बेथान वीरता दिवस र महिला सङ्गठनको ‘कासन’

बेथान वीरता दिवस र महिला सङ्गठनको ‘कासन’

वीरता र बलिदानको मूल्याङ्कन गरेर त्यसलाई जीवन व्यवहार बनाउन क्रान्तिकारी आदर्शहरू जीवित हुनुपर्छ । संसारको वर्गसङ्घर्षमा क्रान्तिकारीहरूले मात्र निरन्तर क्रान्तिको आदर्श बचाउन सकेका छन् । क्रान्तिकारी आदर्शहरूको स्थापना, रक्षा र विकासका लागि क्रान्तिकारीहरूले जीवन बलिदान गरेका छन् । सबैभन्दा प्रिय भनिएको जीवन नै उत्सर्ग गरेर समानतामूलक, शोषणविहीन, वैज्ञानिक समाज निर्माणमा निरन्तर साहसपूर्वक लागिरहने योद्धाहरू महान् छन् । महान् जनयुद्धको प्रथम सफल फौजी मोर्चा बेथान पानीघाटमा बलिदान गर्ने तीफदि र सम्पूर्ण सहिदहरू महान् छन् । आफू जलेर अन्धकार भगाउँदै उज्यालो छर्ने हिम्मत गर्ने असल मानिसहरूको बलिदान भएको दिन पुस १९ महान् छ । बेथान वीरता दिवस महान् र अमर छ । यही सन्देशका साथ अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय समितिले नेकपाका नेता, कार्यकर्ता र जनसमुदायको सहभागितामा तीफदिको बलिदान स्थल बेथान पानीघाटमै पुगेर २६ औँ बेथान वीरता दिवस र सहिद दिलमाया बम्जनको २६ औँ स्मृति दिवस मनाएको छ । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले बेथान पानीघाटमा बेथान वीरता दिवस मात्र मनाएको छैन, दिलमाया बम्जनलाई नेपाली क्रान्तिकी प्रथम वीराङ्गना पनि घोषणा गरेको छ र सहिदहरूको सपना साकार पार्न, श्रमिक जनताको मुक्तिका लागि फेरि हजारौँ महिला दिलमाया बन्न तयार रहेको उद्घोष पनि गरेको छ । सङ्गठनले सहिदको चिहानमाथि उभिएर गरेको यो उद्घोष वा कासन जारी जनक्रान्तिका लागि ठूलो महत्वको छ । यो क्रान्तिको ऊर्जा हो ।

क्रान्तिकारीहरूका लागि कुनै दिवस मनाउनु मात्र पर्याप्त हुँदैन । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले तीर्थ गौतम, फत्त स्माली मगर र दिलमाया बम्जनको शव गाडिएको स्थानमै उभिएर सहिदहरूका सपनामाथि कुठाराघात नहुने र बलिदानको रगतमाथि धोका नहुने प्रतिबद्धता पनि प्रकट गरेको छ । जारी क्रान्तिका लागि यो अत्यन्त ठूलो, साहसिक र ऐतिहासिक उद्घोष हो । यस्तै उद्घोष र प्रतिबद्धताका कारण महान् जनयुद्धमा लाखौँ महिला क्रान्तिमा लामबद्ध बनेका थिए, हजारौँ महिलाले बलिदान गरेका थिए र हजारौँ महिला जनमुक्ति सेनामा लामबद्ध बनेर मृत्युलाई तुच्छ ठान्दै मुक्तिको महान् यात्रामा लामबद्ध भएका थिए । नेपाली श्रमिक जनताले ठूलो त्याग, तपस्या र बलिदान गरेर स्थापित गर्न खोजेको जनगणतन्त्र लुटिएको छ । नेपाली श्रमिक सर्वहारा जनताका सपनाहरू लुटिएका छन् । नक्कली कम्युनिस्टहरूको बिगबिगी बढेको छ । नक्कलीले सक्कली कम्युनिस्टहरूलाई ओझेलमा पारेका छन् । सूर्य नउदाईकन, बिहानै नभईकन रात सकियो, उज्यालो भयो भनेर केही थान नक्कलीहरूले स्याल हुइयाँ मच्चाएका छन् । दलाल पुँजीवादीहरूले दलाल पुँजीवादलाई नै समाजवाद भनिरहेका छन् । नेपाली श्रमजीवी जनताका दुःख झन् बढिरहेका छन् । दलाल पुँजीवादीहरू श्रमिकहरूको दुःख, महिला–उत्पीडितहरूको दुःख अन्त्य गर्ने दिशातिर होइन, श्रमिकहरूलाई नै डाँडो कटाएर, पराई देशमा सस्तो भाडाका कामदार बनाएर दुःख निवारण भइरहेको भ्रम फिँजाइरहेको छ । नक्कलीहरूको यस्तो बिगबिगी भइरहेको समयमा आफ्नो वर्गका लागि जीवन बलिदान गर्ने दिलमायाहरू क्रान्तिका ऊर्जा र प्रेरणाका स्रोत बनिरहेका छन् । महिला सङ्गठनले गरेका उद्घोषहरू आशा र भरोसाका धरोहर बनिरहेका छन् ।

महान् दार्शनिक कार्ल माक्र्सले आफ्नो वर्गको स्वार्थका लागि चिहान उधिन्न पनि तयार हुनुपर्छ भन्नुभएको थियो । नेकपा, महिला सङ्गठन र अन्य जवसहरूले २६ औँ बेथान वीरता दिवसमा महान् सहिदहरूको चिहान उधिनेर सहिदका सपनामाथि कुठाराघात नहुने उद्घोष गरेका छन् र दलालहरूलाई लालकार गरेका छन् । दलाल संसद्वादको लज्जाजनक पतन र संसद्वादीहरूबीच विभाजन, आरोप–प्रत्यारोप र रुवाबासीकै बीचमा नेपालका असली मालेमावादी क्रान्तिकारीहरूले २६ औँ बेथान वीरता दिवसका माध्यमबाट क्रान्ति जारी रहेको र वैज्ञानिक समाजवाद– साम्यवाद स्थापना नभएसम्म यो जारी रहने उद्घोष पनि गरेका छन् ।

बेथान वीरता दिवस नेपालमा राजतन्त्रात्मक दलाल संसदीय व्यवस्थाविरुद्ध नेपाली जनताले हतियारबद्ध लडाइँ लडी विजय प्राप्त गरेको पहिलो सफल फौजी मोर्चाको सम्मानमा स्थापित नयाँ पर्व हो । रामेछाप जिल्लाको बेथान पानीघाटमा रहेको तत्कालीन सत्ताको रक्षक प्रहरीचौकीमाथि धावा बोलेर तत्कालीन नेकपा (माओवादी) ले २०५३ साल पुस १९ गते ऐतिहासिक विजय प्राप्त गरेको थियो भने उक्त विजयका लागि तीर्थ गौतम, फत्त स्मालीमगर र दिलमाया बम्जनजस्ता होनहार योद्धाहरूको बलिदान भएको थियो । राजतन्त्रात्मक पुरातन सामन्ती व्यवस्थाको अन्त्य र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि भएको उक्त बलिदानपछि नेकपा (माओवादी) को विजय अभियान देशैभरि आरम्भ भएको थियो । बेथान वीरता दिवसको आरम्भ गर्नेमध्येका पुष्पकमल दाहाल, बाबुराम भट्टराईहरू यतिबेला पानीघाटमा बसेको पुरानो सत्ता अर्थात् दलाल पुँजीवादी सत्ताका पहरेदारका रूपमा छन् भने नेपाल कम्युनिस्ट पार्टीले विद्रोहको झन्डा बोक्दै त्यतिबेलाको माओवादीको स्थान ग्रहण गरेको छ । हिजोको जनयुद्ध र आजको एकीकृत जनक्रान्तिको स्वरूप फरक भए पनि उद्देश्य र लक्ष्य एउटै हो । राज्यबाट खेप्नुपरेको कहर उस्तै हो । विकसित कार्यदिशामा गन्तव्य एउटै हो । तीफदिलगायत बेथानमा बलिदान गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै वीरता दिवसको स्पिरिटलाई नयाँ उचाइमा लग्नुपर्ने आवश्यकता देखिएको छ । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले तीफदिको शव गाडिएको स्थानमा उभिएर गरेको क्रान्ति जारी रहँदा र सम्पन्न भएपछि पनि सहिदहरूको सम्मान गरिरहने उद्घोषले नेपालमा जारी एकीकृत जनक्रान्तिमा नेपाली श्रमिक वर्गको लामबद्धता अझ कसिलो र ऊर्जाशील बन्दै गएको प्रमाणित भएको छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :