कात्रोको व्यापार !

कविता

टाँस–टाँस, विदेशीले पठाएको
अक्सिजन सिलिन्डरमा टाँस
भेरोसेलमा–कोभिडसिलमा टाँस
सूर्य टाँस
मास्क र पन्जामा चारतारे टाँस
सेनिटाइजर र सिटामोलमा हँसिया–हथौड़ा टाँस
गाई टाँस
आँखा टाँस
लावालस्कर प्राडो–पजेरो लिएर
गुरुरुरुरु चुनाव क्षेत्र जाऊ
भाषण ठोक
यो महामारीलाई तिम्रो लयमा ढाल
टाँस–टाँस शवगृहमा टाँस
शव–बाहनमा टाँस
दाउरामा टाँस
कात्रोमा टाँस
घाटमा टाँस– चितामा टाँस !
बिरामीहरूलाई आतङ्क बाँड
मलामीहरूलाई घोषणापत्र बाँड
तिमीहरूको जित पक्का हुनेछ
अब चुनावमा मासुभात बाँड्ने दिन गए
भित्तामा पोस्टर टाँस्ने दिन गए
चार लाख पर्ने मेसिनलाई
चालीस लाखमा किन
कमिसनका भोकाहरूलाई कमिसन खुवाऊ
आसेपासेहरूलाई जागिर खुवाऊ
यो महामारीको भरपूर उपयोग गर !
जनता मारेर कात्रोको व्यापार गर !

४ जेठ, २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :