अर्घाखाँचीबाट आठजना गिरफ्तार

अर्घाखाँचीबाट आठजना गिरफ्तार

सन्धिखर्क : प्रहरीले अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट आज अखिल (क्रान्तिकारी) का कार्यवाहक अध्यक्ष पदम नेपालीसहित ६ जना र अखिल (छैटौँ) का अध्यक्ष जीवन नेपाली र उपाध्यक्ष प्रकाश चुँदालीसहित ८ जनाजनालाई गिरफ्तार गरेको छ । नेकपा नेता नवीन खड्काका अनुसार उनीहरूलाई बन्द आह्वान गर्दै गर्दा गिरफ्तार गरिएको हो ।

पाँचदलीय गठबन्धन सरकारले संसद्‌बाट राष्ट्रघाती एमसीसी पास गरेपछि त्यसको विरोेधमा संयुक्त मोर्चाले सार्वजनिक गरेको विरोधको कार्यक्रमअनुसार आज नेपाल बन्द आह्वान गरिएको थियो । बन्दको पूर्ण रूपमा पालना गर्नुपर्ने भन्दै बन्द सफल पार्न सडकमा हिँडेका नेता–कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो । अर्घाखाँचीमा बन्दको पूर्ण प्रभाव परेको छ ।

एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा आह्वान गरिएको नेपाल बन्दले अर्घाखाँची जिल्लाको जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ । संसद्बाट एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज नेपाल बन्द आह्वान गरेका हुन् । बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटोे दूरीका सवारीसाधन छुटेका छैनन् भने शिक्षण संस्था, व्यापार, उद्योगधन्दा, कलकारखाना पूर्ण रूपमा ठप्प रहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी, नेकपा मसाल, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल, कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीलगायत दलले एमसीसीको विरोधमा आज नेपाल बन्द आह्वान गरेका हुन । बन्दकर्ताले बन्दको पूर्वसन्ध्यामा हिजो साँझ जिल्लाका विभिन्न स्थानमा मशाल जुलुससहित विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :