केन्द्रीय समिति बैठक, कार्यनीतिको बहस र उत्पन्न परिस्थिति

केन्द्रीय समिति बैठक, कार्यनीतिको बहस र उत्पन्न परिस्थिति

भर्खर नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको बैठक सम्पन्न भयो । विश्व सर्वहारा वर्गको टुकडी र नेपाली कम्यनिस्ट राजनीतिमा फरक धारको प्रतिनिधित्व गर्ने पार्टीको बैठकप्रति विश्वभर छरिएर रहेका नेपालीहरूले चासो, चिन्ता र उत्सुकताका साथ हेरेको पाइयो । एउटा क्रान्तिकारी पार्टीले देश, जनता र आफ्नो राजनीतिक जीवनमा के–कति र कस्तो निर्णय गर्दछ भनेर हेर्नु स्वाभाविक पनि हो । पार्टीका विषयमा बाहिर–भित्रबाट आएका प्रतिक्रिया र पार्टीले लिएका अवधारणाबारे यहाँ चर्चा गर्नु सान्दर्भिक नै हुन्छ ।

लेखक : असल क्षेत्री

कम्युनिस्ट पार्टी सञ्चालन विधि भनेको लेनिनवादी सङ्गठन सञ्चालन र परिचालनसम्बन्धी सिद्धान्त वा विधिमा आधारित रहेको हुन्छ । संस्थागत पार्टी सञ्चालन विधि र मूल नेतृत्वमा केन्द्रित रहेको सङ्गठनात्मक शक्तिले मात्र आजको क्रान्ति वा राजनीतिलाई परिणाममुखी विजयसम्म पुर्याउन सक्छ । सिद्धान्त र व्यवहारलाई सही रूपमा तालमेल मिलाउनु र क्रान्तिलाई अगाडि बढाउनु एक–अर्काका पूरक कुराहरू हुन् । सिद्धान्तहरूलाई व्यवहारमा परिणत गर्न सकिएन भने ती केवल खोक्रा फलाक्ने सिद्धान्तहरू मात्र बन्ने गर्दछन् । क्रान्ति त्यति बेला मात्र सम्भव हुन्छ जति बेला हरेक सङ्गठनहरू उपल्ला समितिहरूबाट निर्देशित हुन्छन, निःसर्त योजनाहरूलाई कार्यान्वयन गर्दछन् र नेताहरूले सिद्धान्तहरूलाई व्यवहारमा प्रमाणित गर्ने कोसिस गरिरहेका हुन्छन् । हरेक क्रान्तिहरू नयाँको स्थापनाका लागि भएका हुन्छन् । समाज परिवर्तनका निम्ति क्रान्ति अनिवार्य कुरा हो । क्रान्ति गर्न एउटा असल र कुशल नेतृत्व साथै अनुशासित सङ्गठनको आवश्यकता तथा जरुरी गर्दछ । नेपाली जनताले धेरै आशा, अपेक्षा र भरोसाका रूपमा हेरेको पार्टी हो नेपाल कम्युनिस्ट पार्टी अर्थात् त्यसको मूल नेतृत्व महासचिव कमरेड विप्लव । पार्टीजीवनमा नै सबैभन्दा लामो उक्त पार्टीको बैठक चैत चारदेखि चौध गतेसम्म लगातार बस्यो । आखिर यति लामो समय बैठक बसेर नेपाली जनता र राष्ट्रका पक्षमा केके निर्णय गर्यो, जनताले अपेक्षा गर्ने कुरा के हो ?

बैठकका विषयमा मिडिया र सामाजिक सञ्जालहरू रङ्गिए । क्रान्तिकारी भनिने, देखिने, चिनिनेजति सबैले सकारात्मक–नकारात्मक सबै रूपमा बहसहरू गरे । नेपाली राजनीतिमा देखिएको छाडा र अराजकता केही शक्ति र व्यक्तिहरूमा तथानाम देखियो, सुनियो । बाहिरी दबाब र घेराबन्दीले आन्तरिक बहसहरूलाई प्रभावित पार्ने, कमजोर तुल्याउने र आफ्नो स्वार्थमा बहस केन्द्रित गर्न पनि प्रयासहरू भए जो असम्भव थियो । विचार, राजनीति र आजको वस्तुस्थितिको सही मूल्याङ्कनसहित अहिलेको सामाजको मागअनुरूपका नीतिहरू तर्जुमा गर्नु नै सही हुन्थ्यो, त्यही नै भयो । क्रान्तिकारी नेतृत्व र सङ्गठनहरूले कसैको दबाब र तनावमा आफ्ना नीतिहरू तर्जुमा गर्नु हुँदैन । नेता त्यही हुन्छ जसले अरूभन्दा अगाडिको सामाजिक चित्र देखेको हुन्छ । त्यसलाई पूर्णता प्रदान गरिदिने काम नै सङ्गठनहरूको हो । कम्युनिस्ट सङ्गठनहरू पार्टी, क्रान्ति र नेतृत्वप्रति उत्तरदायी भुमिका निर्वाह गर्ने गर्दछन् । बहसहरूलाई व्यक्तिगत स्वार्थकेन्द्रित हैन, सस्थाकेन्द्रित गर्ने गर्दछन । आन्तरिक जनवादलाई सही रूपमा प्रयोग गर्दा सही चित्र नेतृत्वले देख्ने गर्दछ अनि कार्यनीतिहरूमा संश्लेषण गर्ने गर्दछ । पूर्ण जनवादी ढङ्गले सञ्चालन भएको बैठकको चित्र के थियो, सामान्यतः यसको चर्चा गरौँ ।

महासचिव कमरेडद्वारा प्रस्तुत प्रतिवेदनमा बहस गर्दै बाह्रौँ केन्द्रीय समिति बैठकले क्रान्तिकारी र दूरगामी महत्व राख्ने कार्यनीति निर्माणसहित तीनवटा विषयमा बहस गरेर निष्कर्ष निकालेको छ र एक मतले प्रतिवेदन पास गर्दै सकिएको छ ।

१) नवौँ महाधिवेशन

पार्टीको आठौँ महाधिवेशन सम्पन्न भएर समयावधिका रूपमा अर्को महाधिवेशन फागुन वा चैतमा गरिसक्नुपर्ने हुन्थ्यो तर कोरोनाको समस्या, पार्टीका आन्तरिक कामहरूको चापलगायत विषयले गर्दा त्यस समयमा मिलाउन सकिएन तर एक वर्षभित्र महाधिवेशन गर्ने गरी प्रस्ताव आएको छ र त्यसबारे सबैको धारणा सकारात्मक नै रह्यो । कम्युनिस्ट पार्टीहरूका महाधिवेशन विचार, राजनीति र सङ्गठनात्मक दृष्टिले नयाँ हुन्छन् । नेपाल कम्युनिस्ट पार्टीले केही सैद्धान्तिक र दार्शनिक महत्वका विषयहरू उठाएको र ती कतिपय विषयहरू महाधिवेशनमा बहसको बिषय बनाएर टुङ्ग्याउनुपर्ने हुन्थ्यो । आजको विश्व–कम्युनिस्ट आन्दोलनको अवस्था र अगाडि कसरी बढ्न सकिन्छ भन्ने विषय पार्टीका धारणाहरू केही नयाँ पनि छन् । बिश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक रहेको आजको परिवेशमा बिश्व कम्युनिस्ट आन्दोलनलाइ नै नयाँ ढङ्गले सङ्गठित गर्ने आन्दोलनको उठान गर्ने र अगाडि बढाउने विषयमा आजका सबै कम्युनिस्टहरूले गम्भीर बहस गर्नुपर्ने अवस्था छ । विश्वपुँजीवाद गम्भीर सङ्कटमा रहेको तर त्यसको वैकल्पिक विश्वव्यवस्थाकै रूपमा समाजवाद जति तीव्र बन्नुपर्ने हो त्यो बनिरहेको छैन । पुँजीवादको विकल्प समाजवाद हो र समाजवादले नै सत्तासङ्कट र जनताको व्यवस्थाका रूपमा खडा हुन सक्छ । नेपालको संसदीय पुँजीवादलाई समाप्त गरी समाजवादी राज्य सञ्चालनको पनि बहसको विषय नै छ ।

२) एमसीसी

अमेरिकी सहयोग भनिएको परियोजना एमसीसी नेपाली जनताले अस्वीकार गरेको तर नेपालका संसद्‌वादी पार्टीहरू संसद्‌बाट पास गरी कार्यान्वयन गर्ने तहमा पुगेका छन् । यस विषयमा क्रान्तिकारी कम्युनिस्टहरूको संयुक्त मोर्चा आन्दोलित छ । त्यो आन्दोलनको मुख्य शक्ति नेकपा नै हो । एमसीसीसम्बन्धी भएका आन्दोलनहरूको समीक्षा र आगामी आन्दोलनको रूपरेखा महासचिवको प्रतिवेदनमा ठूलो दोस्रो एजेन्डा हो । प्रतिवेदनमा लेखिएको छ, ‘एमसीसी सम्झौताका विरुद्ध जसरी यसअगाडि पार्टीले एकल, संयुक्त र व्यापक तालमेलमा सङ्घर्ष सञ्चालन गर्यो ठीक त्यसैगरी क्रान्तिकारी शक्तिसहितको एउटा मोर्चा र सारा एमसीसीविरोधी शक्तिहरूसहितको अर्को मोर्चा निर्माण गरेर सङ्घर्षलाई सङ्गठित र सुदृढ गर्न जोड लगाउनुपर्दछ । एमसीसी पारितको विषयलाई लिएर विभिन्न पार्टीहरूमा भएका सङ्घर्ष साथै एमसीसीविरोधी नेता, व्यक्तित्व एवम् समूहहरूसँगको छलफलमा व्यक्त भएका सकारात्मक सोचाइहरूले राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर एउटा फराकिलो र सशक्त मोर्चा बन्ने सम्भावना पनि बढेको छ । पार्टीले यस क्षेत्रमा सुव्यवस्थित मेहनत गर्नुपर्दछ । सङ्घर्ष सञ्चालन गर्दा जनताकै सहभागिता, परिचालन र हस्तक्षेपद्वारा सफल पार्नेमा मुख्य जोड लगाउनुपर्दछ । तर जनताको आन्दोलनमा बल प्रयोग गरेर दमन भएमा पार्टीले उचित प्रतिरोधको नीतिलाई प्रयोग गर्नुपर्दछ ।’

आफ्ना छद्म क्रियाकलापहरूलाई ढाकछोप गर्न नेपालमा विचारको असहमति वा बहसको सहारा लिने चलन छ । कतै यो पनि त्यसैको उपज त हैन भन्ने प्रस्नहरू जन्मन थालेका छन् । अरूको समाप्तिमा आफ्नो राजनीतिक भविष्य देख्ने, अरूको आलोचना गर्दा आनन्दानुभूति महसुस गर्ने र आफ्ना निजी स्वार्थ पूरा गर्नेे राजनीति पार्टीभित्र पार्टीकै नेताहरूले गर्नु सङ्गठन सञ्चालन परिचालन र विधि–पद्धतिका हिसाबले बेठीक कुरा हो । क्रान्ति गर्न नदिने र नगर्ने कुरा पनि हो । नेपाली कम्युनिस्ट आन्दोलनमा जति पनि बहस र विवादहरू भए अन्ततः त्यसको समाधान केवल विभाजन भएको देखिन्छ ।

३) स्थानीय चुनाव र क्रान्तिको तयारी

यतिबेलाको जल्दोबल्दो र बहुचर्चित विषय नै हो स्थानीय चुनाव । नेपालमा कम्युनिस्ट स्कुल चुनावविरोधी छ । अझ क्रान्तिकारी देखिन, बन्न सजिलो र सरल उपाय हो दलाल संसदीय चुनावको विरोध, बहिष्कार र खारेजी विभिन्न शब्दावलीमा यसलाई वर्णन गरिँदै आएको छ । अर्को चुनावलाई कार्यनीतिक उपयोग भन्दै जाने तर रणनीतिका रूपमा पुर्याएर टुङ्ग्याउने अनि संसद्‌वादमा फस्ने । यी दुवै अनुभवहरू आज हाम्रोजस्तो क्रान्तिकारी पार्टीमा जल्दोबल्दो रूपमा खडा भएको छ । के बहिष्कार गर्दैमा क्रान्तिकारी भैरहने हो ? वा चुनावलाई क्रान्तिको मोर्चाका रूपमा उपयोग गर्दैमा गैरक्रान्तिकारी, संसद्‌वादी भइने हो ? यो हैन । सत्य कुरा त के हो भने क्रान्तिको विस्तार र विकाससँगै जनसम्बन्धलाई उचाइमा उठाउन चुनावको प्रयोग गर्न सकिने कुरालाई क्रान्तिकारीहरूले अन्यथा बुझ्न हुँदैन वा सकिँदैन । मार्क्सवाद भनेको उपदेशवाद हैन, मार्क्सवाद भनेको त विज्ञान हो । विज्ञानले व्यावहारिक प्रयोग खोज्ने गर्दछ । समाज विज्ञानमा प्रयोग भएन भने त्यो कमजोर हुन्छ । नेपालका कतिपय कम्युनिस्ट नेताहरू कोठामा बसेर किताब पढ्ने, अरू सबैलाई गैरक्रान्तिकारी देख्ने, आफू मात्र अब्बल दर्जाको क्रान्तिकारी भएको ढोङ फलाक्ने गर्दछन् । तिनीहरूलाई न क्रान्ति कसरी हुन्छ भन्ने थाहा छ, न कसैले गर्न लागेको क्रान्तिलाई क्रान्तिकारी देख्ने आँखा निर्माण भएको हुन्छ । यो आँखाबाट हेर्दा संसदीय व्यवस्थाले गर्ने वा सबैखाले चुनावहरूलाई क्रान्तिको मोर्चाका रूपमा प्रयोग गर्न खोज्दा भएभरका वाद झुन्ड्याएर गाली गर्ने गर्दछन् । पुरानो जडसूत्रीय मार्क्सवादी आँखाबाट हेर्दा हरेक नयाँ कदम गैरक्रान्तिकारी लाग्नु पनि स्वाभाविक हो । विप्लव कमरेडले एकीकृत जनक्रान्तिको कार्यदिशा प्रतिपादन गर्दैैगर्दा धेरैलाई त्यस्तै लाग्यो । जनमतसङ्ग्रहको कार्यनीति पनि नयाँ नै थियो । त्यसलाई पनि कयौँले विरोध गरे, आलोचना गरे । अहिलेको बैठकबाट लन्च भएको कार्यनीति पनि कयौँलाई त्यसै लागेको हुनुपर्दछ तर सत्य त क्रान्तिलाई सम्पन्न गर्ने र श्रमिक जनतालाई मुक्त गर्ने कुरा हो । वस्तुगत स्थितिको सही मूल्याङ्कन गर्न नसक्दा क्रान्तिहरू अलपत्र परेका थुप्रै इतिहासहरू हामीमाझ छन् । क्रान्तिमा दुवै खुट्टा सही ढङ्गले चाल्नुपर्ने हुन्छ । कुन खुट्टा अगाडि सार्ने भन्ने अधिकार नेतृत्वलाई हुन्छ त्यसो गर्दा नेतृत्वलाई नै अलगावमा पार्ने गरी बहस गर्नु क्रान्तिकारी लफ्फाजी मात्र हुन जान्छ । क्रान्तिको वाटो बाङ्गोटिङ्गो नै हुन्छ, यो सर्वमान्य कुरा हो । सीधा बाटो हिँडेर कुनै पनि क्रान्तिहरू सम्पन्न भएका छैनन् । आज हुने क्रान्ति कसरी सम्पन्न गर्न सकिन्छ भन्ने कुरा आजको चेतनाले मात्र सम्भव छ, पुरानो गएगुज्रेको चेतनाबाट आजको क्रान्तिको नेतृत्व सम्भव छैन । यतिबेला चुनावसम्बन्धी पारित प्रस्तावभित्र क्रान्तिको नयाँ आकृति हामीले देख्न सक्नु पर्दछ । चुनावसम्बन्धी महासचिव कमरेड प्रस्तावमा लेख्नुहुन्छ, ‘देशको वस्तुस्थिति हेर्दा दलाल पुँजीवादी सत्ता र संसदीय सरकार सङ्कटबाट गुज्रिरहेका छन्, संसद्‌बाट खुलेआम राष्ट्रघात भएको छ । जनता असन्तुष्ट छन् । हाम्रा बन्दी कमरेडहरूलाई पूरै मुक्त गरिएको छैन । झूट्टा मुद्दाहरू खारेज गरिएको छैन । जनजीवन भ्रष्टाचार, तस्करी, महँगीलगायतले तहसनहस छ । श्रमिक जनता र क्रान्तिका मित्रहरू हाम्रो पार्टीप्रति आशावादी छन् । यी पक्षबाट निचोडमा पुग्दा हामी सजिलै चुनावका विरुद्ध बहिष्कारमा जान सक्छौँ तर ठीक अर्को पाटोबाट हेर्दा वस्तुस्थिति फरक छ जस्तो कि हामी दुई वर्षको प्रतिबन्धपछि बाहिर आएका छौँ । राज्यका अनेक षड्यन्त्रकारी घेरा तोडेर टुटेका पार्टी सङ्गठनलाई जनतासँग जोड्न र सुदृढ गर्नु पर्नेछ । मित्रशक्तिहरूलाई सन्तुलित राख्नुपर्ने छ । जनतालाई क्रान्तिका लागि मानसिक एवम् सङ्गठनात्मक ढङ्गले प्रशिक्षित गर्नुपर्नेछ । सम्भव भएसम्म बन्दी कमरेडहरूलाई मुक्त गर्नुपर्नेछ । एकीकृत जनक्रान्तिका पाँच आधारहरूलाई अरू सुदृढ गर्नुपर्ने छ । यसरी विचार गर्दा यसपटकको स्थानीय चुनावलाई पार्टी दर्ता गरेर उपयोग गरिनेछैन तर एमसीसी एवम् राष्ट्रघातविरोधी प्रतिनिधिहरूलाई सहभागी बनाउने र सहयोग गर्ने नीति लिनु उपयुक्त हुनेछ । यसो गर्दा पनि संसदीय व्यवस्थाको राष्ट्रघाती, जनघाती चरित्रको भण्डाफोर गर्न र वैज्ञानिक समाजवादको अपरिहार्य आवश्यकतामामाथि जोड दिनुपर्दछ ।’

यसरी प्रस्ट पार्टी केन्द्रीय समितिले एकमतले पास गरिसकेको कार्यनीतिलाई लत्याउँदै कतिपय नेताहरू आफ्नै तरिकाको भजन गाउँदै हिँड्नुले के कुरा प्रस्ट गरेको छ भने यो विचारको भन्दा नियतको समस्या हो भन्ने कुरा दर्साउँछ । महासचिव कमरेडले चुनाव बहिष्कार वा खारेजीको कार्यनीति प्रस्तुत गरेको भए वस्तुगत स्थितिको हवाला दिँदै उपयोग गर्नु वस्तुवादी र क्रान्तिकारी कदम हुन्छ भन्ने बखेडा झिकिन्थ्यो भन्ने कुरा गतिविधिहरूले प्रस्ट्याउँदै गएका छन् । आफ्ना छद्म क्रियाकलापहरूलाई ढाकछोप गर्न नेपालमा विचारको असहमति वा बहसको सहारा लिने चलन छ । कतै यो पनि त्यसैको उपज त हैन भन्ने प्रस्नहरू जन्मन थालेका छन् । अरूको समाप्तिमा आफ्नो राजनीतिक भविष्य देख्ने, अरूको आलोचना गर्दा आनन्दानुभूति महसुस गर्ने र आफ्ना निजी स्वार्थ पूरा गर्नेे राजनीति पार्टीभित्र पार्टीकै नेताहरूले गर्नु सङ्गठन सञ्चालन परिचालन र विधि–पद्धतिका हिसाबले बेठीक कुरा हो । क्रान्ति गर्न नदिने र नगर्ने कुरा पनि हो । नेपाली कम्युनिस्ट आन्दोलनमा जति पनि बहस र विवादहरू भए अन्ततः त्यसको समाधान केवल विभाजन भएको देखिन्छ । एकता–सङ्घर्ष र रूपान्तरणको जति पनि सिद्धान्त फलाके पनि त्यसको सही प्रयोग कहिल्यै पनि हुन सकेन । यो बहसले पनि त्यो दिशा पकड्न सक्ने स्थिति देखिँदैन । आफ्ना कुरा सही ढङ्गले समितिमा राख्ने, समितिमा सामाधान खोज्नेभन्दा मिडियामा गएर जग हँसाउने कार्यले न जनताको मुक्तिको प्रश्नलाई सही रूपमा उठान गर्न सक्छ, न समितिको विश्वसनीयता प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :