एकताको बहस सत्य वा काल्पनिक ?

एकताको बहस सत्य वा काल्पनिक ?

पछिल्लो समयमा नेपाली कम्युनिस्ट राजनीतिक रङ्गमञ्चमा जबर्जस्ती एउटा बहसको सुरुआत भएको छ– जनयुद्ध लडेका पूर्वमाओवादीहरूको एकता हुँदैछ । एकताको अन्तिम तयारीमा छ । छिटै एकता हुनेछ । माओवादी पार्टी २०६४ को अवधिमा पुग्दैछ । माओवादी पार्टी पुनः ठूलो हात्तीजत्रो बन्नेछ, अरू सब मुसाझैँ दुलो खोज्नु पर्नेछ । अबको चुनावमा माओवादी पार्टीले दुईतिहाइ सिट जितेर एकलौटी सरकार बनाउनेछ आदिइत्यादि छलफलहरू हुने गरेका छन् । चोक, बस्ती र सामान्यदेखि बौद्धिक तहका नागरिकहरूसम्म यो बहसमा सहभागी हुन थालेका छन् । यो स्वाभाविक कुरा पनि हो । एकता आफैँमा राम्रो कुरा पनि हो, एक हुनु, मिल्नु राम्रो पक्ष हो । एकतामा शक्ति हुन्छ । एकतामा सुन्दर भविष्य पनि हुन्छ । देश र जनताले निकास पाउने, जनताको परिवर्तनप्रतिको आकाङ्क्षा पूरा हुने अवस्थामा पार्टी–पार्टी र नेता–नेताबीच एकता हुनु र अगाडि बढ्ने सोचाइ निर्माण गर्नु असाध्य सुन्दर र सही कुरा हुन जान्छ । राज्यसत्ताको नयाँ रूपान्तरण हुन्छ भने एकता स्वागतयोग्य कुरा मान्नुपर्छ । आमूल परिवर्तनको दिशामा अगाडि बढ्ने उद्देश्यसहित हुने एकताहरूलाई क्रान्तिकारीहरूले स्वीकार गर्नु पर्दछ । एकता विचार, राजनीतिक लक्ष्य, उद्देश्यसँग सम्बन्धित कुरा हो । विचार, राजनीति र दीर्घकालीन रूपमा सोचिएको एकताले मात्र लक्ष्यलाई चुम्न सक्छ । एकता मुखमा भन्दा जति मीठो र सुन्दर लाग्छ, आजको नेपाली राजनीतिक संस्कारमा गर्न कठिन कुरा पनि हो । दलाल पुँजीवादले गाँजेको नेपाली राजनीतिको आजको अवस्थामा नेता र नेतृत्वलाई नै ठूलो मान्ने चलन छ । नेताले आफूलाई सर्वमान्य वा सर्वश्रेष्ठ ठान्ने गर्छन् । आफूबाहेक सबै बेठीक, आफूबाहेक अरू सबै अक्षम भन्ने चिन्तन मुख्य बाधक बन्ने पनि गरेको छ । अर्को कुरा जस्तोसुकै चोर, जाली, फटाहा भए पनि आफ्नै पार्टीको नेता सही भन्ने कार्यकर्ताको मनोविज्ञान पनि छँदैछ किनकि कार्यकर्ता त्यही ढाँट वा अक्षम नेताबाट पालितपोषित हुन्छ । त्यही कुरा लुकाउन वा नेतालाई सक्षम छ भनेर देखाउन कार्यकर्ता मरिमेटी मेरो नेता सबैभन्दा सक्षम, पवित्र र कुशल रहेको भन्दै जनजनसम्म प्रचार गर्दै हिँड्छ तर उसलाई के थाहा हुन्छ भने नेता चोर नै हो । यो कुरा उसलाई गहिरो गरी थाहा भएको हुन्छ । यो प्रवृत्तिले पनि एकतामा ठूलै असर गर्ने गर्दछ ।

अब रह्यो कुरा प्रचण्ड र हाम्रो पार्टीबीच एकताको हल्लाको कुरा । प्रचण्डसँग कमरेड विप्लवले भेट गर्नुभयो । भेट एकता वा अन्य कुनै यस्तै विषयलाई लिएर भएको थिएन, मात्र आजको नेपाली राजनीतिक परिवेश र जनताले भोग्नुपरेको सास्तीका साथै राज्यसँग भएको तीनबुँदे सहमति कार्यान्वयनको विषयसँग मात्र सम्बन्धित थियो । भेटको केही दिन बित्न नपाउँदै प्रचण्ड कमेरड एकताको गीत गाउँदै हिँड्नुभएको छ । विप्लव, वैद्य र कम्युनिस्ट आन्दोलनभन्दा टाढा पुगिसक्नुभएका बाबुरामसमेतसँग एकता हुने सम्भावना रहेको र विप्लवजीहरूसँग छिट्टै एकता हुनेसम्मका विषयहरू व्यक्त गर्नुभएका कुरा मिडियाहरूसमेतले प्रचार गरे । हिजो माओवादी जनयुद्ध सँगै लडेका सहयात्रीबीचको मिलन अस्वाभाविक ठान्ने कुरा पनि त हैन । माके सम्बद्ध कार्यकर्ता पङ्क्तिमा छिट्टै एकता भैदिए हुन्थ्यो भन्ने मत पनि ठूलै छ । अर्को कुरा एकता कुन आधारमा टेकेर हुने हो, सायद त्यो कु्रा प्रचण्ड कमरेडलाई पनि थाहा छैन होला । प्रचण्डसँग सम्बन्धविच्छेद गरेको करिब नौ वर्ष भयो । क्रान्तिलाई धोका दिए । जनयुद्धको सपनालाई बेचेर दलाल पुँजीपतिको हातमा पु¥याए भनेर पार्टी फुटाएर एकीकृत जनक्रान्तिको विचारसहित क्रान्तिको शङ्खघोष गरेको नेपाल कम्युनिस्ट पार्टी र यही दलाल पुँजीवादी व्यवस्थालाई मियो बनाएर नाचिरहेको प्रचण्ड समूहबीच कसरी पार्टी एकताको हल्ला चलेको हो ! सायदै मेसो नपाइएको हुनसक्छ । यसका केही सैद्धान्तिक र केही व्यावहारिक कारणहरू छन् । सामन्तवादी अवशेषसहित दलाल पुँजीवादको आजको नेपाली सामाजिक प्रवृत्ति भनेको आफू सक्षम रहेको देखाउनु र अरूलाइ सहायक वा कमजोर ठान्ने प्रवृत्ति हाबी छ । नेपाली राजनीतिमा धोती न टोपी भैसकेको प्रचण्डसमेतले आफूलाई सक्षम नेताका रूपमा व्यक्त गर्ने गर्छन् । यो विडम्बना नै मान्नुपर्छ । माओवादी केन्द्रभित्र क्रान्तिकारी विचार, दृष्टिकोणसहितको एउटा जब्बर पङ्क्ति पनि छ । त्यो पङ्क्ति प्रचण्डलाई अक्षम र गैरक्रान्तिकारी देख्न थालेको छ । माकेभित्र रहेको क्रान्तिकारी पङ्क्तिले प्रचण्डभन्दा विप्लवलाई क्रान्तिकारी देख्छ । त्यो पङ्क्तिलाई थेग्न लगाइएको नारा नै एकताको नारा हुन सक्छ । यसको भ्रममा क्रान्तिकारी पङ्क्ति रहनु हुँदैन ।

यसो भन्दै गर्दा एकता सम्भव छ कि छैन भन्ने प्रश्न उठ्छ । एकता सम्भव छ । कसै न कसैले कुशलतापूर्वक एकताको पहल त लिनै पर्दछ तर कसरी ? यसका केही सैद्धान्तिक र व्यावहारिक तथ्यहरू छन् । सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलनको समीक्षा गर्ने साथै जनयुद्धदेखि आजसम्मको सही समीक्षा गर्ने र नेतृत्वले गरेका वैचारिक राजनीतिक गल्तीहरूबाट पाठ सिक्दै माथि उठ्ने, त्यसका लागि प्रचण्डले गर्नुपर्ने निम्नकुराहरू हुन सक्छन्, के हामी त्यसका लागि तयार छौँ ?

१) पुराना सबै नेताहरूले विशेषतः प्रचण्डले विगतमा गरेका गल्तीको क्रान्तिकारी नेता–कार्यकर्ता र जनतालाई विश्वास दिलाउने गरी आत्मालोचना गर्ने र संसदीय व्यवस्थाका विरुद्ध लड्ने गरी क्रान्तिकारी विचार निर्माण गर्ने ।

२) आफू असफल भएको कुराको महसुस गरी प्रचण्ड नेतृत्व वा कार्यकारी शक्तिबाट बाहिरिने र सल्लाकार वा त्यस्तै सम्मानित समितिमा रही विप्लवजस्ता क्रान्तिकारी छवि निर्माण गरेको युवा पुस्तालाई नेतृत्व गर्न दिने वातावरण सिर्जना गर्ने ।

३) जनयुद्धका सहिद, बेपत्ता र जनयुद्धमा त्याग, बलिदान गर्ने कार्यकर्ताहरूको सपना मर्न नदिने गरी सहिदका परिवार र क्रान्तिकारी पङ्क्तिलाई विश्वस्त बनाउने । जनयुद्धका सहिदहरूको सपना पूरा गर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गर्ने, त्यहीअनुरूपको कार्यक्रम निर्माण गर्ने ।

४) वैज्ञानिक समाजवादलाई आफ्नो तत्कालीन लक्ष्य बनाउने र दलाल पुँजीवादी संसदीय राजनीतिको दलदलबाट बाहिर निस्कने ।

५) सुख, भोगविलासको जिन्दगीबाट आमक्रान्तिकारी सर्वहारा, श्रमिक जिन्दगीमा फर्कने ।

६) आर्थिक अपारदर्शिता, अपचलन र पूर्वजनमुक्ति सेनाभित्र भएको भनिएको आर्थिक अपारदर्शिताको सही, सत्य र वैज्ञानिक आधारसहितको प्रस्टीकरण दिने ।

के यो आज नेकपा माओवादी केन्द्रसँग रहेको नेतृत्वले गर्न सक्छ ? धेरै कठिन कुरा छ तर मुख्य कुरा विचार र नेतृत्वको हो । विचारमा पूर्व र पश्चिम बनिसकेको नेपाली माओवादी आन्दोलन एक ठाउँमा ल्याउन असम्भव नै छ त नभनौँ, कठिन अवश्य छ । दलालहरूको घेरामा बसेर माओवादी आन्दोलनलाई एक ठाउँमा ल्याउने बखान मात्र गर्नु अनुचित र असम्भव छ । दलालहरूको दलदलबाट निस्किएर माओवादी आन्दोलनको एकता, क्रान्ति र परिवर्तनको कुरा गर्दा सबैले विश्वास गर्ने आधार पनि बन्न सक्छ । एकताको कुरा वा सन्दर्भ सान्दर्भिक हुन सक्छ । यो सत्य हो– आज नेपाली जनताले एकता चाहेका छन्, परिवर्तन चाहेका छन् । रूपान्तरणबिनाको एकताको अपेक्षा भने नेपाली जनताको हैन तर नेपाली जनताको चाहनाअनुरूप नेता र नेतृत्व अगाडि बढ्ने हो भने नेता र नेतृत्वको रूपान्तरण अनिवार्य छ । दिसाको खाडलमा बसेर सुन्दर दुनियाँको कल्पना त गर्न सकिन्छ तर त्यो वस्तुवादी र सान्दर्भिक नहुन सक्छ । पहिले दिसाको खाडलबाट निस्कने र सफा बन्ने कोसिस गरौँ । अन्यथा आत्मरतिका लागि मात्र एकताको हारगुहार गर्नु राम्रो हुँदैन । कसैको पद र कुर्सी जोगाउन, कसैको सान–सोख जोगाउन मात्र एकताको कुरा गरेर नेपाली क्रान्तिलाई धोका दिन सकिँदैन । मृत्यु स्वीकार्य हुन सक्छ तर देश, जनता र क्रान्तिलाई धोका दिनु कदापि क्षम्य हुँदैन ।

निष्कर्ष

विभिन्न चरणमा नेपाली कम्युनिस्ट आन्दोलन एकता, टुटफुट र विभाजनबाट यहाँसम्म आइपुगेको छ । आज नेपाली कम्युनिस्ट आन्दोलन विभिन्न हाँगामा विभक्त छ । नेपाली जनताको समर्थन र विश्वास कम्युनिस्ट पार्टीहरूप्रति नै छ । हाम्रा लक्ष्य र उद्देश्यहरू साझा हुन्, हामी नेपाली जनताको हित र आमूल परिवर्तन चाहन्छौँ र नेपाली जनताको मनोभावनाको सही, सत्य र परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्न चाहन्छौँ भने एकता अनिवार्य कुरा हो तर आफ्नो निहित राजनीतिक स्वार्थ पूरा गर्न नेताका आकाङ्क्षाका आधारहरूमा मात्र एकता सम्भव कुरा हैन । विचार, दृष्टिकोण र नेपाली जनताको परिवर्तनप्रतिको चाहनालाई सम्बोधन गर्ने हो र नेपाली कम्युनिस्ट आन्दोलनलाई सही दिशा दिने हो भने माओवादी आन्दोलनका सहयात्री मात्र हैन, सबै कम्युनिस्टहरू एक ठाउँमा आउन अनिवार्य छ । एकता भावनामा मात्र गर्ने कुरा हैन, जनता, क्रान्ति र नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने उद्देश्यसहित हुन जरुरी छ । पुराना पुस्ताका नेताहरूले त्याग गर्नसक्ने र नयाँ पुस्ताका नेता र आजको विश्व–कम्युनिस्ट आन्दोलनमा देखिएको समस्याहरूलाई हल दिनसक्ने गरी विचारको निर्माण गरेर एकताको पहल गर्ने हो भने एकता सम्भव छ । नेपाल कम्युनिस्ट पार्टीले विचार राजनीति र कार्यदिशामा गरेको विकास पनि कम्युनिस्ट एकताका निम्ति एउटा नयाँ अस्त्र हुन सक्छ । एकीकृत जनक्रान्तिको विचार र नेतृत्वमा नेपाली कम्युनिस्ट आन्दोलन केन्द्रित हुन पनि सक्छ किनकि यो विचार र नेतृत्वप्रति आज सबैको अपेक्षा र आशा बढेर गएको छ । दिन खाएको र कपाल फुलेको नेतालाई मात्र नेतृत्व स्वीकारेर आजको नेपाली कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सम्भव छैन । यन्यथा कोठामा बसेर सिद्धान्तको मात्र कुरा गर्ने, साम्यवादको हवाईकल्पना गर्ने, एकता सिद्धान्तमा सुगारटाइ रट्ने तर कहिल्यै एकता पनि गर्नु नपर्ने–नसक्ने, क्रान्ति झन् टाढै छोडाँै सबैलाई गाली गर्दै हिँड्ने यो तरिका भनेको बाँदरे तरिका हो । यो सबै कम्युनिस्टहरूले त्याग्न जरुरी छ । मालेमावादको आलोकमा रही नेपाली जनताको परिवर्तनको चाहना वैज्ञानिक समाजवादलाई अङ्गीकार गर्दै एकताको बहस गर्नु जरुरी छ । त्यसका आधारमा मात्र एकता सम्भव छ, क्रान्ति सम्भव छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :