सरकारले तीनबुँदे सहमति तत्काल लागू गर्नुपर्छ : सुदर्शन

सरकारले तीनबुँदे सहमति तत्काल लागू गर्नुपर्छ : सुदर्शन

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य सुदर्शनले सरकारले नेकपासँग गरेको तीनबुँदे सहमति तत्काल लागू गर्नुपर्ने बताएका छन् । रुकुम–काठमाडौँ सम्पर्क आयोजक समितिले शनिबार काठमाडौँमा आयोजना गरेको परिचयात्मक अन्तरक्रिया तथा भेलाका प्रमुख अतिथि नेता सुदर्शनले सरकारले घोषणा गरेको संसदीय निर्वाचन नभई जनमतसङ्ग्रहको चुनावमा जाने पनि प्रस्ट पारे । नेपालमा संसदीय व्यवस्था असफल भइसकेको र जनताले नयाँ विकल्प खोजेकाले सबै देशभक्त, राष्ट्रवादी शक्तिहरू जनमतसङ्ग्रहको चुनावमा जानुपर्ने बताए ।

सरकार आफ्नो पार्टीसँग गरेको ३ बुँदे सहमति कार्यान्वयनमा इमानदार नदेखिएको भन्दै सुदर्शनले उक्त सहमति लागू गरी सरकारले जेलमा रहेका आफ्नो पार्टीका सबै नेता–कार्यकर्ता रिहा गर्नुपर्ने र आस्थाका आधारमा लगाइएका सबै झूट्टा मुद्दा खारेज गर्नुपर्ने बताए । सरकारले ३ बुँदे सहमति लागू नगरेमा त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार आफ्नो पार्टी नहुने उनले बताए ।

नेपालमा दलाल पुँजीवादका कारण जनता, स्थानीय व्यापारी र राष्ट्रिय पुँजीपतिहरू मारमा परेको भन्दै सुदर्शनले नेपालमा वैज्ञानिक समाजवाद स्थापना भएको खण्डमा सबैखाले शोषणहरूको अन्त्य हुने बताए । नेपालमा दलाल पुँजीवादले राज्यका सबै तहमा प्रभाव पारेको भन्दै सुदर्शनले राजनीतिले अर्थतन्त्रको नेतृत्व गर्नुपर्नेमा अर्थतन्त्रले राजनीतिको नेतृत्व गरेकाले साना किसान, मध्यम वर्ग र साना व्यापारी दलाल पुँजीवादको मारमा परेको प्रस्ट पारे ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा रुकुम इन्चार्ज डिल्लीराज शर्मा ‘विश्व’ विशेष अतिथिका रूपमा सहभागी थिए भने अन्य अतिथिमा अखिल (क्रान्तिकारी) का महासचिव मिलन राई, कर्मचारी महासङ्घका केन्द्रीय उपाध्यक्ष रामबहादुर रावल, नेकपाकी नेत्री सुदृष्टि, कमल आरसी, उषाकिरण आजाद, तुलसा पौडेल, सुरेन्द्र बस्नेत, लक्ष्मण विक, सञ्जाल मगरलगायत उपस्थित थिए ।

नेकपा रुकुमका कार्यालय सदस्य नरेन्द्र विकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सदस्य भाष्कर मल्लले गरेका थिए भने स्वागत भाषण अर्का जिल्ला सदस्य घमण्डले गरेका थिए । भेलाले भाष्करको संयोजकत्वमा ४१ सदस्यीय रुकुम–काठमाडौ सम्पर्क समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :