दमक बहुमुखी क्याम्पस झापामा संयुक्त विद्यार्थी संगठनद्वारा आन्दोलन सुरु

दमक बहुमुखी क्याम्पस झापामा संयुक्त विद्यार्थी संगठनद्वारा आन्दोलन सुरु

झापा : संयुक्त विद्यार्थी संगठनले  झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा चरणबद्ध आन्दोलन शुरु गरेको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र राप्रपा निकट विद्यार्थी संगठनद्वारा क्याम्पसमा निरन्तर प्रदर्शन भैरहेको हो ।

पूर्वाञ्चलकै नमुना क्याम्पस गुणस्तर सुनिश्चितता (QAA Certified)  दमक बहुमुखी क्याम्पसमा विगतका विद्यार्थी आन्दोलनद्वारा स्थापित विद्यार्थी हक हितलाई र क्याम्पसको विधि विधानलाई निर्मम प्रहार क्याम्पस प्रसासनले गरेको र गैर जिम्मेवार प्रवृतिप्रति सचेत विद्यार्थी संगठनहरु गम्भीर भएको  भन्दै विद्यार्थीहरूले विभिन्न माग सहित ज्ञापनपत्र बुझाएको तर प्रशासनले बेवास्ता गरेका कारण आन्दोलनमा उत्रिन परेको विद्यार्थीहरूले बताएका छन्।

विद्यार्थीको न्यूनतम् नियमित पठनपाठन, पुस्तक, छात्रवृतिलगायत विविध विषयमा समेत क्याम्पस प्रसाशनले देखाएको उदासिनताप्रति ध्यानाकर्षण भएको भन्दै संयुक्त विद्यार्थी संगठनले १० बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको थियो।

यस्ता छन् विद्यार्थीका मागहरूः—

१— इमान्दार जेहेन्दार तथा गरिव विद्यार्थीहरुले पाउने १५५ छात्रवृत्ति क्याम्पस प्रसाशनको चरम लापारवाहीको कारण विगत दुई वर्ष देखि छात्रवृति वितरण नगरिएको हुनाले विभिन्न संकायहरुको तत्काल छात्रवृति वितरण गर्नुपर्ने ।

२) करिब दश वर्ष अघि स्थापना भएको आदिवासी जनजाती छात्रवृति कोष सम्बन्धमा आदिवासी जनजाती छात्रवृति वितरण गर्नका लागि क्याम्पस प्रशासनबाट समिति तयार गरि अन्तर्वाता समेत भई अन्तिम सूचिको नामावली छनौट गरि प्रकाशन नगरेको हुनाले सो छात्रवृति तत्काल प्रकाशन गर्नुपर्ने ।

३) मासिक समस्यामा रहने छात्राहरुको अध्ययनलाई सहज बनाउन बनाइएको “CHANGING ROOM” लाई पूर्ण व्यवस्थापन गरि आवश्यक सेनिटेरी प्याडहरुको व्यवस्थापन तत्काल गरिनुपर्ने ।

४) क्याम्पस आवत जावत गर्न विद्यार्थीहरुलाई यातायातमा भोग्नु परेको समस्या र यातायात व्यवसायीको विरुद्ध संयुक्त विद्यार्थी संगठनले गरेको आन्दोलन र पहल सर्वविदितै छ । उक्त समस्यालाई समाधान गर्नका निम्ति क्याम्पसमा भएको यातायातलाई सहि सदुपयोग गर्दै यातायातका साधन थप गरि सञ्चालन मर्नुपर्ने ।

५) विद्यार्थी कल्याण कोषमा भएको रकम क्याम्पस प्रशासनले क्याम्पसलाई घाटामा देखाई क्याम्पस सञ्चालनको निमित्त लिएको ऋण व्याज सहित तत्काल विद्यार्थी कल्याण कोषमा फिर्ता गर्नुपर्ने ।

६) क्याम्पस प्रमुखले आफ्नो कार्यभारमा रहि रहदा अनिवार्य रुपमा न्यूनतम् १ पिरियड कक्षा भार उठाउनु पर्ने व्यवस्था हुँदाहुँदै दुई वर्ष देखि कक्षा भार नलिएको र जसका कारण क्याम्पसको विधानको धजिया उडेको साथै आर्थिक रुपमा समेत भार भएको कारण क्याम्पस प्रमुखले नैतिक रुपले राजिनामा दिनुपर्ने ।

७) क्याम्पस भर्ना अघि लिइने प्रवेश परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण संकायका विद्यार्थीहरुलाई अनिवार्य छात्रवृत्ति प्रदान गरिनुपर्ने ।

८) क्याम्पसको वार्षिक कार्यक्रम अन्तरगतको खेलकुद सप्ताहको शुल्क विद्यार्थीहरुबाट लिइएता पनि विगत दुई वर्ष देखि खेलकुद सप्ताह नभएकोले उक्त सम्बन्धमा स्पष्ट पार्दै क्याम्पस पुन सञ्चालनमा आएपछि खेलकुद सप्ताह शुरु गरिनु पर्ने ।

८) स्ववियू र क्याम्पस प्रशासनबीच भएका सम्पूर्ण सहमतिहरुलाई स्ववियू प्रतिनिधि सहित छलफल गरि कार्यन्वयन गरिनुपर्ने । 

१०) दमक क्याम्पस सञ्चालन समितिमा विद्यार्थीहरुको प्रतिनिधित्व नभएको कारणले विद्यार्थीहरुको धेरै समस्याहरु सम्बन्धीत निकाय सम्म पुग्न नसकेको हाम्रो ठहर छ । त्यसैले सञ्चालक समितिमा सम्पूर्ण राजनैतिक दलको, स्थानिय सरकार, प्राध्यापक प्रतिनिधि, कर्मचारी सबैको प्रतिनिधित्व भई रहेको हुँदा विद्यार्थी संगठनको पनि अनिवार्य रुपमा प्रतिनिधित्व गराउनु पर्ने।

माथि उल्लेखित विद्यार्थीहरुको भविष्यसँग सम्बन्धित मागहरु तीन दिन भित्रमा पूरा गर्न भन्दै संयुक्त विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाउँदै बेवास्ता गरिए आन्दोलनमा जाने चेतावनी दिएको थियो ।

संयुक्त विद्यार्थी संगठनहरुको तर्फबाट मिति २०७८ साल माघ ४ गते दमक क्याम्पस प्रशासन तथा क्याम्पस सञ्चालक समितिलाई क्याम्पस तथा विद्यार्थीहरुको विविध समस्याहरु उल्लेख गरी १० बुँदे मागसहित तीन दिनको अल्टिमेटमसहित संयुक्त प्रेस विज्ञाप्ति जारी गरिए पनि उक्त विषयमा क्याम्पस प्रसाशन तथा सञ्चालक समितिले बेवास्ता गरि विद्यार्थीहरुको अधिकारमाथि थप कुठाराघात गरी विद्यार्थीहरुको जायज मागलाई ढाकछोप गर्ने कार्य गरेको भन्दै  संयुक्त विद्यार्थी संगठनले  विभिन्न संघर्षका कार्यक्रमको घोषणा गर्दै आन्दोलनमा उत्रिएको हो । 

जसमा ७ गते क्याम्पस प्रशासन घेराउ तथा नाराजुलुस प्रदर्शन, ९ गते कालो फेटासहित सिटी जुलुस प्रदर्शन, १० गते कालो झन्डासहित नारावाजी तथा पमप्लेट प्रदर्शन, ११ गते विद्यार्थीहरुबाट १ रुपैया संकलन गरी लेखा प्रशासनलाई बुझाई प्रमुखको कार्यकक्षमा अनिश्चित कालीन तालाबन्दी र  थप आन्दोलनका कार्यक्रमहरु १२ गते विज्ञप्तिमार्फत घोषणा गरिने संयुक्त विद्यार्थी संगठनले विज्ञप्तिमार्फत उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :