सहिद सनराइजको सपना

सन्दर्भ : सनराइज स्मृति

महान् जनयुद्धले दिएको नयाँ नेपालको परिकल्पना, आमनेपालीको आशाको स्वर्णिम सपना र रगतको भेलबाट प्राप्त हाम्रो रक्तरञ्जित स्वाधीन नेपाल निर्माणको महान् लक्ष्यबीच बाटामै घाँटी निमोठेर अन्त्य गरियो । यो क्रान्तिकारी आन्दोलनलाई कथित संसदीय व्यवस्थाको सत्ता आरोहणको खुट्किलोमा परिणत गराएपछि, महान् जनयुद्धको पुँजी सत्ता, जनमुक्ति सेना, न्यायालय, सहिद परिवार, बेपत्ता परिवार, घाइते तथा अपाङ्ग योद्धाहरू सबैको विघटन र बेवास्थापछि सबै क्रान्तिकारी शक्ति र जनतामा छाएको नैराश्यका लामा कहालीलाग्दा दिनहरूका बीचबाट फेरि क्रान्तिको मसाल बालेर कथित प्रचण्डयुगको अन्त्य गर्दै नयाँ युगको सुरुआत भएको छ । यस युगको सुरुआतले सबै क्रान्तिकारीहरू र श्रमजीवी जनतामा जीवन जिउन शुद्ध अक्सिजन प्रदान गरेको छ । मुक्तिको मार्गप्रशस्त भएको छ । क्रान्तिको परिवर्तनको सपना देख्न बन्द भएको बेला उन्नत मुक्ति क्रान्तिको सपना देख्न थालिएको छ ।

कुनै पनि प्रतिक्रियावादी तत्वहरूको इसारामा आंशिक सुधारका निम्ति होइन, लक्ष्य र नेतृत्वप्रतिको अस्पष्टताको बीचबाट होइन, बरु आमूल परिवर्तनको लक्ष्य एवम् सर्वहारावादी नेतृत्वप्रति स्पष्ट हुँदै नेपाल आमाका सपूतहरूले आफ्नो स्वर्णिम इतिहास रगतले लेख्न सुरु गरिसकेका छन् ।

सपना सबैसँग हुन्छ तर त्यो सपनालाई वास्तविकतामा बदल्नका लागि आवश्यक मेहनत, अनुशासन, धैर्य र लगनशीलता भने कम व्यक्तिमा हुन्छ । यहाँ क्रान्तिकारी सपना देख्न आवश्यक छ । त्यसैले उठौँ हाम्रा महान् सपनालाई सपनामा सीमित नराखौँ । हाम्रा सपनामा अरूलाई नियन्त्रण गर्न नदिऊँ । भविष्य उनीहरूको मात्र हो जसले आफ्नो सपनामा विश्वास गर्छ । यो सपना एकीकृत जनक्रान्ति मात्र हो । यो सपना पूरा गर्न महान् मुक्तियात्रामा लामबद्ध होऔँ । सनराइजले सुरु गरेको त्याग, शौर्य र बलिदानको बाटोमा अग्रसर होऔँ ।

आम मुक्तिकामीहरूको ऐतिहासिक सपना महान् जनयुद्धको अन्त्येष्टिबाट कथित संसद्वादीहरू संसद्वादमा परिणत भएपछि भत्किएको समाज यसले देशको ऊर्जाशील शक्ति युवाहरूमा परेको प्रत्यक्ष नकारात्मक प्रभावका बारेमा समीक्षा गर्यौँ । कमरेड सनराइज कथित संसदीय पुँजीवादी व्यवस्थाले राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक हिसाबले संसदीय व्यवस्थाले युवाहरूको बलात्कार गरेकाले यस व्यवस्थालाई जरैदेखि उलेखेर फाल्नका लागि एकीकृत जनक्रान्तिको अग्रीम मोर्चामा आफू जान तयार हुनु आजको आवश्यकता हो भनेर हौसला प्रदान गर्नुहुन्थ्यो ।

हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए

कवि भूपि शेरचनद्वारा रचित कविताको एक हरफ उद्धरणले देशका लागि अनिवार्यतः सपूतहरूको बलिदान चाहिने कुरा र बलिदानको सार्थकतालाई उजागर गर्दछ । यसै सन्दर्भमा सनराइज पनि राष्ट्र निर्माणका लागि झरेर गएका एक तारा हुन् । निर्वाहमुखी खेतीमा आश्रित निम्नमध्यमवर्गीय किसान परिवारमा जन्मिएका हुन् मेरा सहपाठी एवम् आत्मीय मित्र चन्द्रबहादुर सिंह ‘सनराइज’ । नाताले भाइ भए पनि समाज र देशप्रतिको त्याग र समर्पण मायाले उनले आफूलाई सानैदेखि जिम्मेवार र कर्तव्यनिष्ठ व्यक्तिका रूपमा हरदम चिनाइरहे । बरु उनीसँगको सङ्गतले अभिभावकत्व महसुस हुन्थ्यो । मेरो मित्र सनराइजले कथित संसदीय व्यवस्था बदल्ने आवश्यकताबोध गरे, सबैलाई त्यतातिर अभिप्रेरित पनि गरे । हरेक नागरिकले आफ्नो अधिकारबोध गर्न पाउनुपर्छ भन्ने भावना जागृत भएदेखि नै उनी राजनीतिमा होमिए । हक्की स्वभावका, अन्याय सहन नसक्ने, जस्तोसुकै कठिन परिस्थितिसँग जुध्न तयार हुने कर्मठ, इमानदार र क्रान्तिकारी थिए उनी । जस्तोसुकै परिस्थितिमा पनि दिइएको जिम्मेवारी पूरा गर्ने दृढ सङ्कल्पले नै उनलाई राजनीतिमा अघि बढ्न प्रेरित गर्यो । हरेक परिवर्तनको आधार राजनीति नै हुन्छ । एक दिन अवश्य नै कथित संसदीय व्यवस्थाको अन्त्य हुन्छ र नेपालमा एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी सत्ता अवश्य लागू हुन्छ भन्ने सन्देश जनताका बीचमा बाँडिरहे ।

हाम्रा लागि प्रेरणाका स्रोत बनिरहेका छौँ सनराइज, तिम्रो सपना तिम्रो रगतको रक्तबीजबाट हुर्केर अघि बढिरहेको छ । तिम्रो सपना आज महान् सपनामा, सिङ्गो मुक्तिकामी, श्रमजीवीको जीवन बन्न गइरहेको छ । सही प्रश्न के होइन भने मृत्युपछि पनि जीवन हुन्छ । प्रश्न त यो हो– के तिमी मृत्युअगाडि साँच्चै बाँचिरहेका छौ । पक्कै पनि इमानदारी, लगनशीलता, बफादारी, क्रान्तिकारिताका साथ पार्टी र क्रान्तिको नीतिलाई पकड्न सकेन भने वर्गीय पक्षधरता भएन, सर्वहारा श्रमिकको हितमा काम गर्न र एकीकृत जनक्रान्तिको कार्यदिशालाई दह्रोसँग पकड्न सकिएन भने हामी बाँचेकाहरू, ज्युँदाहरूले बाँच्नुको अर्थ छैन ।

भाइ सनराइजले भनेको कुरा मेरो मानसपटलमा घुमिराखेको छ । त्यो के हो भने युवाहरू कुलतको कुवामा चुर्लुम्म डुबेका छन् । ठीक हो भाइ सनराइज, यो कुलतको कुवा जब प्रचण्डले सिङ्गो आन्दोलन विघटन गर्यो, त्यसको परिणाम हो । आज माओवादी सत्ता, न्यायालय, जनमुक्ति सेना, सही कार्यदिशा भएको भए यस्तो भयावह अवस्था आउने थिएन । आज युवाहरूले आफ्नो जीवन बुझेका छैनन् । जीवन के हो भनेर उनीहरू त ठेकेदारको पछि लागेका टेन्डर कब्जा गरी एक गिलास मदिरामा पौडी खेलिरहेका छन् । युवाहरू लागूपदार्थको सही बजार व्यवस्थापक भएका छन् । केही बचेकाहरू खाडीका भेडाहरूमा सपना देखेर एयरपोर्टको लाममा छन् । यो सब प्रचण्डहरूले क्रान्तिप्रति गरेको गद्दारीको परिणाम हो । कथित संसदीय व्यवस्थाले दिएको उपहार हो । त्यसैले यो व्यभिचारी, बलात्कारी, हत्यारा, फासिवादी, कमिसनखोर, भ्रष्टाचारी कथित संसदीय व्यवस्थालाई जरैदेखि उखेलेर फाल्नुपर्छ र एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ । सनराइज, त्यसमा नै तिम्रो बलिदानको अर्थ हुनेछ । तिमी क्षमतावान् व्यक्ति हौ । तिमीले आफूलाई सुधार्न आवश्यक छैन । तिमीले आफूभित्रको क्षमतावान् व्यक्तिलाई चिन्न आवश्यक छ जो हामी बाँचेकाहरूको मुक्तिको मार्ग बनोस् ।

तिम्रो बलिदानले क्रान्तिमा ऊर्जा थपिएको छ कमरेड । तिम्रो अभावले एकदमै पीडा दियो । दुःखी बनायो र सङ्कल्पवान् पनि बनायो । दुःखले गहिराइ दिन्छ भने सुखले उचाइ दिन्छ । तिम्रो अमरत्वको खबरले दिएको दुःखले तिम्रो सङ्कल्प पूरा गर्ने अभियानमा अगाडि बढ्यौँ र आज बलियो पार्टी बनाएर खुसी पनि छौँ । दुःखले जराहरू दियो भने खुसीले हाँगाहरू पनि । तिम्रो बलिदानमा टेकेर अगाडि बढेको हुनाले पार्टीले आज ३ जादुगरी हतियार पनि निर्माण गरेको छ । कार्यदिशा सही भएको हुनाले सबै चीज प्राप्त गरेका छौँ ।

बुबा करनसिंह, आमा हरिनादेवी सिंहको कोखबाट २०४४ साल भदौ ७ गते कान्छो छोरा भएर सनराइजको जन्म भयो । सानैदेखि इमानदार, लगनशील र विद्रोही स्वभावका भएकाले नै स्कुले जीवनबाट पढ्दापढ्दै देशको आमूल परिवर्तनको राजनीतिक आन्दोलनमा सहभागी भए । मेरो सहपाठी सनराइज, अत्यन्तै मिजासिलो स्वभाव, असाध्यै मिलनसार, सहयोगी, कमरेडली भावनाले पोख्त थिए । पार्टीको योजना कार्यान्वयनका क्रममा अग्रमोर्चा समाल्न मन पराउँथे । मित्र, यो हाम्रो सहकार्यका अतीतहरू सबै डायरीमा लेख्न म असमर्थ छु । सबै कुराको वर्णन गर्न सक्दिनँ । मलाई माफ गर ।

समय कथित स्थानीय निकायको निर्वाचन खारेजी थियो । त्यस बेला हामीले समीक्षा गर्यौँ– प्रचण्ड त धोका दिने एउटा खप्पिस व्यापारी थियो । हामी यही निष्कर्षमा पुग्यौ र यस्तै धोकेबाजहरूको प्राइभेट कन्स्ट्रक्सनले गर्न लागेको कथित निर्वाचनलाई पूर्ण ध्वंस गर्ने प्रतिबद्धताका साथ योजना कार्यान्वयनमा आआफ्नो कार्यक्षेत्रतिर लाग्यौँ ।

समय २०७४ असार १२ गतेको थियो । तत्कालीन कैलाली जिल्ला सचिव कमरेड अमर र म सँगै थियौँ । अपुष्ट खबर आयो– सनराइज घटनामा पर्नुभयो । आकाशबाट खसेर भुइँमा जोडले बजारिएको जस्तो भयो । केही सोच्नै सकिएन । पूरै आकाशमा कालो बादल मडारियो । पाइला चाल्ने हिम्मत पनि आएन । एकछिनपछि क्रान्तिको नियम सम्झी शोकलाई शक्तिमा बदल्ने हिम्मतका साथ अगाडि बढ्यौँ ।

सनराइज, तपाईंको अमरत्वले हाम्रासामु दुईवटा मात्र मार्ग शेष राख्यो– पूर्ण विजय वा समूल विनष्ट । पक्कै पनि हामी विजय प्राप्त गरिरहेका छौँ । तपाईंको अमरत्व लाखौँ नेपालीको आत्मा बनिरहेको छ । मुक्तिको मार्ग बनेको छ । त्यतिबेला जनतालाई तपाईंले भन्नुभएको कुरा आज प्रमाणित भएको छ । यो चुनावले सिंहदरबारमा भएको दलाली, कमिसन र भ्रष्टाचारलाई तपाईंहाम्रो गाउँमा ल्याउँदैछ । हो, त्यही भएको छ । सामाजिक फासिवादीहरूको रबाफले युद्ध निम्त्याउँदैछ । तपाईंको चिन्तालाई पार्टीले आत्मसाथ गरेको छ । पार्टीको उत्थानका लागि प्रचारको योगदान धेरै छ । पार्टीका लागि आफ्नो कागज हुनु धेरै लाभदायक साबित हुनेछ । यसले आफ्नो विचारधारालाई जनतासामु पुर्याउन सजिलो हुन्छ भनेर नै सनराइज मासिक पत्रिका प्रकाशन गर्न लागिरहेका छौँ । यो सन्दर्भमा गौरव पनि गरिरहेको छु । जीवन भनेको आराम र हिँडाइबीचको सन्तुलन रहेछ । मानिसलाई सबैभन्दा डर अर्को मानिसले के भन्छ भन्ने कुरामा हुन्छ । तिमी मानिसहरूको त्यो भीडबाट डराउन छोड्यौ भने तिमी भेडा होइन, सिंह बन्छौ र तिम्रो मनमा स्वतन्त्रताको गर्जन गर्जिन्छ । सनराइज, यो समाजबाट त तिमी धेरै माथि उठेर गयौ । यो मुक्तिको मार्ग एकीकृत जनक्रान्तिको अविरल यात्रामा हामी निरन्तर प्रतिबद्ध छौँ । हाम्रो धर्म व्यक्तिगत सम्पत्ति आर्जन गर्ने होइन । कमरेड माओको भनाइका साथ बिट मार्दछु–

तिम्रो बलिदानको दर्शन आदर्श पुस्तकालयबाट दर्शनलाई किसानसँग लैजानुपर्छ । हामी तिम्रो बलिदानको मर्म आवश्यकताको दर्शनलाई नेपाली श्रमजीवी जनताको बीचमा लैजानेछौँ । तिम्रो महान् सपना मर्न दिनेछैनौँ । हार्दिक श्रद्धाञ्जली कमरेड सनराइज ।

(पुनः प्रकाशित)

प्रतिक्रिया दिनुहोस्