सहिदको अपमान गर्नेलाई हत्याराको मतियारका रूपमा चिन्नुपर्छ : भुसाल

सहिदको अपमान गर्नेलाई हत्याराको मतियारका रूपमा चिन्नुपर्छ : भुसाल

अर्घाखाँची : सहिदलाई राज्यले सम्मान गर्न नसक्नु सहिदप्रति अपमान भएको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुलिङ विभागका प्रमुख भेषराज भुसालले बताएका छन् । मङ्गलबार नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको जनक्रान्तिका महान् सहिद एवम् राज्यद्वारा बेपत्ता योद्धा परिबारहरूको सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेता भुसालले जनयुद्धमा सहिदको बलिदानले गर्दा आज आरुखोलामा पढाउने प्रचण्ड नेपालको प्रधानमन्त्री, रोल्पामा सामान्य स्कुलमा पढाउने कृष्णबहादुर महरा सभामुख, गोर्खामा सामान्य परिबारमा जन्मिएका बाबुराम भट्टराई मुलुकको प्रधानमन्त्री, अर्घाखाँचीको अर्घामा जन्मिएका टोपबहादुर उप्रप्रधानमन्त्री भए पनि सहिदको स पनि लिन नसक्नु सहिदप्रतिको अपमान भएको बताए । सहिद परिबारले अब यी नेतालाई हत्याराका मतियारका रूपमा चिन्नुपर्ने बताउँदै उनले आफ्नो पार्टी र आफू एक मुठी सास रहेसम्म सहिदको सपना साकार पार्न निरन्तर लाग्ने बताए ।

मुलुकमा २००७ सालदेखि भएका आन्दोलनमा सहिदहरूको उच्च योगदान रहेको नेता भुसालले बताए । भुसालले सहिदको सपना साकार पार्न सहिदको योगदानलाई उच्च कदर गर्दै आफ्नो पार्टीले कपिलवस्तुमा सहिद सङग्रलाय स्थापना गरेको बताए । विचारबाट विचलित भएका नेताहरूका कारण सहिदको अपमान भएको उनले बताए । सहिद परिवार र घाइते परिवार अहिले पनि तड्पेर मर्नुपर्ने तर रोल्पाको शिक्षक वर्षमान पुन आज चीनमा गएर उपचार गराउने अवस्था उत्पन्न हुनु विडम्बनापूर्ण रहेको भन्दै नेता भुसालले विचार र सिद्धान्तबाट विचलित भएर एमाले र काङ्ग्रेससँग मिली भागबन्डा गरेर मन्त्री खाने तर सहिद परिवार, घाइते परिवारका लागि अस्पतालसमेत बनाउन नसक्नु दुःखको कुरा भएको बताए ।

एक फरक प्रसङ्गमा नेता भुसालले अब नेताहरूको सम्पत्ति छानबिन हुने बताए । उनले जनयुद्धमा नलाग्दा सम्पत्ति कति थियो र त्यसपछि त्यो सम्पत्ति कहाँबाट आयो भन्ने कुराको पुष्टि गर्न नसकेको खण्डमा जनताले बीचमै भ्रष्टाचारीलाई कारबाही गर्ने बताए । एमसीसी नेपाल र नेपाली जनताको भावनाविपरीत नेपालको संविधानभन्दा माथि गराउने गरी वर्तमान सरकारले अमेरिकी सरकारलाई शक्तिशाली बनाउँदै संसद्बाट पारित गर्नु मुलुकका लागि दुर्भाग्य भएको उनले बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अर्घाखाँची कपिलवस्तु इन्चार्ज पदम केसीले जनताको आन्दोलनले जितेमा सहिदको सम्मान हुने बताए । सहिदको सम्मानका लागि आफूहरू निरन्तर रूपमा सङ्घर्ष गरिरहेको उनले बताए । काठमाडौँ गएपछि प्रचण्ड, बाबुराम र बादलहरूले सहिदको सपना बिर्सेकाले सहिद परिबारले तिनलाई गद्दार घोषणा गर्नुपर्ने र आफ्नो पार्टीलाई सल्लाह, सुझाब र मार्गदर्शन दिनुपर्ने उनले बताए ।

कार्यक्रममा सहिद परिवारका तर्फबाट मन्तव्य राख्दै सहिदसन्तति सिद्धिप्रसाद भुसालले सहिदको सपना साकार पार्ने गरी लड्नका लागि आग्रह गरे ।

कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्तीमगरको अध्यक्षता, नेपाल कम्युनिस्ट पार्टीका नेता नवीन खड्काको सञ्चालन र जिल्ला सदस्य चिन्तनको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । कार्यक्रममा सहिद तथा बेपत्ता परिबारका सन्ततिलाई प्रमाणपत्र, दोसल्ला, नगदसहित सम्मान गरिएको थियो । अर्घाखाँची जिल्लामा ७६ जना सहिद र २ जना बेपत्ताको सूची तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :