बिपतको घडीमा

कविता

बिपतको घडीमा

ए सरकार !
म एक कोरोना सङ्क्रमित
चारैतिर चित्कार छ
मृत्यु पलपल दौडिन्छ
श्वास बेलाबेला रोकिन्छ
मुटु बिस्तारै चल्छ
हातगोडा आफ्नो हो कि होइन जस्तै गरी गल्छ
मन पीडाले असह्य भएर पोल्छ
लाग्छ– बेलाबेला
मलाई आर्यघाटले पर्खिरहेको छ
छिट्टै मेरो पालो आउँदैछ !

कुनै युद्धमैदान होइन यो
बम–गोला पड्केको छैन यहाँ
तर आतङ्क युद्धमैदानभन्दा कम छैन
जहाँ सेता पोसाकमा वरपर
युद्ध कमान्डर दौडेको जसरी
दौडिँदैछन् स्वास्थ्यकर्मीहरू
मानौँ उनी आफ्नो घाइते
सिपाही बचाउन चाहन्छन्
तर गोलीगट्ठाबिनाको कमान्डरले
दुस्मनको अगाडि
आत्मसमर्पण गर्नुको विकल्प हुँदैन
हात उठाउन बाध्य छन्
ए सरकार ! यो विडम्बना
भनेर म मरौँ कि बाँच्ने आशा गरौँ ?
मेरो यही हातले मतदान गरेर
तिमी पजेरो चढ्यौ
सहरका महल छिर्यौ
मेरो काँधमा टेकेर
समृद्ध नेपाल, सुखी जनता भन्दै
भ्रमका पहाड छोड्यौ
हिजो तिमीले
मेरो अमूल्य मत माग्यौ
आज म जीवनको भिक माग्दैछु
ए सरकार ! भन म के गराैँ ?
म अक्सिजन नपाएरै मरौँ ?
यो बिपत्को घडीमा
आपत्को दुःखद् समयमा
तिमी जनताको रक्षक बन्न सक्दैनौ भने
धिक्कार छ तिमीलाई
अपराधी ठहरिनेछ तिम्रो लाचार अनुहार !

उपचार नपाएर
निर्दोष मानव–मृत्यु
तिम्रो कलङ्कको छाप हुनेछ
ए सरकार !
म पुनः जीवन पाउनका लागि
मृत्युशैय्यामा लड्दैछु
मलाई सास फेर्न गाह्रो भयो
अक्सिजन पठाऊ
अझै पनि म बाँच्ने आस गर्दैछु !

३१ वैशाख, २०७८ (कोरोनाका बिरामीहरूमा समर्पित)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :