पाँच पार्टी र एक मोर्चाले एकै ठाउँमा मनाए सहिद सप्ताह

पाँच पार्टी र एक मोर्चाले एकै ठाउँमा मनाए सहिद सप्ताह

उदयपुर : सहिद सप्ताह २०७८ को पहिलो दिन नेपाल कम्युनिस्ट पार्टी उदयपुरको आयोजनामा उदयपुरको सदरमुकाम गाईघाटमा अन्य पाँचवटा कम्युनिस्ट पार्टी र एक मोर्चाको उपस्थितिमा सहिदको तस्बिरमा माल्यार्पण गरिएको छ ।

सहिद सप्ताह कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज विवेक कुमालले महान् जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेललगायत जनयुद्ध र जनआन्दोलनका सहिद, बेपत्ता योद्धाहरू तथा एकीकृत जनक्रान्तिका महान् सहिदहरूलाई स्मरण गर्दै उनीहरूले देखाएको बाटोलाई प्रचण्ड–बाबुरामले बिचैमा छोडेर क्रान्तिलाई धोका दिए पनि आफूहरूले एकीकृत जनक्रान्तिमार्फत सहिदका सपनालाई पूरा गर्ने बताए । सहिदका सपना पूरा गर्नका लागि उनले सम्पूर्ण सहिद तथा बेपत्ता योद्धाका परिवारहरूलाई एकीकृत जनक्रान्तीमा लामबद्ध हुन आह्वान पनि गरे ।

सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले एकाताबद्ध भएर जानुपर्ने र राष्ट्रघातीहरूका विरुद्धमा सङ्घर्ष गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेमा उनले जोड दिए ।

अन्य राजनीतिक दलबाट नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मोहनसिंह तामाङ, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला संयोजक लीलबहादुर विक, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गोकुल चाम्लिङ, मजदुर माओवादीका महासचिव हिलाल राई, नेकपाका केन्द्रीय सदस्य रामलाल तामाङ, नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सचिव शङ्कर पौड्याललगायतले सहिदका सपना पूरा गर्न सबै कम्युनिस्ट पार्टी एक ठाउँमा सङ्गठित हुनुपर्ने बताए । वक्ताहरूले राष्ट्र र जनताको मुक्तिका निम्ति विभिन्न परिवर्तनकारी आन्दोलनमा सहादत प्राप्त गर्ने महान् सहिदहरूप्रती उच्च सम्मान गर्दै नेकपा उदयपुरले आयोजना गरेको सहिद सप्ताहमा आफूहरूलाई सहभागी गराएकोमा धन्यवाद दिए ।

कार्यक्रमको अध्यक्षता नेकपाका जिल्ला समिति सदस्य तथा नगरपालिका इन्चार्ज मीनप्रसाद पोख्रेलले गरेका थिए भने सञ्चालन नेकपाका जिल्ला सदस्य तथा विशेष पालिका इन्चार्ज रमेश कटवालले गरेका थिए ।

त्यसैगरी उदयपुरको कटारी नगर समितिले पनि सहिद सप्ताह २०७८ विभिन्न कार्यक्रम गरी मनाएको छ । उक्त कार्यक्रममा सहिदहरूको सालिकमा नेकपाका नेता–कार्यकर्ताले माल्यार्पण गरेका थिए ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले ११ जना सहिद परिवारलाई खादा ओढाएर सम्मान गरेका थिए । साथै उनले महान् जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेललगायत जनयुद्ध र एकीकृत जनक्रान्तिका महान् सहिदहरूले देखाएको बाटोमा आफू र आफ्नो पार्टी सहिदको निरन्तर लडिरहने प्रतिबद्धता गरेका थिए । दलाल संसदीय व्यवस्थामा महान् सहिदहरूले बगाएको रगतको अपमान भएकाले सहिदको सपना पूरा गर्न यो दलाल संसदीय व्यवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न जनक्रान्ति अघि बढिरहेको उनले बताए । पौड्यालले सम्पूर्ण सहिद परिवारहरूलाई एक ठाउँमा सङ्गठित भएर एकीकृत जनक्रान्तिलाई सहयोग गर्न अपिल पनि गरेका थिए ।

कार्यक्रमको अध्यक्षता उदयपुर जिल्ला सदस्य तथा कटारी नगरपालिका इन्चार्ज अमृत खत्रीले गरेका थिए भने सञ्चालन उदयपुर जिल्ला सदस्य तथा कटारी नगरपालिका सेक्रेटरी पूर्ण कटवालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :