दल बदलको कुचक्रमा नेपाली राजनीति

दल बदलको कुचक्रमा नेपाली राजनीति

दक्षिणएसियाको सबैभन्दा ठूलो लोकतन्त्रवादी मानिने भारतमा धेरै मान्छे एउटा दलबाट अर्को दलमा प्रवेश गरेका वा पार्टी छोडेका यस्तै समाचारहरू हामी सानोसानो हुँदा खुब सुन्ने समाचारहरू बन्ने गर्दथे । सायद अन्य देशमा पनि त्यस्तो थियो होला, हाम्रो पहुँच नभएकाले समाचार नै सुन्न र देख्न पाइएन । भारत हाम्रो छिमेकी मुलुक भएकाले पनि हामीकहाँ त्यसको हावाले छिटै छुने गर्दछ । भारतको पनि बिहार क्षेत्रमा राजनीतिक दलबदल व्यापक भएको देखिन्छ । त्यो समयमा नेपालमा एकदलीय पञ्चायती व्यवस्था चलिरहेको थियो । नेपालमा दलीय व्यवस्था थिएन । २०४६ सालको जनआन्दोलनले नेपालमा दलीय व्यवस्थाको प्रणाली स्थापना गर्यो । त्यस समयमा मान्छेहरू खास दलबदल गर्न रुचाउँदैनथे । जुन पार्टीमा लागे पनि प्रतिबद्ध भएर काम गर्ने परम्परा थियो । पूरै गाउँ कुनै पार्टीको पकडमा रहन्थ्यो र अर्को कुनै राजनीतिक पार्टीप्रति असहिष्णु खालको व्यवहारसमेत गर्दथ्यो । आफू लागेको पार्टी र नेताको पूर्वाग्रही आलोचना भएमा, विरोध गरेमा लडाइँसमेत भएका उदाहरणहरू प्रसस्तै छन् । गाउँगाउँ, पार्टीपार्टी र व्यक्तिव्यक्तिबीचमा ठूल्ठूला लडाइँहरू भएका घटना अझै ताजै छन् । त्यो समयमा त्यसलाई स्थानीय वर्गसङ्र्घषका रूपमा चित्रण गर्ने गरिएको छ ।

जब जनयुद्धको सुरुआत भयो सबैलाई केन्द्रीकरण गर्यो । गाउँगाउँमा हुने लडाइँहरू राज्यसत्ताका विरुद्ध केन्द्रित भए । महान् जनयुद्धले सबै कुरा नेतृत्वमा केन्द्रीकरण गर्यो । गाउँसमाजमा कार्यकर्ता र जनताको चेतनाको स्तर माथि उठायो । दस वर्षसम्म चलेको जनयुद्धमा मान्छेहरूलाई दलबदलको त्यति ठूलो आवश्यकता परेन । पार्टी, क्रान्ति र नेतृत्वप्रति बफादार रहेको शक्ति नै जनयुद्धको विजयको आधार बन्यो । नेतृत्वप्रति पूर्ण विश्वस्त, क्रान्ति र परिवर्तनप्रति विकसित चेतनाअनुसारको बफादार र अग्रगामी सोचाइ भएको नेता वा कार्यकर्ताले मात्र क्रान्ति वा परिर्वतनको नेतृत्व गर्न सम्भव थियो । त्यो सबै कुरा जनयुद्धले विकास गरिसकेको थियो वा जनयुद्धमा लागेको चेतना त्यस्तो थियो ।

चीनजस्तो कम्युनिस्ट समाजवादी राज्यव्यवस्था भएको वा पुँजीवादी भए पनि अमेरिकाजस्तो संसदीय व्यवस्था भएको देशमा पनि दलबदलको त्यति ठूलो आवश्यकता पर्दैन किनकि त्यहाँ पार्टी प्रणाली त छ तर ‘टु पार्टी सिस्टम’ छ । तर हाम्रोजस्तो बहुलवादी राजनीतिक प्रणाली भएको तथा जनयुद्धबाट भाँडिएको र नेतृत्वको गद्दारीपूर्ण अवसानपछिको समाजमा यस्तो प्रवृतिले धेरै प्रश्रय पाउँदो रहेछ । यो बहुदलीय भनिएको दलाल संसदीय राजनीतिमा यसको विकास तीव्रतर हुँदो रहेछ । आज नेपाली राजनीति चाहे त्यो क्रान्तिकारी होस् वा संसद्‌वादी पार्टी सबै दलबदलका कारण प्रताडित छन् । आखिर राजनीतिमा यस्तो किन हुन्छ ? केके कारण हुन सक्छन् त ? यसका विषयमा छोटो चर्चा गर्न जरुरी छ ।

१) स्वार्थ वा अवसर खोज्ने राजनीतिक चेत

यो प्रवृत्ति क्रान्तिकालमा भन्दा शान्तिकालमा धेरै मौलाउने गर्दछ । नेपाली राजनीति र नेपाली कम्युनिस्ट आन्दोलनमा सबैभन्दा बढी स्थान पाएको प्रवृत्ति पनि यही हो । पद–प्रतिष्ठालाई आफ्नो क्षमता मापनको केन्द्र मान्ने, जति सक्यो माथि पुग्न पाए हुन्थ्यो भन्ने सोच्ने, सोचेअनुरूप पद प्राप्ति हुन सकेन भने पार्टीनेता वा समितिसँग निहुँ खोज्ने, बार्गेनिङ गर्ने, घुर्की लगाउने, धम्की दिने आदिइत्यादि सबै गर्ने, यति गर्दा पनि भएन भने पार्टी बदल्ने र आफूलाई सुरक्षित गर्ने । पार्टीमा रहुन्जेल नेतृत्वको पूजा गर्ने, चाकडी गर्ने, स्वार्थ मिलेन भने सत्तोसराप गर्ने, सकिनसकी ‘पाँडे गाली’ गर्ने । आफ्नो स्वार्थ पूर्ति हुने भएमा सबै गर्ने, स्वार्थ पूर्ति नहुने भएमा भण्डाफोर गर्ने । यो राजनीतिक चेतको विकास आजको दुनियाँमा धेरै भएको छ । यसले क्रान्तिकारी आन्दोलनलाई विभिन्न समयमा क्षति पुग्ने पनि गरेको छ । यो निम्नपुँजीवादी अधैर्य र क्रान्तिकारी चिन्तनमाथिको अस्पष्टताका कारण हुने गर्दछ । स्वार्थ र अवसर पाए सबै बिर्सने, नपाए पार्टी छोड्ने, विरोध गर्ने, धारे हात लगाएर गाली गर्ने यो प्रवृत्ति अन्ततः विसर्जनमा गएर सकिन्छ ।

२) क्रान्तिकारी दृष्टिकोणको अभाव

क्रान्तिकारी पार्टी निर्माणमा क्रान्तिकारी दृष्टिकोण बन्नु अनिवार्य कुरा हो । दृष्टिकोण प्रस्ट नभई क्रान्तिकारी बन्न सम्भव हुँदैन । हरेक राजनीतिक सिद्धान्त एउटा विचार र दृष्टिकोणमा आधारित हुन्छन् । त्यही विचार र दृष्टिकोणअनुरूप आफ्ना राजनीतिक गतिविधिहरू सञ्चालित हुने गर्छन् । क्रान्ति केवल हवाईकल्पनामा हुने र गर्न सम्भव हुने कुरा पनि हैन । नेता–कार्यकर्ताको चेत क्रान्तिकारी दृष्टिकोणले ओतप्रोत हुन अनिवार्य छ । सिद्धान्तमा सर्वहारा क्रान्तिको कुरा गर्ने, व्यवहारमा निम्नपुँजीवादी गैरक्रान्तिकारिता लागू गर्ने तर आफूलाई सधैँ अब्बल दर्जाको क्रान्तिकारी रहेको ढोङ प्रदर्शन गरिरहने यो प्रवृत्ति पनि क्रान्तिमा रहिरहन्छ तर लामो समय क्रान्तिलाई साथ दिएर जान सक्दैन । कालान्तरमा दलबदल गरेर वा आफ्नै पार्टी र नेतालाई धोका दिएर जाने गर्दछ ।

३) आत्मसुरक्षावादी तथा आत्मसमर्पणवादी चिन्तन

यो सिद्धान्ततः क्रान्तिको जटिल प्रक्रियामा देखिने क्रान्तिका निम्ति निकै घातक प्रवृत्ति हो । तर विभिन्न समयमा यो देखिइरहन्छ । सबैभन्दा कायर प्रवृत्तिले म बहादुर, म शक्तिशाली र अरू सब सहायक हुन् भन्ने ठान्छ । तथ्यले भन्दा तर्कले जित्ने उसको मुख्य चिन्तन हुन्छ । तथ्यभन्दा तर्कलाई विश्वास गर्दछ । आत्मसुरक्षावाद तर्कबाजहरूको सहायक नाम हो भन्दा पनि फरक पर्दैन । यो प्रवृत्ति क्रान्तिको एकदम खराब प्रवृत्ति हो । घुम्ती, मोड र जटिल परिस्थितिहरूमा यो प्रवृत्ति डग्मगाउँछ । यो प्रवृत्तिले समस्या अरूमा तेस्र्याउँछ भने आफू चोखो रहेको तर्क गर्दछ । बनावटी र कपोलकल्पित तर्क गरेर आफूलाई अब्बल दर्जाको भएको प्रमाणित गर्न खोज्छ । तर लामो समय यो प्रवृति पनि क्रान्तिमा टिक्दैन । कि आत्मसमर्पण गरेर दुस्मनको कित्तामा पुग्छ, कि त क्रान्तिबाटै भाग्छ । निकै कुटिल प्रवृत्ति भएकाले समयमै पहिचान गर्न पनि कठिन हुन्छ तर एउटा समय यस्तो आउँछ यो प्रवृत्ति स्वयम् बाहिर आउँछ ।

४) कारबाही

नेपालमा एउटा सजिलो के बनेको छ भने धेरैले आफूलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी भन्ने गर्दछन् । एउटा पार्टीले सांस्कृतिक विचलन, आर्थिक विचलन वा यस्तै कुनै गल्ती गर्ने कार्यकर्तालाई कारबाही गर्दछ तर अर्को क्रान्तिकारी भन्ने पार्टीमा लगेर नेता बनाउँछ र ऊ नेता बन्ने गर्छ । एउटा पार्टीले कारबाही गरेको कार्यकर्ता अर्को कुनै पार्टीमा गएर नेता बन्नुलाई के भन्ने ? कुसंस्कार वा गतिशील विचार ? यो राजनीतिमा मौलाएको गलत संस्कार हो । क्रान्तिकारी पार्टीमा रहेर आफ्नो लाभ सूक्ष्म ढङ्गले लिने जब पार्टीले जानकारी पाउँछ र गलत काम गरेबापत कारबाही गर्दछ, पार्टी छोडेर अर्को कुनै पार्टीको शरणमा पुगेर आफ्नो गलत कामको रक्षा गर्ने प्रवृत्तिलाई कुनै तवरबाट पनि सही मान्न सकिँदैन । यो सबैभन्दा बढी यौनमामलाका घटना र आर्थिक अपारदर्शिताका सवालमा देखिने गर्दछन् । क्रान्तिकारी पार्टीमा रहेर आर्थिक कुम्ल्याउने जब पार्टीले कारबाहीको प्रक्रिया अगाडि बढाउँछ कुलेलम ठोक्ने प्रवृत्ति विगतदेखि नै रहेको छ । यो प्रवृत्ति पनि खतरनाक नै देखिन्छ । एउटाको जुठो अर्कोमा जाँदा चोखो, एउटाको चोर अर्कोमा साधु, एउटाको बलात्कारी अर्कोेमा जाँदा पवित्र नेपाली राजनीतिको दैनिकी बन्दै आएको छ जो राजनीतिको भद्दा मजाक मात्र मान्न सकिन्छ ।

५) नेतृत्वको अदूरदर्शिता वा विचलन

मान्छे विचलित हुनु, पार्टी छोड्नु वा अर्को कुनै पार्टीमा जानुका कारणमा नेतृत्वको अदूरदर्शिता, अपारदर्शिता र सिद्धान्त–विचारअनुरूप कार्ययोजना निर्माण नभएमा वा विचलित भएमा पनि यस्ता घटनाहरू हुने गर्दछन् । कार्यकर्ताप्रति नेतृत्व पूर्वाग्रही सोचाइको वा नेतृत्वको क्षमता र वस्तुगत स्थितिको सही तालमेल नमिल्दा त्यसो हुन सक्छ । उदाहरणका लागि जनयुद्धबाट आएको माओवादी शक्ति छिन्नभिन्न हुन पुग्यो । को कहाँ पुग्यो आज त्यसको लेखाजोखा गर्न नै सम्भव छैन । किन त्यसो भयो त भन्दा नेतृत्वमा आएको राजनीतिक विचलन नै मुख्य कारण हो । जनमुक्ति सेनासहित लाखौँ कार्यकर्ता भएको माओवादी पार्टी आज काङ्ग्रेसको बुई चढेर आफ्नो राजनीतिक अस्तित्व धानिरहेको छ ।

गलतबाट सही ठाउँका लागि आफूलाई तयार गर्यो रूपान्तरण भयो र गलत पार्टीबाट क्रान्तिकारी पार्टीमा स्थानान्तरण भयो भने त्यो अग्रगामी, क्रान्तिकारी कदम बन्न जान्छ । त्यही पनि कुनै दागले नछोएको हुनु उत्तम हुने गर्दछ । संसद्‌वादी शक्तिबाट क्रान्तिकारी पार्टीमा रूपान्तरण र स्थानान्तरण गर्दा उसको सबै नालीबेली हेर्नुपर्छ नै । संसद्‌वादीहरूले जस्तो आफ्नो भोट बढाउन चुनावको माहोलमा गरेको हूल–भेल प्रवेशको नीतिजस्तो क्रान्तिकारी नीति राम्रो हैन, त्यस्तो नीति बनाउनु पनि हुँदैन । क्रान्तिकारी रूपान्तरणको हक सबैलाई हुन्छ तर ऊ आफू क्रान्तिप्रति बफादार हुनुपर्छ । नेपालमा गफ चुटेर खाने क्रान्तिकारी प्रवृत्ति हाबी हुँदै गएको छ । अरूको सत्तोसरापमा आफ्नो राजनीतिक भविष्य देख्ने र आफ्नो अस्तित्वरक्षा गरेर बसिरहने प्रवृत्तिले विभिन्न समयमा क्रान्तिका विरुद्ध पनि टाउको उठाउने गर्दछन् । एउटा पार्टीबाट अर्को पार्टीमा जानु वा पार्टी छोड्नु मान्छेको व्यक्तिगत स्वतन्त्रता हो तर एउटा पार्टीको बदमास कार्यकर्ता अर्को कम्युनिस्ट पार्टीको कार्यकर्ता वा नेता कसरी बन्न सक्छ, यो प्रश्न भने जटिल प्रश्न हो । आजको दुनियाँमा विकसित चेतनाको उपज ठान्ने हो भने पनि मान्छेले प्रगतितिर, अग्रगमनतिरको पाइला नचालेर किन पश्चगमनको पाइला चाल्छ त भन्दा उसको स्वार्थमा जब धक्का लाग्छ, ऊ पछाडि फर्कन्छ जो कालान्तरमा उसकै राजनीतिक जीवनका लागि पनि पीडाबोध बन्ने कुरा निश्चित छ । सौताको रिसले आफ्नै ओछ्यानमा पिसाब फेर्दा आफैँलाई सुत्न कठिन हुने कुरा हो । कुनै समयमा पश्चातापसहित फर्कनुको विकल्प हुँदैन जो ढिला भैसकेको हुनेछ ।

आफूलाई जोजसले पार्टी, समुह वा झुण्ड बनाएर क्रान्तिकारी पार्टी चित्रण गर्दछन्, जति पनि कम्युनिस्ट नामका पार्टीहरू छन्, अन्ततः सही, सत्य र क्रान्तिकारी पार्टी एउटा नै हुने गर्दछ । सबै एउटै तुलनाका कम्युनिस्ट क्रान्तिकारीहरू हुन र रहन सम्भव छैन र हुँदैनन् पनि । भोट बटुल्न जनताको मनोभावलाई बुझेर भावनामा राजनीति गर्न गरिएका सबै हर्कतहरू एक दिन घामझैँ बाहिर आउँछन नै । बास्तविक श्रमिक जनता र क्रान्तिको एजेन्डा बोकेर को लडेको छ ? जनताले कसलाई विश्वास गरेका छन् ? त्यसको आधार के हो भन्ने कुराले को क्रान्तिकारी र को गैरक्रान्तिकारी पार्टी हो भन्ने कुरा निर्धारण गर्दछ । सक्षम नेता, कार्यकर्ता र ठूलो जनताको शक्तिसहित सङ्गठित रहेको पार्टी भनेको नेपाल कम्युनिस्ट पार्टी मात्र हो । यो पार्टीका वरपर जनताको आशा, विश्वास र आकर्षण बढेको छ । तर कतिपय मान्छे छोडेर भागे भन्दा अपत्यारिलो पनि लाग्न सक्छ तर यो विज्ञानको नियम हो । हरेक सफलतासँग असफलता, विजयसँग पराजय, क्रान्तिसँग प्रतिक्रान्ति, सत्यसँग असत्य जोडिएर नै आएका हुन्छन् । त्यसो हुँदा बेलाबेलामा त्यस्ता शक्ति वा व्यक्तिले दिने सक सामान्य ठान्नु पर्दछ र निरन्तर क्रान्तिको दिशालाई पकडिरहनु पर्दछ । हाल नेपालमा चलेको विगतको बिहारी राजनीतिक संस्कार हो । केही समय यो चल्छ नै तर यसको अन्त्य अनिवार्य छ । दलाल पुँजीवादको आडमा टिकेको बिहारी राजनीतिक संस्कारको अन्त्य नभएसम्म न नेपाली जनताको प्रगति सम्भव छ, न त नेपाली जनताले मुक्ति प्राप्त गर्दछन् । दलबदलपूर्ण बिहारी राजनीतिक संस्कारको अन्त्य केवल वैज्ञानिक समाजवादी राज्य व्यवस्थामा मात्र सम्भव छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :