जनसञ्चार क्रान्तिको अभिन्न अङ्ग हो : विप्लव

चितवन : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रचण्ड, बाबुरामहरूले क्रान्तिको कार्यदिशा विकास गर्न नसकेर साम्राज्यवाद–पुँजीवादलाई जित्न नसक्ने भयानक शक्ति देख्दै क्रान्तिकारी आन्दोलनबाट पलायन भएको बताएका छन् । रातोखबर प्रकाशन गृह प्रा.लि.ले बिहीबार चितवनमा आयोजना गरेको राष्ट्रिय स्तरको प्रतिनिधि प्रशिक्षण/भेलामा प्रमुख अतिथिका रुपमा प्रशिक्षण दिँदै महासचिव विप्लवले नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा रातोखबर प्रकाशनले प्रभावकारी भूमिका निर्वाह गर्दै प्रतिक्रियावादी राज्यसत्ता, सत्ताले लादेको प्रतिबन्ध र दलाल पुँजीवादी ज्यादती चिर्दै एक स्तरको विजय हासिल गरेको पनि बताए ।

वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्ति लडिरहेको कम्युनिस्ट पार्टीले हतियारधारी सेना मात्र नभएर, विज्ञान–प्रविधिसहितको सूचना सञ्चार मोर्चामा झन् अब्बल ठहरिनुपर्ने महासचिव विप्लवले बताए । लेनिनले सञ्चार मोर्चालाई प्रचारक, सङ्गठक र आन्दोलनकर्ताका रुपमा परिभाषा गरेको र माओले सत्ता प्राप्त गर्न बन्दुकलाई बढी महत्व दिएको सन्दर्भ उठाउँदै महासचिव विप्लवले एकीकृत जनक्रान्तिमा यी सबै मोर्चा महत्वपूर्ण रहेको प्रस्ट पारे । सञ्चार मोर्चा जनताका मित्र र शत्रु दुबै शक्तिका लागि महत्वपूर्ण शक्ति रहेकाले क्रान्तिकारीहरूले झुट र लुटमा टिकेको दलाल पुँजीवादका खराबी र वैज्ञानिक समाजवाद स्थापनाका लागि जनतामा सही सूचना पुर्याउन सधैँ प्रत्यत्नशील र अब्बल ठहरिनुपर्ने महासचिव विप्लवको भनाई थियो । पार्टी कार्यदिशा र कार्यक्रम सही र प्रभावकारी भएकैले रातोखबर प्रकाशन गृहले लडाकु शक्तिको भूमिका निर्वाह गरेको विप्लवले बताए । जनसञ्चार क्रान्तिको अभिन्न अङ्ग भएको बताउँदै महासचिव विप्लवले भने, ‘हामी जित्छौँ । जनताका दुस्मनहरू हारिरहेका छन् । दलाल पुँजीवाद र वैज्ञानिक समाजवादबीच जनतमसङ्ग्रह गराऊँ, हामी जित्छौँ, जनताले जित्छ ।’

रातोखबर प्रकाशन गृहका निर्देशकसमेत रहेका नेकपाका केन्द्रीय सदस्य वसन्त श्रेष्ठ ‘प्रज्वलन’ ले विगत अन्तर सङ्घर्षको  समय, प्रतिबन्धको समय र त्यसपछि पनि रातोखबर प्रकाशन गृहले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गरेको बताए । जनपक्षीय सञ्चारमाध्यमले विचारसहितको समाचार सम्प्रेषण् गर्नुपर्नेमा जोड दिँदै नेकपा नेता प्रज्वलनले भने, ‘सूचनाहरू धारणा निर्माणका आधार हुन्, यी दृष्टिकोण निर्माणका बीज पनि हुन् । रातोखबरका सूचना आगोका बिउ हुन् । क्रान्तिकारी आन्दोलनमा केन्द्रीकृत प्रतिभाहरूले पुँजीवादी सत्ताका खराबीहरूका विरुद्ध सूचना र विचार सम्प्रेषण गर्नेछन् ।’ जनपक्षीय सञ्चारमाध्यम श्रमिक, उत्पीडित, उपेक्षित वर्ग र जनसमुदायको आवाज बन्नुपर्ने र रातोखबर प्रकाशन गृहले त्यो जिम्मेवारी पूरा गरिरहेको निर्देशक प्रज्वलनले बताए ।

रातोखबर प्रकाशन गृहका देशभरका प्रतिनिधका जिज्ञासाहरूको जवाफ दिँदै गृहका सम्पादक अशोक सुवेदीले क्रान्तिका वैचारिक र सञ्चार सिपाहीका रुपमा क्रियाशील सञ्चारकर्मीले निरन्तर अग्रमोर्चामा रहेर भूमिका निर्वाह गर्नुपर्ने बताए । यसैगरी, जनपत्रकार सङ्गठन नेपालका संयोजक शेरबहादुर विश्वकर्माले क्रान्तिकारी पत्रकारहरू सूचनामा चलाख, अनुसन्धानमा अब्बल र सत्य–तथ्यमा श्रेष्ठ सावित हुनुपर्ने बताए । कुशल व्यवस्थापन र दक्ष पत्रकारिताका माध्यमले सञ्चार र सूचनाका साथै आन्दोलनमा पनि पहल लिन सकिने बताए । यस्तै, पत्रकार एवम् साहित्यकार डा. शिवशङ्कर बस्यालले लेख्न मात्र नभएर क्रान्तिमा बलिदान गर्नेसम्मको तयारीमा रहेको सञ्चार दस्ता आफ्नो उद्देश्यमा सफल हुने बताए ।

प्रकाशन गृहका सम्पादक अशोक सुवेदीको अध्यक्षतामा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रमको सञ्चालन रातोखबरका व्यवस्थापक धनराज शाही, स्वागत ई–रातोखबर अनलाइन सम्पादन समूहका सदस्य आशिष चौधरी र सहाभागीहरूलाई बधाई ज्ञापन अनलाइनका व्यवस्थापक झनक श्रेष्ठले गरेका थिए ।

भेला तथा प्रशिक्षणमा भेरी–कर्णालीबाट विनोद विष्ट, जवसबाट अनिल केसी, सुदूर–पश्चिम प्रदेशबाट गणेश एसके, बागमती प्रदेशबाट नकुल चौलागाईं, कर्णाली प्रदेशबाट मोहन धामी, लुम्बिनी प्रदेशबाट राजेन्द्र रावत र एक नम्बर प्रदेशबाट अनिता गजमेरले रिपोर्टिङ्सहित सुझाव प्रस्तुत गरेका थिए ।

देशभरका करिब ४० जिल्लाका प्रतिनिधि सहभागी राष्ट्रिय भेला/प्रशिक्षणमा सहभागी पत्रकारले कार्यक्षेत्रमा फर्किएर जनपक्षीय सञ्चारकर्मलाई जीवन व्यवहार बनाउँने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :