नेकपा झापा जिल्लाको पूर्ण बैठक सम्पन्न

नेकपा झापा जिल्लाको पूर्ण बैठक सम्पन्न

झापा : नेपाल कम्युनिस्ट पार्टी झापाको ८ औँ पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुमन लिम्बुको प्रमुख आतिथ्यता एवम् जिल्ला सचिव प्रशान्तको अध्यक्षतामा झापाको गौरीगञ्ज गाउँपालिकामा निरन्तर दुई दिनसम्म चलेको बैठकले विभिन्न निर्णयहरू गरेको छ ।

उक्त बैठकमा जिल्लाका विभिन्न नगर तथा गाउँपालिका इन्चार्जहरूले फिल्ड रिपोर्टिङ गरेका थिए । रिपोर्टिङ अनुसार जनताले अब परिवर्तनको चाहना राखेको र नेकपाको बिचारलाई मन पराउनेहरूको सङ्ख्यामा बृद्धि भएको पाइएको छ ।

बैठकले विभिन्न पालिका तथा नगरका इन्चार्जहरूको जिम्मेवारीसमेत हेरफेर गरेको नेपाल कम्युनिस्ट पार्टी झापाका सचिव प्रशान्त थापाले जानकारी दिए । उनका अनुसार शिवसताक्षी इन्चार्जमा खेम बुढाथोकीलाई जिम्मेवारी दिइएको छ भने युद्ध झापालीलाई कनकाई नगर पठाइएको छ । त्यस्तै कनकाइ इन्चार्ज देवी उप्रेतीलाई किसानको जिल्ला संयोजकमा जिम्मेवारी दिइएको नेकपाले जनाएको छ ।

बैठकमा नेकपाले राजनीतिक, बैचारिक, संगठनात्मक, आर्थिक र उत्पादन लगायतका विषयमा गम्भीर छलफल गरेको थियोे । एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी सत्ता नै अबको बाटो रहेको र संसदीय व्यवस्था पूर्ण रूपमा असफल भएको ठहर गर्दै उक्त पार्टीले अहिले जनमतसङ्ग्रहको एजेन्डा अगाडि बढाएको छ ।

बैठकका अनुसार यहि पुषमा २ महिने सङ्गठन विस्तार तथा सुदृढ अभियान सञ्चालन गर्नेसमेत निर्णय गरेको नेकपाले जानकारी दिएको छ । बैठकले कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले उत्पादनलाई विषेश जोड दिनुपर्ने बताउँदै एक सङ्गठन एक उत्पादनलाई तिव्र रूपमा अगाडि बढाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :