सुदिपको सपना नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नु हो : शितल

नेकपा दाङद्वारा सुदिपको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

सुदिपको सपना नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नु हो : शितल

दाङ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शितलले मृतक सुदिपको सपना नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नु रहेको बताएका छन् । नेकपा दाङ जिल्ला बिशेष कमिटी सदस्य नरबहादुर घर्ती ‘सुदिप’ को स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

पार्टी केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज शितलले मृतक सुदिप जनयुद्धदेखि एकीकृत जनक्रान्तिसम्म आइपुग्दा निरन्तर क्रान्तिको यात्रामा अबिचलित ढङ्गले अगाडि बढेको बहादुर योद्धा भएको समेत बताए । उनले जनयुद्धको मुल नेतृत्वको बैचारिक बिचलनका विरुद्ध बिद्रोह गर्दै एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाको लागि निरन्तर मुक्ति अभियानमा लामबद्ध हुने सुदिप जस्तो क्रान्तिकारी योद्धा गुमाउँदा सिङ्गो पार्टी पङ्क्ति स्तब्ध एवम् मर्माहत भएको बताए । नेता शितलले सुदिपले देखेको वैज्ञानिक समाजवाद प्राप्तिको सपना पार्टीले एकीकृत जनक्रान्तिमार्फत पूरा गरिछाड्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

सुदिपको परिवार पार्टीको परिवार भएकाले उहाँका छोराछोरी पार्टी छोराछोरी हुन् । सम्पूर्ण परिवारको जिम्मेवारी हाम्रो पार्टीले लिन्छ, भन्दै नेता शितलले मृतक सुदिपप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकुल परिवारजन, पार्टी पङ्क्ति, इष्टमित्रप्रति गहिरो समवेदना व्यक्त गरे ।

यसैगरी श्रद्धाञ्जली कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् सल्यान जिल्ला इन्चार्ज सबिनले सुदिपको अकल्पनीय मृत्युको क्षतिपूर्ति गर्न सुदिपको मुक्ति अभियानलाई पूरा गर्नुपर्ने धारणा व्यक्त गरे । सुदिप हिडेको समाज रुपान्तरणको महान् अभियान पूरा गर्नु भनेको नेपालमा वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्नु हो, नेता सबिनले भने ।

यस्तै कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य एवम् रुकुम पश्चिमका जिल्ला इन्चार्ज विश्वले सुदिपले देखेका सपना साकार पार्न यो व्यवस्था जरैदेखि उखेलेर फाल्नुपर्ने बताए । उनले भने, ‘सुदिपप्रति सच्चा श्रद्धाञ्जली त्यतिबेला हुन्छ जतिबेला हामी संसदीय व्यवस्थाको चिहानमा जनताको आफ्नै व्यवस्था वैज्ञानिक समाजवादको झण्डा फहराउछौँ ।’

त्यसैगरी श्रद्धाञ्जली मन्तव्य राख्दै कार्यक्रमका नेकपा दाङ जिल्ला बिशेष कमिटी सदस्य सीता बिक ‘सम्झना’ ले सुदिपको अकल्पनीय मृत्युको शोकलाई शक्तिमा बदलेर क्रान्तिमा लामबद्ध हुनुपर्ने बताए । यस्तै कार्यक्रममा युवा सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जङ्गलीले सुदिपको दुःखद् निधनले सिङ्गो पार्टी र समाजलाई क्षति पुगेको बताए । उनले सुदिप जस्तो जुझारु क्रान्तिकारी योद्धा गुमाउँदा आफूहरू स्तब्ध भएको समेत बताए । नेता पाटनले सुदिपले देखेको जनताको आफ्नै राज्यसत्ता प्राप्तिको सपना नेपालका लाखौँ युवाहरू एकीकृत जनक्रान्तिमा गोलबन्द भएर पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा मृतक सुदिपका कान्छा भाई टोपसिंह घर्तीले श्रद्धाञ्जली मन्तव्य राख्दै मृतक सुदिपको निधनले सिङ्गो समाज स्तब्ध भएको बताए । उनले मृतक सुदिप १५ बर्षदेखि निरन्तर वर्गसङ्घर्षमा होमिएको एक सच्चा क्रान्तिकारी योद्धा भएको समेत स्पष्ट पारे । यस्तै घोराही उप–महानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डागीले सिङ्गो देशले समाज रुपान्तरणको पक्षमा निस्वार्थ ढङ्गले अघि बढ्ने एउटा आशालाग्दो युवा गुमाएको बताए । उनले वर्गीय आन्दोलनमा कल्पनासमेत नगरेका मान्छेहरूमा वैचारिक बिचलन पैदा भएको तर सुदिप देश र जनताको मुक्तिका खातिर निरन्तर आन्दोलनमा सक्रिय रहेको स्मरण गर्दै होनहार युवा गुमाउँदा आफू स्तब्ध भएको समेत बताए ।

यस्तै कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य राख्दै झिंगौरा टोल बिकास संस्थाका कोषाध्यक्ष घनश्याम चौधरीले मृतक सुदिप समाज रुपान्तरणको महान् अभियान हिडेको एउटा असल छिमेकी, असल नागरिक भएको बताए । उनले सुदिपको मृत्युले सिङ्गो टोल बिकास संस्था, स्थानीय आम जनसमुदायहरू शोकमा डुबेको बताए ।

नेकपाका केन्द्रीय सदस्य एवम् दाङका इन्चार्ज शितलको प्रमुख आतिथ्यमा भएको श्रद्धाञ्जली कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यद्वय सबिन, विश्व, नेकपा बिशेष कमिटी सदस्यद्वय सम्झना र बिक्रम, युवा सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष पाटन, मृतक सुदिपका बुवा गनसिंह घर्तीमगर, श्रीमती कृष्णी श्रेष्ठ, भाईहरू टोपसिंह घर्तीमगर, बिर्षमान घर्तीमगर, बहिनी सबिता पुनमगर, युवा सङ्गठन नेपालका केन्द्रीय सचिव तिलक, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज दिपक, घोराही–१४ का वडा अध्यक्ष शक्तिराम डागी, झिंगौरा टोल बिकास संस्थाका कोषाध्यक्ष घनश्याम चौधरी, स्थानीय अगुवा बिहानी चौधरीको आतिथ्य रहेको थियो ।

नेकपा दाङका सेक्रेटरी प्रदिपको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेकपा दाङ जिल्ला कार्यालय सदस्य एवम् घोराही उप–महानगरका इन्चार्ज निर्मलले गरेका थिए । नेकपा दाङका बिशेष कमिटी सदस्य नरबहादुर घर्ती ‘सुदिप’ को २०७८/१०/११ गतेका दिन तुलसीपुर उप–महानगरपालिका वडा नं. ३ अन्तर्गत राप्ती राजमार्गको तुलसीपुर–सल्यान सडक खण्डमा बाटो निर्माण हुँदै गरेको र सहायक बाटोबाट तुलसीपुरतर्फ आउँदै गर्दा बाटो माथिबाट पहिरो झरिरहेको पहिरोमा परेर दुःखद् निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :