सिर्जनानगरको एउटा सांस्कृतिक उत्सवबाट फर्किएपछि

सिर्जनानगरको एउटा सांस्कृतिक उत्सवबाट फर्किएपछि

धेरै परिचयमध्ये कमरेड अशोक सुवेदीको परिचय बनेको छ : साहित्यिक/सांस्कृतिक अभियन्ताको । सांस्कृतिक रूपान्तरणको अभियानमा कमरेड सुवेदी समाजको परम्परागत संस्कृतिको ठाउँमा वैज्ञानिक समाजवादी संस्कृतिलाई स्थापित गराउन चाहन्छन् । यही मेसोमा आफ्नु सुन्दर गाउँ सिर्जनानगरमा वैचारिक र साहित्यिक उत्सव गराउँछन् जनआन्दोलन दिवसवरिपरि । पटकपटक यो गाउँमा पुग्दा म विचारको खडेरी परिरहेको बेला, आन्दोलन अलमल परिरहेको बेला विचारको झिल्को लिएर फर्केको छु । कतै बाटो बिराइएला कि भनेर पटकपटक सोचेको छु ।

लेखक : रसुवाली कवि

यसपटक पनि सिर्जनानगर पुग्ने मेसो मिल्यो । एउटा रमाइलो यात्रा भयो । माओवादी आन्दोलनका शीर्ष दार्शनिक नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, प्रगतिशील साहित्यकार खेम थमलिया, माओवादी नेता तथा लेखक पूर्णबहादुर सिंह, लेखक एवम् नेत्री सरला रेग्मी, कमरेडहरू आकाश, लोकेन्द्र … लगायतसँग भएको यात्रामा हजुरबुबाश्री गायक ढुण्डीराज अधिकारी बडो रमाइलो गरी राजनीतिलाई व्यङ्ग्य गर्थे । राष्ट्रिय राजनीतिमा तरङ्ग थियोे । हाम्रै आन्दोलनमा पनि अन्तरविरोधको स्थिति थियोे । कम्युनिस्ट आन्दोलनले पटकपटक गह्रौँ अन्तरविरोध सामना गर्दै आजको दिनसम्म आइपुगेको हो । पेचिलो अन्तरविरोधले हामीलाई हल्लाएकै थियोे । कमरेड सुदर्शनलाई बदलिँदो परिस्थितिले वैचारिक तनाव दिएको स्पष्ट देखिन्थ्यो ।

खेम थपलियाले आफ्नु राजनीतिक जीवनमा आएको उतारचढावका प्रसङ्ग बताउँदै गर्दा ढुण्डीराज सिन्धुलीमा बाटो खनेको प्रसङ्ग उप्काउँथे । ती पुराना दिनका सम्झनाले अधिकारीलाई हुरुक्कै पारेको थियोे । खेतालाहरूले कसरी काभ्रे, सिन्धुली, रामेछापका पहाड खोतले, कसरी बाटो बन्यो भन्ने प्रसङ्गले भित्रैदेखि छुन्थ्यो । संसार पुरोहित, पास्चर, बौद्ध गुरु वा गफाडीहरूले बनाएका होइनन् । किसान, मजदुर, ज्यामीहरू नै दुनियाँका निर्माता हुन् । महान दर्शनका निर्माता पनि किसान–मजदुर हुन् । हामी दुईचार अक्षर लेख्ने लेखकहरू श्रमजीवी मजदुर हौँ । कोही लेख्नु मजदुरी सोच्दैनन्, ऊ बुद्धिविलासी हो भन्ने ठान्छन् । हामी बुद्धिजीवीहरूका बुद्धिलाई बुद्धिविलास हुन नदिई बुद्धिलाई संसार रूपान्तरणकै एउटा साधन बनाउने अभियानका अभियन्ता हौँ । अशोक सुवेदी त्यस्तै श्रमशील र स्वप्नशील समाज बनाउने कुरा सुनाइरहन्छन् । यस्तै यत्न गरिरहन्छन् ।

पहाडलाइ छिचोल्दै आएको कोसीको पानी लागेपछि चैतमै मकै हरियो भएको छ । यस्तै हरियो बस्तीनेर हामीलाई बोकी आएको साधन रोकिन्छ । माथि थाकल घारी छ । खर पलाएको बन छ । सालघारीबाट हपहप बाफ आइरहेछ । आकाश गौतम नेताहरूप्रति आक्रोश व्यक्त गर्छन् । उनलाई केही नेताहरूको शैली मन परिरहेको छैन जसको प्रकृतिले हरियाली खेदिरहेछ, चैतको बाफलाई ।

आशा र निराशाको बीचबाट आस्थाको उज्यालो छर्दै जन्मन्छ विचारधारा । पुराना विचारधाराहरूको चर्चा गर्न सजिलो छ तर नयाँ विचारधारा विकास गर्न साह्रै सजिलो काम हो । माओले चढेको चिनियाँ पहाडहरूको यात्रा जोकोहीले गर्न सक्दैनन् । कमरेड सुदर्शन र पूर्णले सिन्धुली र रामेछापमा भएका फौजी कारबाही र जनमुक्ति सेनाको वीरतालाई सम्झिँदा भावुक भयौँ हामी । कसरी जनमुक्ति सेनाको तागतले चौकीहरू ध्वस्त भए, जनयुद्धले कसरी शिखर चुम्यो ? हामीले समीक्षा गर्यौँ । छापामार युद्धले कसरी नेपाली धर्ती हल्लाएको थियोे ? सामन्तवाद कसरी ध्वस्त भएको थियोे । आज सम्झना मात्र गर्दा पनि हाम्रो छाती उच्च हुन्छ । हृदयदेखि नै महान् जनयुद्ध जिन्दावाद भन्न मन लाग्छ ।

सरलाले पश्चिम पहाड हल्लाएका छापामार युवतीहरूको कथा सुनाउनुभयो । ग्रामीण वर्गसङ्घर्षमा सहिद हुन पाऊँ भनेर लामबद्ध महिलाहरूको कथा हाम्रो समाजको ओजदार कथा हो । नेताहरूले आन्दोलनलाई अलपत्र पारे पनि योद्धाहरूको सपना र बलिदानलाई हामी कहाँ भुल्न सक्छाैँ र ?

खेमजीको अनुहारमा खिन्नता देखिन्थ्यो । बदलिँदो राजनीतिक परिस्थितिले उनलाई बेग्लै बेचैन बनाएको थियोे । आफैँले खनेको बाटो आफ्नै नलागेपछि मान्छे हतास हुन्छ । यो मानवीय गुण हो । सायद त्यही कुरा उनको अनुहारमा प्रकट भएको हो ।

गाडी चल्न सुरु भयो । कमरेड अशोकको फोन आइरहेको थियोे । म आइपुग्दै गरेका ठाउँहरूको नाउँ बताइरहेको थिएँ । तल आफ्नै गतिमा बगिरहेको थियोे कोसी । कोसीकिनारमा बनेका हाम्रा कथाहरू, हाम्रा व्यथाहरू हाम्रो समाजका साझा कथा थिए । ढुण्डीले लेखे गीत बन्थ्यो, खेमले लेखे नाटक । मलाई पनि यिनका कविता लेख्न मन लाग्थ्यो नै ।

अलि पर छ खुर्कोट । पञ्चायतलाई हाँक दिने ऋषि देवकोटा ‘आजाद’ को गाउँ । बर्बर पञ्चायती शासन व्यवस्था ऋषिका विचारदेखि आत्तिएको थियो । यसैले कमरेड आजादलाई निर्मम हत्या गरियो । खुर्कोट पुग्दा म आजादका सपनाहरू नबिर्सने प्रण गर्छु । सुख्खा खुर्कोटलाई रातो इतिहासले पोत्ने कमरेड आजाद सधैँ हाम्रा आदर्श हुन् ।

आजादको गाउँबाट नजिकै छ कमरेड अशोक सुवेदी ‘विप्लव’ को गाउँ । कुनै समय आफूलाई विप्लव नाउँले चिनाउँदै यिनले रामेछाप र सिन्धुलीमा कम्युनिस्ट आन्दोलनको बीउ रोपेका हुन् । यिनले सदस्य दिएका कतिपय चाहिँ अहिले मन्त्रीसमेत भइसके । हिजोआज यी पुराना विप्लव र नयाँ विप्लवको उति कुरा मिल्दैन । पुराना विप्लव क्रान्ति सकिएको छैन भन्दैछन् । नयाँ विप्लवलाई अब धेरै लामो बाटो हिँड्न पट्ट्यार, डर वा अल्छी यस्तै केके लागिरहेझैँ लाग्छ ।

पुराना विप्लवले सोधे– कहाँ आइपुग्नुभयो ? मैले भनेँ– खुर्कोट कटियो । उसो भए हामी विनिता चोक आइपुग्छौँ । साधन त्यहाँसम्म ल्याउनुहोला । पुराना विप्लवले विनिताचोक हुँदै पुष्पलाल–गङ्गालाल जन्मिएको गाउँ भँगेरी जाने योजना सुनाए ।

हामी पुग्दा उहाँहरू विनिताचोकबाट पनि वरै, भैँसेश्वरचोकसम्मै आइसक्नुभएको रहेछ । केही कमरेडहरूसहितको पुराना विप्लवको दस्ता बाटोमै रहेछ । दस्ताले लालसलाम गर्यो । सबैजना गाडी चढ्यौँ र लाग्यौँ इतिहासको एउटा रातो गाउँ भँगेरीतिर, जहाँ पुराना विप्लवले बाबुआमाका नाउँमा दुवै लालको सालिक बनाइदिएका छन् ।

एउटा सामान्य जागिरे नेवारका छोरा थिए पुष्पलाल । अर्का जुझारु छोरा थिए गङ्गालाल । यो रुखो गाउँमा जन्मेर पनि यी दुई कमरेडले नेपाली जनता र नेपाली समाजलाई मुक्त बनाउने सपना देखे । गङ्गालालले राणाशाहीसँग आफ्नु ज्यान भिख मागेनन् बरु फाँसीमा झुन्डिन तयार भए । इतिहासको पानामा गङ्गालालको नाउँ जुगजुगभर सुनौलो–सुनौलो छ । यिनलाई सम्झँदा पनि हामीले गर्ने हरविद्रोह सार्थक हुन्छन्जस्तो लाग्छ ।

कमरेड पुष्पलालले २००६ सालमा बनाएको कम्युनिस्ट पार्टीमा छौँ हामी । तर पुष्पलालको बाटोलाई सही ढङ्गले अँगाल्न नसकेकैले आन्दोलन, युद्ध र क्रान्तिहरु कवि पूर्ण विरामले भनेझैँ बारम्बार अलपत्रमा पर्दै र पारिँदै आएका छन् । अहिले पनि यसैको त्रास बढिरहेको छ । यसैको समीक्षा गर्न आइपुगेका छौँ हामी भँगेरी । कम्युनिस्ट आन्दोलनको आदर्शलाई कसरी जीवित राख्न सक्छौँ ? यो आन्दोलनलाई कसरी उचाइ दिन सक्छौँ ? समीक्षा गर्नुछ भँगेरीमा । रनजोर र सुकाजोरका पाखा हेर्दै उक्लिरहेछौँ मच्छेडाँडी हुँदै बाबियाखर्कको उकालो । बाटो पिच भएको छ । तलभन्दा माथि अलि हरिया बन देखिन्छन् । अलिपर त लालीगुराँस पनि फुलेको छ ।

भँगेरी पुगियो । पुष्पलालको सालिकनेर उभियौँ हामी । अशोक सुवेदीको पहलमा नरेन्द्र भण्डारीको सीप उत्रिएको छ यो संयुक्त सालिकमा । यो सालिकले भँगेरी र पुष्पलालको इतिहासलाई जोडेको महसुस हुन्छ । त्यहाँ पुग्दा इतिहासको रातो पाटोलाई आँखैअगाडि देखेजस्तो लागिरहन्छ ।

कार्यक्रम सुरु भयो । परिचय गरियो । केही ऐतिहासिक किताबहरूको लोकार्पण र पुनः विमोचनजस्तो भयो । जनक्रान्तिले जन्माएको मेरो कृति ‘हिरासतका दिन’ पनि स्वविमोचन गरियो । एउटा ऐतिहासिक भूमिमा उभिएर आदर्श नभुल्ने प्रण जो गर्नु थियोे, गरियो ।

कमरेड सुदर्शनले क्रान्तिको झन्डालाई कुनै हालतमा झुक्न नदिने प्रण गर्नुभयो । केही अन्तरविरोधका कुरा पनि खोल्नुभयो । छोटो तर महत्वपूर्ण कार्यक्रम भयो ।

कमरेडहरूका मोबाइल अन्त्यन्तै व्यस्त भएका थिए । राजनीतिमा आइरहेको फेरबदलले कमरेडहरूलाई व्यस्त बनाइरहेको थियोे । कुरा के हो ? भनेर मलाई पनि फोन आइरहेकै थिए । ‘एकीकृत जनक्रान्ति’ का एक नेता खड्गबहादुर विक पार्टी निर्णयविपरीत पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेको विषय सनसनीपूर्ण बनिरहेको थियो ।

भँगेरीबाट तल ओर्लने कार्यक्रम सुरु भयो । सिरसिर बतास चल्न सुरु भयो । तातेको राजनीतिले हामीलाई सेलाउन दिएन ।

अशोक कमरेडको घर सिर्जनानगर आइपुगेपछि त्यहाँ कम्युनकै वातावरण हुन्छ । सामूहिक रूपमा खाना पकाउने, सामूहिक खाने, सामूहिक चिन्तन गर्ने । वैज्ञानिक समाजवादको अभ्यास गर्ने थलोजस्तै बनेको छ सिर्जनानगर । यहाँ सङ्ग्रहालय पनि बनेको छ । जनयुद्धका अमूल्य निधि जोगाउन सङ्ग्रहालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सभ्यताको विकासका क्रममा गाउँघरमा प्रयोग भएका लोपोन्मुख पुराना सामग्री पनि सङ्ग्रहालयले जोगाएकै छ ।

अहो, कस्तो गर्मी ! ढुण्डीराज आत्तिए । बजारतिर घुम्न जाऊँ न त– मेरो प्रस्ताव भयो । यो प्रस्ताव त्रिपक्षीय बनाउन खेम थपलिया पनि राजी भए ।

विनिताचोकमा मदन भण्डारी र जीवराज आश्रितको भव्य सालिक बनाइएको छ तर चोकलाई एउटी श्रमिक बालिका, होटेल सञ्चालककी छोरी विनिताको नाउँमा पुकारिन्छ विनिता चोक भनेर । कुनै समय चलेको होटेल रहेछ विनिता । अहिले पनि चोकको नाउँ विनिता नै छ । इतिहासबाट हठात् लोप हुँदैनन् इतिहासका सन्दर्भहरू । रामेछापको मन्थलीमा विनिता चोक साक्षी छ ।

त्यहीँ बसेर चिया खाइयो । खेमले आफूले बल्ल राजनीति बुझ्न थालेको तर्क पेस गरे । राजनीति त तामाकोसीको पानीजस्तो हुन्छ । रमाइला ढुण्डीराजले वातावरणलाई ठट्यौलो बनाए । मैले भनेँ– समाजले आफ्नु स्तरअनुसारको क्रान्ति जन्माउँछ । नत्र क्रान्ति थाम्न सकिँदैन ।

खेमले केही सिद्धान्त र केही व्यवहारका जोडजाड कुरा गरे । स्कुल विभागका दुःख सुनाए । प्रलेसमा छिरेको लेस संस्कृतिको सन्दर्भ कोट्टियो । उनको पुस्तक प्रलेसले बजारमा प्रलेसको मृत्युको बहस सिर्जना गरिरहेको छ ।

गर्मी अलि हटेको थियोे । गोधूलि साँझमा बत्तीहरू बल्न थालेका थिए । बजार दीपावली भएको साँझझैँ भएको थियोे ।

हामी कुरा गर्दै फर्कियौँ हिात–जून युद्ध–कला सङ्ग्रहालयतिर । केही विचार त सङ्ग्रहालयमा राख्न मात्र काम लाग्छ । त्यस्तै तर्क भए । विचार मन्थनहरू भइरहे ।

तामाङ भरियाहरूले रूखमुनि बसेर थकान मार्ने मुकाम, माझीहरूले जाँड खाने चौतारोको विकसित र परिमार्जित रूप ‘मन्थली’ को कथा फेरिएको छ । दलाल पुँजीवादले आक्रान्त छ मन्थली पनि । क्रान्ति खोजिरहेका हजारौँ बस्तीमध्ये यो पनि एउटा बस्ती हो । यो सिर्जनानगर हो ।

प्रकाशचन्द्र ढकालदेखि विनोद सुवेदीसम्मका पात्रहरूसँग गफगाफ भए । सुखदुःखका कुरा भए ।

त्यो रात सपनाहरू देखिए । एक कमरेड ऐँठनमा परे । ढकालजी ऐँठनमा परेका थिए ।

भोलिपल्ट हाम्रा प्रिय कमरेड अराप पनि आइपुगे । उनी आइपुगेपछि वातावरणमा रौनक छाउँछ । एक प्रकारले ख्यालठट्टाको स्थिति बन्छ । सुवेदी, अधिकारी, पौडेलको त्रिपक्षीय ठट्टा सुरु भयो । वातावरणले मौनतालाई तोड्यो । कमरेड सुदर्शनका गम्भीर चिन्तन पनि सँगै मिसिन्थे ।

दिउँसो कविता प्रतियोगिताको वातावरण बन्यो । असल छोरा–बुहारी अभिनन्दनदेखि जूनमाया सौगात वितरणसम्मका कार्यक्रम भए । समाजलाई अग्रगामी दिशामा अगाडि लैजान दोस्रो दिनको कार्यक्रमको झनै महत्वपूर्ण भूमिका थियोे । समाजमा खासै महत्व नपाउने मजदुर, सधैँ श्रममा घोटिएर पनि जस नपाउने बुहारी, असल ज्यामी र खेतालाहरूलाई कमरेड अशोकले सम्मान गर्ने थिति बसाल्नुभएको थियोे । सिर्जनानगरमा यसले तरङ्ग ल्याएको छ । परम्परागत श्राद्ध गरेर लोकरिजाइ गर्नेहरूलाई यो नयाँ थितिले पाठ सिकाउँदै लगेको छ । समाजमा नयाँ थिति बस्दैछ, नयाँ संस्कृति बन्दैछ । श्रम, श्रमिक र श्रमका पर्याय अग्रजहरूको सम्मानले समाजवादको अभ्यास गराएको छ । संस्कृति आफैँ फेरिँदैन । यसको लामो प्रक्रिया हुन्छ । यसैले समाजमा सांस्कृतिक रूपान्तरणको विषय ज्यादै जटिल बन्छ । अशोकहरूले गरेजस्तै वैकल्पिक संस्कृति निर्माण आजको आवश्यकता हो । संस्कृति आफैँले बदल्ने कुरा हो । यो अरूको भर परेर हुने कुरा होइन ।

कार्यक्रम भव्य भयो । त्यहीँ प्रिय मित्र झनक श्रेष्ठले आफ्नु घरसम्म जाने निमन्त्रणा दिनुभयो । मन्थलीबाट दुई घण्टाको यात्रापछि पुगिने रहेछ उहाँको गाउँ । ओखलढुङ्गासँग जोडिएको गाउँ रहेछ ।

कमरेड सुदर्शन, सरला, पूर्ण, खेम, आकाशलगायतको टोलीसहित लागियो उनको गाउँतिर । रामेछापको माथिमाथि अलिअलि हरिया डाँडातिर देखिए । कुहिरो देखियो । भीर देखियो । देखियो कुहिरोले छोपिएको उनको गाउँ ।

पूर्ण सिंहका हाइडोज चुट्किलाहरूले वातावरणलाई रमाइलो बनायो । राजनीतिक तनावबीच हाँस्यौँ । ग्रामीण भेगका जीवनसँग जोडिएका ती चुट्किलाहरू हाम्रा मर्म पनि थिए । सिङ्गो पहाडको कथा पनि थियोे जुन कथा फेर्न हामी महासमरको यात्रामा लामबद्ध भएका हौँ ।

कमरेड सुदर्शन झनकका ससुरा बा हुन् । केही वर्षअगाडि विपना ओली र झनक श्रेष्ठको बिहेमा उपस्थित भएको पल हिजो जस्तो लाग्छ । विप्लवले दिएको शुभकामना ताजा भएर आउँछ । ती दिनका कलिला झनक कलिला नै छन् । हाम्रो लामो यात्रा अगाडि बढिरहेकै छ ।

सम्धी÷सम्धिनीसँग भेट गरे सुदर्शनले । अनेकौँ तनावका बीच पनि उनी खुसीजस्ता देखिए ।

माओवादी आन्दोलनभित्र एकजना इमानदार नेता हुन् सुदर्शन । विचार र दर्शनका क्षेत्रमा अग्ला स्तम्भ सुदर्शन कार्यकर्तालाई आदर र सम्मान गर्छन् । म नेता हुँ भनेर कार्यकर्तामा दूरी कायम गर्ने पात्र होइनन् सुदर्शन । तीनबुँदेपछि एक नेताले भनेको सम्झन्छु– कोही पनि नेतासँग नभेट्नू । कम्युनिस्ट पार्टीमा सामन्ती समाजमा जस्तो श्रेणी हुँदै गर्दा म सुदर्शनलाई सम्झन्छु । यात्राभरि सुदर्शनसँग अनेकौँ बहस भए ।

रमाइलो गाउँ र स्कुल देखेपछि मैले आफ्नु बाल्यकाल सम्झेँ । ती पुराना दिनहरूले गहिरा सम्झना आए । साथीहरू सम्झेँ । ती चैतका बिहानी कक्षाहरू सम्झेँ ।

खाने–बस्ने वातावरणमा गाउँलेपन छ । शीतल वायु चलिरहेको छ । ग्रामीण जीवनको सौन्दर्यबोध छ । अनेकौँ तनाव त गाउँलाई नै तर गाउँ निश्छल हाँसोसहित हाँसेकै छ ।

आज चैत २६ गते हो । कमरेड अशोकले बाबाआमाको स्मृतिमा यस वर्ष पनि भलिबल प्रतियोगिता राख्नुभएको छ । त्यही कार्यक्रम भ्याउन हामी हतारहतार मन्थली सिर्जनानगर आइपुगेका छौँ । गाडीमा अनेकौँ राजनीतिक बातचित भएका छन् ।

कमरेड सुदर्शनले भलिबल प्रतियोगिता उद्घाटन गरे । खेलाडीहरू अत्यन्तै उत्साहित देखिए । सुदर्शन र पूर्णले राजनीति र खेलकुदका सन्दर्भमा छोटो भनाइ राखे । छोटो कार्यक्रम सकियो । एकप्रकारको नयाँ तरङ्ग उत्पन्न भयो सिर्जनानगरमा । यात्रा रोचक, रमाइलो र सानदार भइरहेको छ ।

वातावरण खुलेको छ । निरन्तर क्रान्तिको यात्रामा लामबद्ध पार्टीमा चुनावको पक्ष र विपक्षमा मत व्यक्त भइरहँदा र क्रान्ति र प्रतिक्रान्तिका छाया–प्रतिच्छाया देखिइरहेका छन् । क्रान्तिकारी धु्रवमा नयाँ खालको चुनौती देखिने अवस्था उत्पन्न भएको छ । यही कुराको समीक्षा गर्दै सिर्जनानगरसँग फेरि भेट्ने र समाजवादको थप उच्च अभ्यास गर्ने प्रण गर्दै फर्कियौँ हामी ।

फर्कंदा बाटोमा नेकपा काभ्रेका साथीहरूले छोटो भेटघाट कार्यक्रम राखेका रहेछन् । साथीहरूसँग भेटघाट र खाजा खाने कार्यक्रम बन्यो । हामी केहीबेर अल्मलियौँ । एक सामाजिक भाइले त्यहाँ ढिलो भयो, म देशको एउटा युवा हुँ, समय जानेको छु भन्न थालेपछि झनकजीले उनलाई अर्को गाडी चढाइदिए ।

हामी केही समय बस्यौँ । पानी पर्यो । पानी परिरह्यो । असिना हेर्दाहेर्दै भक्तपुर आइपुगियो । कोटेश्वर आइपुगेपछि केही मित्रहरू छुट्नुभयो ।

रमाइलो र प्रेरणादायी यात्रा डिल्लीबजारमा रहेको रामेछाप चिया पसलमा आइपुगेपछि तेस्रो अन्त्यको चरणमा पुग्यो । चर्चित वामपन्थी लेखक नरेन्द्रजङ्ग पिटर त्यहीँ आइपुगे । मैले उनलाई चिया खान अनुरोध गरेँ । उनले स्तम्भ लेख्दा आउने धम्की र निर्भीक लेखक कस्तो हुन्छ भन्ने विषयमा बेलिबिस्तार लगाए । उनले भने– सहिदहरू उत्पादन गर्ने केन्द्र बन्यो माओवादी आन्दोलन ।

उनले भनेजस्तै सहिदहरूको सपना र आदर्श मर्न नदिने कुरा मुख्य भएको छ । यसका लागि सम्झौता र पलायनवादी चिन्तनसँग विद्रोह आवश्यक छ । यो यात्राले विगतमा झैँ हामीलाई न्यायका लागि सदैव विद्रोही बन्ने प्रेरणा दिएको छ ।

२७ चैत, २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :