सूचना साम्राज्यमा बाँचेको पुँजीवाद

आजको युग सूचना र प्रविधिको युग हो । यो युग विद्युतीय सञ्चारमाध्यमहरू कम्प्युटर, गुगल, ट्विटर, यूट्युब, फेसबुकलगायत उच्चस्तरका सामाजिक सञ्जालहरूसहितको सञ्चार प्रविधिको युग हो । सूचना र सञ्चार प्रविधिको उच्च विकास भएको कारणले पुँजीवादको शोषणको स्वरूप बदलिएको छ । पुँजीवादको आफ्नो पुरानो शोषणको रूप बदलिए पनि पुँजीवाद जनपक्षीय भयो भन्नेचाहिँ होइन । साम्राज्यवाद विकसित विज्ञान र प्रविधिको आडमा उत्तरसाम्राज्यवादमा विकास भएपछि साना र गरिब मुलुकहरूमाथि शोषण र हस्तक्षेप गर्ने शैली र रूपमा परिवर्तन गर्यो जसका कारण आफ्नो साम्राज्य विस्तार गर्न हातहतियारको र उत्पादित वस्तुको बजार विस्तार गर्न उत्पीडित र साना राष्ट्रहरूलाई आफ्नो स्वार्थ र इच्छाअनुसार चल्न बाध्य बनाउने अन्यथा विभिन्न आरोप लगाउने, युद्ध थोपर्ने र स्रोतसाधनको दोहन गर्ने मूल चरित्रमा कत्ति पनि अन्तर आएको छैन, बरु सूचना प्रविधिको विकासले हस्तक्षेप गर्न नयाँ रूपमा अझ सहज बन्न पुगेको छ ।

वर्तमानमा उत्तरसाम्राज्यवाद शोषण, उत्पीडन र औपनिवेशीकरणको अझ नयाँ माध्यम र पद्धतिको खोजी गरिरहेको छ । यतिबेला अमेरिकी साम्राज्यवाद उत्पीडित तथा गरिब राष्ट्रहरूमा आर्थिक सहायतामार्फत विकास गरिदिने लोभ देखाएर देशका केही दलाल नेताहरूलाई किनेर एमसीसी सम्झौतालाई संसद्बाट पास गराउन लगाएर दीर्घकालीन रूपमा आफ्नो सेनालाई गरिब देशमा प्रवेश गराएर आफ्नो गुटमा सामेल गराई आफ्नै विशेषताको समाजवादी कम्युनिस्ट देश चीनको आर्थिक विकास र प्रभावलाई रोक्ने र गरिब तथा उत्पीडित राष्ट्रको स्रोतसाधनलाई आफ्नो कब्जामा लिएर युद्ध थोपर्न खोजेको देखिन्छ । नेपालमा पनि युरेनियम, ग्याँस, तामाखानी, तेल, जडीबुटी दोहन गरेर आफ्नो देशमा मुनाफा लैजाने र नेपाललाई इराक, अफगानिस्तान, सिरियाजस्तै गरी लडाइँको मैदानमा होमेर आफूले बनाएको हतियार बिक्री गरी पुनः मुनाफा कमाउने खेल हो साथै चीनलाई घेरा हालेर तिब्बतमा विद्रोह गराउने, विश्वमा समाजवादी देश भनी चिनिएका देशहरूलाई असफल भएको घोषणा गर्ने र आफ्नो साम्राज्य कायम गरिराख्ने रणनीतिक चाल हो । नेपालमा पनि आर्थिक सहयोगका नाममा राष्ट्रघाती दलालहरूलाई किनेर अमेरिका आफ्नो स्वार्थ पूरा गर्न चाहन्छ ।

हामीलाई राम्रोसँग थाहा छ– विश्वमा ठूला लगानीका बहुराष्ट्रिय कम्पनीहरू आर्थिक, सांस्कृतिक शोषणका माध्यम बनेका छन् । अहिले हातहतियारमा गरिएको खर्च, साम्राज्यवादी मुलुकहरूले सैन्यशक्तिका लागि छुट्ट्याइएको बजेटबाट पनि साम्राज्यवादको प्रवृत्तिलाई बुझ्न सघाउ पुग्छ । सूचनाप्रविधिको सहयोगमा नवउदारवादी नीतिअन्तर्गत व्यापारका नाममा भूमण्डलीकरणको नीति अख्तियार गरिरहेको अहिलेको उत्तरसाम्राज्यवादी युग अर्को अर्थमा युद्धको भूमण्डलीकरणको युग पनि हो । उत्तरसाम्राज्यवादका विरुद्ध लड्ने हतियार भनेको माक्र्सवाद–लेनिनवाद–माओवाद नै हो ।

सूचना आतङ्क, दिग्भ्रमित समाचार वर्तमानमा निगम पुँजीवादको सबभन्दा प्रभावशाली अस्त्र हो । उत्तरसाम्राज्यवादले आफ्नो राजनीतिक र आर्थिक स्वार्थका लागि सूचना र सञ्चार प्रविधिहरूको सहयोगमा भूमण्डलीकरण गरी विश्वव्यापी रूपमा विस्तार गरेकोे कुरूप, विकृत संस्कृतिको भ्रष्टीकरण नै सांस्कृतिक उत्तरसाम्राज्यवाद हो । समाजविरोधी, शून्यवादी, जनविरोधी, छाडा र अश्लील पाश्चात्य सांस्कृतिक चिन्तनलाई सञ्चारप्रविधिका माध्यमबाट तेस्रो विश्वका मुलुकहरूमा प्रवाहित गर्ने पद्धति र प्रक्रिया नै सांस्कृतिक उत्तरसाम्राज्यवादको अहिलेको राजनीतिक उद्देश्य हो । हिटलरका सञ्चारमन्त्री तथा सल्लाहकार गोयबल्सलाई नै सांस्कृतिक तथा सूचना साम्राज्यवादका प्रवर्तक मानिन्छ । कम्प्युटर प्रणाली, सेटेलाइट, गुगल फेसबुक, ट्विटर, इमेल, इन्टरनेटलगायत सञ्चारमाध्यमहरू आदि नै सांस्कृतिक उत्तरसाम्राज्यवादका उदाउँदा स्रोत हुन् । जेयस पिटर्स यसलाई यसरी व्यक्त गर्दछन्– सुरुमा यसलाई आधुनिकीकरण भनियो । पचासको दशकमा यसलाई अमेरिकीकरण भनियो । सन् १९६० मा बहुराष्ट्रिय कम्पनीको विस्तारपछि यसलाई अमेरिकी आधुनिकीकरण भनियो र ७० को दशकमा पुगेपछि यसले सांस्कृतिक साम्राज्यवादको रूप लियो । ७०–८० को दशकपछि ल्याटिन अमेरिकामा यसलाई कोकाकोलाको संज्ञा दिइयो ।

सूचना साम्राज्यको माध्यमबाट सांस्कृतिक प्रदूषण संवहन गर्ने कार्यका बारेमा अध्ययन गर्नेहरूका अनुसार यस शब्दको प्रयोग सबैभन्दा पहिले फिनल्यान्डका राष्ट्रपति उरहो मलेवा केककोनेनले गरेका हुन् । केककोनेनका अनुसार सूचना र समाचार माध्यममा केही एकदुई देश अथवा बहुराष्ट्रिय निगमले एकाधिकार स्थापित गरेको थियो र आफ्ना विचारहरू अरू राष्ट्रमाथि थोपरेर जनताको जीवनसित र सांस्कृतिक पक्षपमाथि खेलबाड गरिरहेका छन् । यी सञ्चार माध्यमहरूले घरमा मान्छे एकै ठाउँ बसेर घरायसी समस्या समाज र वरिपरिको परिवेशबारे बसेर छलफल गर्ने, विचारविमर्श गर्ने वातावरणको हरण गरेका छन् । पारिवारिक सौहार्दताको स्थान तनाव, बेमेल र विखण्डनले लिएको छ । पाश्चात्य संस्कृति र जनविरोधी सञ्चारमाध्यमहरू उत्तरसाम्राज्यवाद तथा साम्राज्यवादी मुलुकहरूलाई अन्नदाता, उत्पीडित राष्ट्रका हितैषी, मानवअधिकारका हिमायती, मुक्तिदाता आदिका रूपमा प्रस्तुत गर्दछन् र ठीक यसका विपरीत यसको विरोध गर्ने, खास गरेर कम्युनिस्ट आन्दोलन र नेतृत्व गर्ने नायकहरूलाई भद्दा र विकृत किसिमले प्रस्तुत गर्दै उनीहरूलाई आतङ्कवादीको संज्ञा दिने गर्दछन । हिसा र आतङ्कको माध्यमबाट आफ्नो सम्पूर्ण नीति देशभित्रका जनता र अन्य देशका जनतामा लागू गरेको छ । उत्तरसाम्राज्यवादलाई सदैव स्वस्थ रूपमा प्रस्तुत गर्ने सञ्चारमाध्यमहरू नै वर्तमानमा औपनिवेशीकरणको अघिल्लो पङ्क्तिमा उभिएका सांस्कृतिक उत्तरसाम्राज्यवादी माध्यामहरू हुन् । सोझा, गरिब, इमानदार जनताको मनमस्तिष्कबाट तर्क, विवेक, ज्ञान र चेतनालाई निषेध गरी आवेग, आक्रोश, तर्कहीनता, अराजकता र शून्यता भर्ने संस्कृतिको विस्तार गरेको छ । विश्वका तेस्रो मुलुकका जनता राष्ट्रिय स्वाधीनताको लडाइँ र आफ्नो संस्कृतिको रक्षा गर्न एकदमै अप्ठ्यारो ठाउँमा आइपुगेका छन् र राष्ट्रिय, वर्गीय मुक्ति आन्दोलनमा सहभागी भएका जनतालाई असभ्य, हिंसाप्रेमी, आतङ्कवादीका रूपमा प्रस्तुत गर्ने गर्दछन् । जसले हिंसा फैलाएर आफ्ना हातहतियार बेचेर गरिब मुलुकहरूलाई लुटेको छ तिनै मुलुकले राहत सहयोग बाँडेको देखाएर सूचना साम्राज्यमार्फत पुँजीवादी नीति र स्वार्थ पूरा गरिरहेका हुन्छन् । यस्ता सञ्चारमध्यमहरूले कुरूपलाई सुन्दर र सुन्दरलाई कुरूप, यथार्थलाई भ्रम र भ्रमलाई यथार्थ बनाएर आम जनमानसमा प्रस्तुत गर्छन् र दिनको सातपल्ट गोयबल्स शैलीमा प्रस्तुत गर्दै तिनको प्रामाणितकतामा जोड दिन्छन् । यो गोयबल्स प्रवृत्तिलाई कमजोर देशका गरिब जनताले मात्र होइन, सचेत भनिएकाहरूले पनि यथार्थ ठानी आफूलाई विश्वस्त बनाउँछन् । आज विश्वभरि पाँचवटा विशेष सञ्चारमाध्यमहरू– न्युज कर्प, डिज्नी, टाइम, वार्नर, भेकम र टीसीआईको सूचना साम्राज्य फैलिएको छ । यीबाहेक प्रतिस्पर्धामा एमसीसीएस सोनी, एम, सीए पोलिग्राम, हवास, बीएजीजस्ता सञ्चार संस्थाहरू अघि बढिरहेका छन् । दुई सयभन्दा बढी सञ्चारमाध्यमहरूले आजको विश्वको स्थितिलाई नियन्त्रण गरिरहेका छन् । यिनका केन्द्र न्युयोर्क, लन्डन,पेरिस र टोकियोमा रहेका छन् । कमकास्त, एबीसी, सीबीएस, एनबीसीजस्ता संस्थाहरू अमेरिकाले मात्र सञ्चालन गर्दछ । अमेरिकी टाइम वार्नरले ४० प्रतिशत नाफा बाहिरबाट कमाउने गर्दछ र यसको विस्तारमा उसले थप योजना तयार पार्दैछ । केही वर्षअगाडिको अभिलेख हेर्ने हो भने पनि आजको संसारमा तीस हजारभन्दा बढी रेडियो स्टेसन र त्यति नै दूरर्शन केन्द्र छन् । यी सबै केन्द्रहरू ठूलाठूला व्यापारीका हातमा छन् । करोडपति सूचना व्यापारी तथा अमेरिकी सूचना एजेन्सीका निर्देशक चाल्स बिक अमेरिकाका भूपू राष्ट्रपतिका अति निकटतम् व्यक्ति रहेको कुराले पनि सञ्चार, व्यापार र राजनीति कसरी जेलिएका छन् भन्ने कुरा सहजै अनुभव गर्न सकिन्छ ।

पाँच दशकयताको रङ्गभेदका कारणले अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्युपछि भइरहेको प्रदर्शनसँग जुध्नका लागि अमेरिकाका थुप्रै सहरमा कफ्र्यु लगाइयो । यसै बीचमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्रयुस्तन्लका प्रहरी प्रमुखले आफ्नो मुख बन्द गर्न चेतावनी दिएका छन् । उनले भनेका छन्, राष्ट्रपति रचनात्मक बन्न सक्नुहुन्न भने आफ्नो मुख बन्द गर्नुपर्छ । यो भनाइलाई आत्मसातीकरण गर्ने हो भने पुँजीवादी सत्ताहरू एकदमै सङ्कटमा छन् भन्ने राम्रोसँग थाहा हुन्छ । नागरिकहरू एकदमै समस्यामा छन् । कोभिड १९ को विश्व–महामारी नियन्त्रण गर्नका लागि विश्वका देशहरूले लकडाउन गरेका थिए तर अमेरिकामा भने केही पुँजीपतिहरूको स्वार्थलाई खुसी बनाउनका लागि लकडाउन गरिएन जसको परिणाम विश्वका अन्य देशभन्दा बढी सर्वसाधारण जनता हताहत हुन पुगे । जनताको जीवनमाथि खेलबाड मात्र गरेनन् पुँजीपतिहरूलाई खुसी बनाउन ट्रम्पले हामीलाई केही हुन्न, यो भाइरस चीनको मात्र होजस्तै गरी स्यालको हुइयाँ हाल्दै आफ्नो मुखको स्वाद फेर्ने काम गरे । जनताको जीउधनलाई सामान्य तरिकाले लिने काम भयो ।

अब विश्वका जनताले बुझ्नुपर्ने बेला आएको छ– पुँजीवादी व्यवस्था त्यस्तो व्यवस्था हो जहाँ कानुनी रूपमा जनता स्वतन्त्र देखिन्छन् तर व्यवहारमा उनीहरू विभिन्न सिक्रीले बाँधिएका हुन्छन् । यसबारे कम्युनिस्ट घोषणापत्रमा उल्लेख छ– पुँजीवादी समाजमा पँुजीपति स्वतन्त्र छ र उसको आफ्नै व्यक्तित्व हुन्छ । श्रमिक भने पराधीन हुन्छ र उसको कुनै व्यक्तित्व हुँदैन । यो भनाइलाई आत्मासात गर्ने हो भने जनताको जीवन एकदमै समस्यामा छ । जनताप्रति उत्तरदायी छैन भन्ने कुरा राम्रोसँग थाहा भएको कुरा नै हो । पुँजीवादीहरूको विकास र समृद्धिबाट प्राप्त वैभवपूर्ण जीवन कुन वर्गका लागि हुँदो रहेछ भन्ने कुरा विश्वभरका श्रमजीवी तथा उत्पीडित जनताले भोग्नुपरेको अकल्पनीय मानवीय सङ्कटले झन् खुलमखुल्ला पुष्टि गरिदिएको छ ।

सुख खोजिरहेका विश्वभरका मानिसलाई आकर्षित गरिरहेको अमेरिकामा त्यहाँका श्रमजीवी तथा उत्पीडित जनताले भोगिरहेको आर्थिक, सामाजिक र स्वास्थ्यसम्बन्धी समस्याले अमेरिकी वैभवको कथित उच्च मानवीय सभ्यता कति खोक्रो र पाखण्डी रहेछ भन्ने कुरा मध्याह्नको घामझैँ छर्लङ्ग भएको छ । विज्ञान र सूचना प्रविधिको दुरुपयोग गरी सूचना साम्राज्यमार्फत विश्वव्यापी लुट र दोहन मच्चाइरहेको उत्तरसाम्राज्यवादी नीतिले जनतालाई सामान्य मास्क र स्वास्थ्य सामग्रीसम्म उपलब्ध गराउन नसक्दा लाखौँ मानिसले ज्यान गुमाइरहेका छन् ।

के गोरा, के काला सबै जनतालाई भाइरसको सङ्क्रमण हुनसक्छ । यद्यपि अमेरिकामा अनुपातका हिसाबले सबैभन्दा बढी सङ्क्रमित र मृत्यु हुनेमा अफ्रिकी काला मूलका जातिमा देखिएको छ । यसको मूल कारण गोराहरूको तुलनामा कालाहरु साधन र स्रोतबाट वञ्चित भएका कारण उनीहरू बढी सङ्क्रमित भएका हुन् । विश्वका ठूलाठूला सञ्चारमाध्यमहरूले जस्तो पुष्टि गर्न खोजेको नश्ल वा रङका आधारमा होइन, यो त पुँजीवादको अपराधलाई ढाकछोप गर्ने गोयबल्स शैली मात्र हो । छालाको रङकै आधारमा मानिसले भोगिरहेको अमानवीय विभेद र चरम अत्याचार उजागर गर्न पनि नयाँ भविष्य आवश्यक भएको छ । औपनिवेशीकरण र नरसंहारको इतिहास हेरे हुन्छ । शिक्षाले रङ्गभेद हटाएको छैन । नत्र सोक्रेटसको मृत्युुसँगै रङ्गभेदबाट मारिएकाहरू पनि पाठ्यक्रममा हुन्थे ।

कलासंस्कृति सबैको उस्तै हो । कलाको इतिहासमा जिम्बाबेका पुराना ढुङ्गाका मृर्तिहरू र वेन इन्वन्वोका चित्रकलाहरू पाठ्यक्रममा समावेश गरिन्थ्यो । जातिवादी विभेद मानिसले खडा गरेको मानिसकै समस्या हो यसको समाधान पनि सचेत मान्छेले नै गर्न सक्छ । तर यसका लागि सबैले इतिहासदेखिकै विभेदको भोगाइलाई आत्मसात् गर्न सक्नुपर्छ, महसुस गर्न सक्नुपर्छ जातिवाद रकेट, रसायन, विज्ञान, प्रचार युद्धजस्तो जटिल विषय होइन, मानवताको सङ्कट हो । यो पुँजीवादलाई सधैँ प्रचारयुद्धमा बाँचिराख्ने पुँजीवादी सञ्चालकहरूको कमजोरी हो, असफलता हो । संसारभरिका जनतालाई लोकतन्त्रको दुहाइ दिने अलोकतान्त्रिक पुँजीवादी व्यवस्थाले समानताको बोध नगरेकै कारण निश्चित जातका मानिस मात्र होइन, जीवजन्तु र सिङ्गो पृथ्वीलाई पनि सङ्कटमा धकेलेको छ । पुँजीवादी चेतनालाई समाजवादको चेतनाले जित्नुपर्छ, सबैको अधिकारका लागि वैज्ञानिक समाजवादी व्यवस्थाका लागि लड्नुपर्छ । कानुनअन्तर्गत स्वतन्त्र र सम्मानपूर्वक बाँच्ने वातावरण सिर्जना गर्नुपर्दछ र सन् १९९२ देखि नेपालमा नवउदारवादले प्रवेश गरेपछि राज्यले लगानी गरेका उद्योगहरूलाई निजीकरण गरेर निश्चित व्यक्तिलाई पुँजी आर्जन गर्न दिने काम भएको छ । राष्ट्रिय पुँजीलाई विस्थापित गरेर भएका उद्योगहरूलाई निजीकरण गर्नका निम्ति सरकारमा बसेका भ्रष्ट, दलाल नेताहरूले कमिसन खाएर देशलाई परनिर्भर बनाउने काम गरे । त्यसको परिणाम आज महामारीबाट ६५ लाखको आसपासमा रहेका श्रमिक भोक, प्यास र रोगले ग्रस्त छन् । निरपेक्ष गरिबीको रेखामुनि रहेका ५४ लाखभन्दा बढी र बहुआयामिक गरिबीमा रहेका लगभग ८४ लाख मानिसको आगामी दिन कति भयावह रहनेछ अहिले कल्पना गर्न सकिँदैन, उनीहरूका लागि नेपालको संविधान ०७२ मा उल्लेख गरिएको गाँस, बास, कपास, शिक्षा र रोजगारीको व्यवस्था हावाको महलजस्तो भएको छ । बिदेसिएका युवकयुवती १५ लाखदेखि २५ लाख स्वदेशमा फर्किने विज्ञहरूले अनुमान गरिरहेका छन् । ती स्वदेश फर्कने युवाहरूको व्यवस्थापनको कुनै आधार तयार गरेको छैन । स्वदेशमा भएका नेपाली जनतालाई कोभिड १९ को महामारीमा सामाजिक दलाल पुँजीवादी सत्ताले राहातका नाममा पाँच केजी चामल, एक केजी दाल, एक पोका नुन बाडेको गोवयल्सहरूले सूचनासाम्राज्यलाई प्रयोग गरेर गरिब जनतालाई आँखामा कालो पर्दा झुन्ड्याउने काम गरिरहेका छन् । अर्कोतिर सूचना साम्राज्यमा लगानी गरेर क्रान्तिकारी पार्टी र क्रान्तिकारीहरूका विरुद्ध विभिन्न क्षेत्रमा आफ्ना खुफियाहरू प्रयोग गरेर दमन गरिरहेका छन् । दलाल पुँजीवादी सत्ताको संरक्षणमा केही पत्रकारिताको क्षेत्रमा घुसेका घुसपैठियाहरू, एजेन्टका पनि एजेन्टहरू, विभिन्न देशका दूतावास र सरकारबाट मासिक तलब खाएर परिचालित खुफियाहरू क्रान्तिविरोधी, आधारहीन, तथ्यहीन, भ्रमपूर्ण र अनावश्यक प्रचारबाजी गरेर आफ्नो मालिकलाई खुसी बनाउँदै विश्वभरिका श्रमजीवी जनताका विरुद्ध विषवमन गरिरहेका छन् । यद्यपि केही सञ्चारमाध्यमहरूले क्रान्तिका पक्षमा प्रचारात्मक सहयोग गरेको विषय पनि उल्लेखनीय छ ।

निष्कर्षमा सूचना प्रविधिको विकासको दुरुपयोग गरेर उत्तरसाम्राज्यवादले गरिरहेको सम्पूर्ण शोषण र उत्पीडनको समाधान माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा गरिने क्रान्ति, फेरि पनि क्रान्तिबाट मात्र सम्भव छ ।

(लेखक नेकपा गण्डक ब्युरोका युवा नेता हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :