राष्ट्रिय सहिद घोषणा गर

राष्ट्रिय सहिद घोषणा गर

दसौँ हजार योद्धाहरूले राष्ट्रियता, जनतन्त्र, जनजीविका र वैज्ञानिक समाजवाद स्थापनाका लागि बलिदान गरेर निर्माण गरेको, जोगाएको मुलुक राष्ट्रघाती एमसीसी लाद्ने षड्यन्त्रपछि फेरि गम्भीर राष्ट्रघातको चपेटामा परेको छ । नेपाली भूमि कालापानीमा एकातिर भारतीय साम्राज्यवादी सैनिक परेड खेलिरहेका छन् भने अर्कातिर नेपालका लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा भारतीय साम्राज्यवादले सडक खन्ने बहानामा डोजर चलाइरहेको छ । नेपालका शासकहरू भारतीय साम्राज्यावादसामु नतमस्तक छन् । जनताको आन्दोलन र बलिदानको भरमा नेपालको राष्ट्रियता टिकेको छ । यहीबीचमा अमेरिकी साम्राज्यवाद नेपालको राष्ट्रियतामाथि गम्भीर धावा बोल्दै एमसीसी नाउँको दीर्घकालीन युद्धरणनीति बोकेर भित्रिएको छ र दलाल पुँजीवादी शासकहरूले हरियो डलरमा बिकेर राष्ट्रियतामाथि आघात पुर्याउँदै सडकमा जनताको रगत बगाउँदै पारित गरेर लागू गर्ने उद्देश्यले संसद्‌मा एमसीसी टेबुल गराएका छन् । संसद्‌वादी दलहरूको यो हर्कतले राष्ट्रघात त गरेकै छ, महान् सहिदहरूको घोर अपमान गरेको छ । त्यसैले यो निन्दनीय र खेदजनक छ । सहिद सप्ताह २०७८ का अवसरमा हामी सर्वप्रथम महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ र सहिदको सपनामा घात गर्ने राष्ट्रघातीहरूका हर्कतप्रति घोर निन्दा र खेद प्रकट गर्दछौँ ।

देश, श्रमिक/सर्वहारा वर्ग र जनताको मुक्तिलाई केन्द्रमा राखेर महान् जनयुद्ध आरम्भ गर्ने पुष्पकमल दाहालहरूले नै जनयुद्ध आरम्भ गर्दा नेकपाका मागहरूबारे कुनै सुनुवाइ नगर्ने र बेवास्ता गर्दै उल्टै दमन र हत्याअभियान सञ्चालन गर्ने शेरबहादुर देउवासँग भित्रभित्रै मिलेर सुगौली, महाकाली, कोसी, गण्डक, टनकपुर, महाकाली, बिप्पाभन्दा पनि गम्भीर राष्ट्रघाती एमसीसी सम्झौता संसद्‌बाट पारित गर्न टेबुल गरे/गराएका छन् र एमसीसीविरुद्ध सडकमा उत्रिएका आन्दोलनकारीमाथि गोली प्रहार गरे/गराएर रगत बगाएका छन् । एमसीसीको राष्ट्रघातमा पनि नालापानी, कालापानी र लिपुलेककै स्तरमा जनआन्दोलन उठेको छ र एमसीसीलाई लिएर विश्व–साम्राज्यवादी महाशक्ति अमेरिका र एक किसिमको समाजवादको अभ्यास गर्दै आएको मानिएको छिमेकी मुलुक चीन एकापसमा टक्कराउने अवस्था उत्पन्न भएको छ । अमेरिकी साम्राज्यवाद कुनै पनि बहानामा नेपालमा एमसीसी लादेर नेपाललाई रणमैदान बनाउने, नेपालको प्राकृतिक सम्पदा दोहन गर्ने र उदाउँदो महाशक्ति चीनको तेजोबध गर्ने षड्यन्त्रमा छ । दलाल पुँजीवादी शासकहरूको नालायकी र पामरपनका कारण आज मुलुकको राष्ट्रियता फेरि साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपको खतरामा परेको छ । यो निन्दनीय छ ।

देशमा यस्ता विकृत र विसङ्गतपूर्ण दृश्यहरू देखिइरहँदा २०७८ सालको सहिद सप्ताह आएको छ । झापा विद्रोहका योद्धाहरूको बलिदान भएको दिन फागुन २१ र जनयुद्धमा दिलबहादुर रम्तेलको बलिदान भएको दिन फागुन १४ लाई जोडेर जनयुद्धकालमा सहिद सप्ताह आरम्भ भएको थियो । यो महान् जनयुद्धले स्थापना गरेको विशेष दिन र विशेष पर्व हो । यो सहिद सप्ताहमा आमूल परिवर्तनका पक्षधरहरूले निरङ्कुश राणा शासनविरुद्ध बलिदान गर्ने लखन थापा, कृष्णलाल अधिकारी, १९९७ सालका चार सहिददेखि चिनियाँकाजी, भीमदत्त पन्त, झापा विद्रोह, २०३६, २०४२, २०४६ सालको जनआन्दोलनका सहिद, महान् जनयुद्धका सहिद हुँदै एकीकृत जनक्रान्तिको बलिदानसम्म आइपुग्दा नेपाल र नेपाली जनताको मुक्तिका लागि बलिदान गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सहिद, बेपत्ता योद्धा, घाइते अपाङ्ग र आमउत्पीडित श्रमिक जनतासँग महान् सहिदका सपना पूरा गर्न सहिदले देखाएको बाटोमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछौँ र महान् जनयुद्ध र एकीकृत जनक्रान्तिमा त्याग, शौर्य र बलिदान गर्ने योद्धाहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गर्दछौँ । दलाल सत्ताको संरक्षक बनेका हिजो जनयुद्धका नायक पुष्पकमल दाहालहरूलाई गौरवशाली इतिहासप्रति कृतघ्न नबन्न र आफू सत्तामा भएको समयमा इतिहासप्रति थोरै भए पनि न्याय गर्न आग्रह पनि गर्दछौँ । मधेस प्रदेशले इतिहासमै पहिलोपल्ट प्रदेश स्तरमा जनयुद्ध दिवस मनाइरहँदा पुष्पकमल दाहालहरूले महान् जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गराउन पहल गर्न नसक्ने भन्ने हुँदैन । उनको इच्छाशक्ति भएमा ६२ प्रतिशत कम्युनिस्ट नाउँको मत पाएका दलहरूको वर्चस्व रहेको समयमा कम्युनिस्ट आन्दोलनमा बलिदान गर्ने योद्धाहरूलाई सडकबाटै सहिद घोषणा गर्न दबाब दिन पनि कुनै पनि कुराले रोक्दैन । रोक्ने भनेको विचार, राजनीति, जिम्मेवारी र इच्छाशक्तिले नै हो । सहिद सप्ताहका अवसरमा क्रान्तकारीहरूले महान् सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्नका लागि पुरानो सत्ता र शासकहरूलाई दबाब दिनु आवश्यक छ । यो सन्दर्भ पनि क्रान्तिकारीहरूको आन्दोलनको एजेन्डा बन्नुपर्दछ ।

आज महान् सहिद र बेपत्ता योद्धाका सपनाहरूलाई धरापमा पारिएको छ । महान् श्रमिक–उत्पीडित जनताका सपनालाई धराशायी बनाइएको छ । हिजोका माग, प्रतिबद्धता, त्याग, शौर्य र बलिदानलाई बेवास्ता गर्दै निरन्तर मुलुकमाथि थप राष्ट्रघात लादिएको छ । यसका विरुद्ध उठेको जनलहर र जनआन्दोलन/जनविद्रोहलाई लालसलाम छ । सडकमा निस्किएका देशभक्तहरूले छातीमा गोली थापेर पनि राष्ट्रघाती एमसीसीको विरोध गरेका छन् र राष्ट्रघाती हर्कत अस्वीकार गरेका छन् । एकपटक फेरि नेपाली जनता राष्ट्रियताका लागि बलिदान गर्ने स्तरसम्म आन्दोलित बनेको छ । यो देशभक्तिपूर्ण स्पिरिट जनक्रान्ति र वैज्ञानिक समाजवादसम्म कायम राख्नुपर्छ । सहिद सप्ताह २०७८ का अवसरमा हामी सबैले शपथ खाऔँ– कुनै पनि बहानामा महान् सहिदरुको सपनामाथि प्रचण्ड–बाबुरामहरूले गरेजस्तो घात हुनेछैन । दलाल पुँजीवादी व्यवस्था समाप्त पारेर त्यसको चिहानमा ठडिने वैज्ञानिक समाजवाले मात्र सम्पूर्ण महान् सहिदहरूका सपना साकार पर्नेछ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षा पनि वैज्ञानिक समाजवादले नै गर्नेछ । त्यसैले वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढ्न हामी आह्वान गर्दछौँ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :