नेपाल बन्दको पूर्वसन्ध्यामा झापामा मसाल जुलुस सम्पन्न

नेपाल बन्दको पूर्वसन्ध्यामा झापामा मसाल जुलुस सम्पन्न

झापा : शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्न लागेको भन्दै नेपाल कम्युनिस्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चाले भोलि नेपाल बन्दको घोषणा गरेकोे पूर्वसन्ध्यामा झापाको दमक र विर्तामोडमा मसाल जुलुससहित कोणसभा सम्पन्न भएको छ ।

आकस्मिक रूपमा भोलि नेपाल बन्दको घोषणा भएसँगै नेकपाका कार्यकर्ताले झापाको दमक र विर्तामोडमा प्रदर्शन गरेका हुन् । विर्तामोडको महानन्द चोकबाट सुरु भएको मसाल जुलुस सहितको र्याली मुक्तिचोकमा आइपुगेर कोणसभामा परिणत भएको थियोे भने कोणसभालाई पार्टीका जिल्ला सचिव प्रशान्त थापा र जिल्ला सदस्य तथा मेचीनगर इन्चार्ज जितु तामाङले सम्बोधन गरेका थिए ।

सभालाई सम्बोधन गर्दै जिल्ला सचिव थापाले राष्ट्रघात गर्न लागिपरेका दलाल संसदीय व्यवस्थाका गद्दारहरूलाई जनताले सबै स्थानबाट बहिष्कार गर्नुपर्ने दिन आएको बताए । त्यस्तै सभालाई सम्बोधन गर्दै जिल्ला सदस्य जितुले डलरको प्रलोभनमा परेर नेपालको अस्मिता माथि बलात्कार गर्ने दलालहरूलाई देश निकाला गर्नुपर्ने र त्यसका लागि बलिदान गर्नुपरे पनि तयार रहेको भन्दै सबैले राष्ट्रघातका विरुद्ध सङ्घर्ष गर्न उद्घोष गरे ।

त्यसैगरी दमकको गणतन्त्र चोकमा भएको मसाल जुलुस पश्चातको कोणसभालाई पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय राईले सम्बोधन गरेका थिए । उनले जनता र राष्ट्रमाथि कुठाराघात गर्ने कुनै पनि शक्तिलाई बहिस्कार गर्न सबै जनतालाई अपिल गर्दै भोलि हुने नेपाल बन्द सफल गर्न सबैमा अपिल गरे ।

मसाल जुलुस तथा र्यालीमा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, देश बेच्न पाइँदैन, दलाल संसदीय व्यवस्था मुर्दावाद, लगायतका नाराबाजी गरिएको थियोे ।

पहिलेदेखि नै एमसीसीका विरुद्ध पटकपटक सङ्घर्ष गरिरहेको उक्त पार्टीले राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा पारित गर्न नहुने भन्दै विभिन्न चेतावनी दिँदै सडकमा प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :