वैज्ञानिक समाजवाद अपरिहार्य

वैज्ञानिक समाजवाद कि दलाल पुँजीवादी व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्छ भन्ने विषय नेपालमा अहिले सर्वाधिक बहसको विषय भएको छ । यो आजको वस्तुगत स्थितिले माग गरेको वैज्ञानिक आवश्यकताको बहस पनि हो । विगतदेखि आजसम्म अभ्यास र प्रयोग भएको दलाल पुँजीवादी संसदीय व्यवस्थाद्वारा नेपाली जनतामाथि लादिएको निर्मम अवैज्ञानिक उत्पादनहीन परजीवी असमान ढङ्गको लुट र उत्पीडनले नेपाली जनता आक्रान्त भएका छन् । उनीहरू यसबाट मुक्त हुन चाहन्छन् । आजसम्म नेपाली जनतालाई जुन ढङ्गबाट झुक्याइयो यो दलाल संसदीय पुँजीवादी व्यवस्थामा अथवा मुठीभर मण्डलेहरूको रङ्गमञ्चमा यो प्रपञ्च नै गलत साबित भएको छ । यहाँ त नेपाली जनतालाई कतिसम्म झुक्याइयो भने जनताबाट निर्वाचित हुने नाममा जनतालाई भोट र नोट बैङ्कमा परिणत गरेर निर्वाचित भई गएपछि दास–मालिकको भन्दा पनि नेपाली जनतालाई निच व्यवहार भयो जसले भोट दियर निर्वाचित गरे उनै जनतालाई अछूत ठानियो । भोट माग्ने बेलामा भोजभतेर खानपिन सबै चल्ने भोटरहरूको भोटले जितेपछि निर्वाचित भनिनेहरूले त भोट दिनेलाई तेस्रो मुलुकका यलियनझैँ ठाने । यही हो दलाल संसदीय व्यवस्थाको उत्तम चरित्र । भोटका बेलामा जनता समस्या समाधानका बेलामा पैसा अब पनि फेरि यस्तैलाई र यस्तै व्यवस्थामा फेरि पनि नेपाली जनताको सहभागिता भयो भने यो विडम्बना हुन्छ । अझै पनि हामीले जान्दाजान्दै ठगिने लुटिने प्रक्रियामा दलाललाई पाल्ने–पोस्ने प्रक्रियामा कोही पनि सहभागी नबनौँ । त्यसैले एकपटक सबैले चिन्तनमनन गर्नुपर्ने बेला आएको छ । गहिरो ढङ्गले सोच्नुपर्ने बेला आयको छ अब पनि फेरि दिनानुदिन हामी गरिबी अशिक्षा बेरोजगारीको खाल्डोमा भासिने कि यसबाट मुक्त हुने ? अझ पनि हामी लुटिएर दलालहरूलाई मोटाउन दिने कि यी दलालहरूको साम्राज्य भत्काएर यिनीहरूबाट छुट्कारा पाउने ? यो फैसला गर्ने बेला नेपाली जनतालाई महान् जिम्मेवारी बनेर आउँदैछ । फेरि पनि हामीले दलाल पुँजीवादीहरूको व्यवस्था जसले राष्ट्रघात जनघात गरेको छ जसले असमान उत्पादनहीन शिक्षानीति गरिबी भ्रष्टाचारलाई अख्तियार गरेको छ जुन व्यवस्थाले नेपाली जनतालाई गुलाम नोकरको दर्जा दिएको छ जुन व्यवस्था एकात्मक व्यवस्थाभन्दा पनि निरङ्कुश फासिस्ट छ जसले स्वतन्त्रतापूर्वक बाँच्ने बोल्ने अधिकार नै आफ्नो नियन्त्रणमा लगेको छ । यसबाट हामी मुक्त हुन चाहन्छौँ र हुनैपर्छ । यी बन्धनबाट मुक्त हुन हामी सहकार्य गरौँ जसको ज्वलन्त उदाहरण यो प्रदूषित संसदीय दलाल राजनीति र संसदीय व्यवस्था हो । यसले समाजलाई आजसम्म के दियो त ? हामीले बुझ्नुपर्ने कुरा राजनीतिक अस्थिरता महँगी आर्थिक सङ्कट सामाजिक वैमनश्य कुसंस्कृति संस्थागत भ्रष्टाचार राष्ट्रघात जनघात नेपाली जनतालाई संसदीय व्यवस्थाले थोपरेको उपहार हो । यहाँभित्र धेरै गहिरिएर बुझ्न नसके पनि चुनावका बेलामा भनेका र जितेर गइसकेपछिको तिनीहरूको व्यवहार हेर्दा बुझिन्छ अथवा चुनाव जित्नुभन्दा अगाडि के थिए जितेपछि के भए जीवनशैली हेर्दा थाहा हुन्छ ।

तपाईंहाम्रो घरअगाडिको बाटो पुलपुलेसा बिजुली विद्यालय खानेपानी हेर्दा झन् छर्लङ्ग हुन्छ । भोट माग्ने बेलामा जीहजुरी जितेपछि छोरीबुहारी दाजुभाइ मात्रै । त्यसैले यो खोक्रो आदर्श ढोङ्गी नौटङ्की नेपाली जनतालाई भ्रमजालमा राखेर ठगिखाने दलाल संसदीय व्यवस्थाको नौटङ्की चाहिँदैन । यसलाई नेपाली जनताले खारेज गर्नुपर्छ । जनताको खुनपसिना चुसेर सत्ताको शक्तिको मातमा भुस्याहाहरूको आडले दलालहरूको आडमा फलाम हुँ भनेर छाती पिट्दै हिँड्नेहरूलाई नेपाली जनताले आगोका अगाडि फलाम कस्तो हुन्छ भनेर देखाउनुपर्ने भएको छ । नेपाली जनताको श्रमपसिना खाएर नेपाली जनतामाथि नै अन्याय थोपर्ने व्यवस्थालाई सधैँका लागि खारेज गरौँ । विकास परिवर्तन समृद्धि राष्ट्रियता आत्मनिर्भरता पो हो जनतालाई थोपर्नुपर्ने यसको ठाउँमा भ्रष्टाचार गुन्डागर्दी बलात्कार बेरोजगार अनियमितता नातावाद घूसखोरी पो लादेर शासकहरूले प्रपञ्च गरिरहेका छन् । यो संसदीय व्यवस्था सबै हिसाबले विभेदकारी छ षड्यन्त्रकारी र खुराफाती छ यो दलाल व्यवस्था । यसले जनतालाई आपसमा भिडाएर संसदीय व्यवस्थाका नाइकेहरूले आफ्नो स्वार्थपूर्ति गरिरहेका छन् । जनतालाई फुटबल खेल्न लगाएर दुनियाँलाई रमिता देखाएर दलालहरू आफ्नो स्वार्थपूर्तिमा व्यस्त छन् । त्यसैले नेपाली जनताको आजको प्रमुख शत्रु दलाल संसदीय व्यवस्था हो । यसलाई जरैदेखि नमिल्काई देशमा शान्ति स्थिरता सुशासन विधि मूल्य मान्यता स्थापित हँुदैन । यो दलाल संसदीय व्यवस्थाको दूषित वातावरणबाट हामी मुक्त हुन जरुरी छ ।

त्यसो भए आजको निकास के त ?

आदरणीय महासचिव कमरेड विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले नेपाली जनतालाई दलाल पुँजीवाद कि वैज्ञानिक समाजवाद ? यसका लागि जनमतसङ्ग्रह अहिले हावा चलिरहेको मरणासन्न दलाल संसदीय व्यवस्थाकै पुरानै चुनाव कि नेपाली जनताले व्यवस्था चुन्न पाउने जनमतसङ्ग्रह भनेर बहस व्यापक भयको छ । हामी नेपाली जनतामाथि लादिएको मुठीभर दलालहरूको लुटको स्वर्गबाट बाहिर खुला न्यायपूर्ण समानताले भरिएको ठाउँमा ल्याउने प्रयत्नमा प्रतिबद्ध छौँ । यो संसदीय व्यवस्था भनेको हिटलरको ग्याँस च्याम्बर हो जहाँभित्र गरिबी अशिक्षा अभाव उत्पीडन महँगी बेरोजगार भ्रष्टाचार राष्ट्रघातले नेपाली समाज निसास्सिएका छन् । हामी यस ग्याँस च्याम्बरबाट बाहिर सम्पूर्ण अन्यायबाट मुक्त स्वच्छ अक्सिजन प्राप्त गर्ने ठाउँमा लैजान खोज्दैछौँ । त्यो भनेको वैज्ञानिक समाजवादी व्यवस्था हो । हामीले यो बहस गरिरहँदा कतिपयको सल्लाह सबै कम्युनिस्टहरू मिलेर बहुमत ल्याएर यहीँभित्र सुधार गर्न सकिन्छ नि भन्ने बुझाइ छ । हामीले ०७ सालदेखि हालसम्म केपीको दुईतिहाइको हाँडीगाउँको जात्रा देखिसकेका छौँ– हाम्रो छलफलको स्पिरिट त्यता होइन हामीले पुरानोभित्रको सुधारको कुरा गरेको होइन । यो त सुधार नहुने गरी कुहिएको फर्सीजस्तो भएको छ । बाहिरबाट हेर्दा सुन्दर देखिए पनि भित्र पूरै सडिसकेको छ । त्यसकारण यसको यही समयमा अन्त्येष्टि नै वैज्ञानिक समाधान हो । यो आजसम्म भएको व्यावहारिक असफल सिद्ध प्रयोगले देखाइसकेको छ । दलाल संसदीय व्यवस्थाभित्र कम्युनिस्ट पार्टी र मिलाएर ठूलो सङ्ख्यामा देखाएर बहुमत ल्याएर सुधार गर्ने भनेको त पुरानो मेसिनबाट आजको आवश्यकता आजको पुस्तालाई चाहिएको आजको माल खोज्नु अवैज्ञानिक चाहना हो । यो संसदीय दलाल व्यवस्था पुरानो भइसक्यो । यसबाट आजको समाजले के उत्पादनको आशा गर्ने ? सोच्नै नसकिने कुरा हो । अहिलेको आवश्यकता वैज्ञानिक समाजवाद हो । केही पुराना मित्रहरू अझै पनि दलालीबाटै आफ्नो रोटी सेक्ने सुधार खोजिरहेका छन् । उनीहरू ठूलो भ्रममा छन् । यसबाट मुक्त हुन सकेन भने नयाँ गति पकड्न सकिँदैन । पुरानैमा अन्त्य हुने खतरा हुन्छ । भुसी इँटाभट्टामा गएर चिम्नी इँटा खोजेजस्तो मजाको पात्र बनिन्छ । त्यसैले नयाँ प्रयोग नयाँ आवश्यकतामा लागौँ । त्यसैले अब पुरानो दलाल संसदीय व्यवस्थाको चुनाब नभई जनतालाई आफ्नो व्यवस्था छान्नका लागि जनमतसङ्ग्रहमा जाओैँ । यो नै सही वस्तुवादी वैज्ञानिक प्रयोग हुनेछ ।

आजसम्म चलेको संसदीय व्यवस्थाले नेपालीहरूको जीवनस्तरमा कत्ति पनि परिवर्तन गर्न सकेन । दलालहरू लुछाचुँडीमै भ्रष्टाचारमै राष्ट्रघात र जनघातमै ठिक्क भए । यो व्यवस्था आफैँमा पनि असफल सिद्ध भएको छ । सङ्कटग्रस्त छ । त्यसकारण हामी नयाँको खोजीमा अगाडि बढ्नु उपयुक्त हुन्छ । जहाँ सम्पूर्ण प्रकृतिका उत्पीडनबाट मुक्त भइनेछ जहाँ हरेक नागरिक शोषणरहित श्रममा भाग लिनेछन् । नागरिकहरू स्वतन्त्रतापूर्वक आफ्ना सीप क्षमताअनुसार उत्पादन उपभोग गर्नेछन् । त्यो भनेको वैज्ञानिक समाजवादी व्यवस्था हो । समाजवादमा हरेक नागरिकलाई शोषणरहित उत्पादनको अधिकार दिइनेछ । राज्यको नेतृत्वमा व्यक्तिगत स्वामित्व र स्वतन्त्रता लागू हुनेछ । सबै प्रकारका अनिमियतता आर्थिक अधिकार शत्रुतापूर्ण अर्थप्रणालीको समूल नष्ट हुन्छ । समान उत्पादनमुखी शिक्षा निःशुल्क स्वास्थ्य उपचार लागू हुन्छ । पुँजीवादका सम्पूर्ण अवशेषको अन्त्य हुनेछ । यो वास्तविकता हो । आउनुहोस् तपाईंहामी डटेर लागौँ । जनताका स्वर्णिम दिन क्षितिजमा उदाइरहेका छन् । हाम्रो मेहनतले ग्रहण गरौँ । आजका सम्पूर्ण विभेदबाट छुट्कारा वैज्ञानिक समाजवादले मात्र दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :