महासचिव कमरेडसहित पूर्वी अभियानका केही अनुभूति

महासचिव कमरेडसहित पूर्वी अभियानका केही अनुभूति

संयोग भनौँ वा अवसर महासचिव कमरेडकै नेतृत्वमा पूर्वी मोर्चाको अभियानमा जाने सौभाग्य प्राप्त भयो । जनयुद्धमा पूर्वी मोर्चाको चर्चा हुने गरे पनि म स्वयम् जान पाएको थिइनँ । आक्कलझुक्कल घुमघामका सिलसिलामा पूर्व जाने गरे पनि अभियान नै बनाएर गएको यो मेरो जीवनको पहिलो अवसर नै थियो । यो अभियानलाई मसिनो गरी अध्ययन गर्ने अवसरका रूपमा मैले प्रयोग गर्ने कोसिस गरेँ । पूर्व सबै रूपमा अगाडि बढेको क्षेत्र मानिन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, विकास निर्माण र चेतनाका रूपमा पनि अगाडि भएको भन्ने गरिन्छ । त्यस क्षेत्रको अभियानले स्वाभाविक रूपमा मभित्र एउटा कौतुहल पनि सृजना गरेकै थियो । पुँजीवादको प्रत्यक्ष प्रभावमा रहेको मानिएको क्षेत्रमा क्रान्तिकारीहरूले पुँजीवादका विरुद्ध गरिरहेको लडाइँ जनस्तरमा कस्तो होला भन्ने सोच्नु स्वाभाविक नै हो । जनयुद्धमा महत्वपूर्ण योगदान गर्दै एकीकृत जनक्रान्तिमा अगाडि बढ्दै गरेको पूर्वी मोर्चा क्रान्तिको किल्लाका रूपमा उभिँदैछ भन्ने कुरा हामीले सुन्दै गरेका खबरहरू कति सत्य होलान् भन्ने सोच्नु पनि सही नै हुन्थ्यो । झन् महासचिव कमरेड आफैँ जनता, कार्यकर्ता, सहिद परिवार, बन्दी र त्यहाँका बुद्धिजीवीसँग प्रत्यक्ष पुग्दा महासचिव कमरेडमा पनि एउटा क्रान्तिको नौलो र सजीव चित्र आएको हुनुपर्दछ जो अभियानका चार अनुभूति भन्ने लेखमा संश्लेषण गरिसक्नुभएको छ । सानो आलेखमा सबै कुराहरू लेख्न त गारो नै हुन्छ तर मैले देखेको र भोगेको अभियानको सङ्क्षिप्त रूपमा यस आलेखमा उतार्ने कोसिस गर्नेछु ।

लेखक : असल क्षेत्री

हाम्रो अभियान नवलपुरमा क्रान्तिकारी युवा सङ्गठनको केन्द्रीय समितिको बैठक र चितवनमा किसानको बैठकपछि पूर्वी यात्रा तय हुन्छ । पूर्वी अभियानको सुरुआत नै मकवानपुरको भीमफेदी कारागारमा रहनुभएका क. दीपक बिष्टलगायत कमरेडहरूसँगको मीठो र आत्मीय भेटबाट भयो । उहाँहरूसँगको भेटमा बन्दी कमरेडहरूले राखेका भावहरूले हामीमाथि उत्साह थपिदियो । क्रान्तिप्रतिको प्रतिबद्धतामा झन् एउटा सुन्दर इँट थपिदिएको अनुभूति भयो । उहाँहरूले तीनवटा कुरा राख्नुभयो : एक, हामी क्रान्तिमा बलिदान हुन्छ भन्ने उद्देश्यसहित लागेका मान्छे हौँ । जेलजीवन जिउने कुरालाई त्यति ठूलो विषय ठानेका छैनाैँ । पार्टीले क्रान्तिको सपनालाई मर्न नदेओस्, हामी क्रान्तिका निम्ति जेलमा नै बलिदान गर्न तयार छौँ भन्ने गर्विला भनाइहरूले हामी सबैलाई उद्वेलित बनायो । दुई, अहिले हाम्रो पार्टी कहाँ पुगेको छ र बदलिँदो परिस्थितिअनुकूल क्रान्तिको स्वरूपबारे के सोच्नुभएको छ ? तीन, बन्दी कमरेडहरू र परिवारको चासो, चिन्ता र आधारभूत समस्याहरूको समाधान कसरी सोच्नुभएको छ ? भनेर प्रतिबद्धतासहितका प्रश्नहरू पनि राख्नुभयो जो स्वाभाविक थिए । तत्कालीन समस्याहरूको समाधान र बर्तमान परिस्थितिको सामान्य व्याख्यासहित हामी कसरी जाने सोचेका छौँ भन्ने विषय महासचिव कमरेडले राख्दा सबै कमरेडहरू प्रफुल्ल हुनुभयो ।

पूर्वी अभियानमा सात जिल्लाका जेलमा रहेका प्रतिबन्धको समयमा जेल परेर नछुटेका करिब चालीसजना साथीसँग महासचिव आफैँ जेलमा पुगेर भेटघाट गर्नुभयो । जेलमा रहेका कमरेडहरूसँगको भेटघाटले जेलमा रहेका कमरेडहरूमा उत्साह त थप्यो नै, हामीलाई पनि थप प्रेरणा प्रदान गर्योे । साथीहरूमा देखिएको क्रान्तिप्रतिको प्रतिबद्धता र बुझाइ महान् र शिक्षाप्रद नै थियो । जेलको चार पर्खालभित्र रहेर पनि क्रान्तिलाई जीवनसँग जोड्न सक्नुभएका साथीहरूसँगको भेटमा कयौँ ठाउँमा भावुक त कयौँ ठाउँमा उद्वेलित र उत्साहित हुने स्थिति पैदा भयो । जेलका चार पर्खालभित्र रहेर पनि विचार र क्रान्तिलाई आत्मसाथ गरिरहनुभएका कमरेडहरूमा सलाम छ भन्दै हामी बिदा भएका थियौँ । कतै पनि निराशा र पश्चाताप देखिएन । क्रान्तिप्रतिको चासो, चिन्ता र प्रतिबद्धता नै देखियो । यो एकदम सकारात्मक र ग्रहणयोग्य पक्ष हो ।

अर्को भेट भनेको सहिद परिवारसँगको हो । सहिद परिवार भनेका क्रान्तिका भरपर्दा शक्ति हुन् । सहिद परिवारलाई भेट्न नसक्ने, सहिदका सपनाहरू बिर्सने नेता र पार्टीले क्रान्ति गर्न सम्भव हुँदैन । हरेक क्रान्तिहरू सहिदको रगतले सिञ्चित भएको हुन्छ । त्यस्तै एकीकृत जनक्रान्ति पनि एक दर्जनभन्दा बढी कमरेडहरूको रगतले सिञ्चित भएको छ । ती सहिदहरूको रगतको मूल्यमा नै एकीकृत जनक्रान्ति अगाडि बढेको छ । यसो भन्दै गर्दा कयौँ सहिद परिवारको घरमा जान सकिएको थिएन । अन्य कुनै कारणले नभई राजनीतिक कामको चापले नसकिएको हो । महासचिव कमरेड आफैँ सहिदको घरमा पुगेर सहिद परिवारको अभिभावकत्त्व ग्रहनण्ँ गर्नु सामान्य कुरा थिएन । बाहिर धेरै अनावश्यक प्रचारित क. कुमारको घरमा पुग्दा हामीलाई नयाँ अनुभूति भयो । महान् सहिद क. कुमार एक कुशल क्रान्तिकारी नेता हुनुहुन्थ्यो । उहाँलाई प्रतिक्रियावादी सत्ताले २०७६ असार ५ मा हत्या गरेको थियो । उहाँको परिवारलाई भेट्नु हाम्रो मुख्य उद्देश्यभित्र नै थियो । प्रतिबन्ध खुला भएपछि सहिद कुमारको घरमा पहिलोपटक जाँदै थियौँ । त्यसै पनि हामी अलि भावुक नै थियौँ । जब हामी गाडीबाट ओर्लियौँ, सहिद कुमारकी जीवनसँगिनीगायत सपरिवार महासचिव कमरेडको अँगालोमा आएर बाँधिनुभयो र रुन थाल्नुभयो, ‘दाइ, मेरो श्रीमान्लाई दुस्मनहरूले मारे । तपाईं आजसम्म किन आउनुभएन ? पार्टीले सहिद परिवारलाई बिर्सन खोजेको हो ? हामी कसरी बाँच्ने ? कुमारको सपना पूरा गर्नुहुन्छ कि हुन्न ?’ यसप्रकारका गम्भीर विषय कारुणिक ढङ्गले राख्दा हामी सबैका आँखाहरू रसाए । हामीलाई कस्तोसम्म लाग्यो भने यहीँबाट बन्दुक बोकेर हिँडौँ । यहीँबाट क्रान्तिको विगुल फुकौँ तर सबै कुरा भावावेशबाट मात्र त्यसरी त सम्भव थिएन । हामी सबै संयमित बन्याैँ र बस्यौँ । महासचिव कमरेडले भावुक स्वरमा सबै परिवारलाई सम्झाउनुभयो र क्रान्तिको मोर्चाबाट नै सबैखाले दुस्मनहरूलाई परास्त गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘कुमारको रगत क्रान्तिको रक्तबीज हो । कुमार महान् बन्नुभएको छ । त्यो सौभाग्य क. कुमारलाई प्राप्त भयो । कुमारको बलिदान खेर जानेछैन । बरु हामी सबैजना कुमार बन्न तयार छौँ तर सहिदका सपना मर्न दिँदैनौँ’ भन्दै गर्दा सपरिवार फेरि महासचिव विप्लवलाई देख्दा कुमारको पूर्ति भएको अनुभूति गर्यो । सहज बन्दै पुनः फर्कने वाचा गर्यौँ । अन्त्यमा सबैसँग लालसलाम गरेर त्यहाँबाट अझै पूर्व हानियौँ । गाडीमा बाटोभरि कुमारलाई सम्झिँदै हामी इटहरी पुग्यौँ । महान् सहिद कमरेड कुमार एक अमर योद्धा हुनुहुन्छ । उहाँ कालजयी बन्नुभएको छ ।

अर्को दिन १६ गते हामी विविध भेटघाट र छलफलपछि विराटनगर सभामा सहभागी भयौँ । पूर्व दलाल पुँजीवादको केन्द्र विराटनगर, त्यसमा पनि हाम्रो पार्टीलाई प्रतिबन्धको समयमा धेरै दमन र गिरफ्तार गरी सताइएको ठाउँमा हुने सभा सामान्य ढङ्गको सोचिएको थियो । तर जब जनता, कार्यकर्ताको हूल र भेल विराटनगरका गल्ली–गल्लीहरूबाट गगनभेदी नारा लगाउँदै दलाल व्यवस्थालाई चुनौती दिँदै निस्कियो, पूर्व एक क्रान्तिको अजेय किल्ला बन्ने महसुुस भयो । पूर्व राणा र पञ्चायतविरोधी आन्दोलनमा मात्र हैन, दलाल संसदीय पुँजीवादका विरुद्ध पनि एकढिक्का भएर क्रान्तिलाई साथ दिन्छ भन्ने कुराको प्रमाणित गर्यो । राणा शासनलाई फाल्न नेतृत्वदायी भूमिका निर्वाह गरेको विराटनगर र नेपाली क्रान्तिमा अविस्मरणीय विद्रोहको थालनी गरेका झापाली कम्युनिस्टहरूको विरासत एकीकृत जनक्रान्तिमा पनि कुनै कारणले कमजोर साबित हुन सक्दैन । विराटनगर सभाको सन्देश त्यही नै थियो ।

पूर्वमा रहँदा महासचिव कमरेडलगायत हामी अन्य धेरै कार्यक्रमहरूमा सहभागी बन्यौँ । सभादेखि प्रशिक्षणसम्म गर्दा सोह्र जिल्ला पुगिएछ । जेलका बन्दी कमरेडहरू, सहिदका परिवारहरू, बन्दीका परिवारहरू, जिल्लाहरूमा मिलाइएका अन्य धेरै भेटघाट र इलामको सुन्दर ठाउँ श्रीअन्तु डाँडाबाट गरिएको सूर्योदयको अवलोकनका विषयहरू अविस्मरणीय रहे । पूर्वकै सुन्दर जिल्ला इलामदेखि प्रतिबन्धको समयमा धेरै दमन खेपेको जिल्ला सङ्खुवासभा र भोजपुरसम्म पुग्दा नौलो अनुभूति भयो । महान् सहिद कमरेड कुमार क. निरकुमार क. तीर्थलगायत एकीकृत जनक्रान्ति र जनयुद्धका सहिद परिवारहरूले दिएका महत्वपूर्ण सल्लाह, सुझाव र पूर्वका क्रान्तिकारी नेता–कार्यकर्ताहरूले निर्वाह गरेका भूमिकाहरूप्रति हामी कृतज्ञ नै छौँ । नयाँ कमरेडहरूको लालपन र पुराना कमरेडहरूको निपुणताले सङ्गठनात्मक अवस्था पनि बलियो बन्दै गएको छ । माओले भन्नुभएझैँ ‘एकमा तीन’ को सिद्धान्तलाई सङ्गठनात्मक ढाँचामा व्यक्त गर्ने कोसिस भएको छ । जब क्रान्तिकारी पार्टी–सङ्गठनहरू बलिया बन्दै जान्छन्, त्यहीअनुरूप युवा, प्रौढ र बुढा कमरेडहरूको तालमेल बन्दै जान्छ । साथै जनविश्वास र समर्थनहरू फराकिलो बन्छन् ।

अन्त्यमा, एकीकृत जनक्रान्तिको यस महाअभियानमा हामी जटिल परिस्थिति र सुन्दर भविष्यको परिकल्पनासहित आज उभिएका छौँ । आज देश, समाज र राष्ट्रभित्र उब्जिएका सबै प्रश्नहरूको हल हाम्रो क्रान्तिले र नेतृत्वले दिनुपर्ने छ । सुन्दर समाजको कल्पना त सबैले गर्न सक्छन् तर त्यो समाज निर्माण गर्नु कठिन कार्य हो । हो आज हामी त्यही कठिन र जटिल कार्यमा डटेर लागेका छौँ । हाम्राअगाडि चुनौतीका ठूलाठूला पर्खाल त छन् नै तर सुन्दर भविष्यका ढोकाहरू पनि खुल्दै गैरहेका छन् । हरेक नयाँ बिहानीको जन्म महाविपत्ति र जटिल कोर्सहरू पूरा गरेर मात्र हुन्छ । हो, हामी त्यही कोर्स पूरा गर्ने अभियानमा छौँ । महासचिव कमरेडसहित भएको हाम्रो अभियानले हामीमा एउटा जिम्मेवारीबोध र प्रतिबद्ध बनाएको महसुस भएको छ । सहिद परिवार, बन्दी, बन्दी परिवार र पूर्वका क्रान्तिकारी जनताले हाम्रो पार्टी नेतृत्व र विचारप्रति देखाएको आशा, भरोसा र क्रान्तिकारी सन्देशलाई आगामी आन्दोलनको ऊर्जाका रूपमा व्यक्त गर्ने अठोट हामीले लिएका छौँ । पूर्व दलाल पुँंजीवादीहरूको किल्ला हैन, क्रान्तिकारी आन्दोलनले संसदीय दलाल पुँजीवादलाई मृत्युशैयामा पुर्याउँदै लगेको छ । भ्रष्टाचार, कुशासन र राष्ट्रघातका कारण नाङ्गिँदै गएको संसदीय पुँजीवादका विरुद्ध पूर्व एक ढिक्का हुँदैछ । प्रतिक्रियावादीका छद्म षड्यन्त्रहरूलाई निकम्मा पार्दै क्रान्तिकारी आन्दोलनलाई सुसङ्गठित गरी एकताबद्ध रूपमा क्रान्ति र क्रान्तिकारी नेतृत्वमा बिश्वास गरौँ भन्ने सन्देश र परिवर्तनको आकाङ्क्षा बोकेको पूर्वलाई रातो सलाम !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :