नेकपा रुकुम पश्चिमद्वारा खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन

नेकपा रुकुम पश्चिमद्वारा खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले ८औँ पार्टी पुनर्गठन दिवसको अवसरमा सदरमुकाम खलङ्गाको बराहाटाकुरामा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गरेको छ ।

नेकपाले आयोजना गरेको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा कुल ३१ टिमले प्रतिस्पर्धा गर्नेछन् भने प्रतिस्पर्धामा विजेता, उपविजेता र सान्त्वना हुने २ टिमले क्रमश १२ हजार, ८ हजार, ३/३ हजार नगद पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले गरेका थिए ।

उद्घाटनमा मन्तव्य राख्दै चन्द्रले पार्टी पुनर्गठन दिवसको ८औँ बार्षिकीको शुभकामना व्यक्त गरेका थिए । उनले पार्टी पुनर्गठन औचित्य पछिल्ला विकसित राजनीतिक घटनाक्रम र पार्टीले लिएको क्रान्तिकारी र जनपक्षीय नीतिले पुष्टि हुँदै गइरहेको र निकट भविष्यमै नेपाली जनताको बर्षौं देखिको माग, इच्छा र चाहाना अनुरुपको वैज्ञानिक समाजवादी व्यवस्था रातो झण्डा फर्फराउँदै नेपालमा उदाउने र त्यसको निम्ति सम्पूर्ण जनसमुदाय एकीकृत जनक्रान्तिको कार्यदिशा, वैज्ञानिक समाजवादको कार्यक्रम र प्रगतिशील संयुक्त सरकार – जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादको कार्यनीतिको पक्षमा गोलबन्द हुन आह्वान् गरे ।

त्यस्तै सम्पूर्ण खेल क्षेत्र र खेलाडीहरूको संरक्षण, संवद्र्धन, प्रवद्र्धन, व्यवस्थित र पूर्ण लगानी वैज्ञानिक समाजवादी राज्य सत्ताले मात्रै गर्ने भएकोले खेलाडी र खेलप्रेमीहरू पनि वैज्ञानिक समाजवादको निम्ति सङ्घर्ष गर्नुपर्ने बताए ।

उद्घाटन कार्यक्रमको अध्यक्षता पार्टी जिल्ला समितिका सचिवालय सदस्य मोतीराम खड्का, प्रमुख अतिथि पार्टी जिल्ला समिति सेक्रेटरी चन्द्रबहादुर बुढा रहेका थिए । त्यस्तै जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष अनिल बुढा, कराँते सङ्घका अध्यक्ष चुडामणि पुन, तेक्वान्दो सङ्घका अध्यक्ष भद्र खड्का लगायतको आतिथ्यता रहेको थियो भने उक्त कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्यसमेत रहेका पार्टी जिल्ला समिति सचिवालय सदस्य तथा कार्यालय सचिव प्रेम प्रशान्त बोहराले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :