कपिलवस्तुमा ठेक्का नभएको खोलामा ठेकेदारको मनपरी, सम्बन्धित निकाय मौन

कपिलवस्तुमा ठेक्का नभएको खोलामा ठेकेदारको मनपरी, सम्बन्धित निकाय मौन

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा रहेको सुरही खोलाबाट नदिजन्य पदार्थ उत्खनन् गरेको पाइएको छ । जोकोही नदीको ठेक्का भए पनि सुराही खोलाबाट चोरी निकासी भएको छ । मङ्सिर १७ गते नगरपालिकासँग सम्झौता भएको जोकोही खोलामा काम सुरु गरेको खड्का काष्ठ फर्निचर सप्लायर्सले केहि दिनमै सम्झौता विपरीत ठेक्का नभएको सुरहीबाट नदिजन्य पदार्थ उत्खननको काम गरिरहेको छ ।

ठेकेदार कम्पनीले सुरही खोला उत्खनन गरेपछि त्यसको अनुगमन तथा निरीक्षण गर्नुपर्ने नगरपालिका र वडा कार्यालयमा स्थानीयवासीले दिएको निवेदन गुनासोमा कुनै चासो नदेखाए पछि सोमबार स्थानीयबासीले अनुगमन गरेका थिए । अनुगमनको क्रममा दर्जनौँ ट्याक्टरहरू अबैध तरिकाले चोरी गरिरहेको पाइएको स्थानीय प्रकाश थापाले बताए ।

ठेक्का भएको जोकोही खोला ३२ लाखमा सम्झौता भएको उक्त खोलाबाट ४५ सय घनमिटर मात्र निकाल्न पाइने उल्लेख रहे पनि ठेकेदार कम्पनीले जोकोही खोलासँग जोडिएको सुरहीखोलाबाट अबैध तरिकाले चोरी निकासी गरि ३ करोडमा टेन्डर हुने खोला उत्खनन् गरि ध्वस्त बनाएको छ । ३२ लाखमा ठेक्का भएको जोकोही खोलाबाट नदिजन्य पदार्थ नउठाई ठेक्का नभएको सुरही खोलाबाट दोब्बर रकम बराबर नदिजन्य पदार्थ उत्खनन् चोरी गरि ठेकेदार कम्पनीले रोयल्टीसमेत काटेको स्थानीय दिलमाया मगरले बताएकी छिन् ।

ठेकेदार कम्पनी र स्थानीय तहको मिलोमतोमा उक्त खोला अबैध तरिकाले उत्खनन् गरिएको र स्थानीय तहलाई अनुगमनको गुनासो सहित निवेदन पेश गरे पनि स्थानीय तह मौन समर्थन नभएको आशङ्का स्थानीयवासीले गरेका छन् । ठेकेदार कम्पनीले आफूहरूले सम्झौता र मापदण्ड विपरीत उत्खनन् नगरेको दाबी गरेको छ ।

ठेकेदार कम्पनी र स्थानीय तहको मिलोमतोमा ठेक्का नभएको सुरही खोलामा अबैध तरिकाले नदिजन्य पदार्थ यसरी उत्खनन् गराई रह्यो भने स्थानीयबासीहरूले खड्का काष्ठ फर्निचर सप्लायर्स र सम्बन्धित निकायप्रति सङ्घर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।

जोकोही खोला ३२ लाखको सम्झौतामा कुनै औजार प्रयोग गर्ने उल्लेख छैन । ठेक्का भएको उक्त खोलामा केही दिनसम्म मापदण्ड विपरीतका औजार प्रयोग गरिएको र पछि उक्त औजारहरू हटाइएको स्थानीय चुडामणि पुनले बताएका छन् ।

नगरपालिका प्रमुख नेत्रराज अधिकारीले ठेकेदारले सम्झौता मापदण्ड विपरीत अबैध चोरी निकासी गरेको संलग्नता रहेको पाएमा कानुन बमोजिम कारवाही गरिने बताए । गैरकानुनी रूपमा चोरी निकासी गर्ने कसैलाई छुट नभएको र अब अनुगमनलाई निरन्तरता दिने उनले बताए ।

यसैबीच जिल्लाका पश्चिमी तथा विकट क्षेत्रमा लागेका नदीजन्य पदार्थको ठेक्कामा जिल्ला समन्वय समिति कपिलवस्तुको पनि कमजोरी देखिएको गुनासो आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :