रूपन्देहीमा मगर मोर्चाद्वारा एमसीसीविरूद्व सिडियोमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रूपन्देहीमा मगर मोर्चाद्वारा एमसीसीविरूद्व सिडियोमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ : मगर मुक्ति मोर्चा नेपालले एमसीसी परियोजना राष्ट्रघाती सम्झौता भएको भन्दै संसदबाट पास नगराउन प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । रूपन्देहीमा मोर्चाले प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीमार्फत् प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।

मोर्चाको केन्द्रीय कार्यक्रम अन्तर्गत ज्ञापनपत्र बुझाउँदै मोर्चाका केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला अध्यक्ष इश्वरी तरामु मगरले एमसीसी परियोजना देशको स्वाधीनता विपरीत भएको भन्दै यसलाई तत्काल खारेज गर्नुपर्ने बताए । उनले परियोजना खारेज नगरे थप सङ्घर्षको कार्यक्रम घोषणा गर्ने बताए ।

मोर्चाद्वारा ज्ञापनपत्रमा “नेपाल कहिल्यै पराधिन नभएको मुलुक हो । आज हामी त्यही मुलुकमा छौँ, जहाँ अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेपको रुपमा एमसीसी परियोजना हामीमाथि जर्बजस्त लागूगर्ने प्रयास हुँदैछ । यो अमेरिकाको नेपाललाई नवउपनिवेश बनाउने खेल हो, जसलाई आम नेपाली जनताले खारेज गरिसकेका छन् ।”–उल्लेख गरिएको छ । ज्ञापन पत्रमा संसदबाट पारित गरेर साम्राज्यवादका दलालहरू भित्राभित्रै षड्यन्त्रमा लागि परेको बताउँदै यो बेला चौतर्फी विरोध र भण्डाफोर गर्नु अपरिहार्य आवश्यकता भएको बताइएको छ ।

ज्ञापन पत्रमा भनिएको छ, “अहिले देश मुख्यतः राष्ट्रघाती एमसीसी परियोजनाले हाम्रो देशको सार्वभौम सत्ता गुम्न जाँदैछ । यो परियोजना तत्काल खारेजको माग गर्दछौँ । यो अवस्थामा हाम्रो मगर मुक्ति मोर्चा, नेपाल सम्मानीय प्रधानमन्त्रीज्यूलाई यी देशका राष्ट्रियता, जनतन्त्र र जनजीविका प्रश्नहरूमा गम्भीर बन्न आग्रह गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :