मृत्युुको पाश्र्व–गीत

कविता

मृत्युुको पाश्र्व–गीत

उत्पीडनका विरुद्ध उत्पीडितहरूले उठाएको जुलुसमा
हाँसीहाँसी मर्न पाइयोस्
यस्तो मृत्युु हुन्छ सानदार
यस्तो मृत्यु हुन्छ वजनदार
यस्तो मृत्युुले कदापि मर्न दिँदैन मान्छेलाई ।

उखु किसानहरूका धर्नामा नारा लगाउँदैलगाउँदै
पाउरोटी कारखानाका मजदुरहरूको गीत गाउँदागाउँदै
बोक्सी बनाइएका बूढी आमाहरूको कविता लेख्दालेख्दै
मर्नु पो मर्नु हो
यस्तो मृत्युुलाई जतिसुकै खराब मौसमले पनि बढार्न सक्दैन
एउटै देशमा चलिरहेको दोहोरो शिक्षा पद्धतिविरुद्ध
जुझारु अखिलले दिएको बलिदानजस्तो रातो हुन्छ मृत्यु
जनआन्दोलनको आँधीबेहेरीमा ढलेका बूढा सहिदजस्तो
असाध्यै उच्च हुन्छ, असाध्यै स्तुत्य हुन्छ मृत्यु
प्रेमलाई जातले थिचेपछि
भेरीमा बगाइएका नवराज विकको जस्तो
गरिमामय हुन्छ मृत्युु
हत्याराहरूलाई रुने अवसर नदिने निर्मला पन्तको जस्तो
आन्दोलनमय पनि हुन्छ मृत्यु ।

मृत्यु त्यो पनि हो
जस्तो मेरो सांसद मित्र
आफ्ना प्रतिबद्धताहरू सर्किएर मर्यो
आफूलाई जनताको प्रतिनिधि ठानिरहेको मेयर
नक्कली वृद्धभत्ता कार्ड बनाउँदाबनाउँदै मर्यो
एउटा थियोे व्यापारी साथी
ऊ पनि नक्कली सामान बेच्चाबेच्दै मर्यो ।

एक मुठी सास हुनु मात्र रहेन्छ बाँच्नु भनेको
हेर्नुस् मुर्दा भएका
तस्करहरू, माफियाहरू, जालीहरू ।

मृत्यु भनेको
अमर सहिदले लगाएको नाराजस्तो
अमर हुनुपर्दो रहेछ !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :