अमेरिकी सेनाभन्दा नेपाली जनता हजारौँ गुणा शक्तिशाली छन् : प्रकाण्ड

राष्ट्रघाती एमसीसी परियोजनाविरुद्धको आन्दोलनमा सरकारको नाङ्गो दमन

अमेरिकी सेनाभन्दा नेपाली जनता हजारौँ गुणा शक्तिशाली छन् : प्रकाण्ड

काठमाडौँ : राष्ट्रघाती अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नेकपासहित ८ राजनीतिक दलले काठमाडौँमा आयोजना गरेको प्रदर्शनमा सरकारले नग्न हस्तक्षेप र दमन गरेको छ । ‘नो एमसीसी’ को नारा लगाउँदै संसद् भवन घेराउ गर्न पुगेका राजनीतिक दलका ७५ जनाभन्दा बढी नेता–कार्यकर्तालाई गिरफ्तार गर्नुका प्रहरीले साथै दर्जनौँलाई घाइते बनाएको छ । घाइते हुनेमा नेकपाका प्रवक्ता प्रकाण्ड पनि छन् । नेकपाका केन्द्रीय सदस्य खुमा सुवेदी, ओमप्रकाश पुनलगायत गिरफ्तार नेता–कार्यकर्तालाई तीनकुनेस्थित महानगरीय प्रहरी प्रभागमा राखिएको बताइएको छ ।

मध्यबानेश्वरबाट संसद् भवनको ३ नम्बर गेटनजिक पुगेको जुलुसमा प्रहरीले हस्तक्षेप गरी लाठी प्रहार गर्दा नेकपाका प्रवक्ता प्रकाण्डसहित कयौँ प्रदर्शनकारी घाइते भएका छन् भने कयौँ गिरफ्तार भएका छन् । गिरफ्तार हुनेहरू अखिल नेपाल किसान महासङ्घका अध्यक्ष हरि श्रेष्ठ, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्यहरू मदन केसी, डीबी चन्द, गोविन्द बिष्ट, लोकेश जोशी, युवा सङ्गठन नेपालकी महासचिव सावित्रा अधिकारीलगायत छन् । यस्तै नेकपा (क्रान्तिकारी माओवादी) का नेताहरू परि थापा, सागर, जगदीशचन्द्र भण्डारी, अमिर महर्जन, शारदा महत, टेक विक, श्याम, गणेश घिमिरे, शेखर आचार्य, सुरेश तामाङ, शोभा सेन्चुरी, कुमार बर्तौला पनि गिरफ्तार भएका छन् ।

अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष चिरञ्जीवी ढकाल, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, केन्द्रीय अर्थ विभागका प्रेम दर्नालका साथै तारा सञ्ज्याल, लक्ष्मण तामाङ, दर्शन नेपाली, देवीप्रसाद तिम्सिना, गोविन्द विक पनि प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन् ।

विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले एमसीसीको स्वरूप विकास र अनुदानको भए पनि सार रणनीतिक र सैनिक उद्देश्य भएको भन्दै यो सर्वाधिक राष्ट्रघाती भएको बताए । नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गर्ने उद्देश्य रहेको एमसीसी परियोजना लागू नगर्न उनले शासकहरूलाई चेतावनी दिए । उनले भने, ‘आज अमेरिकी सेना पैसा लिएर आएको छ । भोलि बन्दुक लिएर आउँछ । पर्सि सेना लिएर आउँछ र त्यसपछि मिसाइल लिएर आउँछ । त्यसकारण देशको स्वाधीनता दाउमा राख्ने यो परियोजना जनतालाई किमार्थ स्वीकार्य छैन । अमेरिकी सेनाभन्दा नेपाली जनता हजाराँै गुणा शक्तिशाली छन् ।’ प्रकाण्डले एमसीसीविरुद्ध शान्तिपूर्ण सङ्घर्षमा दलाल सरकारले प्रहरीलाई दमन गर्न निर्देशन दिएको भन्दै दलालहरूसित हिसाबकिताब गर्ने चेतावनी दिए ।

सम्बोधनका क्रममा प्रकाण्डले एमसीसी कुनै पनि हालतमा पारित हुन नदिने बताए । उनले यसका विरुद्ध अनिश्चितकालीन सङ्घर्ष गर्ने र एमसीसीका दलालहरू बस्ने स्थानहरू सङ्घर्षको मोर्चा हुने बताए । एमसीसीविरुद्ध सम्पूर्ण देशभक्त, लोकतन्त्रवादीहरूलाई सङ्घर्षमा उत्रिन अपिल गर्दै प्रकाण्डले साम्राज्यवादका दलालहरू देश छोड्न बाध्य हुने प्रस्ट पारे । दलाल पुँजीवादी व्यवस्था नै आजको समस्या भएको भन्दै उनले यसको विकल्प अर्थात् क्रान्तिको लक्ष्य वैज्ञानिक समाजवाद अनिवार्य भएको बताए । प्रवक्ता प्रकाण्डले जनताले आफ्नो व्यवस्था छान्ने अधिकार पाउनुपर्ने भन्दै त्यसका लागि जनमतसङ्ग्रह आवश्यक भएको बताए । जनमतसङ्ग्रहका निम्ति प्रगतिशील सरकार बनाउनुपर्ने भन्दै उनले त्यसमार्फत देशको राजनीतिक आर्थिक व्यवस्था बदल्नुपर्ने धारणा पनि राखे । प्रकाण्डले आन्दोलनमा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यो घटना पाशविक र निन्दनीय भएको भन्दै भत्र्सना गरे । आन्दोलनमा सहभागी सबैलाई प्रकाण्डले धन्यवाद दिए ।

कार्यक्रममा नेकपाका मालेका महासचिव सीपी मैनालीले चीन र रुसका विरुद्धमा ल्याइएको यो अमेरिकी सैनिक सुरक्षा रणनीतिको योजनालाई नेपालका दलालहरूले यहाँ लागू गर्न खोजेको बताए । यो नेपालमा बसेर चीनलाई घेरा हाल्ने रणनीति भएकाले नेपालमा लागू गरिएको खण्डमा नेपालको राष्ट्रियतामाथि हस्तक्षेप हुने मात्र नभएर ठूलो मात्रामा धनजनको क्षति हुने बताए ।

पैसाको लोभ देखाएर नेपाल प्रवेश गर्ने अमेरिकाले भोलि हतियार र कमान्डो सेनाहरू ल्याउने र त्यो देशका लागि खतरनाक हुने भन्दै नेता सीपी मैनालीले भोलि अमेरिका नेपालमा आएर चीनविरुद्ध गतिविधि गरेको खण्डमा लाखौँलाख नेपालीको रगत बग्ने भन्दै यो राष्टघाती कदम भएकोले यो अविलम्व खारेज गर्नुपर्ने बताए ।

कार्यक्रममा हस्तबहादुर केसी, धनकुमारी सुनार, हरिकृष्ण गजुरेल, ज्ञानेन्द्र शाही, रामलाल विक, रामकुमार हिङमाङलगायत वक्ताले पनि सम्बोधन गरेका थिए ।

प्रदर्शनका क्रममा प्रहरीले गिरफ्तार गरेपछि बानेश्वर प्रहरी वृत्तबाट कुरा गर्दै नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले राष्ट्रियताको सवालमा सबैले सहयोग गरेको र जनताको आन्दोलनको बल पुगेको खण्डमा एमसीसी परियोजना नेपालबाट खारेज हुने सम्भावना रहेको बताए । आन्दोलन अझ सशक्त र प्रभावकारी बनाउन र निरन्तरतामा लैजान आवश्यक भएको भन्दै नेता पुनले प्रहरी दमनले आन्दोलनमाथिको प्रतिरोध क्षमता विकास गरेकाले आन्दोलनकारीहरू निरास नबनेको बताए ।

काठमाडौँको बबरमहलबाट सुरु भई बानेश्वर हुँदै संसद् भवनतर्फ गएको जुलुसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड, पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामा, नेकपा मालेका महासचिव सीपी मैनालीलगायतले गरेका थिए । मध्यबानेश्वरबाट निस्केको जुलुसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’, नेकपाका अध्यक्ष ऋषि कट्टेललगायतले गरेका थिए । त्यसैगरी मीनभवनबाट सुरु भएको जुलुसको नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेल, वैज्ञानिक समाजवादीका संयोजक आहुती, नेपाल कम्युनिस्ट पार्टीका नेता नवीनलगायतले गरेका थिए ।

उता चितवनमा भएको एमसीसीविरुद्धको प्रदर्शनका क्रममा नेकपाका चितवन इन्चार्ज सन्देश पौडेल, प्रकाशचन्द्र ढकाल, ओम डल्लाकोटी, राम सेढाईं, क्रान्तिकारी माओवादीका विकास सापकोटा, अशोक शर्मा, सुरेश गौतम, अम्बरबहादुर थापा, कृष्ण सुनार, राष्ट्रिय जनमोर्चाका डम्बर पुरी, नेकपा मालेका ओम डल्लाकोटीलगायत २० जना गिरफ्तार भएका छन् । एमसीसीको विरोधमा नेकपासहित १३ दलले मङ्गलबार चितवन बन्द आह्वान गरेका थिए । एमसीसीको विरोधमा सङ्घर्ष समिति चितवनले हस्ताक्षर अभियान चलाएको छ । यस्तै एमसीसीविरुद्ध पाल्पा, पोखरा, दाङलगायत देशैभरि प्रदर्शन भएका छन् ।

यसअघि सोमबार मात्र नेपाल कम्युनिस्ट पार्टीसहित आठ राजनीतिक पार्टी र मोर्चाल काठमाडौँस्थित एमसीए कार्यालय घेरेका थिए् । उक्त कार्यक्रममा नेकपा सचिवालय सदस्य कञ्चनले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने धारणा राख्दै सम्झौता खारेज नभएसम्म सङ्घर्ष जारी रहने उद्घोष गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीसहितका राजनीतिक पार्टीले सोमबार आयोजना गरेको काठमाडौँस्थित एमसीए कार्यालय घेराउ गर्ने कार्यक्रममा नेकपा नेता कञ्चनले भारतमा बजार विस्तार गर्न र चीनलाई कमजोर बनाउन अमेरिकाले नेपालमा एमसीसी ल्याएको बताएका थिए । एमसीसी सम्झौता पारित भएमा नेपाली सेना, प्रहरी र कर्मचारीले एउटा अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने अवस्था उत्पन्न हुने पनि बताएका थिए । उनले साम्राज्यवादी षड्यन्त्र र हस्तक्षेप अन्त्य गर्न पनि यो सम्झौता पारित हुन र लागू हुन दिन नहुने बताए ।

कार्यक्रममा देजमो नेपालका नेता सीपी गजुरेलले एमसीसी जनताको टाउकोमाथि तेस्र्याइएको तरबार रहेको बताएका थिए । एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको तर शासकहरूले साम्राज्यवादको कठपुतली बनेर यसलाई लागू गर्ने षड्यन्त्र गरिरहेको उनको भनाइ थियो । उनले पनि सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताए ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले गत बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमसीए कार्यालय र संसद् भवन घेराउलगायत सङ्घर्षका कार्यक्रम घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :