सुकुम्बासीमाथि दमन गरे प्रतिकार गर्ने नेकपा नेता पुनको चेतावनी

सुकुम्बासीमाथि दमन गरे प्रतिकार गर्ने नेकपा नेता पुनको चेतावनी

दमकः नेपाल कम्युनिस्ट पार्टी निकट सुकुम्बासी संगठन अखिल नेपाल भूमिहिन सुकुम्बासी संघ, जिल्ला समिति झापाको आयोजनामा बृहत सडक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

झापाको दमक ७ स्थित पञ्चमुखी टोलको सडकमा भएको “सुकुम्बासी समस्या र समाधान ” विषयक सडक अन्तरक्रिया कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनको प्रमुख आतिथ्यता रहेको थियो । अन्य अतिथिहरूमा पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बु, केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज सुमनसिंह पौडेल, झापा जिल्ला सचिव प्रशान्त, कार्यालय सचिव सञ्जय राई, नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्की , ह्याप्पि नेपालका महासचिव सुरेन्द्र श्रेष्ठ , नेपाल महिला एकता समाजकी अध्यक्ष शान्ता लावर, लिम्बुवान राष्ट्रिय लोकतान्त्रिक मञ्चका नेता पदम बेगा, माओवादी कम्युनिस्ट पार्टीका जिल्ला नेता दिपेन तामाङ माओवादी केन्द्रका नेता लालसुन्दर राई, जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् झापा जिल्ला संयोजक प्रविण विद्रोही लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् संगठनका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनले दलाल पुजीवाद र संसदीय व्यवस्था रहेसम्म सुकुम्बासी समस्याको समाधान नहुने भन्दै यो देशमा व्यवस्था परिवर्तनको आवश्यकता रहेको स्पष्ट पारे । यो देशमा सुकुम्बासी समस्या समाधानका लागि मेचीमहाकाली अभियान सञ्चालन गर्दैगर्दा राज्यले आफुहरूलाई प्रतिबन्धदेखि जेलसम्म पुर्‍याउने षड्यन्त्र गरेको र अन्त्यमा केपी ओलीहरूले बाध्य भएर आफैँ प्रतिबन्ध फुकुवा गरेको बताए । सुकुम्बासीका घर भत्काउन कोही आए त्यसको पार्टीले सशक्त प्रतिरोध गरेको उल्लेख गर्दै नेता पुनले नेपाल कम्युनिस्ट पार्टी सुकुम्बासीमाथि दमन गर्न कोही आए टुलुटुलु हेरेर नबस्ने उद्घोष गरे ।

निकै आक्रमक रूपमा भाषण गरेका पुनले सुकुम्बासी समस्या समाधान आयोगका नाममा संसदीय दलका नेताहरूले कार्यकर्ता भर्तिकेन्द्र खोलेको आरोप लगाउँदै पटकपटक जनता झुक्याउँदै भोट माग्न आउनेलाई यसपटक प्रतिकार गर्न समेत आम सुकुम्बासीलाई अपिल गरे ।

दश वर्षे सशस्त्र जनयुद्धलाई प्रचण्ड बाबुरामले धोका दिएकै कारण विप्लवको नेतृत्वमा अर्को संघर्ष गर्नुपरेको बताउँदै नेता पुनले बन्दुक बोक्ने रहर नभएको तर गरिब , सुकुम्बासीमाथि सेना प्रहरी लगाएर पुजीवादीहरूले बन्दुकको बल देखाए त्यसको प्रतिरोध गर्न तयार रहेको बताए । सत्तामा रहेका प्रमुख पार्टीका प्रतिनिधिहरू नै जनताको मुद्दाको विषयमा बहस गर्न डराएको भन्दै नेता पुनले दलालहरूलाई जनताले प्रहरीको सुरक्षा घेराबाट थुतेर जनताले नाङ्गेझार पार्ने उल्लेख गरे । उपस्थित सुकुम्बासीहरूलाई सम्बोधन गर्दै नेता पुनले सबै समस्याको समाधानका निमित्त नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको जनमतसंग्रह र वैज्ञानिक समाजवादी व्यवस्था रहेको उल्लेख गरे ।

संगठनका जिल्ला अध्यक्ष झुलेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सुरेन्द्र केसीले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य अरूण पौडेलले राखेका थिए ।

कार्यक्रममा समस्त सुकुम्बासीको प्रतिनिधित्व गर्दै मनाङले मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा उनले ५७ सालदेखि बसोबास गर्दै आइरहेका सुकुम्बासीहरूमाथि राज्यले डोजर चलाएको र हिजो सुकुम्बासी बस्तीमा भोट माग्दै लालपुर्जा बनाइदिने आश्वासन दिएका नेताहरू नै आज बस्ती उठाउन लागि परेको उल्लेख गरे ।

त्यस्तै मन्तव्यका क्रममा नेपाल बसोबास बस्ती संरक्षण समाजका अध्यक्ष कबार कार्कीले देशभर ७० लाखभन्दा बढी सुकुम्बासी रहेको र अब सबै सुकुम्बासीहरू राज्यसत्ताका बिरूद्व एकजुट हुनुपर्ने उल्लेख गरे। मन्तव्यकै क्रममा लिम्बुवान राष्ट्रिय लोकतान्त्रिक मञ्चका नेता पदम बेगाले अबपनि सुकुम्बासी जनताको आँगनमा भोट माग्न कोहि आए सबै मिलेर प्रतिकार गर्नुपर्ने भन्दै राज्यले अमानवीय व्यवहार गरेको उल्लेख गरे । कार्यक्रममा नेपाल महिला एकता समाजकी अध्यक्ष शान्ता लावर , माओवादी कम्युनिस्ट पार्टीका नेता दिपेन तामाङ , माओवादी केन्द्रका नेता लालसुन्दर राई लगायतको मन्तव्य रहेको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा जिल्लाका विभित्र पार्टीका नेतृत्वहरूलाई निमन्त्रणा गरेपनि काङ्ग्रेस , एमाले, राप्रपा लगायतका केही दलका प्रतिनिधिहरू अनुपस्थित रहेका थिए ।
कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्ने प्रयत्न गरेका कारण निर्धारित समय भन्दा केही ढिलो कार्यक्रम शुरू भएको नेकपाका झापा जिल्ला सचिव प्रशान्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :