नेकपा पाल्पाद्वारा आलु खेती शुरु

‘क्रान्तिलाई दह्रोसँग पक्र ऊत्पादनलाई बढाऊ’

नेकपा पाल्पाद्वारा आलु खेती शुरु

पाल्पा : “क्रान्तिलाई दह्रोसँग पक्र ऊत्पादनलाई बढाऊ” नेकपा पाल्पाले आलु खेती शुरु गरेको छ । पाल्पाको रिब्दिकोट गाउँपालिकामा सामूहिक आलु उत्पादन खेती शुरु गरेको हो ।

कम्युनिस्ट पार्टीका सदस्यहरू अनिवार्य श्रममा जोडिनुपर्ने मान्यताका साथ आफूहरूले क्रान्तिकारी आन्दोलनलाई आत्मनिर्भर बनाएर सफल हुने नेकपा पाल्पा इन्चार्ज धिरेन्द्रा उपाध्यायले बताइन् । उनले जनश्रमदान भनेर नाटकीय मञ्चन भन्दा पनि यथार्थ हुनुपर्नेमा समेत जोड दिइन् । उपाध्यायले गफ धेरै गर्ने काममा माखो नमार्ने श्रमचोरहरूका विरुद्धमा क्रान्तिबाट जवाफ दिनुपर्नेसमेत बताइन् ।

नेकपाले जिल्ला पार्टीको उत्पादन योजना अनुरुप रिब्दिकोटमा आलु रोपेको हो । नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धिरेन्द्रा उपाध्यायका नेतृत्वमा जिल्ला सेक्रेटरी भुवन जिसि लगायत जिल्ला स्तरीय नेताहरू, जबस मोर्चाका नेतृत्व, स्थानीय पार्टी एवम् जनताको समेत उत्पादन कार्यमा सहभागिता रहेको थियो ।

पार्टीलाई आर्थिक दृष्टिले आत्मनिर्भर, स्वाधीन अर्थतन्त्रको विकास, समाजवादको आधार निर्माण र विश्वदृष्टिकोणको समाधान गर्न पार्टीलाई उत्पादनमा जोड्न अनिवार्य भएको बताउँदै नेकपा पाल्पा जिल्ला सचिव भुवन जिसिले सामूहिक श्रमलाई जोड दिँदै जाने बताए । उनले कम्युनिस्ट पार्टीका सदस्यहरू अनिवार्य श्रममा जोडिनुपर्ने बताउँदै मालेमावादको वैचारिक नेतृत्वमा उत्पादन कार्यलाई तीव्रता दिइने बताए । ‘उत्पादन पार्टीको केन्द्रीय योजना हो, यसैलाई हामीले जिल्लामा कार्यान्वयन गरेका हौँ’ जिसिले भने, ‘उत्पादनलाई पार्टी सदस्यसम्म अनिवार्य बनाइनेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :