राष्ट्रघाती एमसीसीविरुद्ध आज विशाल प्रदर्शनसहित संसद् भवन घेराउ

राष्ट्रघाती एमसीसीविरुद्ध आज विशाल प्रदर्शनसहित संसद् भवन घेराउ

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले आज विशाल प्रदर्शनसहित काठमाडौँमा संसद् भवन र देशैभर जिल्ला प्रशासन कार्यालय घेराउ गर्दैछन् । आन्दोलनकारी दल र मोर्चाको हिजोको बैठकले आज र भोलिको विरोधसभाको कार्यक्रममा विकास गरी काठमाडौँलगायत देशभर विशाल प्रदर्शन र काठमाडौँमा प्रदर्शनसहित संसद् भवन घेरा उगर्ने निर्णय गरेको थियो ।

पाँचदलीय गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यमान सत्ता गठबन्धन फुटाएर र नयाँ गठबन्धन बनाएरै भए पनि राष्ट्रघाती एमसीसी सदनबाट पारित गराएरै छोड्ने षड्यन्त्र गरेपछि आन्दोलनरत दलहरूले १५ गतेका लागि तय भएको काठमाडौँ खुलामञ्चको विरोधसभालाई विशाल प्रदर्शनमै रूपान्तरण गरी सडक सङ्घर्षलाई बढी प्रभावकारी बनाउने निष्कर्ष निकालेका थिए । बैठकले फागुन १५ र १६ गते घोषणा गरिएका जनसङ्घर्षका कार्यक्रममा व्यापक रूपमा सहभागिता जनाई एमसीसी कम्प्याक्टलाई खारेज गराएरै छाड्न सङ्घर्षरत राजनीतिक पार्टीहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्त र आमनेपाली जनतामा विशेष आह्वान गरेको थियो ।

बैठकले फागुन १५ र १६ गते काठमाडौँ उपत्यकामा माइतीघरमण्डलबाट विशाल विरोध प्रदर्शनसहित संसद् भवन घेराउ गर्ने र उपत्यकाबाहिर देशव्यापी रूपमा जिल्लाहरूमा विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम पनि ठोस गरी सार्वजनिक गरेको छ । बैठकले फागुन ८ र १२ गतेको नयाँबानेश्वरको विरोध प्रदर्शन र संसद् भवन घेराउ कार्यक्रमबाट गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य वसन्त बोगटी, नेपाल कम्युनिस्ट पार्टीका विज्ञान रोक्का, हेमन्तराज खड्का र सुदर्शन पाण्डे, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रदेश सदस्य भूपाल सेन्चुरीलगायत दर्जनभन्दा बढी आन्दोलनकारीलाई देउवा सरकारले अहिलेसम्म पनि रिहा नगरी झूट्टा मुद्दामा फसाउने षड्यन्त्र गरिराखेकाले षड्यन्त्र रोकी तत्काल रिहा गर्न माग गरेको छ । त्यसगरी १२ गतेको जनसङ्घर्षको कार्यक्रममा बानेश्वर अल्फाबिटानजिक गम्भीर घाइते भई अन्नपूर्ण न्युरो अस्पतालमा उपचारमा रहनुभएका अछाम जिल्लाका युवा हेमराज अवस्थीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको निःशुल्क उपचारका लागि सरकारसँग विशेष माग गरिएको छ ।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेहरूमा नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मसाल) का महामन्त्री मोहाविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा पाँचदलीय गठबन्धन भत्काएर, सभामुख परिवर्तन गरेर, केपी वलीसँग नयाँ गठबन्धन बनाएर वा जस्तोसुकै मूल्य चुकाएर भए पनि राष्ट्रघाती एमसीसी संसद्‌बाट पारित गराएरै छोड्ने ढिटमा छन् भने पुष्पकमल दाहाल, माधव नेपालहरू जनताबाट तिरस्कृत होइने भयले देउवा र भट्टराईजस्तो प्रस्ट खुल्न सकेका छैनन् । केपी वली भने गठबन्धन फुटाउन वा सभामुख हटाउन सकिएमा जस्तोसुकै राष्ट्रघात गर्न पनि तयार भएर बसेका छन् । यो अवस्थामा देशभक्त तथा क्रान्तिकारी पार्टी, शक्ति र जनसमुदायको क्रियाशीलता र सङ्घर्षमा एमसीसी अडिने वा फर्किने आकलन गर्न थालिएको छ किनकि यसअघि क्रान्तिकारी पार्टी र जनसमुदायको जुझारु एकता र सङ्घर्षले एमसीसी पारित हुनबाट रोकिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :