सिर्जनानगर : एक मार्क्सवादी स्कुल

नियात्रा

सिर्जनानगर : एक मार्क्सवादी स्कुल

चैत महिना भर्खरै सुरु भएको थियो । २०८० सालको आखिरी महिना पनि हो चैत । कमरेड अशोक सुवेदीको नयाँ नम्बरबाट फोन आयो । पटकपटक कयौँ किसिमका प्रतिबन्ध झेलेर आएका कमरेड अशोकले अचानक नंयाँ नम्बरबाट फोन गर्दा म दुबिधामा परेँ । कतै उनको पार्टी कुनै नयाँ तयारी त गर्दै छैन ? कतै अशोकहरू अर्धभूमिगत काम त गरिरहेका छैनन् ? प्रश्नहरू अचानक जन्मे ।

‘कमरेड, यसपटक पनि रामेछाप यात्राका निम्ति कन्फर्म गर्न तपाईंलाई फोन गरेको ? गाडीमा तपाईंका निम्ति सिट सुरक्षित गरिसकेको जानकारी गराउँछु । जसरी पनि आउनुपर्छ है’, कमरेडले सुवेदीले फोनमा केही वाक्यहरू बोले ।

‘हुन्छ, म आउँछु’, मैले सङ्क्षिप्त आकाशवाणी पठाएँ ।

‘हजुरबुबा (लोकगायक ढुण्डीराज अधिकारीलाई कमरेडहरू मेरा हजुरबुबा हुन् भन्छन्, मलाई रमाइलो लाग्छ) अगाडि आउने कुरा छ । घिमिरेजीदेखि पौडेलजीसम्म पनि आउँछन्’, सुवेदीले लामो सूची सुनाए जुन सूचीमा सदाझैँ कम्युनिस्टहरूको सङ्ख्या अत्यधिक थियो । हुन पनि यो वैचारिक–सांस्कृतिक अभियान कम्युनिस्टहरूको रूपान्तरणकै लागिसमेत एक गम्भीर अभियान बन्दै आएको छ । यो एउटा मार्क्सवाद स्कुल हो भन्दा उचित हुन्छ ।

अशोक सुवेदी मार्क्सवादी समालोचक हुन् । उनी जीवनमा पनि लामो भूमिका बाँध्न रुचाउँछन् । प्रायः समालोचकहरू समीक्षकभन्दा लामा अध्यायहरूमा व्यक्त हुन रुचाउँछन् । विषयप्रवेश, शीर्षक सार्थकतादेखि उपसंहारसम्म पुग्दा समालोचकले धेरै बुँदाहरूमा व्याख्या गर्दै जानुपर्ने हुन्छ । समीक्षकलाई के सुविधा हुन्छ भने उसले छोटोमा कृतिको परिक्रमा गरेर आफ्नो धारणा राख्न सक्छ । समीक्षकहरू कागती हुन्, समालोचकहरू कागतीका रूख हुन् ।

समीक्षकहरू भन्छन्– देशमा प्रतिक्रियावादको जगमा दक्षिणपन्थी अवसरवादको जगजगी छ । अशोक सुवेदीजस्ता मार्क्सवादी समालोचकहरू प्रतिक्रियावादको ऐतिहासिकतामा लामो लेख लेख्न तयारी गरिरहेका हुन्छन् । कमरेड आमोदले मन्थलीको चिया पसलमा भने– बुँदामा भने हुने कुरा अशोकले लामो अनुच्छेदमा भने । आमोद कमरेडको तर्क पनि ठिकै होला तर लम्बेतानमा भन्नुको मज्जा बेग्लै छ । विषयले माग गरेपछि त्यो आफैँ तन्किन्छ, तन्काइरहनु पर्दैन । त्यो गर्ने र भोग्नेलाई मात्र थाहा हुन्छ । अभियानकर्ता बन्नु र दर्शक/सहभागी बन्नु फरक कुरा हुन् ।

प्रसङ्ग थियो रामेछाप सिर्जनानगर यात्राको । यता बेप्रसङ्गको चीजतिर कुरा फर्कियो ।

मैले रामेछाप यात्राका शृङ्खला नै लेखिरहेको छुजस्तो लाग्छ । रामेछाप यात्राको औपचारिकतामा मैले लेख्नुपर्ने कुरा लेखिसकेको छु । अनुभूतिसमेत उस्तै हुने खतरा छ । म यात्रा निबन्धकार होइन । म ताना शर्माजस्तो ‘वजनदार’ लेखक होइन । रामेछापको उकालो उक्लेर अर्को घनघस्याको उकालोजस्तो सदाबहार निबन्ध लेख्ने मेरो शाब्दिक सामथ्र्य छैन । यो तीन लाल डाँडामा उक्लिदा मेरो मनको फूलबारीमा गुराँस फूल्छ । कहिलेकहीँ लाग्छ– यो रामेछापको उराठ र फुस्रो डाँडामा कसरी फुले होलान् तीन लालहरू ?

प्रायः क्रान्तिका पक्षमा रहने कवि तथा ललितकलाकर्मी अग्निराज पौडेल भन्छन्– इतिहासको पुनरावृत्ति गर्नु हुन्न । वर्तमानलाई सुन्दर बनाइहाल्नुपर्छ ।

म रामेछाप यात्राको तयारीमा छु । कमरेड अशोक सुवेदीले रिजर्भ गर्नुभएको गाडी अघिल्लो दिन नै कोटेश्वरबाट हिँडिसकेको छ । म टिकट काउन्टरनेर उभिएको छु ।

कोटेश्वरमा हपहपी गर्मी छ । कुनै मेनपावरको दलाल मेरो अगाडि आएर सोध्छ– दाइले मेनपावर खोज्नुभएको हो ? कतारको कम्पनीमा सत्तरी दिइरहेको छ ! हाम्रो बुढोहरूले धमाधम पठाइरहेका छ् ।

होइन, रामेछाप जाने गाडीको टिकट काउन्टर खोजेको– म सोझो जबाफ दिन्छु ।

ह्या बुडो तपाईंं पनि– ऊ झोकिन्छ ।

केहीबेर एकजना बुढा मेरो अगाडि आउँछन् र टीका लगाइदिन्छन् । टीका लगाएपछि रु पाँच खसाउँछु । अनुमतिबिना टीका लगाइदिए पनि रिसाउँदिनँ । टीका लगाएपछि हल्का त्रसितजस्तो अनुभूति हुन्छ ।

देशकै क्रान्तिकारीहरूको जमघट हुने ठाउँमा टीका लगाएर उपस्थित हुँदा कमरेडहरूले के सोच्ने हुन् ! मनमा चिसो पस्छ । के गर्नु चैतमा मन चिसो भए पनि तन चिसो नहुने रहेछ । मलाई टीकाको होइन, टिकटको चिन्ता थियो ।

काउन्टरवालाले भन्यो– टिकट एक बजेको मात्र छ । अब परेन त फसाद ! एक बजे कार्यक्रमस्थलमै उपस्थित हुनुपर्ने आयोजकको आदेशलाई कसरी उल्लङ्घन गर्नु ! बल्लतल्ल एउटा विद्युतीय माइक्रो भेटियो दस बजे छुट्ने तर माइक्रो ल्याङ रहेछ । एघार बजे मात्र हिँड्यो ।

अशोकले यसपटक फोन गरेनन् । उनी कि सदाझैँ मेरो आगमनप्रति ढुक्क थिए, कि त अघिल्लो दिन नआएकोमा खोजी कम भएको होला भनेर पनि सोचेँ । कार्यक्रममा व्यस्त भएकाले उनले फोन नगरेका रहेछन् ।

माइक्रो हिँड्यो । गर्मीले मौसम उदासीन थियो । कोसी र रोसी दुवै खोलाका पानीहरू सुक्दै गएका थिए । खोलाका किनारमा निगुरो पलाएका थिए । कतैकतै त मकैका बोटहरू हुर्किसकेका थिए । हामीले काभ्रेभन्ज्याङनेर पुगेर चिया पियौँ । गाडी आफ्नै गतिमा अगाडि बढिरह्यो । बीपी राजमार्गमा पुगेपछि सत्तासीन नेतामाथि एकजना युवकले गालीका शब्दहरू प्रयोग गरे । उनको तर्क थियो– बालेनजस्ता युवा चाहिन्छ देशलाई । तर ती युवा पनि राष्ट्रवादको चिन्ता गर्दै विदेश उड्ने तयारीमा थिएजस्तो लाग्छ ।

ठीक तीन बजे मन्थली ओर्लें । मन्थलीको देवकोटाचोकमा धुलो जमेको थियो सालिकभरि । मदन भण्डारीको सिद्धान्त फैलिए पनि उनको सालिकको संरक्षण हुन सकेको थिएन । माथि भँगेरीमा नेताहरू उक्लेर पुष्पलालको सिद्धान्त संरक्षण गर्ने बाचा पनि गरिसकेका थिए । तर पुष्पलालको सिद्धान्त पनि व्यवहारतः अलपत्र थियो ।

नेता–कार्यकर्ताहरू वाक्यैपिच्छे पुष्पलालको सिद्धान्तलाई नेपाली माटोसापेक्ष प्रयोग गर्ने भाषण गरिरहेका छन् तर एक्ला छन् पुष्पलाल । भँगेरीको एक सानो ढुङ्गाको सालिकमा पुष्पलाललाई सीमित गर्न खोजिनु लाल फित्ताशाही वर्गका निम्ति खुसीकै कुरा हो ।

तत्कालीन सानीमदौ क्षेत्रलाई अशोक सुवेदीको नेतृत्वमा सिर्जनानगर बनाउने अभियान चलिरहेको छ विगत पन्ध्र–सत्र वर्षदेखि । हामी यो क्षेत्रलाई सिर्जनानगर भन्छौँ तर राज्यले ठूलो बोर्डमा लेखेको छ– सानीमदौ । यो सानीमदौ पनि हो, सिर्जनानगर पनि हो ।

सिर्जनानगरमा पुग्दा हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको सङ्ग्रहालय रहेको घरभन्दा तल्लो हित–जून स्मृति हलमा कार्यक्रम सुरु हुन आँटेको रहेछ । धन्न कार्यक्रम भ्याइयो ।

कमरेड अशोकले हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको दोस्रो दिनको कार्यक्रम यही हलमा गरिरहेका छन् । धेरै कम्युनिस्ट नेताहरू यही हलमा आएका छन् । कतिपय नेता–कार्यकर्ताहरू यही हलमा सुतेका पनि छन् । म पनि पहिला यो हलमा सुतेको छु ।

कार्यक्रममा अर्को फसाद पनि पर्यो । विभिन्न कार्यक्रमसँगै त्यहाँ कविता प्रतियोगिता पनि हुँदै थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा. कौशिला रिसालको संयोजकत्वमा चार सदस्यीय निर्यायकमण्डल घोषणा गरियो । रिसालसहित अग्निराज पौडेल, राधा दुलाल कार्की र म सदस्य रहेको निर्णायकमण्डलले कविताहरू मूल्याङ्कन गर्नुपर्ने जिम्मेवारी आइलाग्यो । अग्निराजले भने– लौ फसियो ।

तर हलको वातावरण एकदम भावुक थियो । दलित युवकसँग विवाह गरेकी युवती सम्मानित हुँदै थिइन् । उत्कृष्ट बुहारी सम्मानित हुँदै थिइन् । गाउँ फर्केको युवा सम्मानित हुँदै थिए । अशोकका बालसखा एक दलित पात्र चतुरे सार्की सम्मानित हुँदै थिए । समाजका भुइँ तहका मानिसहरू धमाधम सम्मानित हुँदै थिए । मलाई पहिलो चरणमा नै कविता वाचनका निम्ति निम्ता गरियो । मैले कविता सुनाएँ । अग्निराजले प्रगतिशील वा प्रतिक्रियावादी जसले गरे पनि श्राद्धपद्धति गलत हो भन्ने भावको कविता ‘टपरेकी स्वास्नी’ सुनाए । हलका धेरैले यो कविताको प्रशंसा गरे । हलमा पुरस्कार पनि वितरण भइरहयो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’, पुराना वामपन्थी नेता लोककृष्ण भट्टराई, कमरेड पूर्णबहादुर सिंह, प्राज्ञ कौशिला रिसाललगायतले अभिनन्दित व्यक्तित्वहरूलाई दोसल्ला ओढाएर पुरस्कार र सम्मानपत्र वितरण गरे । फलफूल खाइरहियो ।

कविता प्रतियोगितामा हामीले गहन छलफल गर्यौँ । उमेरसमूह र कविताको भावलाई बुझेर बिजेता घोषणा गरियो । हुनत कविताको प्रतियोगिता उति प्रगतिशील कुरा होइन । अशोक सुवेदीले नयाँ प्रतिभालाई प्रोत्साहित गर्नका निम्ति कविता प्रतियोगिता राख्नुभएको कुरा हामी सबैलाई जानकारी नै थियो । हरेक घरमा स्रष्टा जन्मिन थालेपछि नै यो गाउँ पुरानो सानीमदौबाट सिर्जनानगर भएको कुरा पनि हामीले बुझेका थियौँ । नयाँ र पुरानोका बीचको, पुरातन र नूतनका बीचको, आदर्शवाद र मार्क्सवादबीचको लडाइँ यहाँ झनै घनीभूत बनिरहेको कुरा पनि हामीलाई थाहा छ ।

परम्परागत अन्धविश्वास, कुरीति र श्राद्ध पद्धतिविरुद्ध कमरेड अशोकले लामो समयदेखि सङ्घर्ष गरिरहेका छन् । यो सङ्घर्षले राष्ट्रिय स्तरमै बौद्धिक बहस गराएको छ तर परम्परावादी समाजको दृष्टिकोणमा फेरबदल ल्याउन सकेको छैन । बरु एकदमै नयाँ पुस्ताले चाहिँ अशोकको भावना बुझेजस्तो लाग्यो किनकि अभियानमा पाँच वर्षका बालबालिकादेखि युवा र वयस्कसम्मको रहरलाग्दो सहभागिता बढिरहेको छ ।

दोस्रो दिनको कार्यक्रम सकिएपछि ‘हामी मन्थलीमा चिया खान जाऊँ’ भनेर अग्निराज पौडेलले भने । उनले बाइक स्टार्ट गरे । उनी पनि काठमाडौँबाट बाइकमै सिर्जनानगर आइपुगेका थिए । ट्राफिक नियम पालना नहुने गरी लोकगायक ढुण्डीराज अधिकारी र म बाइकमा बस्यौँ । मन्थलीको चियाका हामी पुराना पारखी हौंँ । यहाँको चिया कडा हुन्छ । झापाको चिया खाएका ढुण्डीराज र अग्निराज दुवैले भनेपछि मैले पनि मन्थलीको चियाको प्रशंसा गरेँ । भनेँ– मन्थलीको चिया नखानेले चिया खाएँ भन्नु हुँदैन ।

चिया खाँदै गर्दा क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता कञ्चन र केन्द्रीय सदस्य आमोद पनि आइपुगे । उनीहरू पनि मन्थलीको चियाको पारखी हुन आइपुगेका थिए । आमोद रहेछन् हाँसीमजाक गर्न रुचाउने मान्छे । उनले केही चुट्किला भने । एउटा चुट्किलाको विषय अशोक सुवेदी र उनले बाँध्ने सिर्जनात्मक भुमिकाका विषयमा थियो जुन निकै रोचक थियो ।

चिया खाइरहेपछि हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान प्राङ्गणमा आइपुग्यौँ । बहसहरू फेरि चल्न थाले । रोचक र रमाइलो बहस चल्यो । कमरेड पूर्णबहादुर सिंहले अर्को चुट्किला सुनाउनुभएपछि हामी फेरि हाँस्यौँ ।

त्यो दिन त्यसरी नै बित्यो । खाना खाएपछि अशोकले माथिल्लो तल्लामा पुर्याउनुभयो । म निदाइहालेँ ।

चिरबिर चराहरू कराए । बिहानको घामको झुल्कोसँगै सानीमदौ सिर्जनानगर रातो देखियो । प्रायः सबै उठिसकेका थिए । हल्लाको वातावरण बनिरहेको थियो ।

लोककृष्ण भट्टराई हतार गर्दै थिए । बिहानै काठमाडौंँ जान उहाँ र उहाँको टोलीका पुष्पलाल जन्मशताब्दी समारोह समितिका साथीहरू हतारिएझैँ थिए । कमरेड अशोकले प्रतिष्ठानकै आयोजनामा तेस्रो दिन आज खेलकुद प्रतियोगिता हुने र खेलकुदको कार्यक्रम उद्घाटन गरेपछि काठमाडौँं लाग्न सकिने वताउनुभयो । ललितकलाकर्मी अग्निराज पौडेलचाहिँ आफ्नै निजी सवारी साधनमा बिहानै काठमाडौँं हुइँकिए । उनको एक निजी काम भएकाले उनलाई बिहानै जानुपर्ने बाध्यता पनि थियो, फोनहरू आइरहेका थिए । अग्निराजभन्दा अगाडि आमोद पनि काठमाडौँं फर्किसकेका थिए ।

लोककृष्णचाहिँ कार्यक्रम उद्घाटन भएपछि मात्र फर्किने कुरामा सहमत भए । त्यही कुरामा सहमत थिए प्रगतिशील कित्ताका पुराना र परिचित लेखक, प्राध्यापक तथा समालोचक प्राडा जगदीशचन्द्र भण्डारी ।

प्रमुख अतिथि कञ्चन, अतिथिहरू पूर्णबहादुर सिंह, ढुण्डीराज, माधव गौतम, विनोद थापालगायत चाहिँ पूरै कार्यक्रम सकेर पुरस्कार वितरणपछि फर्किने मनसुवामा थिए ।

प्राज्ञ डा.कौशिला रिसाल, कवि/कथाकार राधा दुलाल कार्की पनि आफ्नो अनुकूलतामा काठमाडौं फर्के । काठमाडौँंमा जसरी पुग्नुपर्ने बाध्यता पनि थियो ।

बिहान आयोजक र सबै अतिथिहरू मार्क्सवादी कार्यशैली अपनाउँदै श्रमकार्यमा जोडिए । हामी सबैले खारखोला किनारको भलिबल मैदान सफा गर्यौँ । यो कार्य नौलो तर महत्वपूर्ण थियो । नेताहरू लाम लागेर श्रम गरेको दृश्य सुन्दर थियो ।

भलिबल प्रतियोगिताका लागि खेलाडीहरू आइरहेका थिए । खेलकुदको वातावरण बनिरहेको थियो । केही ढिला प्रमुख अतिथि धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले भलिबल प्रतियोगिताको उद्घाटन गरे ।

रामेछाप आएपछि कित्ता छुट्टिन्छ– अग्निराजले अघिल्लो दिन ठट्टा गरेका थिए । हुन पनि काठमाडौँंमा धर्मेन्द्र बास्तोलाले वैचारिक क्याम्प खडा गरेको हल्ला फैलिएको रहेछ । काठमाडौँं आएपछि मैले यस्ता कुराहरू चिया पसल र किताब पसलहरूमा सुनेँ तर रामेछापमा यस्तो विषयमा खासै चर्चा भएन । कमरेड कञ्चन व्यवहारशील र वैचारिक नेता भएकाले पनि उनले यस्ता अतिरिक्त कुराहरूमा हल्का टिप्पणी गर्दैनन् भन्ने विश्वास लाग्छ । पार्टीमा विचारमाथि बहस हुनु त स्वाभाविक र अनिवार्य नै हो ।

कार्यक्रम उद्घाटन भएपछि म पनि काठमाडौं फर्किने योजनामा लागेँ । म खेलकुदमा उस्तो जानकार पनि नभएकाले काठमाडौँं फर्किन्छु भन्ने लाग्यो । बरु अलिपछि अरू भेटघाट हुने गरी रामेछाप आउनुपर्ने भएकाले तत्काल काठमाडौँं फर्किन्छु भन्ने कुरा मैले अशोकलाई यहीँ राखे । उनले पनि हुन्छ भने ।

घाम चर्किन थालेको थियो । सुख्खा पाखाहरूमा धुलो उड्न थालेको थियो । मैले अशोकलाई भनेँ– यहाँ सङ्ग्रहालयपरिसरमा जस्तै वरिपरि सबैतिर हरियाली पनि भएको भए कस्तो हुन्थ्यो ? ‘खास हुन्थ्यो नि’– उनले यसपटक भने समीक्षकले जस्तो छोटोमा जबाफ दिए ।

हामी रिजर्भ गाडी चढ्यौँ । पुष्पलाल अध्ययन प्रतिष्ठानका कमरेडहरू आपसमा पुराना कुराहरू सम्झिन थाले । माल्दाइ पुष्पलाल श्रेष्ठलाई वनारसमा भेटेको, वैचारिक बहस गरेको आदि कुराहरू भए । एकजना कमरेडले पुष्पलाललाई नेपालका कम्युनिस्ट पार्टीहरूले भुलेको बताउँदा प्राडा भण्डारी पनि सहमत देखिए । मैले काठमाडौँंमा पुष्पलाललाई नेपाली कम्युनिस्ट आन्दोलनको जग ठान्ने कि धुरी भन्ने सन्दर्भमा भएका बहसहरू सम्झेँ । गाडीमा त्यस्तै तर्क आइरहेका थिए । यो बडो सोचनीय विषय थियो ।

अलि पर पुगेपछि कसैले मदन पुरस्कारको कुरा झिके । कमलमणिलाई भेटेका कमरेडहरू पनि त्यता रहेछन् । बाटोमा प्राडा भण्डारीले भारतको गङ्गा नदीलाई किन पवित्र भनियो भन्ने सन्दर्भमा एउटा रोचक तर्क पेस गरे । अति गर्मीमा गङ्गा नदीको चिसो पानीले आँत र तन दुवै शीतल गराएपछि गङ्गाको पवित्रताको बिम्ब स्थापित भएको भण्डारीको तर्क ठीक थियो । समाजको ऐतिहासिक विकासक्रममा बिम्ब र मिथहरू बन्छन् । कतिपय यस्ता मिथरू धार्मिक बिम्ब बन्छन्, लामो समय समाजको आँतबाट ती बिलाउँदैनन् वरु त्यो समाजको विश्वास बन्छन् । हामीले सामन्तवादी समाजको द्वन्द्वात्मक भौतिकवादी कोणबाट अध्ययन ग¥यौँ भने पक्कै पनि इतिहासको सही व्याख्या हुन सक्छ । स्वयम् कमरेडहरू सीमित मिथोलोजीमा यति अभ्यस्त छन्, उनीहरू मन्दिरका निम्ति बजेट खोज्छन् तर देवताको इतिहास खोज्दैनन् । इतिहासको वीरताले च्वास्सै कमरेडहरूमा छुन थाल्छ ।

कमरेड अशोकले परम्परागत सामन्तवादी सांस्कृतिक दृष्टिकोणलाई फेर्न र हाम्रा सांस्कृतिक दृष्टिलाई बदल्न अभियान थालेको दसकौँ भयो । कमरेड अग्निराजले भनेझैँ गर्नुपर्ने धेरै छ तर यो अभियान महत्वपूर्ण छ । अशोकलाई आर्थिक भार त परेको छ तर त्यसले समाजको प्रगतिशील रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्ने मलाई लाग्छ । एकजना व्यक्तिले यति धेरै काम गर्नु चानचुने कुरा होइन ।

काभ्रेभन्ज्याङ आएर चिया खाएपछि मन चङ्गा भएको अनुभुति भयो । पर बेथान डाँडा देख्दा– ‘बेथान डाँडा किन उदास छ अझै पनि’ शीर्षकमा कविता लेख्न मन भयो । बिम्बहरू मनभरि खेले ।

बेलैमा काठमाडौँं आइपुगियो । काठमाडौँं आएपछि आआफ्ना गुँडतिर लाग्ने तरखरमा लागियो । ती बुढा अहिले पनि निधारमा टीका लगाइदिने अभियानमा नै रहेछन् । यसपटक उनले टीका लगाउन भ्याएनन् । उनको यो पेसा देख्दा मैले पेसेवर नेताहरू सम्झेँ । उनीहरू राजनीति पेसा बनाउँछन् र सुन तस्कर बन्छन् । अहिले यस्तो भाष्य भनेको छ– सुन तस्करी नगर्ने पनि के नेता ? एउटा सहकारीसमेत डुबाउने हैसियत राख्दैन भने उसले राजनीति नगरे पनि हुन्छ… ।

यसपटकको रामेछाप यात्रा छोटो, रोचक र महत्वपूर्ण रह्यो । आगामी दिनसम्म पनि यो क्रम जारी रहला ।

२७ चैत, २०८०

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :