पुँजीवादले निम्त्याएको सङ्कट

इमन वट्लरले आफ्नो पुस्तक ‘पुँजीवाद एक परिचय’ मा ‘पुँजीवाद’ शब्दको निर्माण नै गाली गर्न भएको थियो भनेर लेखेका छन् । वर्तमान उत्तरसाम्राज्यवादको रूप पुँजीवाद हो । यसको स्वरूप आजको दुनियाँमा नियन्त्रण र अधिनायकत्व कायम राख्ने रहेको छ । यसले हरेक वस्तुमाथि आर्थिक आधारमा विभेद गर्नुका साथै सबै अधिकारको अधिकरण गर्दै एकाधिकार लागू गर्दछ । यो खुला बजार अर्थतन्त्रको जगमाथि उभिएको छ भने व्यक्तिगत मुनाफामा आधारित यसको जीवनचक्र शोषण र अतिरिक्त मूल्यको चक्रमा चलिरहन्छ । उत्पादन, वितरण र उपयोगको चक्रमा परिक्रमा गर्ने त्यसको क्रियाकलापले संसारको हरेक ठाउँमा आफ्नो पहुँच बनाएको छ ।

यसले पुँजीका आधारहरू, उत्पादनका स्रोतहरू, साधनहरू र उपभोक्तालाई पूणर् रूपले आफ्नो अधीनमा राख्दछ । विद्युतीय गतिको उत्पादन तथा साधनहरू र उपभोक्ताहरूको बजार पूणर् रूपले अधीनमा राख्छ । विद्युतीय गतिको उत्पादन तथा नक्कली प्रतिस्पर्धाद्वारा हरेक बजारलाई सर्वप्रथम नियन्त्रण गर्दै नेपालजस्ता तेस्रो विश्वका देशहरूमा रहेको निर्वाहमुखी परम्परागत उत्पादनप्रणालीलाई पूणर् रूपमा ध्वस्त बनाइदिन्छ । ती देशका आमनागरिकलाई फगत उपभोक्तामा बदल्छ साथै ती देशहरूको अर्थतन्त्रलाई समाप्त पार्दै आफ्नो अनुकूल अधीनस्थ गर्दछ ।

अल्पविकसित र सीमान्तकृत देशका सरकारहरूलाई उत्तरसाम्रज्यवादी पुँजी परिचालित गर्ने दलालका केन्द्रहरूमा परिणत हुन बाध्य पार्दछ । यस्ता देशहरूले संस्थागत रूपमा नै उत्तरसाम्राज्यवादको अस्तित्व स्वीकार गर्दछन् । त्यसैका कारण यी देशहरू आफ्नो उत्पादनप्रणाली समाप्त गर्दै जनतालाई पूणर् बेरोजगार बनाउँछन् भने पहुँचवालालाई भ्रष्टाचार गर्न निकै अनुकूल वातावरण निर्माण गर्दछन् ।

जस्तै उदारणका लागि नेपाल सरकारले फ्रान्सको कम्पनीसँग सेक्युरिटी प्रेस खरिद गर्दा ११ अर्ब रुपैयाँमा खरिद गर्न सक्ने थियो तर कमिसनको खेलले त्यसको मूल्य २७ अर्बसम पुग्यो । अझ बढेर ३८ अर्ब रुपैयाँसम्म पुर्‍याउने काम भइरहेको थियो । नीतिगत भ्रष्टाचारका लागि चर्चामा रहेका विगतका लाउडाकाण्ड, मलकाण्ड, वाइडबडी खरिदप्रकरण, पासपोर्ट छपाइको टेन्डर प्रकरण, बालुवाटारकाण्ड, एनसेलकाण्ड, बूढीगण्डकी काण्ड, चन्द्रगिरि काण्ड, दरबारमार्गको जग्गाकाण्ड आदि । पुल र सडक निर्माण ठेक्का लिएर काम नगर्दा करिब २२ सय आयोजनाबाट मात्रै राज्यको २ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी जोखिममा परेको छ ।

यी काण्डहरूले सरकार आफैँले निर्माण गरेको कानुनको अपव्याख्या गरेर सङ्गठित रूपमा समेत नीतिगत भ्राष्टाचार भएको उदाहरण स्पष्ट गरेका छन् ।

स्वयम् सरकार सञ्चालन गर्ने दल र व्यक्तिहरूले नै नीतिगत भ्रष्टाचार गरेर अकुत सम्पत्तिका मालिक भएका छन् भने उनीहरूले नै देशको गरिबीको व्यापार गर्दै देश र जनताका नाममा चर्को ब्याजदरमा खर्बौं ऋण लिएर नेपाली जनता र नेपालको भविष्यलाई दिन-प्रतिदिन सङ्कटमा पारिरहेका छन् । पुँजीवादी व्यवस्थामा मानिसको व्यक्तित्वभन्दा पुँजीको अस्तित्वमा निर्भर हुन्छ । मानिसको व्यक्तित्व हुँदैन, बरु मानिसको व्यक्तित्वलाई पुँजीले निर्धारण गरिदिन्छ । मान्छेले के पढ्ने ? कहाँ बस्ने ? के चढ्ने ?, के खाने ? र कस्तो जीवन बाँच्ने भन्नेजस्ता व्यक्तिगत चाहनामाथि पुँजीले नियन्त्रण गर्दछ । आफ्नो शरीरमाथि आफ्नो अधिकारसमेत नरहने पुँजीवादी व्यवस्थाले संसारको भूगोल, वस्तु र चीजको चाहनासमेत निषेध गर्दछ । त्यसैले व्यक्तिको कुनै आफ्नै व्यक्तित्व हुँदैन । त्यहाँ हुन्छ त केवल पुँजीको व्यक्तित्व । पुँजीमार्फत संस्कार, व्यक्ति, भूगोल, सरकार, समुदाय र देश सबैमाथि नियन्त्रण गर्दै, शासन र शोषण गर्दै उत्तरसाम्राज्यवादले सर्वप्रथम उत्पादन हुँने पुँजीका सबै स्रोतहरू नियन्त्रण गरिरहेको छ । वर्तमान उत्तरसाम्राज्यवादको नाइके अमेरिकाको नेतृत्वमा विभिन्न पुँजीका केन्द्रहरू केन्द्रीकरण गरिएको छ ।

कार्ल माक्र्सले भनेका छन्, मान्छे र प्रकृतिबीचको सम्बन्धका विषयमा खासै कसैको ध्यान गएन यद्यपि आधुनिक पुँजीवादका कारण मानवलगायत अन्य जीवको अस्तित्व नै खतरामा पर्ने गरी भएको बढ्दो पर्यावरणीय विनास अहिले हामीले भोगिरहेको सबैभन्दा ठूलो चुनौती हो । अहिले देखिएका जलवायु परिवर्तनजस्ता एकदमै विध्वंसात्मक परिणामबाट पनि यो स्पष्ट हुन्छ । यसका साथै अन्य धेरै विध्वंसहरू देख्न सकिन्छ । समुद्रमा थुप्रिएको अजैविक फोहोर, बनविनास, भूक्षयीकरण, जैबिक विविधता, भूस्वरूपमा आएको नाटकीय परिवर्तनलगायत यसका उदाहरण हुन् । माक्र्स अगाडि भन्छन्, मानव प्रकृतिमा बस्छ । यसको अर्थ प्रकृति नै उसको शरीर हो । उसलाई बाँच्नु छ भने प्रकृतिसँग उसको आदान-प्रदानको निरन्तरता आवश्यक पर्छ । मानिसको भौतिक शरीर तथा चेतना प्रकृतिसँग जोडिएको हुन्छ । मानिस प्रकृतिकै एक हिस्सा हो । आफ्नो बहुचर्चित पुस्तक पुँजी भाग १ लेखनका माध्यमबाट मानव-प्रकृतिको सम्बन्धको ज्ञानका विषयमा कार्ल माक्र्सले ठूलो योगदान पुर्‍याएका छन् । मानव र प्रकृतिको यो असाधारण सम्बन्धका कुराहरूलाई ख्याल नगरी उत्तरसाम्राज्यवादले समग्रमा आफूले नेतृत्व गरेको उत्पादनका स्रोतहरूमध्ये पेट्रोलियम भण्डार, सुनखानी, तामाखानी, पित्तलखानी, कोइलाखानी, ग्याँस खानी, आणविक भट्टीहरू अन्य देशका स्रोतसाधनमा आफ्नो नियन्त्रण कयम गरी अमेरिकाले हालीमुहाली गरिरहेको छ । विश्वका धेरै देशमा त उसले आफ्नो सेना राखेको छ भने कतिपय देशमा उसले स्रोतहरू उपयोगका नाममा सामान्य करको बहानामा त्यहाँका महत्वपूणर् स्रोत र साधनहरूमाथि कब्जा जमाएकोे छ । यी सबै शक्तिको निर्वाध रूपमा उपयोग, परिचालन र उपभोग गर्दै आइरहेको छ । उसका यस्ता हर्कतहरूले अल्पविकसित मुलुक र सर्वहारा वर्गको अस्तित्व सङ्कटमा पर्दै गएको छ । हालको सन्दर्भमा राष्ट्रियता, जनतन्त्र, जनजीविका तथा राष्ट्रिय मुक्ति आन्दोलन र त्यसको कार्यदिशा एकीकृत जनक्रान्तिमार्फत सङ्घर्ष अनिवार्य सर्त बन्न पुगेको छ । अठारौँ शताब्दीमा भौतिक रूपले उपस्थित साम्राज्यवाद अहिले मुख्य रूपमा पुँजीमार्फत सञ्चालित छ । त्यसको अन्त्यबिना मानव जातिको भविष्य नै जीवनमरणको खतरामा परेको छ । हरेक देश, व्यक्ति, समुदाय, भूगोल र साधनमाथि उनीहरू जहाँ भए पनि उही खतराको घन्टी बजिरहेको छ । साम्राज्यवादी देशहरूले उत्पादनको स्रोत कब्जा र केन्द्रीकरण गर्नुका साथै त्यसमाथि एकाधिकार कायम गर्दै हरेक देश र त्यहाँका नागरिकलाई आफ्नै आन्तरिक स्रोतबाट च्यूत पार्दै लगिरहेका छन् । जनताहरू गाँस, बास, कपास, स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकताका लागि नै भौँतारिरहेको अवस्थालाई दुरुपयोग गरी उत्तरसाम्राज्यवादले त्यस्ता मुलुकहरूमा आफ्नो ब्याज र मुनाफाका लागि विकास र सहयोगका नाममा ऋण दिएर उत्पादित वस्तु, उपभोक्ता बजार र त्यसको खरिदका लागि वित्तीय संस्थाहरूलाई सङ्गठित रूपमा परिचालित गरेको छ । अत्यन्त : गरिब देशका नागरिकहरू भूमि, आफ्नो बासस्थान भएको घडेरी पनि धरौटीमा राख्दै चर्को ब्यजमा ऋण लिन बाध्य छन् । बेरोजगार, स्रोतविहीन त्यस्ता देशका नागरिकहरूको ऋणको ब्याज चुलिँदै गएर जब जीविकोपार्जनको एक मात्र साधनका रूपमा रहेको भूमि र बस्ने घरघडेरी पनि लिलाम हुनेछ त्यस दिन जनताको आफ्नो भन्नु केही रहनेछैन ।

कोरोनाबाट प्रताडित विश्वका जनताहरूलाई पुँजीवादी व्यवस्थाले आफ्नो असली रूप देखाइदिएको छ । अहिलेको यो कोरोना महामारीबाट पुँजीवादी देशका जनता नै बढी प्रताडित छन् । दोस्रो चरणको लप्काले मुलुकहरूको भविष्यकै अनुमान गर्न नसकिने परिस्थिति देखिँदैछ । अमेरिका, स्पेन, इटाली, फ्रान्स, बेलायत, जर्मनी, बेल्जियमलगायत अधिकांश अमेरिकी र युरोपेली देशले कोरोनालाई नियन्त्रणमा लिएजस्तो देखिए पनि पहिले त्यहाँ मर्नेहरूको सङ्ख्या निकै ठूलो थियो । अहिले कोरोनाले भारत र नेपालमा पनि मर्नेहरूको सङ्ख्या ज्यामितीय आकारमा बढिरहेको छ । वैज्ञानिकहरूले कोरोना पूणर् रूपमा नियन्त्रण गर्न चार-पाँच वर्ष पनि लाग्न सक्छ भनिरहेका छन् । मानव जाति यो सङ्कटबाट एकदमै मुक्त हुने कुरामा विश्वस्त छैन । नेपालको दलाल संसदीय पुँजीवादी व्यवस्थाले आफ्नो सङ्कट टार्न र सत्तामा बसिरहन चुनावको घोषणा गरेको छ । दलाल व्यवस्थाको नेतृत्व गरिरहेको केपी ओली सरकारले कोरोनाबाट आजित जनतालाई अस्पतालमा उपचारको व्यवस्था नगरेर, मर्न बाध्य बनाएको छ । भ्याक्सिन, अक्सिजन नपाएर दैनिक सरदर १५० जनाभन्दा धेरै नेपाली नागरिक ज्यान गुमाउन बाध्य छन् । सरकारी अस्पतालमा अक्सिजनको व्यवस्था गर्ने कुरा छोडेर ओली सरकार निर्वाचनका लागि ४०-५० अर्बसम्म खर्च गर्नतिर लागिरहेको छ । नागरिकका दैनक समस्या त छँदैछन् तर दलाल सत्ताका सञ्चालकहरू आफ्नो कुर्सीलाई कसरी हुन्छ टिकाइराख्ने रणनीतिमा लागिरहेका छन् । अहिलेको सरकार नागरिकप्रति उत्तरदायी छैन । नागरिकको ज्यान गए पनि जाओस् तर आफ्नो कुर्सी भने कतै फुस्किनु हुँदैन/जानु हँदैन भन्नेतिर दलाल संसदीय पुँजीवादी व्यवस्थाका पुजारीहरू कुदिराखेका छन् । यी दलाल व्यवस्थाका पुजारीहरूका कारणले नेपाली नागरिकले भयानक सङ्कटमा पिल्सिनु परेको छ । कार्ल माक्र्सले भनेका छन्, ‘आजको पर्यावरणीय सङ्कट (ट्रेड वेन्टन) पुँजीवादी कृषिले श्रमिकहरूलाई मात्रै शोषण गर्दैन, यसले माटोको पनि शोषण गर्छ । निश्चित समयमा उत्पादकत्व बढाउने प्रक्रियाले माटोको दिगो उत्पादकत्वलाई बर्बाद पार्दछ ।’

कार्ल माक्स, पुँजी भाग १ ।

यो भनाइलाई मानव जातिले आत्मसत गरेको भए कोरोना रोगका दृष्टिले मानव जातिका लागि नयाँ भए पनि महामारीका दृष्टिले भने यो नयाँ होइन । यसअघि मानव जातिले झन्डै एक दर्जन महामारी झेलिसकेको छ । मानव जातिले दुई ठूला विश्वयुद्धसँग खेलेको छ । विश्वमा सन् १६५-१८ मा फैलिएको एन्टोनिन प्लेगबाट पचास लाख, सन् ५४१ देखि फैलिएको बुबोनिक जस्टिनियन प्लेगबाट २ करोड ५० लाखदेखि ५ करोडसम्म, सन् १३४६-५३ मा फैलिएको बुबोनिक प्लेगबाट ७ करोड ५० लाखदेखि १० करोडसम्म, सन् १८५२-६० सम्म फैलिएको हैजा महामारीबाट १० लाख, सन् १८८९ बाट देखिएको एन्फ्लुएन्जाका कारण १० लाख, सन् १९१० बाट देखिएको हैजाका कारण ८ लाख, सन् १९१८-२० सम्म देखिएको फ्लु महामारीबाट २ देखि ५ करोड, सन् १९५६-५८ सम्म फैलिएको एसियन फ्लु महामारीबाट झन्डै २० लाख, सन् १९६८ मा विश्वभरि फैलिएको फ्लु महामारीबाट १० लाख र सन् २००५ मा देखिएको एड्सबाट ३ करोड ६० लाख मानिसको मृत्यु भएको विभिन्न स्रोतहरूमा उल्लेख गरिएको छ । त्यसैगरि सन् १९१४-१८ पहिलो विश्वयुद्धमा ५ करोड १४ लाख २६ हजार ३१ जना मारिएका थिए भने सन् १९३९-४५ को दोस्रो विश्वयुद्धमा ८ करोड ५० लाख नगरिक मारिएको अनुमान गरिएको छ । यद्यपि महामारी र विश्वयुद्धमा यति नै मानिस मारिए भन्ने यकिन तथ्याङ्क भन्ने विश्वसामु छैन । भनिन्छ, विपत्ति वा महामारीले धनी- गरिब, सानो-ठूलो भन्दैन तर विश्वमा देखिएका सबै महामारीबाट अत्यधिक सङ्ख्यामा गरिबहरूकै ज्यान गएको छ किनकि जसको झुपडी हुन्छ, त्यसैको झुपडी नै बाढीको उच्च जोखिममा हुन्छ । जसले पेटभरि खान पाउँदैन ऊ कुपोषणमा हुन्छ, उसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । पर्याप्त आराम र सरसफाइ चाहेर पनि गर्न सक्दैन । त्यसैले महामारीलगायत रोगहरूले उनीहरूको ज्यान लिने गर्छ । तसर्थ यो मानवचेतना र सभ्यताको मात्र सवाल नभएर मानिसको वर्गीय धरातल र जीवनपद्धतिको सवाल पनि हो ।

पुँजीवादले विश्वमा ९० प्रतिशत मानिसहरूलाई शोषण गरेर आएको पुँजीलाई १० प्रतिशत व्यक्तिका हातमा केन्द्रित गरेको छ । यसले बहुसङ्ख्यक रूपमा रहेका मानिसहरूको शोषण गरेर केही मुठीभर मानिसहरूको पक्षपोषण गरिरहेको छ । आज पुँजीवादका कारणले विश्वमा झन्डै बहुसङ्ख्यक नागरिकले बजारका महँगा लुगा आँखाले हेर्छन् तर लगाउन पाउँदैनन् । ती नागरिकले नाकले खानेकुराको बास्ना सुँघ्ने अधिकार त राख्दैनन्, पेटभरि खाने अधिकार त परै जाओस् । पुँजीवादी व्यवस्थामा मानिसहरूले श्रममार्फत खर्बौं रकम मुनाफा कमाउँछन् तर उनीहरूले त्यसको उपभोग गर्न पाउँदैनन् । त्यसको उपभोग गर्ने वर्ग अर्कै छ । नागरिकहरूको रोगको मुहान गरिबी हो । गरिब मानिससँग उन्नत चेतना भए पनि रोग, बिपत्ति र महामारीसँग लड्ने स्रोत र साधनको सामथ्र्य हुँदैन । त्यही भएकाले राजनीतिक प्रणालीकै परिवर्तनद्वारा मात्र यस्तो चुनौतीबाट मुक्ति मिल्छ ।

तसर्थ धनीले उसकै ज्यादतीका कारणले नै गरिब र विपन्नका लागि प्रकृति नै बिपत्तिको अनन्त सागर बन्न जान्छ । पुँजीवादको ध्यान विश्वको साधन-स्रोत आफ्नो कब्जामा राखेर त्यसबाट अधिक नाफा निकाल्छन् जुन नाफा अभिजात वर्गको सुखसयलमा खर्चिन केन्द्रित छ । पुँजीवादले मानव जातिको भविष्य हेर्दैन । यसले सीमित पुँजीपति वर्गको सेवाका निम्ति मानव जातिको भविष्यलाई नै बलि चढाउन तयार हुन्छ । मुनाफा यसको अन्तिम लक्ष्य हो । नाफा कमाउनका लागि पुँजीवादले जस्तोसुकै कुकर्म गर्न पछि पर्दैन । उत्तरसाम्राज्यवाद अहिले विश्वबजारमा हतियारको व्यापार गर्नका लागि सके तेस्रो विश्वयुद्ध, त्यो पनि भएन भने अन्तर-राष्ट्रका सिमानाको मुद्दालाई उठाएर हुन्छ वा राष्ट्र-राष्ट्रका नागरिकलाई विद्रोहमा उचालेर हुन्छ वा सहयोगका नाममा पछाडि पुँजी आर्जन गर्नका निम्ति पैसाको बार्गेनिङ गरेर हुन्छ, ऊ पुँजी आर्जन गर्न लागिपरेको छ । जुनसुकै अवस्थामा पनि ऊ व्यापार गर्नमा नै केन्द्रित हुन्छ । कुनै गरिब राष्ट्रले त्यो कुराको विरोध गर्‍यो भने आणविक हतियारको बिगबिगी मच्चाइदिन्छ । जस्तै हाल आणविक शक्ति भएका राष्ट्रहरू- रुससँग ७ हजार, अमेरिकासँग ६ हजार ८ सय, फ्रान्ससँग ३ सय, चीनसँग २६०, बेलायतसँग २१५, पाकिस्तानसँग १४०, भारतसँग १२०, इजरायलसँग ८० र जनगणतन्त्र कोरिया (उत्तरकोरिया) सँग ८ वटा आणविक हतियार रहेको बिजनेस इनसाइडरको दाबी छ । अमेरिका, फ्रन्स, रुसलगायत राष्ट्रहरू आणविक हतियारका साथै अन्य अत्याधुनिक हतियार उत्पादन गरी अन्तरदेशिय युद्ध चलेका राष्ट्रहरूमा निर्यात गर्दै आएका छन् । तर उत्तरसाम्राज्यवादी अमेरिका आफूसँग ७ हजार आणविक हतियार छ भनी दाबी गर्छ तर उत्तरकोरियाका जम्मा ८ वटा आणविक हतियार निष्क्रिय गर्न संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय मञ्चहरूमा रोइकराइ गरिरहेको छ । अनि सारा विश्व उत्तरसाम्राज्यवादी अमेरिकाका लाचार छाया बनेर उत्तरकोरियालाई अधिनायकवादी मुलुकको सूचीमा राख्छन् । यसरी हेर्दा कोरोनाको महामारीले हतियार बेचेर नाफा कुम्ल्याउने सोचाइमा रहेको उत्तरसाम्राज्यवादको सपनामाथि पनि ठूलै धक्का लाग्ने निश्चित छ । विनासकारी हतियारको उत्पादन र प्रयोग, अनुत्पादक क्षेत्रमा अर्थतन्त्रको ठूलो हिस्साको प्रयोग र विषाक्त ग्याँसहरूको उत्पादन मानव जातिका लागि ठूलो चुनौती बनेर उभिएको छ ।

आज कोरोनाका कारण विश्वकै नागरिक आक्रान्त भैरहेको बेला इजरायलले प्यालेस्टिनमाथि बर्बर युद्व थोपरिरहेको छ । प्यालेस्टिनी नागरिकका खाने पानी, शौचालय, विद्युत्, विद्यालय ध्वस्त बनाएको छ भने बमं आक्रमणबाट आधारभूत आवश्यकता पनि अवरुद्ध गरिएको छ । विद्युत्गृह बंमले ध्वस्त बनाएका कारण उत्पन्न भएको भयानक गर्मीले प्यालेस्टिनी नागरिकको जीवन कठिन बनेको छ भने ६ लाख बालबालिका घरमा थुनिएका छन् । ४० हजार नागरिकलाई शरणार्थी शिविरमा राखिएको छ । गाजा सहरमा केवल एउटा मात्र कोरोना परीक्षण प्रयोगशाला थियो, इजरायली बंम आक्रमणबाट त्यो पनि भग्नावशेषमा परिणत भइसकेको छ । गाजामा कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ । केही अस्पताल अहिलेसम्म आक्रमणबाट बचेका छन् तर त्यहाँ मेडिकल उपकरण र सामग्रीको अभावका कारण निकै मुस्किलले काम गरिरहेका छन् । अन्य मेडिकल उपकरण र औषधीहरू बंम आक्रमणका कारण ध्वस्त भएको विभिन्न सञ्चारमाध्यमहरूले लेखेका छन् ।

भर्खरै युद्धविराम भएको छ, त्यो राम्रो कुरा हो तर युद्धपिपासु पुँजीवादका कारण सयौँ नगरिकहरू अनाहकमा ज्यान गुमाउन बाध्य छन् । हजारौँ बालबालिका शिक्षाबाट विमुख भएका छन् । करोडौँ नागरिकको धनसम्पत्ति नष्ट भएको छ तर उत्तरसाम्राज्यवादको नाइके अमेरिकाका राष्ट्रपति इजरायलले आफ्ना नगरिकको सुरक्षाका निम्ति युद्ध गर्नु अधिकार हो भनिरहेका छन् । पुँजीवादले पुँजी आर्जन गर्न र आफ्नो हतियारबाट मुनाफा कुम्ल्याउनका लागि इजरायललाई ७३५ मिलियन डलरबराबरको हतियार बेच्ने प्रस्तावलाई राष्ट्रपति जो बाइडेनले स्वीकृत गरेका छन् ।

युद्व भनेपछि निद्रामा पनि मुनाफा देख्ने पुँजीवादले आज विश्वव्यापी फैलेको कोरोना रोकाथाम गर्नका लागि विश्वका सबै राष्ट्रहरू मिलेर सामूहिक योजना बनाई रोगलाई निको पार्न लाग्नुपर्ने हो तर त्यसको अलावा नागरिकहरूलाई भ्याक्सिन, मास्क, सेनिटाइजर निःशुल्क दिनुपर्ने ठाउँमा पुँजीवादी राष्ट्रहरू मुनाफा कमाउने होडबाजीको प्रतिस्पर्धामा लिप्त भएका छन् ।

अहिले पनि पुँजीवाद विश्वमा कोरोना महामारीबाट आक्रान्त राष्ट्रका नागरिक र पर्यावरणप्रति इमानदार देखिँदैन बरु मुनाफाका लागि नागरिकहरूको जीवनरक्षा गर्नुको सट्टा मिसाइल बनाउन जस्तासुकै मूल्य चुकाउन तयार हुन्छ । अन्ततः नागरिक मरे मर्छन्, राष्ट्र टाट पल्टिए पल्टिन्छ, उत्पीडित नागरिकले खान, बस्न, लुगाफाटो नपाए पनि हुन्छ तर हामीले हतियार किनबेच गर्नुपर्छ । प्रकृतिक स्रोतसाधनको उत्खनन गरे हुन्छ । बम बर्साएर सर्वसाधारण नागरिकको ज्यान गए पनि केही फरक पर्दैन तर मुनाफा अनिवार्य हुनुपर्छ भनेर पुँजीवादीहरू कुदिराखेका छन् जसको मूल्य आज सम्पूणर् विश्वले चुकाउनुपरेको छ । त्यसैले पुँजीवादले निम्त्याएको सङ्कटको बेलैमा समाधान नखोज्ने हो भने प्रकृति र मानव समुदायको सम्बन्ध त खतरामा परेको छ नै स्टेफन हकिङले भनेझैँ पृथ्वीको तापक्रम बढेर यहाँ सल्फ्युरिक एसिडको वर्षा उनले सोचेभन्दा छिटो नै हुनसक्छ । पृथ्वीमा भएको जीवनको भविष्य नै खतरामा पर्नका लागि प्रसिद्ध भौतिकशास्त्री स्टेफन हकिङले भविष्यावाणी गरेझैँ अब एक हजार वर्ष कुर्नुपर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :