गुनासोबेसन

कविता

गल्ती गरेरै
सेना खोसियो
सत्ता खोसियो
सपनाहरू लुटियो
तर पनि कमरेडलाई
पटक्कै लागेको छैन गल्ती गरेझैँ
भिरबाट गुल्टिएर
चकनाचुर भई भाँचिएको हातगोडामा
आत्मसमीक्षाको म्याद गुज्रिएको मलम लगाएर
कमरेडको महाधिवेशन सुरु भयो
यो महाधिवेशनभन्दा ज्यादा
रोइलोबेसन हो
गुनासोबेसन हो
माउ पार्टीको दूत
महासचिवज्यू आइदिएकोमा
धन्य छ कमरेडलाई
प्रमज्यूको ढाडसले
मन भरिएको छ
माधव कमरेडको मुस्कानले
उल्लास छाएको छ
रोइलोबेसनको कथा लामै छ
समाजवादको लड्डु छुटेको छैन
राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थितिका
पेडाहरू छुटेका छैनन्
कमरेडको एउटै ध्याउन्न छ
एकपटक पत्याइदिऊन् दुनियाँले
आफ्नो अन्तिम इमोस्नल ब्ल्याकमेल
मेरो एउटै प्रश्न छ कमरेडलाई–
लुगा खोलेर नाङ्गै नाचिसकेपछि
लाजको गनगन किन कमरेड ?
आफ्नै खुट्टामा आफैँले बन्चरो ठोकेपछि
समवेदनाको गनगन किन कमरेड ?
साँच्चिकै समाजवाद ल्याउने भए
कृपया कमसेकम लुगा लगाएर आउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :