के हो जनवादी केन्द्रीयता

जनवादी केन्द्रीयता कम्युनिस्ट पार्टी सञ्चालनको नीति तथा सिद्धान्त महान् लेनिनले प्रतिपादन गरेका थिए । आजसम्म त्यसै सिद्धान्तका आधारमा हरेक कम्युनिस्ट पार्टीहरू सञ्चालित र परिचालित हुने गरेका छन् । त्यही सङ्गठनात्मक सिद्धान्तका विधिलाई लेनिनवादी सङ्गठनात्मक सिद्धान्त भनिन्छ । लेनिनले सङ्गठनात्मक सिद्धान्तहरूको चर्चाका सिलसिलामा जनवादी केन्द्रीयतामाथि अत्यन्त जोड दिएका छन् तर अर्कोतिर त्यसलाई यान्त्रिक रूपमा ग्रहण गर्ने कुराको जोडदार किसिमले विरोध गरेका छन् । संसारका विभिन्न देशहरूमा जनवादी केन्द्रीयतासम्बन्धी सही समझदारीको अभावको परिणाम के भएको छ भने यो दक्षिणपन्थी अवसरवादीहरूका हातमा क्रान्तिकारी कम्युनिस्टहरूलाई हाँक्ने, यसरी उनीहरूलाई गैरक्रान्तिकारी रूप र दिशा दिने र उनीहरूलाई उपयोग गर्ने एउटा शक्तिशाली हतियार भएको छ ।

लेनिनको केन्द्रीयतासम्बन्धी द्वन्द्वात्मक दृष्टिकोणले माओको नेतृत्वमा चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्तिका क्रममा उच्चतम् रूपमा विकास गर्यो । जनवादी केन्द्रीयतासम्बन्धी अधिभूतवादी दृष्टिकोणको परिणामस्वरूप विभिन्न प्रकारका अवसरवादीहरूले क्रान्तिकारी कम्युनिस्टहरूबाट नाजायज फाइदा उठाउन नपाऊन् भन्नाका लागि सच्चा कम्युनिस्टहरूले जनवादी केन्द्रीयताबारे सही लेनिनवादी समझदारी अपनाउनु आवश्यक छ । जनवादी केन्द्रीयतालाई सही रूप दिनलाई दुईवटा कुरा आवश्यक हुन्छन् : प्रथम, त्यो सिद्धान्त र सर्वहारा क्रान्तिका हितहरूअन्तर्गत हुनुपर्दछ; द्वितीय, त्यसले जनवादी र अन्तरपार्टी सङ्घर्ष अधिकारको रक्षा गर्नुपर्छ ।

लेनिनले जनवादी केन्द्रीयताको व्याख्याको सिलसिलामा के कुरामा जोड दिएका छन् भने प्रथम महाधिवेशनका निर्णयहरू र त्यसमा सम्पन्न चुनावहरू पार्टीका निर्णयहरू हुन् र सबै पार्टी सङ्गठनहरूमाथि लागू हुन्छन्, जुनसुकै बहानामा पनि कसैद्वारा त्यसलाई चुनौती दिन सकिन्न । अर्को महाधिवेशनमा नै तिनीहरूलाई काट्न सकिनेछ वा संशोधन गर्न सकिनेछ । उल्लेखनीय छ, यो भनाइ द्वितीय महाधिवेशनद्वारा स्वीकृत पार्टी नियमावलीको हो र त्यसलाई लेनिनले आफ्ना रचनामा उद्धृत गरेका छन् । द्वितीय, केन्द्रीय समितिका निर्णय र निर्देशनहरू पूरै पार्टीमाथि लागू हुन्छन् तर उक्त दुवै प्रश्नहरूमा लेनिनको दृष्टिकोण अधिभूतवादी वा यान्त्रिक नभएर द्वन्द्वात्मक छ । लेनिन माथिका दुवै कुराहरूमा निरपेक्ष किसिमले विचार नगरेर सम्बन्धित परिस्थितिमाथि ध्यान राखेर विचार गर्ने कुरामा जोड दिन्छन् । चतुर्थ महाधिवेशन जसलाई एकता महाधिवेशन भनिन्छ, त्यसमा मेन्सेबिकहरूको बहुमत भयो । त्यसमा उनीहरूको बहुमत कुन कारणले हुन गयो भने जस्तो कि सोभियत सङ्घ कम्युनिस्ट पार्टीका इतिहास (बो) मा भनिएको छ, ‘१९०५ मा मेन्सेबिकहरूले आफ्नो पङ्क्तिमा ठूलो सङ्ख्यामा निम्नपुँजीवादी बुद्धिजीवीहरूलाई भर्ना गरेका थिए । क्रान्तिकारी माक्र्सवादसित यिनीहरूको कुनै पनि सम्बन्ध थिएन । यसप्रकारका कैयौँ कुराहरूको परिणाम के भयो भने स्टकहोम काङ्ग्रेसमा मेन्सेबिकहरूको बहुमत रह्यो, यद्यपि त्यो नगण्य थियो ।’ यसरी स्पष्ट छ, मुख्यतः क्रान्तिकारी माक्र्सवादसित कुनै पनि सम्बन्ध नभएका निम्नपुँजीवादी बुद्धिजीवीहरूलाई मेन्सेबिकहरूले प्रतिनिधिका रूपमा ल्याएको हुनाले नै त्यो महाधिवेशनमा उनीहरूको बहुमत भएको थियो र त्यसले कैयौँ प्रश्नहरूमा गलत निर्णयहरू लियो । महाधिवेशनमा त्यो अवस्थामा लेनिनले महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरूका तर्फबाट पार्टीका नाममा प्रसारित एउटा अपिलमा यो मत प्रकट गरे– हामीले महाधिवेशनका ती निर्णयहरू जसलाई हामीले गलत ठान्दछौँ तिनका विरुद्ध सङ्घर्ष गर्नुपर्छ र गर्नेछौँ तर त्यसका साथै पूरै पार्टीका अगाडि हामी यो घोषणा गर्दछौँ– हामी कुनै पनि फुटका विरुद्ध छौँ ।

हामी महाधिवेशनका निर्णयहरूलाई मान्ने पक्षमा छौँ तर त्यसका साथै पार्टीसित सम्बन्धित प्रश्नहरूमा व्यापक र स्वतन्त्र बहस हुनुपर्दछ । कमरेड्ली आलोचना र पार्टीजीवनका घटनाहरूको सिंहावलोकन हुनुपर्छ । हामीले पार्टीका सबै सदस्यहरूलाई महाधिवेशनका निर्णयहरूबारे सावधानीपूर्वक सिंहावलोकन गर्न अनुरोध गरेका छौँ । यो विचार सामान्य रूपमा हेर्दा लेनिनले पहिले द्वितीय महाधिवेशनपछि स्पष्ट गरेका विचार, अर्थात् अर्को महाधिवेशनभन्दा पहिलो महाधिवेशनका निर्णयहरू र चुनावलाई चुनौती दिन पाइन्न भन्ने विचारसित विरोधाभास भएजस्तो देखिन्छ तर कुरा त्यसो होइन । त्यसले दुईवटा कुरा बताउँछ : प्रथम, कुनै कुरालाई हेर्ने उनको द्वन्द्वात्मक दृष्टिकोण; द्वितीय, आवश्यकताअनुसार आफ्ना विचारहरूमा सिर्जनात्मक विकास गर्ने उनको पद्धति । उनका विचारहरूलाई ठीकसँग बुझ्नका लागि उक्त दुवै कुराहरूलाई ख्याल राख्नुपर्छ ।

तर कतिपय मानिसहरू लेनिनका विचारहरूलाई समग्र र द्वन्द्वात्मक अर्थमा बुझ्नुको सट्टा उनका रचनाहरूवाट एउटा वा अर्को विचार टिपेर प्रस्तुत गर्दछन् । त्यसरी उनीहरूले जुन निष्कर्षहरू निकाल्छन्, ती प्रायजसो स्वयम् लेनिनवादी सिद्धान्तहरूका विरुद्ध हुन्छन् । अवसरवादीहरूले प्रायजसो त्यही गलत र अधिभूतवादी तरिका अपनाउँछन् । लेनिनले केन्द्रीय समितिको निर्णय पूरै पार्टीमाथि लागू हुने नियमलाई पनि निरपेक्ष र अधिभूतवादी किसिमले लिएका छैनन् । केन्द्रीय समितिलाई त्यसप्रकारको अधिकार पूरै पार्टीमाथि आफ्नो निर्णय र निर्देशनहरूलाई लागू गर्नेअधिकार त्यो बेला नै हुन्छ जब त्यो केन्द्रीय समिति स्वयम् अनुशासनमा बस्छ ।

तर त्यसले स्वयम् अनुशासनको उल्लङ्घन गर्न थालेपछि त्यसका निर्णयहरू वा निर्देशनहरू पनि अवैधानिक हुन्छन् ।

त्यो अवस्थामा तल्ला समिति वा पार्टी सदस्यहरू ती अवैधानिक निर्णयहरू मान्न बाध्य हुन्नन् । लेनिन लेख्छन्– केन्द्रीय समितिका निर्णय र निर्देशनहरू पूरै पार्टीमाथि लागू हुने कुरा महाधिवेशनका निर्णयहरूको सीमाभित्र नै लागू हुन्छन् । १९०६ मा केन्द्रीय समितिले जसमा मेन्सेबिकहरूको बहुमत थियो कैडेटहरूसित गठबन्धन गर्ने निर्णय गर्यो त्यो कुराको चर्चा गर्दै लेनिनले लेख्छन्– त्यसले मेन्सेबिकहरू पार्टीको अवसरवादी पक्ष भएको कुरा प्रस्ट ग¥यो । हामीले क्याडेटहरूसित गठबन्धन गर्ने कुराका विरुद्ध निर्मम सङ्घर्ष चलाइराखेका छौँ र त्यो सङ्घर्ष सम्भव भएसम्म व्यापक रूपमा चलाउनु पर्दछ ।

महाधिवेशनले क्याडेट मन्त्रिमण्डलमाथि दबाब हाल्ने, उपयोग गर्ने र विरोध गर्ने निर्णय गरेको थियो । तर त्यो भनाइको तोडमोड गरेर उनीहरूले गठबन्धन गर्ने निर्णय गरे । त्यो निर्णय महाधिवेशनको स्पिरिटका विरुद्ध थियो । त्यसकारण लेनिनले यो स्पष्ट गरे– महाधिवेशनका निर्णयहरूका घेराहरूभित्र रहेर त्यो निर्णयको विरोध गर्नु हाम्रो अधिकार र कर्तव्य हुन्छ ।

पार्टीभित्र एकता र सङ्घर्षका बीचमा कसरी सन्तुलन कायम गर्ने, त्यो प्रश्नमाथि प्रकाश पार्दै लेनिन लेख्छन्– सैद्धान्तिक सङ्घर्ष र सर्वहारा पार्टीको अनुशासनलाई कसरी कार्यको एकता, बहस आलोचना आत्मालोचना, स्वतन्त्रता र अनुशासन नै अग्रीम वर्गको योग्य हुन्छ ।

यो लेनिनवादी सिद्धान्तले सर्वहारा पार्टी द्वन्द्वात्मक प्रकृतिमाथि राम्ररी प्रकाश पार्दछन् । लेनिनले सर्वहारा वर्गको सङ्गठनलाई सधैँ अत्यन्त महत्व दिए । लेनिन भन्छन्– सङ्गठन सबै थोक हो । तर यो कुरालाई पनि लेनिनले यान्त्रिक अर्थमा हेर्दैनन् । लेनिन लेख्छन्– सङ्गठनको अर्थ हो कार्यको एकता, व्यावहारिक कामहरूमा एकता । तर निश्चय पनि कुनै कार्य मूल्यवान् खालि त्यो बेला, त्यसकारण त्यो बेलासम्म यसले कामहरूलाई अगाडि बढाउन मद्दत गर्छ , पछाडि हटाउन होइन; जबसम्म यसले सर्वहारा वर्गलाई सैद्धान्तिक रूपले एकताबद्ध पार्न माथि उठाउन मद्दत गर्दछ तर त्यसलाई गिराउने भ्रष्ट बनाउने वा कमजोर पार्न होइन । सिद्धान्तमाथि आधारित नभएको सङ्गठन अर्थहीन हो र व्यवहारमा मजदुर वर्गलाई सत्तारूढ पुँजीपति वर्गको औजारमा बदल्छ । त्यसकारण सर्वहारा वर्गले बहस र आलोचना र आत्मालोचना स्वतन्त्रता कार्यको एकतालाई समर्थन गर्छ । त्यसकारण वर्ग सचेत मजदुरहरूले कहिल्यै पनि बिर्सन हुन्न कि सिद्धान्तहरूको गम्भीर उल्लङ्घनले सबै सङ्गठनात्मक सम्बन्धहरूको विच्छेदलाई कार्यकारी बनाउँछन् । यसरी लेनिनले सिद्धान्तहरूको गम्भीर रूपले उल्लङ्घन भएपछि जनवादी केन्द्रीयता र अनुशासनलाई पालन गर्ने कुरा परै छ ।

सङ्गठनसित नै सम्बन्धविच्छेदमा जोड दिन्छन् र त्यो अवस्थामा विद्रोहलाई पनि उचित ठह¥याउँछन् । अनुशासन र जनवादी केन्द्रीयतालाई अधिभूतवादी वा यान्त्रिक अर्थ अपनाउने कुराको लेनिन कति घोर विरोधी रहेछन् । त्यसबाट सिद्धान्त तथा पार्टी तथा क्रान्तिका हितहरूभन्दा माथि अनुशासनलाई राख्ने कुरासित लेनिनवादको टाढाको सम्बन्ध नरहेको कुरा हो ।

विद्रोहबारे पनि लेनिनले क्रान्तिकारी किसिमले विचार गर्दछन् । उनी लेख्छन्– जब क्रान्तिकारी पक्षले अवसरवादी पक्षका विरुद्ध सङ्घर्ष गर्दछ, त्यो राम्रो कुरा हो । जब अवसरवादी पक्षले क्रान्तिकारी पक्षका विरुद्ध विद्रोह गर्दछ, त्यो नराम्रो व्यवहार हो ।

यसरी लेनिन कुनै पनि कुरामाथि विचार गर्दा कोरा सैद्धान्तिक किसिमले विचार नगरेर सर्वहारा क्रान्तिको प्रश्नलाई सबै भन्दामाथि राख्दछन् र क्रान्तिलाई मद्दत पुर्याउने कुरालाई राम्रो तथा नोक्सान पुराउने सबै कुराहरूलाई खराब भन्छन् ।

लेनिनले पार्टीको अन्तरसङ्घर्षका क्रममा सबै व्यक्तिगत कटुता, गुटहरूका कलह, झगडाहरू, दुव्र्यवहारहरू र फुटहरूलाई क्रान्तिकारीहरू र अवसरवादीहरूका दुई कार्यनीतिका तुलनामा क्षुद्र कुरा भन्छन् । लेनिन लेख्छन्– इतिहासको विकासक्रममा हाम्रा झगडा र फुटहरू बिर्सिनेछन् । कार्यनीतिक सिद्धान्तहरूमा लेनिन आफ्ना रचनाहरूमा ट्याक्टिस शब्दलाई पनि रणनीतिका अर्थमा बुझ्छन् । रुसको समाजवाद र मजदुर आन्दोलनको इतिहासमा आधारशिलाका रूपमा रहनेछन् । त्यसरी लेनिनले दुई लाइनको सङ्घर्षका क्रममा अन्य सबै कुराहरूलाई क्षुद्र बताए र सिद्धान्तको पक्षलाई सर्वोपरि राखे । त्यही सिद्धान्तअनुरूप पछि माओले राजनीतिलाई सबै कुराहरूभन्दा माथि राख्ने कुरामा जोड दिए ।

लेनिनले रूसका मेन्सेबिकहरू वा अन्य देशहरूका पार्टीमा दुई लाइन सङ्घर्षमा सैद्धान्तिक पक्षलाईभन्दा अन्य विषयहरूलाई माथि राख्ने कुराहरूको हमेसा विरोध गरे र त्यसलाई असैद्धान्तिक कुरा भने । माओले लेनिनको अन्तरपार्टी सङ्घर्षसम्बन्धी द्वन्द्वात्मक सोचाइलाई अझ अगाडि बढाए र त्यसलाई उच्चतम् रूपमा पु¥याए । माओले एकपल्ट एकजना कमरेडसित सोधेका थिए– केन्द्रीय समितिमा संशोधनवाद देखाप¥यो भने तिमी के गर्नेछौ ? यसबारे माओले आफ्नो विचार यसरी प्रकट गरेका छन्– हाम्रो सधैँ यो विचार रहेको छ, जब केन्द्रीय समितिहरूले खराब काम गर्दछन्, म स्थानीय सङ्गठनहरूलाई विद्रोह गर्न र केन्द्रमाथि आक्रमण गर्न आह्वान गर्नेछु । उनले त्यो कुरालाई अरू स्पष्ट गर्दै भने– मार्क्सवादमा हजारौँ सत्यहरू छन् तर ती सबैलाई एउटै वाक्यमा भन्न सकिन्छ : विद्रोह गर्नु न्याय हो ।

जब चीनमा केन्द्रीय समितिमा संशोधनवादीहरूको नेतृत्व कायम भयो माओले महान् सर्वहारा सांस्कृतिक क्रान्ति सुरु गरे र केन्द्रीय कार्यालयमाथि बम बर्साऊ जस्ता क्रान्तिकारी नारा दिए । माओले जब पार्टीको दक्षिणपन्थी संशोधनवादी नेतृत्वका कारणले क्रान्तिका उपलब्धिहरूमाथि गम्भीर खतरा देखे, पार्टीभित्रको सङ्घर्षलाई सडक र आमजनतामा पुर्याए । त्यो महान् सर्वहारा सांस्कृतिक क्रान्तिको मूर्त रूप थियो । उनले क्रान्तिको हित र पार्टीको अनुशासनभन्दा माथि राखेका थिए सांस्कृतिक क्रान्तिलाई भन्ने कुरा यसबाट नै प्रस्ट हुन्छ । संसारभरिका कम्युनिस्टहरूले यसबाट शिक्षा ग्रहण गर्नुपर्ने अवस्था आएको छ । पार्टीको सङ्गठन र अनुशासन सर्वहारा क्रान्तिलाई अगाडि बढाउनका लागि हुन्छ । त्यसमा संशोधनवादीहरूको प्रभुत्व कायम हुन्छ भने त्यसप्रकारको सङ्गठन क्रान्तिकारीहरूका लागि कुनै अर्थ र महत्व राख्दैन । जनवादी केन्द्रीयताप्रतिको त्यसप्रकारको यान्त्रिक र अधिभूतवादी दृष्टिकोण वास्तवमा विश्व–क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको पतनको एउटा मुख्य कारण बनेको छ र आज जनवादी केन्द्रीयताले विश्वव्यापी रूपमा क्रान्तिहरू संशोधनवादीहरूको सेवा गर्न पुगेको छ ।

विश्व कम्युनिस्ट आन्दोलनको अनुभवबाट संसारभरिका कम्युनिस्टहरूले शिक्षा लिएर प्रथम त्यसलाई सिद्धान्त र क्रान्तिको हितहरूका अधीन राख्ने, द्वितीय त्यसलाई जनवाद र अन्तरपार्टी सङ्घर्षको अधिकारको सीमाभित्र नै बुझ्ने, ग्रहण गर्ने र पालना गर्नु पर्दछ । त्यो अवस्थामा जनवादी केन्द्रीयताले सही, यथार्थवादी र क्रान्तिकारी रूप लिनेछ, क्रान्तिको सेवा गर्ने र क्रान्तिलाई अगाडि बढाउनेछ । माक्र्सवाद–लेनिनवाद–माओवादको विकास र पार्टीमा देखापर्ने दक्षिणपन्थी नेतृत्वका विरुद्व विदोहमा उत्रिनु र सङ्घर्षलाई तीव्र पार्नु हो । समाजवादी क्रान्तिहरू विश्वमा सफल र असफल भएका देशहरूमा पनि दक्षिणपन्थी तत्वहरू एकपल्ट ठूलो भागले जनवादी केन्द्रीयता र अनुशासनप्रतिको यान्त्रिक वा अधिभूतवादी दृष्टिकोणका कारणले उनीहरूको नेतृत्वलाई र उनीहरूका गैरक्रान्तिकारी निर्णय र निर्देशनहरूलाई स्वीकार गर्ने गर्दछन् ।

यो पृष्ठभूमिमा कोरा प्रकारका जनवादी केन्द्रीयता र अनुशासन होइन तर तिनीहरूबारे लेनिनवादी मान्यताहरूको पुनस्र्थापना कम्युनिस्ट पार्टीका लागि निर्णायक महत्वको कुरा बन्न गएको छ । जनवादी केन्द्रीयतामा हरेक सदस्यलाई समितिभित्र खुलस्त रूपमा धक फुकाएर छफफल गर्ने अधिकार हुन्छ । हरेक पार्टी सदस्यहरूलाई मनमा लागेका कुराहरू व्यक्त गर्न दिनुपर्दछ र उपल्लो समितिबाट आएका सर्कुलरहरू वा निर्देशनमा चित्त नबुझे त्यसबारे सोही समितिभित्र छलफल चलाउनु र त्यो कुरा उपल्लो समितिमा पठाउन पाइन्छ । केन्द्रीय समितिले पनि त्यसमा नियन्त्रण गर्न पाउन्न र त्यसो गर्नु पार्टीको विधान र दस्ताबेजविरुद्वको कुरा र नोकरशाही कुरा हुन्छ । कुनै उच्च समिति वा केन्द्रीय समितिले त्यसो गरेमा त्यसले पार्टीको एकता वा अनुशासनलाई कमजोर पार्दछ र पार्टी तथा क्रान्तिलाई गलत दिशामा लैजान्छ । त्यो स्थितिमा त्यसका विरुद्ध सङ्घर्षमा उत्रिनु सबै पार्टी सदस्यहरूको कर्तव्य हुन्छ । केन्द्रीय नेताहरूको आलोचनालाई दबाउने वा बदला लिने नीतिलाई अनुशासनको उल्लङ्घन र त्यसका विरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्नुपर्ने कुरामा जोड दिएको छ ।

महान् सर्वहारा सांस्कृतिक क्रान्तिले केन्द्रीयता र जनवाद, अनुशासन र स्वतन्त्रता दुवैमा जोड दिएर वास्तवमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको स्पिरिटलाई पकड्ने प्रयत्न गरेको थियो । दक्षिणपन्थी अवसरवादीहरूले आलोचनालाई दबाउनका लागि नै त्यसप्रकारको नोकरशाही र प्रतिशोधात्मक व्यवहार गर्दछन् । माओको नेतृत्वमा सुरु भएको महान् सर्वहारा सांस्कृतिक क्रान्तिले सिद्धान्त सङ्गठनसम्बन्धी लेनिनवादी सिद्धान्तहरूको विकसित रूप हो र कुनै पनि देशमा पार्टीलाई राजनीतिक वा सङ्गठनात्मक रूपमा गलत दिशामा लैजाने प्रयत्नहरूका विरुद्ध सहजताका लागि यो सिद्धान्तले संसारभरिका सच्चा मार्क्सवाद– लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्तलाई स्वीकार गर्नेछ ।

विश्वका कम्युनिस्टहरूले हालसम्म लेनिनले विकास गरेको जनवादी केन्द्रीयतालाई स्विकार गर्दै आएका छन् ।

केही वर्षपहिला नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनबाट जनवादी केन्द्रीयता र सङ्गठनात्मक पद्वतिसम्बन्धी आवधिक प्रणालीको विषयलाई अगाडि सारेका थियौँ तर यसको परिणामस्वरूप दार्शनिक, राजनीतिक, वैचारिक, सङ्गठनात्मक रूपमा गलत व्याख्या गरेकै परिणाममा यसले दार्शनिक रूपले सारसङ्ग्रहवाद, राजनीतिक रूपले संसदीय संशोधनवाद, सङ्गठनात्मक रूपले निषेधात्मक अधिभूतवाद र विसर्जनवादको जन्म दिन पुग्यो र पार्टी सङ्गठनमा जनवादी केन्द्रीयता हराउँदै गयो । नेतृत्वमा नोकरशाही प्रवृत्ति एकमनावादको विकास हुँदै पार्टीपङ्क्तिमा चाकडी, चाप्लुसी गर्ने मान्छेहरूको भीड जम्मा हुन आइपुग्यो । कतिसम्म भने आफ्नु कार्यक्षेत्र भएको जिल्लामा आफ्नै गुल्लाम, चाप्लुस, मर्यादापालक हुनैपर्छ । सिद्धान्त, विचार, राजनीतिक सङ्गठानात्मक पद्धति केही होइन । पछिल्लो समयमा त नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय राजनीतिक ब्युरो पीबी र ब्युरो समितिहरू नै विघटन गरियो । जनवादी केन्द्रीयता पार्टीभित्र हुने रचनात्मक आत्मालोचना र आलोचनाको विषय हराउँदै गयो । तथ्यबाट सत्यको खोज गर्नेभन्दा पनि नेतृत्वका प्रिय सल्लाहकारहरूले सल्लाह दिएकै भरमा पार्टीभित्रका मन नमिल्ने जिल्ला तहका नेतृत्व पङ्क्तिमा रहेका कमरेडहरूलाई कुन जिल्लामा सरुवा गरिदिने हो, थाहा पनि नपाउने अवस्था आउने गरेको थियो ।

सिद्धान्त, राजनीतिक–वैचारिक–साङ्गठनिक क्षेत्रभित्र हुने नियमित जनवादी केन्द्रीयतामार्फत आत्मालोचना र आलोचनाभन्दा प्रशंसामा रमाउने गुट मानसिकताको विकासले नेपाल कम्युनिस्ट पार्टीको जीवनमा आठ वर्षसम्म पनि सङ्गठनात्मक रूपमा खासै परिणाममुखी काम हुन सकेन । यसको मुख्य कारण भनेको पार्टीभित्र जनवादी केन्द्रीयतालाई सही तरिकाले प्रयोग नगर्नु हो । सङ्गठनको अधीनभन्दा व्यक्तिको अधीनमा सङ्गठनलाई राख्नु हो । द्वन्द्वात्मक ढृष्टिकोणभन्दा प्राविधिक सोचाइले प्रथम स्थान पाउनु हो । सङ्गठनमा उठेका विषयको समाधान नहुनु हो । पार्टीका जिल्ला र केन्द्रीय समितिमा आफूलाई मनपर्ने र मेरो मान्छे भन्दै भर्ती गर्नु हो । क्रान्तिलाईभन्दा चुनावी कार्यनीतिलाई प्रधान बनाउने समस्याले पार्टी–सङ्गठनभित्र हुर्किंदै गएको सारसङ्ग्रहवाद, संसदीय सशोधनवाद, निषेधात्मक अधिभूतवाद र विसर्जनवाद, आत्मसुरक्षावाद, जुझारु अर्थवाद हुँदै पार्टी–सङ्गठन र क्रान्तिकारी आन्दोलनलाई विसर्जन गर्ने बाटोमा पुग्यो ।

प्रतिक्रिया दिनुहोस्