एमसीसीविरुद्ध युवा सङ्गठन नेपालद्वारा लाठीसहित प्रदर्शन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालले लुम्बिनी ब्युरोअन्तर्गतका रूपन्देही, कपिलवस्तु, नवलपुर, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लामा राष्ट्रघाती एमसीसीविरुद्ध लाठीसहित प्रदर्शन गरेको छ ।

युवा सङ्गठन नेपालले लुम्बिनी ब्युरोअन्तर्गतका जिल्लाहरूमा लाठी र सिठीसहितको जुलुस प्रदर्शन गरेको हो । रूपन्देहीको बुटवल, पाल्पाको तिनाउ गाउँपालिका, कपिलवस्तुको वाणगङ्गा नगरपालिका, नवलपुरको कावासोती, गुल्मीका बाँसकटेरी, धुर्कोट पीपलधारा, अर्घाखाँचीको शीतगङ्गा नगरपालिका, मालारानी, छत्रदेव गाउँपालिका र भूमिकास्थानमा युवा सङ्गठनले लाठीसहित विरोध प्रदर्शन गरेको छ । भूमिकास्थानमा भएको प्रदर्शनमा नेकपा जिल्ला सेक्रेटरी माहुरीले सम्बोधन गर्दै एमसीसी राष्ट्रघाती सम्झौता भएकाले यसलाई खारेज गर्न सम्पूर्ण देशभक्त नेपालीहरू सङ्घर्षका लागि एक हुनुपर्ने बताए ।

बुटवलमा भएको विरोध प्रदर्शनमा युवा सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले केपी वली नेतृत्वको सरकारले एमसीसी सम्झौतामार्फत नेपाललाई अमेरिकी सेनाको क्रीडास्थल बनाउन खोजेको भन्दै यो सम्झौता कुनै पनि हालतमा खारेज गर्नुपर्ने बताए । उनले अमेरिकी साम्राज्यवादले नेपाललाई इराक र फिजी बनाउन खोजेको भन्दै युवा सङ्गठन नेपालले यसको सशक्त प्रतिरोध गर्ने बताए । बुटवलमा भएको जुलुसमा युवाहरूले रातो टिसर्ट, हातमा लाठी र सिठीसहित एमसीसीविरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।

त्यसैगरी कपिलवस्तुको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका महासचिव प्रकाश चन्दले केपी वली नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले एमसीसीमार्फत गम्भीर राष्ट्रघात गर्न लागेको भन्दै यसको प्रतिरोधको विकल्प नभएको बताए । उनले जनस्तरबाट एमसीसी र दलाल सरकारको भण्डाफोर गर्नुपर्ने बताए ।

कार्यक्रममा युवा सङ्गठन नेपाल कपिलवस्तुका अध्यक्ष बादल र जिल्ला सदस्य सागरले पनि सम्बोधन गरेका थिए ।

त्यसैगरी नवलपुरमा भएको सिठी र लाठीसहितको मोटरसाइकल जुलुसमा युवा सङ्गठन नेपालका जिल्ला अध्यक्ष अविनास, पाल्पामा भएको विरोध प्रदर्शनमा जिल्ला अध्यक्ष लीला, गुल्मीको बाँसकटेरीमा नेकपाका नेता वसन्त गैरे र पीपलधारामा चन्द्र विक, अर्घाखाँचीको शीतगङ्गामा अखिल (क्रान्तिकारी) जिल्ला उपाध्यक्ष र जिल्ला सदस्यले, मालारानीमा अखिल (क्रान्तिकारी) जिल्ला सहसचिव नेत्र राना र छत्रदेव गाउँपालिकामा युवा सङ्गठन नेपालका विनोदले सम्बोधन गरेका थिए । उनीहरूले एमसीसी लागू गरेर देशको राष्ट्रियता अमेरिकी डलरमा बेच्ने कुचेष्टा गरिएको भन्दै यसको सशक्त प्रतिरोध गर्ने बताएका थिए ।

नेकपा लुम्बिनी ब्युरोले एमसीसीविरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको छ । यसअघि पुतलादहन, पर्चा वितरण, रित्तो थाली बजाउने, प्रधानमन्त्री वली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाको बुँख्याचा बनाएर सडकमा घिसार्ने, प्रधानमन्त्रीलाई बेसार पठाउनेलगायत सङ्घर्षको कार्यक्रम सम्पन्न गरिसकेको नेकपा लुम्बिनी ब्युरोले जनाएको छ । भिडियाे.. Please, Like/Share/Comments & Subscribe.

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :