जुछे टावरबाट समाजवादी कोरिया नियाल्दै

जुछे टावरबाट समाजवादी कोरिया नियाल्दै

नियात्रा

…कार्यक्रमको चाप छ आज अन्तिम दिन भएकाले । अस्पतालपछि हामी पौने दुई सय मिटर अग्लो जुछे टावर अवलोकन गर्न जान्छौँ । टावर चढ्नुअघि अर्की दोभासे जोङ छुङ योङले हामीलाई त्यसको इतिवृत्त बताउँछे । लिफ्टमा चढ्ने भएकाले पालो कुर्नुपर्छ । पालो आउन्जेल हामी टावरको भुइँतला प्रवेशद्वारको भित्तैभरि टावर निर्माणमा शुभकामना दिने संसारभरका सयौँ जुछे विचार अनुयायीका सन्देश कुँदिएका प्लेटहरू हेर्दै तस्बिर खिचाउँछौँ । नेपाल–कोरिया मैत्री सङ्घका अध्यक्ष प्रा. माणिकलाल श्रेष्ठ, पत्रकार मञ्जुरत्न शाक्यलगायतको नाम देख्दा अर्कै अनुभूति हुन्छ । लिफ्टमा चढ्नुअघि पत्रपत्रिका पढ्दै गरेकी नानीको तस्बिर खिचिदिन्छु उसले चालै नपाईकन । पिलिक्क मतिर हेर्दै केही भनुँलाझैँ गर्छे ऊ । म आफैँ भनिदिन्छु, ‘फोटोको क्रेजी भन न ।’

‘भो, तिम्रो मन दुखाउँदिनँ अब’ को भावमा ऊ फेरि टावरको पुछारमा रहेको पसलतिर सङ्केत गर्दै ‘केही चिनो लैजान्छौ कि ?’ भनेर सोध्छे । केही सामानको मूल्य सोध्छे र आफैँ भन्छे, ‘अलि महँगो लाग्यो हगि ?’

हामी सोफामा सुस्ताइरहेको समयमा म एकाएक आमा गीत गुनगुनाउन थाल्छु । नानी र उसकी साथी किम ह्योन सिमले यो कस्तो गीत हो भनेर सोध्छन् । म एउटा आफूले लेखेको र अर्को बहिनी मीराले लेखेको गीत हो आमाका बारेमा भनिदिन्छु र थपिदिन्छु, ‘तिमीहरूसँग गीत सुन्ने समय छ र मन छ भने १० मिनेट समय निकाल…।’

नानी र उसकी साथी उत्साहित हुँदै समय निकाल्न राजी हुन्छन् । म पहिला बहिनी मीराको गीत सुनाउँछु र त्यसपछि आफ्नो । उनीहरू दुवैजना उत्साहित हुँदै गीतमा प्रयोग भएका शब्द र त्यसको अर्थ मसँग जान्न उत्सुक देखिन्छन् । म दुवै गीतको भाव बुझाउने प्रयास गर्छु :

अँधेरीले छोप्दा पनि दियोजस्तै बल्थ्यौ
चट्टानैले थिच्दा पनि पिपलुझैँ जाग्थ्यौ…
देउरालीकी दिदी पनि सम्झिसम्झी रुन्छिन्
पल्लाबारी आमै पनि तिम्रै कथा भन्छिन्
महाभारत लोलाउँछ तिम्रै सम्झनामा
तामाकोसी सुसाउँछे तिम्रै तिर्सनामा ।
……….
टहटह जूनजस्तै शीतल हाम्री आमा
मन्दमन्द पवनजस्तै शान्त हाम्री आमा
सागरजस्तै विशाल, निश्चल, स्वच्छ हाम्री आमा
चोमोलुङ्मा हिमालजस्तै उच्च हाम्री आमा ।

आफ्नो मोबाइलको गीत सुन्दासुन्दै म आफैँ भावुक बन्न पुग्छु । नानीहरू पनि मसँगै भावुक बन्छन् र सँगसँगै द्रवीभूत बन्छन् । मलाई लाग्छ, वर्गसम्बन्ध र साइनो भनेको यही हो सायद । एउटै भावमा खुसी हुनु, दुःखी हुनु, एकअर्काको दुःख, पीडा र मर्म बुझ्नु…। कहाँ सात समुद्रपारिका, समाजवादको उच्चतम प्रयोग गरिरहेका यी नानीहरू जसले वर्तमानमा कुनै पारिवारिक विछोडको पीडा अनुभूत गर्नुपरेको छैन तर पनि आफ्नै वर्गको अर्को मुलुकको एउटा स्रष्टा दुःखी हुँदा दुःखी र एउटै स्तरमा द्रवीभूत बनिरहेका छन् । उनीहरू औपचारिकता मात्र पूरा गरिरहेका छैनन् भन्ने कुरा बुझ्न मलाई कुनै समस्या हुँदैन । यसरी समान स्तरमा पग्लिनका लागि साँच्चै उच्च सर्वहारा चेतना र सर्वहारा मानवतावाद चाहिन्छ । यी गीत सुनेर हरेक चैत २५ गते र त्यसअघिपछि पनि मेरो जन्मथलोका प्रियजनहरूका आँखा भरिन्छन् । यही गीतले यति टाढाका यी किशोरीहरूको मन पनि त्यसैगरी पगालेको छ । अझ गीतको भाव दुरुस्तै बुझ्ने हो भने यिनीहरूको प्रतिक्रिया कस्तो आउने थियो होला, म कल्पिन्छु ।

‘धेरै राम्रो गीत लेखेका रहेछौ मिस्टर अशोक । यो गीतले संसारका श्रमजीवी–सङ्घर्षशील आमाहरू र उनीहरूको अभावपछिको पीडालाई समेटेको छ । हामी आमा भएकाहरूलाई त यति धेरै छोयो भने तिमीजस्ता आमा गुमाएका करोडौँ मानिसलाई यसले नपगाल्ने कुरै छैन । तिम्री बहिनी, यो गीतका गायक र सङ्गीतकारलाई त हामीले चिनेका छैनौँ तर उहाँहरूलाई पनि हाम्रो सन्देश सुनाइदिनू– गीतहरू अत्यन्तै मर्मस्पर्शी र सन्देशमूलक छन्…।’

नानीले यति भन्दानभन्दै उसकी साथी पनि होमा हो मिलाउँछे र गीतसङ्गीत सुन्ने अवसर दिएकोमा धन्यवाद दिन्छे ।

लिफ्टमा हाम्रो पालो आउँदा हाम्रो समूहका सबै चढिसकेका हुन्छन् । नानी र म मात्र पर्छाैँ हाम्रो समूहका, अरू समूह अरू नै देशका हुन्छन् । लिफ्टभरि नानी मतिर ट्वाल्ल परेर हेरिरहन्छे, म पनि त्यसै गरिरहेको पाउँछु आफूलाई । संवेदनशील हृदय भएकी मानिस छे । सोच्दी हो, ‘कस्तो अजीवको मानिससँग परिचय गरायो यो अन्तर्राष्ट्रिय सम्मेलनले !’ म सोच्छु– कति फराकिलो छाती र मायालु हृदय भएकी मान्छे छे यो !

अग्लो टावरको टुप्पामा पुगेर हामी सिङ्गो प्योङयाङ सहर नियाल्छौँ । हाम्रो समूहका हस्तबहादुर केसी सेल्फी खिचिरहनुभएको छ घुमीघुमी । हावा चलेको छ जोडजोडले । हस्त दाइ र म पालैपालो भिडियो खिच्छौँ, केही बोल्दै र सहरतिर हेर्दै । वरिपरि घुम्दै, हेर्दै र अरूहरूका पनि तस्बिर खिचिदिँदै हामी तृप्त हुन्छौँ सुन्दर प्योङयाङ र देदोङ नदीको दृश्यपान गरेर ।

‘अब ढिला हुन्छ अशोक, हिँड । अन्यत्र पनि त जानु छ आजै !’ उसको आवाजमा सुस्केरा र गहिरो संवेदना पाउँछु म । ऊसँग ओ, उसकी साथी मिस किम ह्योन सिम, गोरेलगायत पनि छन् । हामी फेरि लिफ्टको पालो कुरेर भुइँमा झर्छाैँ र बाहिर प्राङ्गणमा निस्किन्छौँ ।

हामी गाडी चढेका छौँ । नानी सँगसँगै भएर पनि केही बोलेकी छैन । ‘नानी, मेरा प्रश्नको उत्तर लेखिसक्यौ त ? खै केही पनि बोल्दिनौ । पोहोर साल ओले गरेजस्तो चाहिँ गर्ने हैन है, मैले भन्द्या छु नि !’ म मौनता भङ्ग गर्दै घुर्कीको शैलीमा दङ्ग्याउन खोज्छु नानीलाई । ‘हेर न अशोक, तिमीलाई थाहै छ, अस्ति दुई दिन घाँटीको समस्या भएर लेख्नै सकिनँ । हिजो कोठा चेकिङ र केके गर्दागर्दै लेख्न पाइनँ । आज अन्तिम रात हो । राति अरू काम सकेपछि लेख्ने प्रयास गर्छु है ! म त्यस्ती सिद्धहस्त लेखक पनि त हैन तिमीजस्ती । प्रयास गर्छु र सकेसम्म तिमीलाई निराश पार्दिनँ… ।’

‘सकेसम्म भन्ने शब्द फिर्ता लेऊ, अरू ठीक छ’, म भन्छु । ऊ गम्भीर बन्छे ।

भूमिगत रेल स्टेसनमा

हामी एउटा पार्कजस्तो ठाउँ हुँदै ठूलो हलको मुखमा पुग्छौँ । त्यस मुखबाट सयौँ मानिस ह्वारह्वार्ती पस्दै र निस्कँदै गरेझैँ लाग्छ । त्यो भूमिगत रेल स्टेसनमा जाने सुरुङ मार्ग रहेछ । डेढ सय मिटर लिफ्टमा झरेपछि भेटिँदो रहेछ रेल स्टेसन । हामी त्यो सुरुङमा पुगेपछि त्यसको झिलिमिली र विकास देखेर चकित पर्छाैँ । मेट्रो रेलमा चढेर हामी केही टाढा जान्छौँ । चीन र रुससम्म जाने रेल पनि त्यहीँ लाग्छन् रे भन्ने सुन्दा हामी अचम्मित हुन्छौँ ।

म सहयात्रीहरूसँग प्रतिक्रिया लिइरहेको छु । सबैको मुखबाट ‘वाःवाः विकास त यस्तो पो हुनुपर्छ, हाम्रोमा कहिले यस्तो बन्ला… !’ भन्ने आवाज आइरहेको छ । क. रणवीर, क. पूर्ण, क. हस्तबहादुर, क. माणिक, क. सरोज, सुरेन्द्र केसी सबैको सकारात्मक प्रतिक्रिया छ । हामी रेल चढेर अर्काे त्यस्तै स्टेसनमा पुग्छौँ र फेरि १५० मिटर माथि उक्लिन्छौँ लिफ्टबाट । सुरुङ र हाइड्रोपावरमा जनगणतन्त्र कोरियाको राम्रो दखल छ भन्ने कुरा यसले पनि प्रमाणित गर्यो ।

छचल्कियो वर्गीय भावना

अब आजको अन्तिम कार्यक्रम छ बजार घुम्ने र किनमेल गर्ने । जुछे टावरको यात्राजस्तै यो पनि औपचारिक सूचीमा परेको कार्यक्रम होइन तर कोरियालीहरू विदेशी पाहुनालाई बिदा गर्ने अघिल्लो दिन आफ्नो देशको उत्पादन स्वदेशमा लैजाऊन् भनेर यस किसिमका सुपरमार्केटहरूमा घुमाइदिने गर्छन् । अलि उदार मन भएकाहरूले आआफ्ना इन्टरप्रेटर र दोभासेहरूलाई उपहारस्वरूप केही किनिदिने चलन पनि छ । कतिपय देशका प्रतिनिधिहरूले कोरिया जाँदै कुनै सामान उपहार बोकेरै जान्छन्, दोभासेहरूका लागि । कतिपयले त्यहीँ किनेरै पनि दिन्छन् । गतसाल माणिक र मैले यस्तै पसलबाट किनेको सामान र मैले एउटा पुस्तक, चीनमा किनेको घडी र नेपालबाट लगेको पाइलट पेन उपहार दिएका थियौँ । यस्तो बजार कोरिया सरकारको आम्दानीको स्रोत पनि हो । यूएस डलर, युरो र चिनियाँ रुपैयाँ (युआन) यहाँ मन पराइन्छ ।

हामी घुम्दै बजार पुग्यौँ । नानीलाई केही उपहार त दिनैपर्छ भन्नेबारे हाम्रो समूहमा छलफल भइरहेको थियो तर मत विभाजित थियो । हस्त र सुरेन्द्र दाइ उपहार दिनु नहुनेमा दृढ हुनुभयो । कटुवाल हाम्रो सम्पर्कबाट अलि टाढै, आफ्नै सुरमा थिए । म, सरोज र पूर्णजी चलन छ भने केही दिऊँ न त भन्नेमा थियौँ । सुपरमार्केटमा पुगेर हामी सामान हेर्न थाल्यौँ । सरोजले नानीलाई ‘केही सामान हेर न त, हामी किनिदिन्छौँ’ भन्नुभयो । नानी छक्क पर्दै भनी, ‘भो–भो, मलाई केही चाहिँदैन । तिमीहरू त हाम्रा पाहुना हौ नि…।’

भिक्ट्री गेटमा दोस्रोपटक

हामी बाहिर निस्कँदा पूर्णजी र सरोजजी भिक्ट्री गेटलाई पृष्ठभागमा पारेर तस्बिर खिच्न व्यस्त हुनुहुन्थ्यो । यही विजयद्वारमा त हो मैले गतसाल तस्बिर खिचेर मेरो पुस्तकको अन्तिम गातामा राखेको ! म पनि हतारहतार गएर उभिन्छु तस्बिर खिच्नेहरूको लहरमा । हामीले समूहमा मिलेर तस्बिर खिचेको देखेर नानी मुस्कुराउँछे । उसको हातमा मेरो पुस्तक छ र यतिबेला पुस्तकको अन्तिम पृष्ठको त्यही भिक्ट्री गेट हामीतिर फर्किरहेछ ।

अब हामी होटेल कोरियोतर्फ फर्किरहेका छौँ, विश्वकै सुन्दर र सफा सहर प्योङयाङ अनि लाखौँ मानिसका लागि अमृतसरह कञ्चन र स्वच्छ पानी दिएर गम्भीर भावमा बहिरहेको देदोङ नदीलाई दायाँबायाँ पार्दै । गाडीमा सैनिकहरू हिँडिरहेछन् र ती सैनिकहरूलाई जनता हात हल्लाएर स्वागत तथा बिदाइ गरिरहेका छन् । जनताको असली सेनालाई जनताले कति धेरै माया गर्छ भन्ने उदाहरण पनि हो यो । जनयुद्ध कालमा जनसेनालाई जनताले गरेको मायासँग तुलना गर्न मन लाग्छ मलाई । अतिथिको गाडी देख्नासाथ सडककिनारबाट जनताले हामीलाई पनि हात हल्लाएर अभिवादन गरिरहेका छन् ।

नानी अलि गम्भीर देखिन्छे । ‘नानी, आज त १९ तारिख हो । तिमीले आज हिजोअस्ति गर्न नपाएको काम सक्नुपर्छ नि !’ म विषय नभनी उसलाई दोहोर्याउँछु । ऊ ट्वाल्ल परेर हेरिरहन्छे । एकछिनपछि ऊ भन्छे, ‘साँच्ची अशोक, आज तिम्रो क्यामेराका तस्बिरहरू मलाई हेर्न देऊ न है ?’

नानीले अब औपचारिकताका सामान्य पर्खालहरू भत्काइसकेकी छे जस्तो लाग्न थाल्यो मलाई किनकि ऊ अब मलाई मिस्टर अशोक नभनेर अशोक मात्रै भनिरहेकी छे । हामीले पनि ऊ मिस जिन नभएर नेपाली नानी हो जस्तै गरेर नानी कि नानी भनेर सम्बोधन गरिरहेका छौँ नि !
‘तिमीले खिचिदिएका तस्बिर त छन् नि, किन हेर्नुपर्यो र ?’, म अलि ठुस्किन्छु ।

ऊ भन्छे, ‘हैन, म पनि तिम्रो क्यामेराले खिचेका तस्बिर कपी गरेर राख्न चाहन्छु । मेमोरी निकालेर देऊ न…’, ऊ दोहोर्याउँछे ।
‘भैहाल्छ नि नानी तर कुनै तस्बिर मन परेन भनेर डिलिट गर्नेचाहिँ होइन नि !’

मैले यति भनिसक्दानसक्दै अघिल्लो सिटमा बसेको मिस्टर ओ पुलुक्क हामीतिर हेर्छ र हल्का मुस्कुराउँछ । गतसाल माणिकको सम्बोधन खिचेको थिएँ मैले भिडियोमा तर नेपाल फर्केर हेर्दा पाइनँ । ओले पनि यसरी नै मेमोरी मागेर लगेको थियो फोटो हेर्न र कपी गर्न भनेर । पछि मलाई शङ्का लाग्यो, पक्का यसले त्यो भिडियो डिलिट गरिदियो । मैले सोध्दा ‘हैन, कपी मात्र गरेको हुँ, केही गरेको छैन’ भन्दै थियो तर मेरो शङ्का अझै हटेको थिएन । आज पनि ओले पुलुक्क हामीतिर हेर्नुको तात्पर्य त्यही हुनसक्छ भन्ने मेरो ठम्याइ थियो । नानीले भनी, ‘विश्वास गर अशोक, म तस्बिर हेरेपछि कपी मात्र गरेर मेमोरी फिर्ता गरिदिनेछु.. ।’

मैले थपेँ, ‘नानी, तिमीहरू संवेदनशील छौ आफ्नो मुलुक, व्यवस्था, नेतृत्व र जनताप्रति । हामी पनि त हृदयदेखि माया गर्छाैँ नि कोरिया, यहाँको व्यवस्था र तिमीहरूलाई । यस्तोमा अविश्वास वा आशङ्का उब्जियो भने सम्बन्धमा चिरा पर्ने र भावनामा चोट पर्ने कुरा हुन्छ । तिमीहरूले हामी र हाम्रो भावनालाई नचिनेको जस्तो हुन्छ । हामी त मुक्त कोरिया र कोरियाली जनतालाई हाम्रो भूगोल र प्रविधि प्रयोग गरेर संसारभर चिनाउन, भ्रमहरू चिर्न र अझै स्थापित गर्न चाहन्छौँ नि ! तस्बिर त के भो र तिम्रो देशमा, तिम्रो अनुमति लिएर खिचेको हो, अझ तिमीले नै खिचिदिएकी हौ । मन लागे कपी गर र हेर, मन नलागे उडाइदेऊ । क्यामेरा र मेमोरीका तस्बिर हटाउँदैमा तिमीले हाम्रो मस्तिष्क र हृदयमा खिचिदिएका तस्बिर मेटाउन सक्तिनौ क्यारे !’

मैले यति भनिसकेपछि क्यामेराबाट मेमोरी निकालेर उसको हातमा राखिदिँदै भनेँ, ‘यसमा प्राविधिक मात्र होइन, भावनात्मक र वैचारिक पाटो पनि छ भन्ने नबिर्स नि नानी …।’

मिस्टर ओले फेरि एकपटक पछिल्तिर फर्केर हामीलाई हेर्यो । नानीले पुलुक्क मतिर हेर्दै जतनले मेमोरी हातेब्यागभित्र राखी ।

(शक्तिशाली समाजवाद : जनगणतन्त्र कोरियाको दोस्रो यात्रा, २०७४ बाट साभार)

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :