो, झिल्ली र पर्दाका रूपमा रहेको मध्यम वर्गले आफ्नो कित्ता स्पष्ट नपारेसम्म र क्रान्ति र परिवर्तन आवश्यक हुनेहरू क्रान्तिमा लामबद्ध नबनेसम्म क्रान्ति सम्पन्न हुने समय निर्धारण गर्न गाह्रो हुन्छ ।

त्यसपछि गाडीमा रहेका सबै स्रष्टा यात्रीले ताली बजाएर मेरो भनाइको समर्थन गरे । मलाई लाग्यो– यो वर्ग पनि क्रान्ति चाहन्छ तर खतरा मोल्न चाहँदैन । यो वर्गलाई जारी क्रान्तिपछि आफ्नो भूमिका र भविष्य के हुन्छ भन्नेमा अझै अलमल छ । यो वर्ग आफ्नो सुरक्षा खोजिरहेछ र चुनौती मोल्न डराइरहेको छ । अब क्रान्तिको यात्रामा अलमिलएको यो पक्षलाई प्रस्ट पार्नु आवश्यक छ ।

रुम्जाटार यात्राका केही संयोग र रोचक पक्ष

निनु राल्फा : साढे तीन दशकअघिको राल्फा आन्दोलनको स्थान आइपुग्दा ‘नोस्टाल्जिक’ हुँदा रोचक लाग्यो ।
निनुको अभिव्यक्ति : मेरी आमाले माइत ओखलढुङ्गा हो भनेको सम्झिएपछि यहाँ आएर मैले आमााई धेरैबेर सम्झिरहेँ सुन्दा मैले पनि मेरी आमालाई सम्झिरहेँ ।

तीन लक्ष्मीको उपस्थिति : लक्ष्मी उप्रेती, लक्ष्मी भट्टराई र लक्ष्मी रुम्बा । यसले एउटा राम्रै छलफल र चर्चा पायो ।

२२ वर्षका दुई श्रेष्ठ सहिद : राणाशासनविरुद्ध गङ्गालाल श्रेष्ठ र दलाल पुँजीवादविरुद्ध रामकुमार श्रेष्ठ । यो अवस्थाले समाज अझै पनि त्याग, शौर्य र बलिदानका लागि निरन्तर लामबद्ध छ भन्ने सङ्केत दिएको छ ।

केही पात्रहरूको अघिल्तिर लागेको विशेषणको फुँदोले स्रष्टाहरूको मौलिकतालाई नै होच्याइरहेको अनुभूतिसमेत भयो । युवराज नयाँघरे समसामयिक यथास्थितिवादी धाराका राम्रा निबन्धकार हुन् भन्नेमा कुनै द्विविधा छैन । उनी मेरासुवेदी बन्धु पनि हुन् तर उनलाई अरू परिचय नै नभएजस्तो गरी कथित मदन पुरस्कार विजेताको पगरी गुथाइरहँदास्रष्टा युवराज नयाँघरे भने त्यहीँ किचिएको र सामाजिक चेतानस्तर कमजोर नै रहेको अनुभूति भइरहेको थियो । किनकि अब मदन पुरस्कारका दाताको उद्देश्य र प्राप्तकर्ताको हैसियत मापन गर्ने विधिका बारेमा बारेमा कुनै भ्रमहरू बाँकी छैनन् ।उनको आफ्नै परिचय छ स्रष्टाको । विचार आआफ्नो ठाउँमा छ र लडाइँ पनि जारी छ ।
… … …
यो स्मृति लेख्न बस्दै गर्दा इतिहासका सबै कुरा फिक्का पार्दै र रामेछाप र ओखलढुङ्गाको साइनो थप बलियो पार्दै कमरेड रामकुमार श्रेष्ठको बलिदानीको खबर सनसनीपूर्ण रुपमा सार्वजनिक भएको छ । रामेछापको मन्थली नपा ४ गैराथोकमा जन्मिएर रामेछापमै बामे सर्नसिकेका रामकुमार २०७६ साल जेठ १२ गते साँझ काठमाडौँ सुकेधारा बम विस्फोटमा परी गम्भीर घाइते भएका थिए । नेकपाका होनहार सैनिक योद्धा रामकुमारले स्कुले शिक्षा भने ओखलढुङ्गाबाट लिएका थिए । त्यसैले उनले आफूलाई जन्म रामेछाप र शिक्षादीक्षा ओखलढुङ्गामा पाएको हुँ भनी गर्वसाथ भन्ने गर्थे । उनीसँग मेरो राम्रो परिचय थियो । उनी कयौँपल्ट पार्टीका औपचारिक कार्यक्रमहरूमा हित–जून स्मृति भवनमा आएर छलफल र बहसमा भाग लिएका छन् । ठ्याक्कै गङ्गालालको जीवनसँग संयोग मिलेको छ रामकुमार श्रेष्ठको । गङ्गालाल पनि रामेछाप भँगेरीमा जन्मिए । ओखलढुङ्गाबाट औपचारिक शिक्षाको सुरुआत गरे र निरङ्कुश राणा शासनविरुद्धको विद्रोहको अग्रमोर्चामा लामबद्ध भएर हाँसीहाँसी बलिदान स्वीकार गरे । रामकुमार पनि रामेछापकै भँगेरीभन्दा बेही कोस उत्तरतर्फ पर्ने गैराथोकमा जन्मिए । औपचारिक शिक्षा ओखलढुङ्गाबाट आरम्भ गरे । सामाजिक दलाल संसदीय व्यवस्थाका विरुद्ध एकीकृत जनक्रान्तिको विद्रोहमा एउटा गम्भीर मोर्चामा सहभागी भए र हाँसीहाँसी काठमाडौँको ओम अस्पतालमा बलिदान गरे ।राणाशासन अन्त्य गर्न स्थापित नेपाल प्रजापरिषद्मा आबद्ध भएर विद्रोहमा सामेल भइसकेका गङ्गालाललाई मृत्युदण्ड दिनुअघि अन्तिम इच्छा सोध्दा ‘राणा शासनको अन्त्य होस्’ भन्ने जबाफ दिएका थिए । रामकुमारलाई उनकी दिदी सुनिताले ‘तिमी यति ठूलो जोखिम मोलेर युवा अवस्थामै किन यस्तो कठोर भूमिगत जीवन रोजिरहेका छौ बाबु ?!’ भनेर सोध्दा उनले भनेका थिए, ‘दिदी म यो दलाल पुँजीवादी व्यवस्था ढलेर वैज्ञानिक समाजवाद आएको देख्न चाहन्छु । असमान सामाजिक व्यवस्था अन्त्य भएर समान भएको देख्न चाहन्छु र सहिद बन्दा मेरो शवमा कम्युनिस्ट पार्टीको रक्तरञ्जित झन्डा ओढाइएको अवस्था चाहन्छु’ भनेका थिए । गङ्गालाल र रामकुमार दुवै नेवार समुदायका श्रेष्ठ थरका थिए भने दुवैजना २२ वर्षको उमेरमा सहिद भए ।

अन्त्यमा यो साहित्यिक र पत्रकारितासम्बन्धी यात्राका सहयात्री, अग्रज र अन्य स्रष्टाकासाथै यात्रामा निम्ता गर्ने चेतनाथजी, हार्दिकतासहित न्यानो स्वागत गर्ने र आतिथ्य दिने ओखलढुङ्गे जनसमुदाय, मेरो तीक्ष्ण टिप्पणी सजिलै पचाइदिने यात्रुहरू र फर्किंदा एकीकृत जनक्रान्तिप्रति अभिरुचिपूर्वक जिज्ञासा राख्ने र आवश्स्त हुने जिज्ञासु स्रष्टाहरू सबैप्रति धन्यवाद प्रकट गर्दै यो विवरणात्मकजस्तो लाग्ने यात्रा वर्णन यहीँ समाप्त गर्ने अनुमति चाहन्छु । यात्रा वर्णन समाप्त भए पनि हाम्रो सहयात्रा अझ आत्मीय बन्ने र नयाँनयाँ यात्राहरू तय हुने अपेक्षा पनि प्रकट गर्दछु ।

(प्रेस काउन्सिल नेपालको ‘साहित्यिक पत्रकारिताको विकासमा प्रेस काउन्सिल’ २०७७’ बाट साभार)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :