रोल्पा बाङ्मा हत्याकाण्डको संस्मरण

बाङ्मा हत्याकाण्ड २०५६ असार ८ गने रोल्पा जिल्लाको तत्कालीन भाबाङ गाविस वडा नं. ६ बाङ्मामा तत्कालीन ५ नं. एरिया सांस्कृतिक परिवारसहितको अभियान टोलीलाई सेल्टर लिइरहेको अवस्थामा घर घेरा हाली प्रतिक्रियावादी सत्ताका जल्लादहरूद्वारा गरिएको बीभत्स हत्याकाण्ड हो ।

उक्त दर्दनाक हत्याकाण्ड बाईस वर्ष पुगेर तेईस वर्षमा प्रवेश गरिसकेको छ । हामीलाई निरन्तर क्रान्तिको गतिशील प्रवाहमा सलल बगिरहने माडी खोलाको पानीझैँ केवल सागर पुग्ने हतारो मात्र भएर नै होला यति लामो समय बितेको पनि पत्तै भएन । तत्कालीन रोल्पा जिल्लाको ५ नं. एरिया पार्टी समितिले एरियाव्यापी सांस्कृतिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियान उत्तर—पश्चिममा पर्ने त्यही गाविसबाट गर्ने भन्ने तालिका संयोग मात्र नभएर सापेक्षित रूपले सुरुमा नै गर्नुपर्ने संवेदनशील स्थिति र स्थानको कारण पनि थियो । जहाँ बर्गसङ्घर्षका क्षेत्रमा उल्लेखनीय प्रतिरोध सङ्घर्षहरू भएको विगत र बलिदानको हिसाबले पनि त्यही ठाउँ बढी प्रभावित हुन पुगेको थियो । जहाँ २०५४ सालमा नै जिल्ला पार्टी सदस्य एवम् गाविस अध्यक्ष क. भीमबहादुर बाठामगर (गजल), उपाध्यक्ष दीपेन्द्र घर्तीमगर (रमेश) र ०५५ सालमा तत्कालीन जनमुक्ति सेनाको पश्चिमाञ्चल सैन्य हेडक्वार्टरद्वारा परिचालित १ नं. प्लाटुनका भाइस कमान्डर क. राजबहादुर बुढामगर (किरण) जस्ता योद्धाहरूको सहादत भइसकेको थियो । त्यति बेलासम्म एरियामा ०५० सालमै जङ्कोटबाट क. पुर्खे सुनार, ०५२ सालमा जनयुद्ध सुरु भएलगत्तै होमा गाविसबाट पार्टी सदस्यहरू क. जयधन थापा, इन्द्रजित पुन मगर र लहरे पुन मगर, कोटगाउँ गाविसबाट गाविस उपाध्यक्ष क. तिलकराम बुढा मगर, ०५५ वैशाखमा तत्कालीन जिल्ला पार्टी सदस्य एवम् एरिया सेक्रेटरी क. नरबहादुर पुन मगर (ज्वाला), असार ७ गते तत्कालीन जिल्ला कार्यालय स्टाफ क. कुलबहादुर घर्ती मगर (सुरेश), असार १६ गते र १८ गते कोर्चाबाङबाट क. भूमिसरा पुन मगर र क. लुद्रबहादुर घर्ती मगर (राकेट) लगायत एरियाभरिबाट १५ भन्दा बढी कमरेडहरूको सहादत भएको थियो । तत्कालीन अवस्थामा दुस्मनको अवस्था र राजनीतिक कार्यक्रमअन्तर्गत जनचेतनामूलक कार्यक्रमका साथसाथै पार्टीको सङ्गठन, सङ्घर्ष र आर्थिक गतिविधिको सुरुआतको सांस्कृतिक मोर्चा भएकाले एरिया सांस्कृतिक मोर्चा पनि आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात गर्दै अभियानमा लामबद्ध भएको थियो । त्यही अभियान टोली दहबाङ, बाछे र ह्युबाङलगायत ५/६ स्थानमा कार्यक्रम सम्पन्न गरी एनाबाङ पुगेको रहेछ ।

कार्यक्रम अरू गाउँहरूमा पनि तर्जुमा भएको भए पनि अन्तिम कार्यक्रम बन्न पुगेको उक्त गाउँमा भव्य रूपमा कार्यक्रम सम्पन्न गरी अँध्यारो रातको साँघुरो बाटोमा थकित र अनिदो शरीर लिई बाङ्मा पुगेर सेल्टरमा आँखा झिमिक्क हुनु र बमगोला बर्सिनु पनि सँगै भएपछि ११ जना कमरेडलाई दुस्मन सत्ताको जुठोपुरोमा बाँचेका कुत्ताहरूले नृशंशतापूर्वक हत्या गरेका रहेछन् । हामी भने त्यस दिन कोटगाउँ गाविसको वडा नं. ६ सेताबाङमा थियौँ । राती अबेला पुगेका हामी उज्यालो नहुँदै सेल्टर फेरेर सहिद परिवारलाई भेटी कुरा गर्ने र दिनभर त्यहीँ बसी साँझ अँध्यारो भएपछि अनिताको सम्पर्कमा हिँडिहाल्ने योजना बनाएर त्यहाँ गएका थियौँ । त्यो सहिद क. भानसिंह परियारको घर थियो । आँटीमा बिसाएका हामी एकछिन त फेरि निदाएछौँ । दिदीले चाँडै नै खाना पकाएर हामीलाई खाना खानलाई हात धुन भन्नुभएकाले लोटा लिएर हामी बार्दलीमा उभियौँ । उत्तर फर्केको बार्दली भएकाले बिहानको घामले झलमल्ल जङ्कोटको उपल्लो भाग पूरै देखिएको थियो । असारको बर्सात्को महिना भएर पनि त्यस दिन बादल र पानी दुवै थिएन । बरु आकाश सफा र खुला थियो ।

समय करिब साढे ६ हुँदै थियो होला । त्यत्तिकैमा पूर्वतिरबाट झुल्केघामसँगै झल्कंदै सेतो हेलिकोप्टर पश्चिमतिर ओङ्माबाङ, छेडा, दमाकुरका भीरहरू हुँदै दहबाङको सिरानबाट झवाबाङका घरहरूमा ठोकिएलाझैँ गरी उड्दै ओझेल पर्यो । हामी हात धोएर खाना खान बस्यौँ । फेरि हेलिकोप्टरको आवाज आयो । हामी बाहिर निस्केर हेर्यौँ, त्यो लिबाङतिर फक्र्यो । हामी फेरि खाना खानतिर लाग्यौँ । त्यतिन्जेल हेलिकोप्टरले ३/४ चक्कर लगायो । हामीलाई भने कहाँ के भएछ ? भन्ने भएर अर्कै–अर्कै लागिरह्यो । त्यसरी तारन्तार उड्नुको कारण पछि पो थाहा भयो ! बाङ्मा हत्याकाण्ड गराएका हत्याराहरू आतङ्कित भएर तुरुन्त लिबाङ बेस क्याम्पमा सुरक्षित उतार्नलाई त्यसरी ओहोरदोहोर गरेका रहेछन् !

कमरेड तुफानसँग सम्पर्क भएपछि हामी कोटगाउँ गाविसतिर लागेका हौँ । म अखिल नेपाल जनसांस्कृतिक महासङ्घ जिल्ला समितिको बसाइबाट फर्केर सांस्कृतिक टिमसँग जोडिने भन्ने थियो । इन्चार्ज कमरेडसँग सम्पर्क गर्दा केही समय आफ्नै क्षेत्रको काममा लाग्ने निर्देशन भएकाले हामी अनिताको सम्पर्क हुँदै क. कमलाको घरसम्म पुगेका थियौँ तर घटनाबारे खबर भएपछि हामी पश्चिम लागेका गाउँ पुगेपछि घटनाबारे सबै कुरा जानकारी भयो । तर घटनाबारे सम्बन्धित कमरेडहरू र सहिद परिवारहरूसँग कसरी कुरा राख्ने, हामीलाई हिम्मतै आएन । निकै मेहनत र हिम्मत गर्दै नेतृत्वका कमरेडहरूको सहयोगमा हामीले धेरै कुरा मिलाएर पूरै पार्टी लागेर जानकारी गर्ने–गराउने काम भयो किनकि मेरो कार्यक्षेत्रबाट ४ जना कमरेडको सहादत भएको रहेछ । त्यस हत्याकाण्डमा सेल सेक्रेटरी क. सुजन, मिलिसिया प्रमुख क.मङ्गल बुढामगर (झरना), जनप्रिय कलाकारहरू क. सुकप्रसाद घर्तीमगर (झन्कार), क. कपिल, क लालबहादुर सार्की (बलदेव), दिलकुमार बुढामगर (क.माइन्ड), दुर्गासिंह घर्तीमगर (क. विकास), क. गोविन्द घर्तीमगर, क.विशाल, क. कमारी घर्तीमगर र क. देउमती विश्वकर्मालगायतको उच्च सहादत भएको रहेछ । साथै उक्त घटनाबाट दुस्मनको बमगोलासँग प्रतिरोध गर्दै सांस्कृतिक परिवारका संयोजक क. सन्दीप र सदस्यहरू क.सिर्जना, छहारी, अस्मिता, गुलाफ, सृष्टि र स्थानीय कमरेडहरू क. विक्रम र क. रगुन घेरा तोड्न सफल हुनुभएको रहेछ ।

अभियान तयारीको क्रमसँगै माडी दक्षिणका गाविसहरूका मिलिसियाहरूको संयुक्त प्रशिक्षण शिविर पनि सँगै राखिएको थियो । त्यही नै सांस्कृतिक परिवारको बाँकी तयारीको काम पनि पूरा गरिएको थियो जुन हाम्रै क्षेत्रमा पथ्र्यो । तालिम सकिएपछि मिलिसियाहरूलाई आआफ्नो क्षेत्रमा फर्काउन र अभियान टोलीलाई अभियानमा पठाउनका लागि तालिम समापन तथा बिदाइ समारोह आयोजना गरिएको थियो । उक्त कार्यक्रममा कमान्ड इन्चार्ज क. सोनाम, एरिया इन्चार्ज क. सिजल र सहायक इन्चार्ज क. विश्वक्रान्तिहरूको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथिलगायत सबै अतिथिले शिविरमा हासिल गरेको ज्ञानलाई उचित प्रकारले व्यवहारमा उतार्न र सांस्कृतिक टिमलाई जनभाकामा सिर्जनाहरू गर्दै जाने शुभकामना दिनुभएको थियो । अभियान टोलीलाई थप उत्साहित गर्दै प्रमुख अतिथि क.सोनामले ‘ पार्टीको योजनाअनुसार सुखदुःख र हाँसो–आँसुका संवेगहरू हुँदै क्रान्तिको यात्रा पार गर्नुछ, त्यसमा तपाईंहरू अभियानलाई सफल पारेर आउनुहुनेछ र नयाँ योजनाको उचाइमा हाम्रो मेट हुनेछ’ भन्दै दरिला हात मिलाएर बिदाइ गर्नुभएको थियो । तर युद्ध अनिश्चयताहरू हुँदै गुज्रने प्रक्रियाकै कारणले होला असामान्य परिस्थितिहरू पैदा गर्दै घटना नसोचेको भएर पनि हुन पुग्दा रहेछन्, बाङ्मामा त्यही भयो । मिलिसियाहरू, अभियानटोली, व्यवस्थापन, अतिथि तथा जनसमुदायहरू सबैले उच्च कमरेड्ली भावना, मनोबल र प्रतिबद्धतालाई व्यक्त गर्ने गरी कसिला, दरिला हात मिलाएर सबै आआफ्नै गन्तव्यका लागि छुट्टिएका थियौँ । तर अनायासै त्यो समयले ८/१० दिन पनि पार नगर्दै कमरेडहरूको ठूलो सङ्ख्यामा भएको सहादतले हामीलाई अत्यन्त मर्माहत बनायो । घटनाको खबर सपना हो कि विपना हो ! भनेझैँ भयो । एकैनास उमेर, एकै ताल हिँडाइ, एउटै सपना, लक्ष्य बोकेका लहलहाउँदो उमेरका मुनाहरू यसरी कत्लेआम भएको खबर सुने पनि विश्वास गर्न भने निकै गाह्रो भयो ।

देशमा दिन–प्रतिदिन चर्कदै गएको युद्ध, श्रमिक वर्गको सपना बदल्ने अग्निपरीक्षाको तालिका झन्पछि झन नजिक सरिरहेको परिदृश्यका साथ मृत्यु या मुक्तिको शपथ लिएर सहिद अभियानमा लामबद्ध नेता, कार्यकर्ता र सहिद परिवारहरूले आइपर्ने घटना र क्रान्तिको कोटालाई स्वीकार गर्नुपर्ने अहम् जिम्मेवारीलाई आत्मसात गर्दै आन्दोलनमा भएका अन्य सकारात्मक र नकारात्मक घटनाहरूको श्रेय, कर्तव्य र बलिदानको अभिभारा सम्झनु र समालिनुपर्ने दायित्वजस्तै जिम्मेवारीमा हामी बाँधिन पुग्यौँ । निःशब्द स्तव्ध अवस्थाहरू हुँदै कैयौँ क्षण टोलाएर बस्ने वा अनायास अश्रुधाराहरू सहन गर्दै एकले अर्कालाई खास गरी सहिद परिवारलाई परेको पीडामा सकेसम्म दुःख साट्ने र सहानुभुति जनाउँदै यो क्रान्तिको नियम हो र यसलाई सहजै पचाउनुपर्छ भन्दै विश्वस्त भएका थियौँ । त्यस कुरालाई हामीले भन्दा सहिद परिवारले छिट्टै आत्मसात गर्नुभएको हो । त्यतिबेला हामी कोरिया युद्धमा सहिद हुन पुगेका थुप्रै चिनियाँ जनमुक्ति सेनाका जवान एवम् कमान्डरहरूसँगै क. माओका जेठा छोरा आनइङको पनि मृत्यु भएको थियो । थुप्रै नेताहरूले अरूको जे भए पनि आनइङको शवलाई चीन ल्याउनुपर्छ भन्ने प्रस्ताव राखेका थिए । आनइङकी श्रीमती, माओकी बुहारीको पनि त्यही आग्रह थियो तर अध्यक्ष माओले त्यसो हुँदैन, सबै जनमुक्ति सेनाका अफिसर र जवानहरूले कोरियाली जनताको मुक्तिआन्दोलनमा चीनका तर्फबाट चिनियाँ सर्वहारा वर्गको त्यस मुक्तियुद्धमा गौरवशाली मृत्युवरण गरेर महत्वपूर्ण हिस्सेदारी दर्ता गरेका छन् । त्यसैले आनइङ र अरू कमरेडहरूमा फरक व्यवहार हुन सक्दैन । आनइङ पनि चिनियाँ जनताका छोराछोरीमध्ये एक थिए । त्यसैले अरूले उतै सद्गत गर्दा उसलाई पनि त्यही हुन्छ भनेर सम्झाउनुभएको र बुहारीलाई सम्झाउदै तिमीले अब आनइङलाई बिर्सनुपर्छ, चीनका अग्ला–अग्ला र हरिया पहाडहरू हेरेर उसलाई र दुःखलाई बिर्सने प्रयत्न गर्नुपर्छ भनी सम्झाउनुभएको कुरा सम्झने र भलाकुसारी गर्ने तथा पाउनका लागि गुमाउनुपर्ने ऐतिहासिक कर्तव्य र कोटा चुक्ता भएको, सैद्धान्तिक पक्षद्वारा आफू र आफूहरू पनि विश्वस्त भयौँ र विश्वस्त पार्ने प्रयासहरू गरेका थियौँ ।

हाम्रो अभियानको सुरुआत र मेरो महासङ्घको बैठकको मिति उस्तै–उस्तै समय नपरेको भए म पनि अभियानमै हुने थिएँ । घटनाको दुई दिन अगाडि म सम्पर्कमा पुगे पनि केही समयपछि जाने भन्ने भएकाले म तुफानजीकहाँ पुगेको थिएँ । सबै सँगै हुन्छौँ भन्ने कुरा मैले साथीहरूसँग पनि भनेको थिएँ । घट्ना भएपछि भने आफूलाई कस्तो–कस्तो भई नै रह्यो । सबै सधैँ, सँगसँगै क्रान्तिको काममा लाग्दै हिडँेको, बर्सौं बिताएका कमरेडहरूलाई गुमाउनु पर्दा र साझा सल्लाह, सहकार्य र प्रतिबद्धतामा आफूले घात गरेजस्तो, न कस्तो–कस्तो लागिराख्यो । हामी भौतिकवादी हौँ तर भावनाको अथाह ज्वारभाटासँग झेल्दा क. झन्कार, क. विशाल, क. बलदेव र क. माइन्डसँग भित्रभित्रै क्षमायाचना गर्न मन लागिरह्यो । त्यसो हुनुमा सहिदक मरेडहरू वर्गीय रूपले मात्र समीप नभएर नाताबाट र छरछिमेकसमेत पर्ने, क्रान्तिको यात्राका सहयात्री र दौँतरीहरू हुनुहुन्थ्यो । त्यस घट्नामा सहादत प्राप्त क. सुजन, सहिद क.रमेशका भाइ हुनुहुन्थ्यो भने क. कुमारी घर्ती मगर सहिद क. किरणकी साली हुनुहुन्थ्यो । अन्याय–अत्याचारले ग्रसित समाज र सामाजिक विभेद त छँदैछ, त्यसैमाथि कम्युनिस्ट समाज व्यवस्थाप्रतिको आकर्षण र आस्था राख्नुलाई नै अपराधको बिल्ला लगाउँदै झूट्टा मुद्दा, गिरफ्तारी र हत्या हुँदै जानु र आफन्तहरू गुमाउँदै जाने स्थितिले राज्यविरुद्ध मुक्तियुद्धमा होमिनैपर्ने अवस्था तत्कालीन अवस्थामा सिर्जना भएको थियो । त्यसक्रममा नै योद्धाहरूको हत्याको बदला लिँदै वर्गयुद्धलाई अगाडि बढाउने कसम र प्रतिबद्धतासहित युद्धमा होमिनुभएका कमरेडहरूसहित ११ जना कमरेडको बलिदान हुनपुगेको हो जुन बलिदान जनयुद्ध र नेपालको मुक्ति आन्दोलनका लागि मात्र नभएर विश्व सर्वहारा श्रमिक वर्गको आन्दोलनका लागिसमेत अमूल्य शिक्षा एवम् निर्देशक बनिरहनेछ ।

आज हामी एकीकृत जनक्रान्तिमार्फत नेपालमा वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्दै आजको विश्व अन्तरविरोधहरूअनुसार हेलिँदै नयाँ विचारद्वारा श्रमिक वर्गलाई सच्चा र उच्चतम् विश्वव्यवस्थातर्फ डोर्याउने अभियानमा लामबद्ध छौँ । हाम्रो यो महत्वाकाङ्क्षाको आधार नै महान् जनयुद्ध र बाङ्मालगायत स्थानका बलिदानका कीर्तिमानहरू हुन् । जहाँ त्याग र बलिदानमा मृत्यु वा मुक्तिको एजेन्डा मात्र थियो । योद्धाहरू मृत्युवरण गर्न तयार हुनुभयो तर दयाको भिक माग्नुभएन र उच्च सहादत प्राप्त गर्नुभयो । त्यो बलिदानको जगमा नै आज फेरि क्रान्तिको अभियान जारी छ र आजको स्थितिमा बृहत् कम्युनिस्ट एकताको आवश्यकताले गहिरो यथार्थमा हामी उभिन पाएका छौँ । त्यसैले बाङ्मा र त्यस्तै बलिदानीपूर्ण इतिहासको जनयुद्धसँग साइनो भएका शक्तिहरू पुनः क्रान्तिका लागि एकीकृत र केन्द्रीकृत भई फेरि जुट्न जरुरी भइसकेको छ । हामीलाई बलिदानहरुले त्यही सन्देश दिएका छन् ।

उक्त घटनामा परेर हामीले आत्मीय सहयोद्धा, जीवनसाथी, घरपरिवार र आफन्त गुमायौँ तर क्रान्तिले संसार हल्लाउने ऊर्जा प्राप्त ग¥यो । आज प्रचण्ड– बाबुरामलगायतले जनयुद्धलाई शर्मनाक स्थितिमा पुग्ने गरी रणनीति र कार्यनीति विकासको समस्याहरूमा बल्झिएकोमा उनीहरूलाई बिदा गरेर एकीकृत जनक्रान्ति अगाडि बढिसकेको वर्तमानले क्रान्तिकारी जनसमुदाय, सहिद परिवार र नेता–कार्यकर्ताहरूमा चह¥याइरहेको घाउमा मलमपट्टीको काम गरेको छ । जनयुद्धलाई सखाप पारियो भन्नेहरूका विरुद्ध हिजो, आज र भोलिसम्म पनि क्रान्तिको गतिलाई बढाउनमा झन्पछि झन् प्रतिबद्ध बन्दै गरेको यथार्थले सहिद परिवार र आफन्त एवम् क्रान्तिकारी जनसमुदाय सबैलाई गौरवान्वित बनाएको छ । विचार सही भएमा नभएका चीजहरू प्राप्त हुँदै जाने सैद्धान्तिक मूल्यतर्फ इङ्गित गर्दै आठौँ राष्ट्रिय महाधिवेशनमा महासचिव क. विप्लवले प्रतिनिधिहरूको जिज्ञासालाई प्रस्ट पार्दै भन्नुभएको थियो, ‘नेपाल कम्युनिस्ट पार्टीको नामबाट व्यापक कम्युनिस्ट एकता अभियान अब सुरु भयो । यसले पार्टीलाई एकीकृत र केन्द्रीकृत गर्दै बृहत् कम्युनिस्ट एकताको कदम चाल्नेछ र सबैखाले वर्ग र समुदायलाई समेत एकीकृत र केन्द्रीकृत गर्नेछौँ ।’

आज हामी त्यही विचार र एजेन्डाको सेरोफेरोबाट नै क्रान्तिलाई अगाडि बढाउँदैछौँ । साथै दुस्मन वर्गले श्रमिक वर्गविरुद्ध गरेका सबै षड्यन्त्रहरू पुराना र नाकाम हुँदै गएका छन् र नयाँ जालझेलमा रुमल्लिएका छन् । त्यसैले एकपछि अर्को ठक्कर र कठिनाइहरू सहँदै विचारद्वारा निर्देशित गर्न सक्षम महान् जनयुद्धमा र आज पनि सशक्त बनाउँदै लगेका छौँ । बाङ्माको बलिदानले माओवादी जनयुद्धको रोल्पा र त्यसको मध्यक्षेत्रमा पर्ने तत्कालीन ५ नं. एरियाको वर्गसङ्घर्षको कुरा मात्र नभई सिङ्गै जनयुद्धलाई गुणात्मक गतिमा अगाडि बढाउनुपर्ने आवश्यकतालाई दर्साउँदै अद्वितीय इतिहास बन्न पुग्यो जसले पार्टी विस्तारको प्रारम्भिक अभियानदेखि २०५० सालको वर्गसङ्घर्षमा कोटगाउँ, होमा, जङ्कोट, भाबाङ र सिङ्गै रोल्पाले निर्वाह गरेका भूमिकाहरू र त्यसबाट आतङ्कित तत्कालीन काङ्ग्रेसको सरकार तथा सीडीओ अब्दुल रइस खाँ (कपिलवस्तु ले व्यापक रूपमा झूट्टा मुद्दा, गैरन्यायिक गिरफ्तारी र हत्याअभियान सुरु गरेको थियो । चर्चित ‘दार्बोट अप्रेसन’ पनि त्यसै बेला चलाइएको थियो । युद्धमय रापतापका साथ सङ्घर्षको गतिद्वारा ०५२ सालको युद्ध उद्घोषलाई अगाडि बढाउने जिम्मेवारी पनि यस क्षेत्रले जिम्मेवारीपूर्वक पूरा गरेको र त्यसपछिका गुणात्मक फौजी कारबाहीहरू– कोटगाउँ एम्बुस, क.खडकबहादुर बुढामगर (स्क्वाएड सदस्य) को सहादत, सफल एम्बुस र क. आशीषको उच्च सहादतजस्ता कारबाहीहरू उच्चतामै भएका हुन् । त्यस परिस्थितिले बर्गसङ्घर्षको वेग उचाइतिर कुदिरहेको आभास हुन्थ्यो ।

त्यस्तै गतिहरू खुसी र दुःखी तथा आँसु र हाँसोको सन्तुलनको बाहक बनेको सांस्कृतिक अभियानसमेत युद्धमोर्चामा भिड्नुपर्ने युद्धको नियमभित्र परेर पनि साहसपूर्वक बलिदान गर्न पुग्यो । त्यसरी नै फौजी र राजनीतिक कार्यक्रमको तीव्रतामा बढ्दै गएको स्तरद्वारा मात्र जनयुद्धको निरन्तरता कायम हुन सक्ने र सहिदको सपना पूरा हुने कुराको निर्देशन नै ऐतिहासिक बाङ्मा हत्याकाण्ड हो । समय बित्दै जाँदा जारी क्रान्तिले त्यो अभिभारा पूरा गरेको पनि हो । दुस्मन सत्ताको ठाउँमा जनताको जनसत्ता, हत्यारो शाहीसेनाको ठाउँमा जनताको जनमुक्ति सेना, भ्रष्ट–घूसखोर न्यायालयको ठाउँमा जनताको जनअदालत र दुस्मनको घेराबन्दी क्षेत्रविरुद्ध स्वतन्त्र र खुला आधारइलाका स्थापना गर्दै जनअर्थतन्त्रको अभ्याससम्म पुर्याउने काम जनयुद्धको वीरतापूर्ण इतिहासकै कारण थियो । बलिदान तत्काललाई दःखद्, असैह्य र अनपेक्षित हुने भए पनि श्रमिक वर्गको मुक्ति र स्वतन्त्रता सहिदका सपना पूर्णताका लागि कहिल्यै ननिभ्ने ऊर्जाको काम गर्ने कुरा जनयुद्धले नै प्रमाणित गरेको छ । क्रान्तिमा बाधाहरू आउँदासमेत सहिदको रगत र सपनाले गर्दा निरन्तर क्रान्तिको प्रवाहमा दौडिरहन सक्षम वैचारिक हतियार एकीकृत जनक्रान्तिको विकसित विचारद्वारा बेलाबेलामा आउने समस्याहरूमा समेत गति कायम गर्दै जान सफल भएको छ ।

०७५ साल फागुन २८ मा सामाजिक दलाल पुँजीवादी केपी ओली नेतृत्वको सरकारले हाम्रो पार्टीका विरुद्ध लगाएको प्रतिबन्ध र २०७७ फागुन २१ गते ३ बँुदे सहमतिपत्रमा भएको हस्ताक्षरको मितिसम्म पुग्दा हाम्रो राजनीतिक विजय भएको छ । केपी ओलीले सहमति लागू नगरे पनि पार्टीको पहलकदमीले सफलता प्राप्त गरेको कुरामा द्विविधा छैन । यो निरन्तरको सफलता, जनयुद्धमा बाङ्माजस्तै बलिदानीपूर्ण इतिहासकै कारण भएको हो । जसले क्रान्तिकारी आन्दोलनलाई युगयुगसम्मका लागि निर्देशित गरिरहनेछन् । बाङ्मा हत्याकाण्ड त्यस्तै एक अद्वितीय बलिदानको इतिहास हो जो युगौँयुग स्मरणमा ताजा भैरहनेछ ।

(नेकपा नेता सङ्गम दलाल राज्यसत्ताको जेल तथा हिरासतमा १९ महिना बसेपछि भर्खरै मुक्त भएका हुन् । उनले यो संस्मरण २०७८ असार ८ गते कपिलवस्तु जिल्ला कारागारमा रहँदा लेखेका हुन्– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :