आमालाई सहिदको पत्र

कविता

आमालाई सहिदको पत्र

केही थान सम्राट्हरू जन्माउन
मैले गुजारेको मेरो यौवनको के कुरा ?
हजूर उपचार खोज्न काठमाडौँ आउँदा
रिसल्ला र कारगेडको जाममा परेर नआत्तिनू आमा
त्रिशूलीको किनारैकिनार यात्रा गरिरहँदा
दासढुङ्गा देखेर नभक्कानिनू
भैरव गण, दोरम्बा, सुखानी, पिस्करजस्ता
ठाउँ सम्झेर चित्त बुझाउनू आमा
मानसिक बिमारीको औषधी किन्न काठमाडौँ गल्लीगल्ली भौँतारिँदा
वैदेशिक रोजगारी र डीभी भर्नेको लाम र
अब्रोडस्टडीका बोर्डहरू देखेर चिन्ता नलिनू आमा
नायकहरूको जुँगाको साइज घटेको देखेर
पिर नगर्नू
सरेआम उध्रेका चोलीहरू देखेर
डिप्रेसनको ओक्तो लिन नबिर्सनू
मलाई थाहा छ हजूर
उही एक फोक्टो बारीको कुनाकै गोठको टाँडबाट
मलाई नियालिरहनुभएको छ
मलाई थाहा छ हजूरलाई कोदोको कपनी टिप्न हतार छ
साँझ खोले फत्काउन सिस्नो बटुल्नु छ
नवमालिकको दौडिरहेको गाडीले
झुत्रो फरियाको फेर हिल्याउँदा
हजूरको रिसको पारा चढेको छ
म मरेको न्याय खोज्दाखोज्दै
कथित श्रीमान्हरूका लात्ती ठोक्किने डर छ
हाँगामा चढेर फेद ढलाउने कालीदासहरूको
दुर्गन्धले हजूर निस्सासिनुभएको छ
देखिरहेको छु आमा
तर विवश छु आमा
तुइन काटेर मार्नेहरूको मिचाहा समयमा
म बाँच्नुको के कुरा
न्याय माडिएको न्यायालयका
कथित श्रीमान्हरूको के कुरा आमा
मेरै धुलो जमेको सालिकको के कुरा
आफ्नै साइज घटेको मालिकको के कुरा
आमा देखिरहेको छु
सबै देखिरहेको छु
केही थान सम्राट्हरू … … …!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :