सुभद्राहरू भन्छन्…

कविता

सुभद्राहरू भन्छन्…

(सन्दर्भ : २४ औँ सांस्कृतिक प्रतिरोध दिवस)

अलपत्र परेको युद्धलाई
अलपत्र परिरहनबाट जोगाउनू
मादलहरू ठीक गरी बजाउनू
कसैगरी नभुल्नू सहिदका रगतहरूलाई
बलिदानलाई खरिद–बिक्री हुनबाट जोगाउनू
लेन्डुप दोर्जेहरूबाट हरहमेसा देशलाई बचाइराख्नू

सुभद्राहरू भन्छन्
लालीगुराँसँ थुँगाहरू टिपेर
सहिदको चिहानमा चढाउँदैमा
देश मुक्त हुँदैन
एक थान लालसलाम ठोकेर
पूरा हुँदैन सहिदको सपना
एक मिनेट मौनधारण गर्ने सभामा
सहरको गुन्डा पनि उपस्थित हुन सक्छ
सहिदको फोटो बोकेर हिँडेको
नामुद दलाल पनि हुन सक्छ
जोगाउनु सपनालाई अलपत्र हुनबाट ।

सूब सेनहरूले
कृष्ण सेनका कविता पढ्न सक्छन्
चुनुका गीत घन्काउँदै हिँड्ने
लाक्र्याल लामा पनि हुनसक्छ
२०५२ को लालध्वजले
२०६४ मा बाबुराम भट्टराई बनेर
झुक्याउन सक्छ
मै हुँ पूर्ण विराम भनेर ।
नरेन्द्र प्रसाईं जनयुद्धको भावधारा गाउन सक्छन्
सलाम रोल्पा लेख्ने ऋषि बरालले
फोकोवादको सिद्धान्त रचेर अत्याउन सक्छन्
रक्तिम परिवार छोडेर भागेकाहरूले
सामना परिवारका गीतमाथि हमला गर्न सक्छन्
गौरको रगतमा होली खेल्ने उपेन्द्रहरूले
आदरणीय मास्टरसाबको महिमा गाउन सक्छन्
जनसांस्कृतिक महासङ्घको झन्डामा
पतेराहरूले गुँड लगाउन सक्छन्
यो खराब हावा चलेको समय हो
यो दूषितहरूले शोषितहरूलाइ ठगिरहेको समय हो
पलपल होस गर्नू

कवितालाई हतियारझैँ बनाउन जरुरी भइसक्यो कविताका खेतालाहरूले
बारुदलाई गीतहरूमा उन्न ढिला भइसक्यो झुप्राका गायकहरूले
अग्नि दाइ अग्निकै कुचीले तयार गर्न हतार भइसक्यो क्रान्तिको ललित चित्र
चौतारीमा गाउँदै जनताका गीत हामीले नाच्न ढिला भइसक्यो
एउटा पुष्पलाल जरुर चाहियो मुलुकलाई
एउटा आँधी खोजिरहेकै छ यो समय

नेपालका माओहरूले नेपालका ख्रुस्चेबहरूलाई
निषेधविरुद्ध निषेधको सूत्र घोकाउने बेला हो यो
नेपालका पुटिनहरूले नेपालका जेलेन्स्कीहरूलाई
मिसाइल बर्साउने बेला हो यो
नेपालका चारु मजुमदारहरूले नेपालका इन्दिरा गान्धीहरूलाई
ग्रामीण वर्गसङ्घर्षको दस्ताबेज सुनाउने समय हो यो
नेपालका लेनिनहरूले नेपालका जारशाहीहरूलाई
वैज्ञानिक समाजवादले परास्त गर्ने समय हो यो

सुभद्राहरू भन्छन्
बन्दुकको नालमा अडिएको सत्तालाई
ढाल्न बन्दुक नै चाहिन्छ

योद्धाहरू हो
परेड ठीक गरी खेल ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :